निर्माण होला त दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल ? यस्ता छन् प्रमुख समस्या र चुनौती

सोमवार, जेष्ठ २८, २०७५



- सूर्यबहादुर थापा

दोश्रो अन्तर्राष्ट्रिय बिमानस्थल राष्ट्रिय गौरवको आयोजना हो । राष्ट्रिय गौरवको आयोजनालाई समयमा नै सम्पन्न गर्न जुन तदारुकताका साथ कार्य गर्नु पर्ने हो त्यस्तो कार्य नहुदा यो आयोजना अनिश्चित बनेको छ । बहु–बर्षिय तथा बहु–आयामिक आयोजना भएकोले राज्यका धेरै पक्ष तथा अंगहरु यो आयोजनामा ईमान्दारिपूर्बक संलग्न नभइ यो सम्पन्न हुने देखिदैन । 

१.पृष्ठभूमिः
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २००७ मा ११,८९९ अन्तर्राष्ट्रिय उडानबाट १६,२७,०५३ हवाई यात्रुहरुकोे आवा–गमन भयोे भने सन् २०१६ मा २७,११८ अन्तर्राष्ट्रिय उडानबाट ३५,१०,७४२ हवाई यात्रुहरुकोे आवागमन भयो । यसरी २००७ – २०१६ को दश बर्षको अवधिमा १८,८३,६८९ थप अन्तर्राष्ट्रिय हवाई यात्रुहरुले यात्रा गरे । यो सन् २००७ को तुलनामा २०१६ मा करिब १२८प्रतिशतले वृद्धि हो । यसै गरि आन्तरिक उडान तर्फ सन् २००७ मा ६५,४४३ आन्तरिक उडानबाट ९,१६,४२९ हवाई यात्रुहरुले यात्रा गरे भने सन् २०१६ मा ७३,८७६ आन्तरिक उडानबाट १७,५७,५९६ हवाई यात्रुहरुले यात्रा गरे । यसरी सोहि दश बर्षको अवधिमा ८,४१,१६७ आन्तरिक हवाइ यात्रुहरु थप भए, यो सन् २००७ को तुलनामा सन् २०१७ मा करिब ९२ प्रतिशतले हवाई यात्रुहरुको बृद्घि भएको देखिन्छ । अन्तर्राष्ट्रिय उडानमा बार्षिक करिब दुई लाख र आन्तरिक उडान तर्फ बार्षिक करिब एक लाख हवाई यात्रुहरुको वृद्धि हुने क्रमलाई दृष्टिगत गर्दा अहिलेका हवाई यात्रुहरुलाई सेवा प्रदान गर्न पनि त्रिभूवन अन्तर्राष्ट्रिय बिमानस्थलको मौजुदा संरचनाले थेग्न गा¥हो परिरहेको अवस्थामा यस्तो बृद्घिलाई यो बिमानस्थलले सेवा प्रदान गर्न चुनौति मात्रै हैन असम्भव जस्तो देखिन्छ । काठमाण्डौ उपत्यका वरिपरि रहेका अग्ला डाँडाहरु, तुरुन्त बिग्रने काठमाण्डौको मौसम, हवाई मार्ग (Air-Route) मा पर्ने अग्लो डाँडा र त्यसको छेउका अति भिरालो (steep) हवाई मार्ग, बिमानस्थलमा जडीत पथ प्रदर्शक (Air navigation) उपकरणहरुको सिमीतता, ठूला जहाजहरुलाई आबश्यक पर्ने सहज तथा उपयुक्त हवाई मार्ग (Air route) को अभाव आदि जस्ता कारणहरुले यो बिमानस्थलको क्षमतालाई सिमित बनाई दिएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको बार्षिक प्रतिबेदन अनुसार विश्वमा हवाई यात्रुहरुको संख्या बार्षिक ५.६५ प्रतिशतका दरले बढ्दै गएको देखिन्छ । सन् २००५ मा विश्वभर करिव २ अर्ब हवाई यात्रुहरु थिए भने सन् २०१५ मा ३.५ अर्बले हवाई यात्रा गरे । एसिया तथा प्रशान्त क्षेत्रमा समेत हवाई यात्रुहरु उल्लेखनिय रुपमा बढिरहेको र एशियाका आर्थिक महाशक्ति बन्न लम्कीरहेका दुई ठुला मुलुकहरु चीन र उदियमान देश भारतमा पनि हवाई यात्रुहरुको संख्या ह्वात्तै बढेकोले ति हवाई यात्रुहरुलाई आकर्षण गरीे बिचमा रहेको नेपाललाई बिश्व मानचित्रमा आकर्षक र सुरक्षित गन्तव्य स्थलको रुपमा बिकास गर्न पर्यटन क्षेत्रको बिकासको लक्ष्य रहेको र हवाई यातायात प्रणालीको विकास बिना उक्त लक्ष्य हासिल गर्न सम्भव नभएकोले सुदृढ र सुरक्षित हवाई यातायात प्रणालीको विकास गर्न अत्याधुनिक ट्रान्जिट हब सहितको अत्याधुनिक सुबिधा सम्पन्न अर्को अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माण गर्नु नै आजको टड्कारो आबश्यकता रहेको छ । यस्तो बिमानस्थलको निर्माणले नेपालबाट लामो दूूरि सम्म चल्ने ठूला जहाजहरुबाट संसारको जुनसुकै कुनासम्म सिधा सम्पर्क हुने गरि हवाई सेवा विस्तार हुने, नेपालको पर्यटन क्षेत्रको विकास तथा विस्तार हुनुका साथै ब्यापारको विविधीकरण हुने तथा तेश्रो मुलुकसंग ब्यापारको बिस्तार हुने हुदा दोश्रो अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माण गर्नु आबश्यक देखिन्छ ।

Growth

२. दोश्रो अन्तर्राष्ट्रिय बिमानस्थलक्षेत्रको छनौट
सन १९९५ (बि.स.२०५१) मा NEPICON/IRAD जस्ता बिशेषज्ञ संस्थाले दोश्रो अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण गर्न उपयुक्त स्थान छान्ने क्रममा नेपालका बिराटनगर, सिमरा, पोखरा, दाङ्ग, भरतपुर, भैरहवा र नेपालगञ्ज गरि सात सम्भावित स्थानहरुको पूर्ब–सम्भाब्यता अध्ययन (Pre-feasibilty Study)  ग¥यो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले निर्माण गरेका बिभिन्न एनेक्स, नियम, निर्देशिकालाई आधार मान्दै र जुनसुकै जहाज पनि सहज, सरल र सुरक्षित ढंगले आवागमन हुने किसिमको स्थानको चयनलाई प्रभावकारि ढंगले अध्ययन गर्दा बिराटनगर, सिमरा, भरतपुर, भैरहवा र नेपालगञ्जलाई छनौट गरि सर्भे ग¥यो । यी ५ स्थानको अध्ययन गर्दा ती क्षेत्रहरुको भौगोलिक स्थिति, धरातलिय बनावट, हवाई क्षेत्र तथा हवाई मार्ग, धावनमार्गको आगमन तथा अवतरण गर्ने एयररुटको अबस्था, मुख्य शहरहरुको दूरी, सडकको पहुँच, जग्गा अधिग्रहण गर्ने खर्च, जमिनको उपलब्धता, जन–घनत्व, जंगल क्षेत्रको घनत्व, नदी नियन्त्रण, पुनर्वास गर्नुपर्ने जनसंख्या तथा लागत–फाईदा बिश्लेषण (cost-benefit analysis) का आधारमा छनौट गर्दा हालको बारा जिल्लाको गढीमाई नगरपालिका (साविकको डुम्मरवाना गा.वि.स.) को उक्त क्षेत्र सबै भन्दा उपयुक्त रहेको भन्ने प्रतिबेदनका आधारमा सो क्षेत्र छनौट भएको थियो । यी बाहेक सो क्षेत्र छनौट गर्नुको निम्न कारणहरु मुख्य छन् :
१. उडान तथा अबतरणको लागि फराकिलो क्षेत्र हुनुपर्ने भएकोले प्रस्तावित क्षेत्र भारतिय सिमानाबाट करिब २३ कि.मि. उत्तर तर्फ रहेकोले फराकिलो हवाई क्षेत्र (Air Space) उपलब्ध हुने, सो क्षेत्र ८० बर्ग कि.मि. फैलिएको क्षेत्र भएकोले अत्याधुनिक सेवा सहितको आधुनिक बिमानस्थल सम्बन्धि विविध संरचनाहरु निर्माण गर्न सहज हुने ।
२. पूर्ब पश्चिम हुने गरि Air Route समेत प्रस्तावित भएकोले उक्त बिमानस्थल ब्ष्च च्यगतभ का दृष्टिकोणले समेत उपयुक्त रहेको ।
३. बिमानस्थल वरपर बनजंगल क्षेत्र पर्ने भएकोले ध्वनि तथा वायु प्रदुषणको असर समेत कम मात्रामा पर्ने ।
४. बिमानस्थल वरपर घना वस्तिको बिकास नभएकोेले भविष्यमा योजनाबद्घ शहर निर्माण गर्न सकिने ।
५. बिमानस्थलको लागि आबश्यक पर्ने हवाई ईन्धन समेत बिरगंज नाकाबाट आयात हुने हुँदा ईन्धनको मूल्य समेत कम हुने ।
६. प्रस्ताबित क्षेत्र पूर्ब, पश्चिम, उत्तर तथा दक्षिण सबै क्षेत्रको करिब केन्द्र भागमा रहेकोले नेपालका सबै क्षेत्रलाई समेट्ने भई क्षेत्रिय सन्तुलन कायम हुने ।
७. पूर्ब पश्चिम रेल मार्ग तथा काठमाण्डौ तराई द्रुत मार्ग समेत निर्माण हुने योजना रहेकोले अधिकतम जन घनत्व भएको क्षेत्रलाई यसले समेट्ने र सेवा प्रदान गर्ने ।
८. भारतको बिहार तथा उत्तर प्रदेश क्षेत्र यहाँ बाट नजिक पर्ने भएकोले यो बिमानस्थलको प्रयोग नेपालीले मात्र गर्ने नभई भारतको बिहार तथा उत्तर प्रदेशका यात्रुहरुले समेत गर्न सक्ने भएकोले यो बिमानस्थलको क्षेत्र ब्यापक भएको ।

३. सरकारी प्रयास :
नेपाल सरकार, मन्त्रिपरिषदले सो परियोजना निजी क्षेत्रको लगानी BOOT (Build, Own, Operate and Transfer) मोडलबाट निर्माण गर्न नीतिगत निर्णय गरेकोले मिति २०६६/११/२३ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कोरियन कम्पनी Land Mark Worldwide (LMW) बीच दोश्रो अन्तर्राष्ट्रिय बिमानस्थल निर्माणको लागि बिस्तृत सम्भाव्यता अध्ययन (DFS – Detailed Feasibility Study) गर्ने सम्झौता भयो र मिति २०६८/०४/१७ मा सो कम्पनीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समक्ष बिस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गरि प्रतिबेदन पेश गरेको देखिन्छ । मन्त्रालयले रिपोर्ट प्राप्त गरे पश्चात दोश्रो अन्तर्राष्ट्रिय बिमानस्थल निर्माणको तयारी सम्बन्धि सम्पूर्ण कार्य सरोकारवाला निकाय “नेपाल नागरिक उड्डयन प्राधिकरण” ले गर्ने गरी निर्णय भएको र प्राधिकरणले जग्गा अधिग्रहण गर्ने, बिमानस्थल निर्माणको गुरुयोजना तयार गर्ने, बिस्तृत डिजाईन तयार गर्ने, बिस्तृत परियोजना प्रतिवेदन तयार गर्ने, बाताबरणीय प्रभाब मूल्याङ्कन तयार गर्ने, पुनर्वास योजना तयारी गर्ने, फेन्स तथा पेरिमिटर सडक र अन्य आबश्यक पूर्वाधारहरुको निर्माण गर्न जिम्मेवारि पाएको देखिन्छ ।
दोश्रो अन्तर्राष्ट्रिय बिमानस्थल क्षेत्र भित्र पर्ने चार किल्ला मिति २०७१/१२/३० मा नेपाल राजपत्र खण्ड (६४) संख्या ४७ मा प्रकाशित गरिएको छ ।
नेपाल सरकारको निर्णयानुसार प्रस्ताबित दोश्रो अन्तर्राष्ट्रिय बिमानस्थलको चार किल्ला क्षेत्र भित्र पर्ने (कुल क्षेत्र ११८७५–९–१९ बिगाह जग्गा मध्ये बन क्षेत्र १०३३९–१३–०३ बिगाह र ब्यक्तिगत लालपुर्जा भएको जग्गा ११०–०३–०४ बिगाह, जहाँ १६३१ वटा घर टहराहरु छन), निजी स्वामित्वको जग्गा तथा घर टहराहरु अधिग्रहण गर्ने, चार किल्ला भित्रको सरकारी ऐलानी जग्गाको स्वामित्व नेपाल नागरिक उड्डयन प्राधिकरणको नाममा हस्तान्तरण गर्ने ब्यबस्था भूमिसुधार तथा ब्यबस्था मन्त्रालयले मिलाउने, बन जङ्गल क्षेत्रको जग्गाको भोगाधिकार नेपाल नागरिक उड्डयन प्राधिकरणको नाममा हस्तान्तरण गर्ने ब्यबस्था बन तथा भू संरक्षण मन्त्रालयले मिलाउने र बिमानस्थल निर्माण कार्य नेपाल सरकारले तत्काल शूरु गर्ने र सो को लागि आबश्यक श्रोत अर्थ मन्त्रालयले उपलब्ध गराउने गरि निर्णय भएको देखिन्छ ।

४. नागरिक उड्डयन प्राधिकरणको हालसम्मको प्रगतिः
– राजपत्रमा प्रकाशित विमानस्थल क्षेत्रको को–अर्डिनेट बिन्दू, डिजिटल प्रविधिबाट साईटमा लोकेट गरिएको साथै दक्षिण, पश्चिम र पूर्वी सिमानामा करिव ५०–५० मिटर मा जि.पि.एस. को–अर्डिनेट प्रविधिबाट लोकेट गरि कंक्रिट पिलरहरु गाड्ने कार्य सम्पन्न भै जग्गा छुट्टयाउने कार्य (Demarcation) को कार्य भैसकेको ।
–बिमानस्थलको चार किल्ला भित्रको निजी स्वामित्वमा रहेका जग्गाहरु अधिग्रहण गरि मुआब्जा बितरणका लागि मुआब्जा दावी गरिएका निवेदनहरु मध्ये माग दावी पुगेका निवेदन बमोजिमको कूल १२–०४–१९ बिगाह क्षेत्रफलको जग्गा नेपाल नागरिक उड्डयन प्राधिकरणका नाममा ल्याई मुआब्जा वितरण गरिएको ।
– विमानस्थल क्षेत्र भित्र पर्ने वन क्षेत्रको जग्गा हस्तान्तरण गरि रुख कटान गर्नका लागि आवश्यक पर्ने बातावरण प्रभाव मूल्यांकन (EIA) तयार गरि निर्णयार्थ पेश गरिएकोे र पहिलो चरणको निर्माणको लागि विमानस्थलको बिस्तृत परियोजना प्रतिवेदन (DPR) बनाउन कम्पनि छनौट गर्ने कार्य प्रक्रियामा रहेकोे ।
–वाताबरण प्रभाव मूल्यांकन तथा पूनर्वासको अन्तिम प्रतिबेदन तयार गर्नु अघि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको ।
–बिमानस्थल निर्माणका लागि घोषणा गरिएको विमानस्थल क्षेत्र वरपर फेन्स लगाउने कार्यका लागि रुख कटान अनुमति प्राप्त नभएकाले विमानस्थलको सिमाना वरपर करिव १४ कि.मि. काँडेतारको फेन्स निर्माण गर्नुपर्नेमा हालसम्म ५ प्रतिशत कार्य सम्पन्न भएको ।
– बिमानस्थल क्षेत्रको पश्चिम सिमानामा पर्ने पसाहा खोलामा आंशिक रुपमा नदि कटान नियन्त्रण कार्य ३० प्रतिशत कार्य सम्पन्न भएको ।
– दोश्रो अन्तर्राष्ट्रिय बिमानस्थलको प्र्रारम्भिक पूर्वाधार बिकास निर्माण कार्यलाई तिब्रता दिन पहुँच मार्ग, पेरिफेरि सडक निर्माण र सो क्षेत्रको रुख कटानी कार्य नेपाली सेना बाट गराउन समझदारी पत्रमा (MOU) हस्ताक्षर भएको ।

५. दोश्रो अन्तर्राष्ट्रिय बिमानस्थलको बिशेषताः
यो बिमानस्थलको निर्माणको लागि दुई मोडलका रुपमा प्रस्तावहरु पेश भएका छन । पहिलो, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले निर्धारण गरेको स्तर बमोजिमको धावनमार्ग (Runway), Taxiway, हवाई यात्रु टर्मिलन भवन, र एप्रोन (हवाई यात्रु ओराल्ने र चढाउने स्थान) सहितको अन्तर्राष्ट्रिय बिमानस्थल जहाँ आबश्यक यातायात र संचार सहितको सुविधा उपलब्ध हुन्छ । दोश्रोे, आधुनिक भौतिक संरचना सहितको अन्तर्राष्ट्रिय बिमानस्थल र त्यस नजिक आधुनिक शहर जहाँ आधुनिक यातायातका साधनहरु, संचार सुबिधा, पानीको आपूर्ति, ढलको सुविधा, होटलहरु, आवासीय सुविधाहरु उपलब्ध हुने छन । LMWले पहिलो चरणमा (First Phase) ३६०० मिटर लम्वाईको एउटा धावन मार्गको निर्माण जसको क्षमता एयरबस ३८० जस्ता जम्बो जेट आवागमन गर्न सक्नेस ७,२०,००० बर्ग मिटर क्षमताको अन्तर्राष्ट्रिय टर्मिनल भवन जहाँ बार्षिक रुपमा १ करोड ५० लाखसम्म अन्तर्राष्ट्रिय हवाई यात्रुहरु आवागमन गर्न सक्ने ट्रान्जिट हब सहितको आधुनिक अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माण गर्नेे र बिमानस्थल निर्माण गर्नु भन्दा पहिले फास्ट ट्रयाकको निर्माण अपरिहार्य भएको प्रारम्भिक प्रतिवेदन दिएको छ ।

६. आयोजनाको कुल लागत र श्रोत :
प्रथम चरणको निर्माणको लागि ६५० मिलियन अमेरिकी डलर लागत लाग्ने अनुमान गरिएको र समय पनि चार बर्ष लाग्ने आँकलन गरिएको छ । बास्तबिक लागत विस्तृत डिजाईन तथा लागत अनुमान पश्चात मात्र यकिन हुन आउछ । बिमानस्थल निर्माण कार्यको आबश्यक श्रोत नेपाल सरकारले जुटाउने निर्णय भएकोे छ ।

७. आयोजनाका समस्या र चुनौतिहरु :
यो दोश्रो अन्तर्राष्ट्रिय बिमानस्थल राष्ट्रिय गौरवको आयोजना हो । राष्ट्रिय गौरवको आयोजनालाई समयमा नै सम्पन्न गर्न जुन तदारुकताका साथ कार्य गर्नु पर्ने हो त्यस्तो कार्य नहुदा यो आयोजना अनिश्चित बनेको छ । बहु–बर्षिय तथा बहु–आयामिक आयोजना भएकोले राज्यका धेरै पक्ष तथा अंगहरु यो आयोजनामा ईमान्दारिपूर्बक संलग्न नभै यो सम्पन्न हुने देखिदैन । यो आयोजना कुन मोडलमा निर्माण गर्ने भन्ने सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको एक प्राबिधिक सहसचिबको संयोजकत्वमा कमिटि गठन भै अध्ययन गराईएकोले पनि यस्तो बृहत र देशको समग्र अर्थतन्त्रलाई नै सकारात्मक असर पार्न सक्ने महत्वपुर्ण आयोजनाको निर्माणमा सरकार अझै अन्यौलग्रस्त रहेको देखिन्छ । हाल देखिएका प्रमुख समस्या र चुनौती निम्न छन्:
(क) नेपाल सरकारको पूनर्वास सम्बन्धी स्पष्ट ब्यबस्था नभएकोले समस्या पर्ने देखिन्छ ।
(ख) बिमानस्थल निर्माण गर्नु पर्ने क्षेत्रमा बन क्षेत्र पर्ने त्यहाँ ठूलो संख्यामा रहेका रुख बिरुवाको कटान गर्नु पर्ने भएकोले त्यसले पार्ने बाताबरणीय प्रभावलाई ब्यबस्थापन गर्न समस्या परेको ।
(ग) राष्ट्रिय गौरवको ठुलो आयोजना भएकोले आयोजना संग सम्बन्धित सबै निकायहरु संग समन्वय गरि ऐन, नियम, बिधि तथा प्रक्रियाहरु पुरा गरि कार्य गर्न चुनौतिपुर्ण देखिएको ।
(घ) ठूलो र अति खर्चिलो, प्राबिधिक पक्ष बढि भएको, कुन मोडलमा बनाउने, कसले बनाउने र श्रोतको ब्यबस्थापन कसरि गर्ने तथा संचालन कुन मोडालिटिमा गर्ने भन्ने यकिन अहिले सम्म नभएकोले निर्माण सम्बन्धमा अझै पनि द्विविधा रहेकोे ।
(ङ) दोश्रो अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण गर्नु भन्दा अगाडि राजधानी काठमाण्डौ जोड्ने द्रुत मार्ग निर्माण हुनु पर्ने दक्षिण कोरियन कम्पनी LMW को सुझाव छ । द्रुत मार्ग पनि अहिले नेपालका राजमार्गहरु जस्तै रुपमा संचालित भए भने त्यसले बिमानस्थल र समग्र हवाई यात्रुहरुलाई समेत नकारात्मक असर पार्छ ।

References
१ Civil Aviation Report 2014, 2017.
२ दोश्रो अन्तर्राष्ट्रिय बिमानस्थल निर्माणको लागि नेपाल नागरिक उड्डयन प्राधिकरण बाट जारि गरिएको श्वेतपत्र ।
३ परामर्शदातृ संस्था NEPICON/IRAD को रिपोर्टको सारांस ।
४. राजपत्र खण्ड (६४) संख्या ४७ ।
५. बिभिन्न प्रस्तुतिकरणका आधारहरु ।
६. International Civil Aviation Organization को ईलेक्ट्रोनिक डकुमेन्ट ।

अर्थ–राजनीतिक बुलेटिनबाट

686 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank