ब्राम्हण र वाहुनवादलाई अलग्याएर हेर्ने दृष्टिकोण

मङ्लबार, चैत्र १९, २०७५



-  सरोजदिलु विश्वकर्मा

गैरसरकारी संस्थाका प्रशिक्षण र राजनीतिक भाषणहमा वाहुनवाद र ब्राह्मणवाद शब्द प्रयोग हुने गर्दछ । सामाजिक सञ्जालहरुमा समेत यी शब्दहरु प्रयोगमा आइरहेका छन् । दुवै शब्दलाई विशेषगरी भारतका विद्धानहले प्रयोगमा ल्याएका हुन् । नेपालमा भने ०६२/६३ को जनआन्दोलनपछि समावेशीकरणको मुद्दासंगै यी शब्दहरुरु प्रयोगमा आई राजनीति र विकासको क्षेत्रमा ठूलै वजार तताएको छ । जातीय मुद्दामा राजनीति गर्ने नेताहरुर तथा विशेषगरी संस्था चलाउने दलित, जनजाति तथा मधेसी तथा सामाजिक अभियन्ताहले सामाजिक सञ्जालहरुमा यी शब्दहरुलाई प्रयोग गर्दा वाहुन भनिएका जातिहरुको मनमस्तिकलाई घोच्ने गरेको छ भने कतिपय अवस्थामा जातीय हिंसालाई निम्त्याएको आरोपसमेत लाग्ने गरेको छ ।

केही समय अगाडि  विदेशी परियोजना चलाउने र राजनीतिक जनमत प्राप्त गर्ने ध्येयमा स्वयं वाहुन भनिएका जातिहरुले समेत यी शब्दलाई गर्वका साथ प्रयोग गर्दै आएका थिए । तर अहिले परियोजना नचलेको र चुनावपछि नेताहरुलाई जनमत आवश्यकता नचाहिएको अवस्थामा यी शब्द प्रयोग गर्दा तिनीहरु जातीय विचलन निम्त्याउन खोजेको अथवा समाजमा भड्काऊ ल्याउने दुश्प्रयाश भनि प्रतिवाद हुनथालेको पाइन्छ । पछिल्लो समयमा सरकार पक्षधर नेता–कार्यकताहरु समेत समावेशीकरणको मुद्दाले सिधै हामी वाहुनहरुलाई माइनस् गर्न खोजेको भन्दै डराइरहेको अवस्थामा उनीहरुका लागि ‘वाहुनवाद’ भन्ने शब्दले थप आहत पुर्याएको देखिन्छ । जसले गर्दा गणतन्त्रले स्थापित गरेको आरक्षण, समावेशीकरणका संवैधानिक प्रावधान तथा नीतिहरु समेत कार्यन्वयनमा जान सकेको छैन भने विगतको २ वटा संविधान सभाका चर्को वहसमा आएको दलितलाई क्षतिपूर्ति सहितको अतिरिक्त अधिकारको मुद्दा ओझेलमा परेको छ ।

वाहुनवाद र ब्राह्मणवाद एउटै रुपमा प्रयोग भएता पनि शाब्दिक अर्थ भन्ने धेरै फरक छ । जबकी वाहुन कुनै जाति नै होइन । खास जात भनेको ब्राम्हण नै हो । ब्रह्मा भनेको ज्ञान र यण भनेको गुण हो । ब्रम्हा र यणको समिक्षणबाट ब्राम्हण बनेको हो । अर्थात ज्ञानलाई हेर्ने र चिन्ने चारित्रिक दृष्टिकोण हो– ‘ब्राह्मण’ । जुन दृष्टिकोण कुनै खास जातिमा मात्र नभएर सवै जातजातिमा हुनसक्छ । त्यसैले वेदमा मानिस जन्मदैमा शुद्र भएर जन्मिन्छ । तर उसमा निहित ज्ञान र दृष्टिकोणले मानिस ब्राम्हण बन्दछ भनिएको हो । यसर्थ ज्ञानलाई बोध गराउने गुण ब्राह्मणवाद हो । वाहुनवाद भनेको खास ब्यक्तिको चिन्तन र चरित्रवोधक शब्द हो । म मात्रै उच्चकोटीको हुँ भन्ने मपाईत्व चरित्र र जसैगरी मैले मात्र पाउनु पर्छ भन्ने चिन्तन हो । अरुलाई भ्रममा फसाएर, कठिन श्रममा लदाएर, शोषण गरेर आफ्नो स्वार्थ सिद्ध गर्ने प्रवृति हो– वाहुनवाद । समग्रमा भन्दा सामन्तवादको अर्को रुप हो । फरक यति हो – यस्तो चरित्रलाई नेपाल र भारतमा केही ब्राम्हणहरुले नेतृत्व गरिरहेका छन् । त्यस्ता चारित्रिक पात्रहरुले अरु जातिहरुलाई धार्मिक र आर्थिकरुपले कमजोर बनाएर आफूमात्रै शक्तिमा आसिन छन् । तसर्थ ज्ञान र मपाईंत्व एकअर्कामा धेरै फरक कुरा हुन् ।

हिन्दुधर्मका पुराना पण्डितहरुले श्रृष्टिकर्ता ब्रह्माको मुखबाट निस्केका पवित्र जात हुन् भनि भ्रम छर्दा आज हिन्दू समाजमा सोही छाप बसेको छ । अन्ततः केही ब्राह्मणहरुमा आज पनि आफूहरु अरु जातिभन्दा पवित्र र उच्च जाति भएको मपाईत्व छ । यही मपाईंत्वकै बलवुतामा एउटै जातिले मात्र एकछत्र अवसर प्राप्त गरिरहेका छन् । राजनीतिक नेता र समाजशास्त्री मानवशास्त्रीहरुले समेत विशेष जातिको मपाईंत्वलाई सही विश्लेषण नगरिदिंदा वाहुनवाद शब्द सुन्नासाथ साझा हित चाहने ब्राम्हणहरुसमेत तर्सिरहेका हुन् । यसर्थ मपाईंंत्व चरित्र र चिन्तनका ब्राम्हणहरुलाई मात्र अलग्याएर वाहुनवादलाई बुझ्नु उपयुक्त हुन्छ । वाहुनहरु ब्रह्माको मुखबाटै निस्किएका हुन् भन्ने भ्रमलाई ब्राह्मण समुदायबाट अलग्याएर बुझ्नु र बुझाउन आवश्यक छ । नत्र समाजमा कायम रहेको जातीय भाइचारा, निर्माण हुँदै गएको जातीय र सांस्कृतिक अन्तर्घुलन र सामाजिक सहिष्णुता भत्कने खतरा रहिरह्न्छ भने त्यसले अव बन्ने समावेशीकरण कार्यान्वयनको नीतिमा समेत असर पुर्याउन सक्दछ ।

अर्को अर्थमा हेर्दा इतिहासमा वाहुन भन्ने जात नै पाईदैन, न त धार्मिक शास्त्रहरुमा वाहुन शब्दलाई स्पष्टरुपमा प्रयोग गरिएको छ । विशेषगरी जजमानी गर्ने पुरैतहरुले पुजा विधिमा एउटा वाहुन थाप्ने र त्यसमा भेटी, चामल, धन दान गरी पुजा गरेमा पापबाट मोक्ष पाईने रितको ब्यवस्था गरेका थिए । अनि त्यसरी प्रतिष्थापन गरिएको वाहुन मानव जातिभन्दा उच्च र देवतासरह भएको, त्यस कारणले सवैले वाहुनलाई पुजा गर्नु वा मान्नु पर्दछ भन्ने मान्यता बसेको पाईन्छ । पुरैतको लोभी रीतका आधारमा ‘ए हामी त सवैभन्दा उच्च जाति, ब्राम्हाका खास सन्तान, समाजले पुज्नैपर्ने’ भनेर ‘वाहुन’ भन्ने उपनाम थपेर केही ब्राम्हणहरुले आफूलाई उच्चकोटीको देखाउन खोजेका थिए, जुन उपमा अहिलेको लोकतान्त्रिक र समावेशी समाजमा ब्राह्मणकै लागि अभिशाप बन्न पुगेको छ । तसर्थ यो वाहुन भन्ने उनीहरुले स्वघोषणा गरेको उपमा हो । यो उपमालाई जातभन्दा ब्यक्तिको चरित्रसंग जोेडेर मात्र वाहुनवाद भन्ने शब्दको प्रयोग गर्दा उचित होला, जुन चरित्र खास जातमा मात्र नभएर थोरवहुत सवै जातमा पाइन्छ ।

हाम्रो समाजमा थुप्रै ब्राह्मणहरु छन्, जो सर्वहित लागि काम गर्दछन्, सवैको भलो चाहन्छन्, समाज र देशका लागि जीवन र धन दुवै त्याग गरेका छन्, वैश्य र शुद्र भनिने जातजाति सरह नै श्रममा खटिएका छन् । तिनीहरुलाई ब्राह्मण भएकै आधारमा वाहुनवादसंग दाँज्न मिल्दैन । पं.छविलाल पोखरेल, स्व.नारायण पोखरेल, मनमोहन अधिकारी, मोदनाथ प्रश्रीतलगायत समाजमा आज पनि यस्ता ब्यक्तिहरु छन्, जो आफूले सक्नेजति जनहितका कार्यहरु गर्दै आएका छन् । जो छुवाछूत, विभेद र लोभलालच, अहमताबाट अलग रही समावेशी समाज र सांस्कृतिक अन्तर्घुलनका पक्षमा छन्, जो स्वार्थका लागि समाजलाई तोड्नेभन्दा सवै जातजातिलाई जोडि वन्धुत्व निर्माण गर्ने कार्य गर्दैछन्, जसमा उच्चजाति हुँ भन्ने मपाईत्व छैन त्यस्ता ब्यक्ति र समुहलाई वाहुनवादीबाट अलग्याएर हेर्नुपर्दछ ।

पछिल्लो समाजमा कुनै एकल जातको वर्शच्व छैन । अन्य देशभन्दा विशिष्ठ किसिमको जात र रंगबाट निर्मित नेपाली समाजमा आजभोली व्राह्मणदेखि डोम, मुसहरसम्मका जातजातिवीचमा दाजुभाई दिदी–वहिनी, साथी–संगिनी, मामा, फुपू, काका–काकी तथा ज्वाईंचेला र सम्धी–सम्धिनीसम्मको मुर्त–अमुर्त नाता–सम्वन्ध कायम हुनथालेको छ । यही नै समाजलाई बलियो बनाइराख्ने शक्ति हो । वाहुनवाद भनेर एउटा जात विशेषलाई मात्र आरोप लगाइरहँदा ती सम्वन्धहरुमा चिसोपना आउनसक्छ । अर्कोतिर इतिहासमा कुनै वाहुनवादी पात्रका कारणले गर्दा बाँकी जातिहरु शोषणमा परे, तिनीहरुको मपाईंत्व र भ्रमका कारण दलित वा अन्य जातजातिहरु पिछडिए भन्दैमा कुनै ब्राह्मणका रक्तसन्तान वा सिङ्गो वंश नै अपराधी हुन् भनेर घोषणा गर्नु पनि न्यायसंगत होईन । त्यसअर्थमा वर्तमानमा देखिएका असमावेशी चिन्तन र चरित्रलाई मात्र अलग्याएर मात्र हेर्नुपर्ने हुन्छ । चिन्तन र चरित्रका आधारमा जातबाट वाद अलग्याउँदा मानिस–मानिसको वीचमा खराव मानिस पनि हुन्छ भनेझैें अर्थ लाग्ने हुनाले यस्तो वादलाई स्वयं ब्राह्मण वा आफूलाई वाहुन नै भन्नेहरुले समेत स्वीकार्न सक्दछन् ।

साथै, जो ब्राह्मणहरु आफूलाई वाहुनवादी चिन्तन र चरित्रबाट अलग्याउन चाहन्छन्, तिनले समेत तिर्खाएको वेला दलितका हातबाट पानी खाने वा भोकाएको वेला दलितको घरमा पसि खाने वा भोटका लागि म त दलितको जुठोपीरो खाएर हुर्केको भनि नाटक रच्ने अथवा दलित, जनजाति वा मधेसीलाई सानोतिनो अवसर दिएर आआफ्नो दुनो सोझ्याउने मात्र नभइ पछाडि पारिएका यी जातजातिको योग्यता र अस्तित्वलाई ब्यवहारतः स्वीकार्न सक्नुपर्दछ, तिनीहरुलाई दिनुपर्ने अवसरका लागि त्याग गर्न तयार हुनुपर्दछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata