बोल्नेले अझै नबोलेको कुरा !

फरकमत

सोमवार, अशोज १, २०७५



- दीपेन्द्र पाण्डे

सामान्य तया राजनीतिमा बोल्ने नेतालाई मन पराउने धेरै भेटिन्छन । पछिल्लो समय विश्व राजनीतिमा बोल्दै नबोल्ने , कम बोल्ने र धेरै बोल्ने नेताहरुको चर्चा सुनिदैं आएको छ । उट पटाङ्ग बोल्ने, चाहिएको जती बोल्ने र कामको कुरा मात्र गर्ने वर्तमान विश्वको नेताहरुको नाम लिनु पर्दा अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प , रुसी राष्ट्रपती भ्लादिमिर पुटिन र चीनिया राष्ट्रपती सि जिङ् पिङ अगाडी देखा पर्छन ।

फेर्न नमिल्ने र सहनै पर्ने छिमेकी मुलुक दक्षिणको नेताहरु अत्यन्त कम बोल्ने पुर्ब भारतीय प्रधानमन्त्री मनमोहन सिंह , आबश्यक बोल्ने दिबंगत अटल बिहारी वाजपेयी र बोल्नमा पछी नहटने बर्तमान प्रम मोदी संयोगबस खीलराज रेग्मी , दिबंगत पुर्ब प्रधानमन्त्री शुशिल कोइराला र ओली सँग ठयाक्कै मेल खान्छ ।

रासन कम भाषण ज्यादा बिक्ने दक्षिण एसिया राजनीतिमा भाषणको प्रयोग घटेको भेटिदैन । भाषणले अत्यन्त प्रभावित आम मानिस कम बोल्ने , बोलेको नबुझ्ने नेता पर्दा वाक्क दिक्क भइरहेको पछिल्लो समय बोल्ने मात्र हैन अझ प्रष्ट बोल्ने नेता पाइयो भन्दै मख्ख परेकै हुन । वर्तमानमा कुनै नतिजा नभेटिएको समृद्धिको कुरा पेटभरी सुनेपछी दिंबगत एमाले नेता मदन भण्डारी सम्झदै छन । कुराले चिउरा भिज्दैन । चिउरा भिजाउन पाए सम्म दुध दही प्रयोग गर्ने , नपाए पानी चाहिने बल्ल बुझ्दैछन ।

सार्बभौम सत्ता , आर्थिक प्रगती , राजनैतिक स्थिरता र समृद्धिको कडा वकालत गर्दै नेपाली जनताको मन जित्ने बोलक्कड प्रधानमन्त्रीको मुर्छित सपना सातौं महिना पुग्दै गर्दा आफै मुर्छित बन्दैछ । समृद्धिको निम्ती पानीजहाज र रेल मात्र अचुक अस्त्र देख्ने प्रधानमन्त्रीको सोचलाई बिज्ञ अर्थमन्त्रीले स्वीकार नगरेको पुष्टी वर्तमान नेपालको बजेट पुस्तिका हेरे थाहा लाग्छ । भन्नु सम्म भनी सक्दा पनि सुरुवात नभएको समृद्धि सुरु नहुनुको कारण अहिले सम्म नबोलेको कुरामा खोज्नु बुद्धीमानी हुनेछ ।

युवा युवती देशमा बस्न चाहादैनन । कर्मचारी काठमाण्डौं छोडेर जान चाहादैनन । डाक्टरहरु माइती घर मण्डलामा आफ्नो भबिश्य देख्दैछन । ठेकेदारहरु निर्बाचनमा दिएको चन्दा सम्झाउँदै छन । कार्यकर्ताहरु अहिले पनि हाम्रो दिन नआए कहिले आउने भन्दैछन । लगानीकर्ताहरु चोरबाटो बाट पैसा कमाउन बुद्धीमानी सम्झदै छन । जिल्लामा बस्ने नेताहरु भुगोलमा पसिना बगाउनु भन्दा परिक्रमा गरेर पद पडकाउन मरीहत्ते गर्दैछन ।

जीवनभर पार्टी भनेर हिडनेहरु भबिश्य सकियो भन्दै खुनको आँसु पिउँदैछन । विगतमा सरकारी गोरखापत्रले गर्ने काम आजकल भक्तहरुले सञ्चालन गरेका अनगिन्ती पकेट अनलाईनले गर्दैगर्दा मिडियाको विश्वस्नियता नराम्रोसँग धर्मराउँदै छ । आम जनता भ्रममा पर्दा मुलुक र समाज झन झन कमजोर बन्दैछ । वालुवाटारमा बस्नेले मात्र राम्रो देख्ने , हिजो आफैसँग जीवन सडाएका समकालिन पार्टी सहयोद्धाहरु भबिश्य अन्धकार देख्ने बिचित्रको कार्यकाल गरिब जनताको निम्ती कसरी हुन सक्ला ? भन्ने गम्भिर सवाल अनौपचारिक मञ्चमा सुनिदै छ ।

माने पनि नमाने पनि तपाईको दुई तिहाई आमुल परिवर्तनको निम्ती प्रयोग गरिएला भन्ने आषा निराशामा बदली सकेको छ । कालीमाटीको तरकारी बजारमा धोखा खाने तपाईको सत्ता , यातायातको सिण्डिकेट तोडेको दुई दिने हाईहाई , ३३ किलो सुन काण्डमा चुकेको प्रशासन , निर्मला बलात्कार र हत्याकाण्डमा पखालिएको गृह प्रशासन पछी यो देशमा केही हुँदैन , गर्न दिइदैन भन्नेहरुको मनोबल हवात्तै बढेको छ । बोलक्कडहरु पखालिए पछी हाम्रो पालो आउला र खाउँला भन्नेहरु कुरेर बस्दै गर्दा पार्टी र सरकारको चुनौती गम्भिर मोडमा पुग्दैछ ।

हास्य रस र अभिमान मिसिएको बोलक्कड शैलीमा रमाउँदै गरेका प्रधानमन्त्रीले दिने हल्का जवाफहरु मुलुकलाई नोक्सान पुर्याउन काफी छ । खाल्टा खुल्टी कहिले पुर्नु हुन्छ भन्दा हामीले पारेको हैन । बाढी र डुबान कहिले नियन्त्रण हुन्छ ? भन्दा खोलो हामीले ल्याएको हैन । पानी परेर हिलो हुन्छ दोष चाँही सरकारलाई । अलि चर्को घाम लाग्यो सरकारले लगायो भन्ने भाषण सुनेपछी बिगतमा ओलीलाई भोट किन नहालेको ? ड्राईभरले सोध्लान भन्ने प्रधानमन्त्रीलाई साँच्चीकै ड्राईभरले सोध्न थाली सकेका छन। ‘ देश बन्छ ढुक्क भएर सुत्नुस ‘ भन्ने भनाईलाई पत्याउँदै सुतेकाहरु छ महिना पछी बिउँझिँदा ‘ बोल्नेले गर्दैन , गर्नेले बोल्दैन ‘ । भन्ने पुर्खाको उखान सम्झन बाध्य हुँदैछन ।

नैतिकता , अनुशासन र सुशासन धर्मराएको मुलुकमा समृद्धि ल्याउन अत्यन्त कठिन हुन्छ । अनुशासन र नियमबद्ध कार्यप्रणाली सुरु भए बिकास उन्मुख मुलुकहरु बिकसित बन्ने जाने बुझेको विश्व पुँजीबादले आफ्नो बजार गुमाउन नदिने तारतम्य जताततै फिट गरेको विकासवादी बोलक्कडहरुले भर्खरै बुझ्दैछन । व्यवस्था र ब्यक्ती दुबैको लागि लाभप्रद हुने अनुशासन कडाईको साथ लागु गर्नु तम्सिए जनादेशलाई मतादेश र लोकतान्त्रीकलाई निरुङ्कुश भन्दै माइतीघर तताउने अभियन्तासँग आत्मसमर्पण गर्दैछ ।

आफ्नै कमजोरी र बिरोधीको रणनीतिमा थलिएको बोल्ने सरकारले अहिले सम्म नबोलेको कुरा पङ्तीकार पस्कने अनुमती माग्दछ । मुलुकले अनेकौं परिवर्तन गरी सक्दा पनि नहल्लिएको स्थायी सरकार कर्मचारीतन्त्र हरेक आन्दोलनको उपलब्धी जनता सम्म पुग्न रोक्दैछ । पियन , खरिदार , सुब्बाको हात र टेबलबाट हाकिम साहेबको टेबलमा फाइल पुग्ने परम्परा र पद्धतिलाई नरोके सम्म साँचो परिवर्तन नआउने पुष्टी भइसकेको छ । दुई तिहाईको सदुपयोग गर्दै ओली सरकारले तत्काल कर्मचारी संयन्त्रमा आमुल परिवर्तन गर्नु पर्नेछ ।

केवल बिभागिय अधिकृत मात्र राख्ने , हरेक मन्त्रालयको नीति , निर्माण र योजना बनाउने , कार्यान्बयन गर्ने र प्रधानमन्त्री प्रती सिधै जवाफदेही हुने पद्धति अन्तर्गत सचिबहरुको नियुक्ती प्रधानमन्त्रीले सिधै गर्ने ब्यबस्था सहितको विधेयक ल्याउँदै तत्काल लागु गर्नु पर्नेछ । जीवनभर जागिर खान चाहे अधिकृत बनी रहने , प्रधानमन्त्रीको आँखामा पर्दै सचिबको जिम्मेवारी प्राप्त गर्ने बिधी नै नेपाल निर्माणको कोशेढुङ्गा हुनेछ । जरिवाना , पुरस्कार , आकर्षक तलब र अधिकार सहित दुई तहको (सचिब र अधिकृत ) कर्मचारी प्रशासन निर्माण गर्दा अनुपयुक्त झमेला , ढिलासुस्ती र गैर जिम्मेवारीपनको अन्त्य हुनेछ ।

नेपालको राजनीतिमा दिन प्रती दिन अपराधीकरण बढ्नुको प्रमुख कारण मन्त्रीपद ,पार्टीको पद भन्दा आकर्षक बन्नु हो । सभासद बन्न करोडौं खर्च गर्ने , टिकट लिन अनुपयुक्त सम्झौता र लेनदेन गर्ने , समानुपातिक सभासदको टिकट किनबेच गरिने , चन्दाको अनुपयुक्त खेलले राजनैतिक पार्टी र जनता पिडित हुनुपर्ने , संसदिय राजनीतिमा हुने सबैखाले बिकृती र आर्थिक चलखेललाई रोक्न संघ र प्रदेशको सभासदहरु मन्त्री बन्न नपाउने गरी संबिधान संशाेधन गर्नु पर्नेछ । मुलुक निर्माणको लागी आबश्यक कानुन निर्माण गर्ने काममा सभासद केन्द्रीत  हुने हुँदा निर्वाचनमा टिकट प्राप्त गर्न मरिमेटने अवस्था घटने छ ।

जसले संसदीय राजनीतिको बिकृती कम गर्न ठुलो योगदान पुग्ने छ । पार्टी राजनीति गरेका मानिस निर्वाचनमा भाग लिनुको मतलब केवल प्रधानमन्त्री बन्न र मुलुकलाई सही दिशा दिने कानुन निर्माण गर्न मात्र हुनेछ । सतारुढ दलको प्रधानमन्त्रीले मन्त्री चयन गर्दा आफ्नो एजेण्डा र कार्यक्रमलाई कडाईको साथ लागु गर्ने टिम छान्ने उचित अबसर मिल्नेछ । साथै भुगोल , जनजाती , लिङ्गको झमेलाबाट मुक्ती मिल्नेछ ।

हरेक परिवर्तन पछी आफ्नो भबिश्य अन्धकार देख्दै नेपालबाट पलायन भएको सबैभन्दा ठुलो शक्ती भनेको शिक्षित दिमाग नै हो । मुलुकमा तत्काल परिवर्तनको आभास दिन राज्यले २०३५ साल देखी २०७५ साल सम्म एसएलसी देखी मास्टर सम्म हरेक बिधामा प्रथम भएकाहरुलाई विश्वको जुनसुकै कुनामा भएपनि मुलुक फर्कन आब्हान गर्नु पर्नेछ । मुलुक भित्र र मुलुक फर्केका ब्रेनलाई प्रधानमन्त्रीको मातहत शक्तीशाली मुलुक निर्माण प्राधिकार बनाउँदै मुलुक निर्माणको निम्ती आकर्षक सेवा , सुबिधा , मान सम्मान र अधिकार सहित काममा खटाउनु पर्नेछ । जसले मुलुक परिवर्तनको आधारशिला खडा गर्नेछ ।

मुलुक निर्माणको लागी अत्याबश्यक कुरा आधारभुत संरचना नै हुँन । हाल नेपालमा राज्यले दिने ठेक्का पद्धति पुरातनवादी छ । विगतको शैलीमा आमुल परिवर्तन गर्दै मुल्यमा भन्दा समयमा आधारित काम गर्ने शैली लागु गर्नु पर्नेछ । जसले मुलुकको पैसा र समयको बचत गर्नेछ । समृद्धिको निम्ती १८ घन्टा खटेको सरकारले नदेखेको यी काम तत्काल गर्न सके दश बर्षमा मुलुकले छलाङ्ग मार्नेछ ।

अन्तमा प्रचण्ड बहुमत , अथाह शक्ती र समृद्धिको ज्वरोले रन्थनिएका प्रधानमन्त्री ओली साँचो अर्थमा दुई तिहाईको सकारात्मक अभ्यास गर्न तम्सिए अहिले सम्म नबोलेको उल्लेखीत सुझाव नबोलिकन सम्पन्न गरे उनको नाम मुलुकवासीले सदियौं सम्म लिनेछन । आगे बोल्नेकै मर्जी !

5814 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank