आयाराम गयारामको दमदार प्रस्तुती : दवावमा सुशासन र समृद्धि !

बुधबार, पुस ४, २०७५



- भूपेन्द्र शाह

गत मंसिर २९ गते देखी सत्तारुढ नेकपाको स्थायी समिति बैठक चलिरहेको छ । सामाजिक संञ्जाल, मिडिया र पत्रपत्रिकाहरुमा नेकपा बैठक भित्र व्यक्त तीतो, नमिठो र खल्लो कुराले सर्वसाधारण मानिसको ध्यान खिच्न सफल भएका छन् ।

जनताको घर दैलोमा पुग्दै राष्ट्रियता,जनजीविका, लोकतन्त्र र समाजवादको मुद्धामा अग्रगामी कदम चालेको पुरस्कार स्वरुप प्राप्त सफलताले निर्मित नेपाली वाम आन्दोलन आम जनताको आशा, भरोसा र उत्सुकताको विषय बनिरहेको छ । सादगी, नम्र, भद्र, स्वच्छ, जनमुखी र न्यायको पक्षमा बोल्ने उनीहरुको विगत,विचार र सिद्धान्तको निम्ती हाँसीहाँसी तमाम दुख,कष्ट मात्र हैन जीवन नै त्यागी दिने कारणले विश्वभर धक्का खाइरहेको समयमा पनि नेपाली वाम आन्दोलन जनताको मन मन्दिरमा बस्दै सिंहदरबार पुग्न सफलता पायो ।

कम्युनिष्ट सिद्धान्तमा संसदीय राजनीति प्रति बनाइएको दृष्टिकोण खसीको टाउको देखाएर बाख्रीको मासु बेच्ने भनाईलाई विर्सदै संसदीय भासमा चुर्लुम्म डुबेको नेपाली वाम आन्दोलन बाख्री,राँगो,कुखुरा, सुँगुर मात्र हैन जेजे पायो त्यही खाने स्थीतिमा पुगेको पुष्टि नेकपा स्थायी कमिटी बैठक भित्र गरिएका तर्क सुन्दा थाहा लाग्छ । बन्द समाजमा मुलुक र मुलुकबासीको उन्नती, प्रगती र भविष्यको निम्ती जीवन नै त्याग्न मरिहत्ते गर्ने वामनेता संसदीय कुर्सी युद्धमा डुबेसँगै कसरी र किन समाजवाद, विचार र सिद्धान्त भुल्न पुगे ? माक्सवाद,लेनिनवाद , माओविचारधारा र जबज बिर्सदै गुटवादको सिद्धान्तमा कुर्सीवाद अँगाल्न  पुगेको नेकपा बैठकमा व्यक्त विचारले प्रष्ट पारिरहेका छन् ।

लाखौं कार्यकर्ता, हजारौं शहीदको रगत र असंख्य दुख,कष्टबाट खारिएको नेपाली वाम आन्दोलन कसरी, किन आयाराम गयाराम जन्माउन सफल भयो ? आयाराम र गयारामहरुको बलमा कुर्सी प्राप्त गर्ने नेतृत्वले दिएको धोकाधडीले वाम आन्दोलन कता पुग्दैछ ? कमरेड वामदेव गौतम र मुकुन्द न्यौपानेले प्रधानमन्त्री एवंम अध्यक्ष कमरेडलाई सोधेको जवाफ पढे थप बताइरहनु पर्दैन ।

व्यक्तिगत स्वार्थको निम्ती राजनीतिमा रातारात क्याम्प परिवर्तन गर्नेलाई आयाराम गयाराम भन्ने चलन भारतीय राजनीतिबाट जन्मेको हो । आयाराम गयारामहरु राजनीतिको कुशल मौसम विज्ञ मानिन्छन् । उनीहरु राजनीतिक हावाको वारेमा ज्ञान राख्छन् र त्यसको दिशा परिर्वतन गर्नमा सहयोगी बन्दछन् ।  सन १९६७ मा भारतीय राज्य हरियाणाको हसनपुर क्षेत्रबाट गयाराम निर्वाचित विधायक थिए । उनले २४ घण्टामा ४ पटक पार्टी बदलेको इतिहास साक्षी छ । भारतीय राजनीतिबाट नेपाली राजनीतिमा सरुवा राेग बन्दै नेकपा भित्र स्थान जमाउन सफल आयाराम गयाराम प्रवृती दास ढुङ्गा दुर्घटना पछि दिन प्रति दिन माैलाउन थालेकाे छ ।  अकल्पनिय दास ढुङगा दुर्घटना सँगै दुई राजनीतिक हस्ती गुमाएको तत्कालीन एमालेले जबजको नाममा हुर्काएको पार्टीमा जसरी भए पनि स्थापीत हुन वर्तमान प्रधानमन्त्री एवंम कमरेड अध्यक्षले फालेको १५ बर्षे चारामा आयाराम गयारामहरुको कारण प्राप्त सफलता कमरेड वामदेब गौतमले स्थायी समितिमा राखेको फरक मतको बुँदा नम्बर दुई पढे काफी छ ।

पूर्व एमाले भित्र चलेको राजनीतिक हावा बदल्न सक्ने मौसमी कमरेड गौतमले कमरेड झलनाथ खनाललाई छोडेर कमरेड ओलीसँग गरेको आन्तरिक सम्झौताले सम्मान नपाउँदा आएको फरक मत आफैंमा ओली गौतमको विगत र वर्तमान खोल्न तयार भएको छ ।  कमरेड गौतमले खाएको अनेकौं धोका पछि जन्मीएको फरकमतमा पार्टीको सर्वाेच्चता कमरेड अध्यक्ष एवंम प्रधानमन्त्रीले कसरी धज्जी उडाउनु भयो ? खुलस्त राखिएको छ । हतार हतारमा संसदीय दलको नेता मनोनित गर्दै प्रधानमन्त्रीको सपथ खाएको, पार्टीको जानकारी बेगर दुई मन्त्री चयन , मन्त्रीमण्डल विस्तार आफुखुसी सम्पन्न,संघीय समाजवादी फोरमसँग सहकार्य, सरकारको बजेट र कार्यक्रममा मनोमानी, राष्ट्रिय सभाका तीन जना सांसद छनोटमा मनोमानि गर्न पार्टीको आवस्यकता नदेख्ने प्रवृति र शैली उजागर गरेका छन् ।

कमरेड प्रधानमन्त्रीबाट अत्यन्त निराश कमरेड गौतमले राखेका घटनाहरु आफैमा नेकपा राजीतिको निम्ती नसुहाउँदो मानिए पनि यदि उनको इच्छा प्रधानमन्त्रीले मानिदिएको भए आजको जस्तै फरकमत आउथ्यो कि आउदैंनथ्यो ? भन्ने सवाल नेकपा भित्र जन्मीएको छ । त्यसैगरि कमरेड माधव नेपाल सँग पारपाचुके गर्दै महाधिवेशनमा कमरेड ओली तीर लागेका पूर्वमन्त्री एवं सांसद कमरेड मुकुन्द न्यौपानेको प्रस्तुती झनै रोचक र दमदार मानिएको छ ।

स्थायी कमिटीको जारी बैठकमा प्रधानमन्त्री ओलीको चर्काे आलोचना गर्दै न्यौपानेले गम्भीर सवाल उठाएका छन् । आफु भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने प्रधानमन्त्रीको घोषणालाई झुठो प्रमाणित गर्ने कार्य दिगम्बर झालाई पुन नियुक्ती गर्नेले भ्रष्टाचार समाप्त पार्छु भनेको कसैले पत्याउँछ ? भन्दै प्रश्न तेस्र्याए । प्रस्ट रुपमा प्रधानमन्त्रीलाई इंगित गर्दै दलाल पूँजीपतिहरुको संरक्षण गरिरहनु भएको छ भन्ने कमरेड न्यौपानेको आरोपले आयाराम गयारामहरु साच्चिकै विचार र सिद्धान्तमा फर्किएका हुन त ? भन्ने नयाँ सवालले जन्म लिएको छ ।

सामान्य पूँजीवादी सरकारले गर्ने काम समेत गर्न नसकेको, नीति तथा कार्यकममा वाम सरकार भन्ने आधार कतै नदेखिएको, वर्गीय राजनीतिबाट कोसौं टाढा रहेको, सबैको बन्ने नाममा दलाल पूँजीपतिको कव्जामा परेको वर्तमान सरकार आम नागरिकको नजरमा कहिंकतै भेटिदैन । सुधारको काम पटक्कै नगर्ने, तामझाममा रमाउने, गियर लगाउने र तुरुन्तै व्याक गर्ने, गफ, विरोध, व्यंग्य र घोचपेच गर्ने काइदा आफ्नै सहयोगी सम्म पुर्याउँदै  बहुमुल्य समय खेर फालिरहेकाे छ ।  अाफ्नै लागि आयाराम गयाराम बनेकाहरुलार्इ समेत घाेचपेच गर्दा , संविधान संशोधन गरेर दुई प्रधानमन्त्री राखे हुने जवाफ पाइसकेको अवस्थामा सुशासन र समृद्धि मुर्छित सपनामै सिमित हुने स्थीती रोचक र दुखदायी देखिन्छ ।

सुशासन र समृद्धिको नाममा टिकेको ओली सरकार नतिजामा कहींकतै नदेखीएको र नभेटिएको समयमा आफ्नै मौसमी कमरेडहरुको घेराबन्दीमा फस्दा नेकपाले नयाँ जीवन पाउँछ ? कि नयाँ रोगले थला पर्ने छ । राजनीतिक विश्लेषकहरु रुची पूर्वक हेर्दैछन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank