डा.बाबुराम भट्टराई माथि केही यक्ष प्रश्नहरु

शुक्रबार, बैशाख १९, २०७७



- डा.रामकुमार अधिकारी

गत बिहीबार डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टीका नेता डा. सुरेन्द्र यादवलाई सांसद महेश बस्नेत, सांसद किसान श्रेष्ठ र पूर्व आइजीपी सर्वेन्द्र खनालले अपहरण गरेको भनी मानव अधिकार आयोगमा उजुरी दर्ता गराउन लगाउनु भएछ। डा.बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीलाई विभिन्न संचार माध्यममा मैमत्त बनेको असनको साँढे भनेका छन। पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले देश र जनताको लागि जीवन अर्पेका, निष्ठा र त्यागका प्रतिमुर्ति ओलीलाई हिटलर, स्टालिन, चाउचेस्कुसँग दाँज्दै, भनेका छन्- ‘कोरोना भाइरस भन्दा खतरनाक ओली प्रवृत्तिको भाइरसलाई सदाका निम्ति विदा गरौं !  नत्र यो भष्मासुरले सबैलाई सखाप पार्नेछ !’ उनले प्रधानमन्त्रीलाई त्यति मात्र होइन मान्छेले मान्छेलाई लगाउन सक्ने हदै सम्मका, मानव सभ्यता लज्जित हुने भाषामा आरोपहरु लगाएका छन र अपमान गरेका छन। गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता लगायत संविधानका प्रमुख उपलब्धिको कट्टर विरोधी ओली हुन भनेर ओलीका क्षमता, दुरदृष्टि र निष्ठामा प्रश्न उठाएका छन। ओलीलाई परम्परागत कम्युनिस्ट पार्टीका नेता जस्ता भनेर विश्व कम्युनिस्ट आन्दोलनका महान नेताहरुको अपमान गरेका छन। त्यसै गरी हाल धेरै जसो संचार जगत र बुद्धिजीविहरुको प्राग्यिक कौशल यो वा त्यो नाममा प्रधानमन्त्री र यो सरकारलाई आलोचना गर्नमै व्यस्त देखिन्छन।

सरासर झुठको खेती
डा. सुरेन्द्र यादव, एक चोटि छातीमा हात राखेर भन्नुस् त यो अपहरण थियो ? र आत्मालाई लुकाउन सक्नु हुन्न। सुरुमा सल्लाहमा सबै काम भयो पछि अदृश्य ठाउँबाट ठुलो दबाब आएपछि अपहरण गरेको भन्न बाध्य बनाइयो। सत्य लुक्दैन, कुनै दिन यो सत्य उजागर हुनेछ। एउटा झुटो कुरा लुकाउन कैयौँ पटक झुट बोल्नुपर्छ । सत्यलाई दवाउन सकिन्छ तर नाश गर्न सकिदैन । पापी मानिस सत्यबाट डराउँछ तसर्थ माननीय महेश बस्नेत लगायतका साथीहरु ! तपाईंहरु नडराउनुस् किन कि तपाइहरुले पाप गर्नु भएको छैन । कसैलाई अपहरण गर्नु भएको छैन । डा. बाबुराम कति झुट रहेछन भन्ने कुरा बल्ल प्रमाणित भएको छ। एक चोटि छातीमा हात राखेर भन्नुस् त बाबुराम जी यो अपहरण थियो ? पूर्वप्रधानमन्त्रीले यति झुट बोल्न, हर्कत गर्न सुहाउँछ ? लेख्न, बोल्न, आलोचना गर्न धेरै सजिलो छ, कुरा काट्नमा आनन्द आउछ । तर आलोचनाको पनि निश्चित विधि, सिमा हुन्छन् होइन र ?
केही सत्य तथ्यहरु
केपी ओलीको नेतृत्वको सरकारले करीव दुई वर्ष भन्दा केही बढी समयमा नेपालको इतिहासमै परिणाममुखी राम्रा कामहरु गरेको छ, इतिहासमै अभुतपूर्व राम्रा परीणाम निकालेको छ। देश संबिधान कार्यान्वयनको पूर्णता तिर गएको छ। स्थिरता, शान्ति सुव्यवस्था, कानून्- विधीको शासन, गुणस्तरीय पूर्वधार, डिजिटल अर्थतन्त्रमा मुलुक अगाडि बढेको छ। शताब्दि शताब्दि देखिको बिग्रेको संयन्त्र, थिती, परम्परागत अभ्यास र आचरण परिवर्तन गर्न सरकार कृयाशील छ । ७५३ वटै सरकार संस्थागत भएको छ। सरकारले लोकतन्त्रका मानकहरुलाई सुध्रिन गर्दै लगेको छ। इतिहासमै नेपालको विदेश नीति दुई ढुङ्गाबीचको तरुलको कुटनीतिबाट दुई तरुल बिचको नयाँ सृजनात्मक अवस्थामा पुगेको छ। बिश्व आर्थिक महाशक्ति चीनका शक्तिशाली राष्ट्रपति सि जिन पेङको नेपाल भ्रमणले विश्वमा नेपालको गौरब बढेको, संसारभर नेपालको शीर उचो भएको छ । यसबारे विश्वभर चर्चा भएको छ।

नेपालको बहुपक्षीय कूटनीति नयाँ उचाईमा पुगेको छ। भारतसँग सम्बन्ध इतिहासमै सुमधुर भएको छ। चीन र नेपाल विच भएको व्यापार तथा पारबहन सन्धिले नेपाललाई ल्याण्ड लक्ड देशबाट ल्याण्ड लिङ्क देशमा परिवर्तन गरेको, नेपालको कुटनितिक इतिहासमा ठुला युगीन महत्वका उपलब्धीहरु भएका छन । परराष्ट्र सम्बन्धको सवालमा नेपालको इतिहासमा लेखिने छ, इतिहासको स्वर्ण युग ।  मुलुकले अनेक क्षेत्रमा छलाङ मारेको तथ्याङ्क छ । डुइङ बिजनेस इन्डेक्स, आयात, निर्यात, ब्यापार घाटा, भुक्तानी सन्तुलन, शोधनान्तर घाटा, चालु खाता घाटा, वित्तिय स्थायीत्व, आदिमा पहिले भन्दा धेरै सुधार देखिएको, राष्ट्रिय पुँजी निर्माण र आत्मनिर्भर अर्थतन्त्र तिर देश गैरहेको, ग्लोबल हंगर इन्डेक्स, गरिबी निवारण प्रतिशतमा उल्लेखनीय उपलब्धी भएको, प्रतिव्यक्ती आय १२.४ ५ ले विधि-प्रतिव्यक्ती कुल ग्राहस्थ उत्पादनमा ५.६ ५ ले विधि, सम्पतिमा आधारित चिनी कफिसेन्ट- गरीब र धनीबीचको खाडल साँघुरिदै, २०२२ मा अती कम विकशित मुलुकबाट विकासन्मुख देशमा प्रबेश गर्न आवस्यक पर्ने ३ सुचांकहरु मध्य २ सूचांक पुरा भइसकेको, ७५३ स्थानिय तहमा बैंक, औधोगिक क्षेत्रको उत्पादनमा विधि, कुल ग्राहास्त्य उत्पादनमा गैर कृषि क्षेत्रको योगदानमा विधि- देश औधोगिकिकरण तर्रफ अघि बढेकाे दखिन्छ । दिगो विकास लक्ष्यका २३१ सुचांकहरु मध्य धेरै सूचांक सकारात्मक दिशा तर्फ गैरहेको, १०० प्रतिशत बिधुतिकरण तर्फ देश, पेट्रोल पाइप लाइन निर्माण सम्पन्न, स्थानिय सडक संजालमा उल्लेखनीय रुपमा विधि, भुकम्प पुनर्निर्माणमा उल्लेखनीय प्रगती, अधिकांस ग्रामीण क्षेत्रमा पक्की संरचना निर्माण, अाभास क्षेत्रमा सुधार-शहरीकरण विधि हुंदै, राष्ट्रिय गौरबका आयोजनाहरुमा सरकार युद्ध स्तरमा कार्यरत मानव विकास सुचांकमा सुधार, शान्ती सुरक्षा सुचांकमा सुधार, भ्रस्टाचार पारदर्शिता सुचांकमा ११ स्थान माथि उक्लन सफल, खुशीको सुचांकमा सुधार, बैदेशिक लगानी प्रतिबद्दता १३२.५ प्रतिशले बढेको, विश्व प्रतिस्पर्धात्मक सूचांक, आर्थिक, सामाजिक कार्यसम्पादन सुचांकमा सुधार, लैंगिक समानता सुचांकमा पनि सुधार, मुलुक सुरुंग युगमा प्रबेश,Air quality index मा सुधार, श्रमिकको स्वर्ण युगको सुरुवात, निजी क्षेत्रमा कार्यरत श्रमिकलाई अवकास पछि आजिवन पेन्सनको व्यवस्था सहित योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु, सुशासनका लागि मानक थालनी, यातायात सिण्डिकेटको अन्त्य, तस्कर माथि कारवाही र प्रभावकारी नियन्त्रण, औचित्यहीन भ्रमणमा नियन्त्रण, सुरक्षाकर्मी दुरुपयोग अन्त्य, सार्वजनिक खर्चमा मितव्ययीता, स्वास्थ्यका सुचांकहरु सन्तोषजनक, शिक्षाका सुचांकहरु सन्तोषजनक, ७५३ वटा नयाँ उद्योग ग्राम बन्दै, देशभर द्धन्द सेवा सन्चालन, सरकारी सेवा चुस्त, दुरुस्त, छिटो, छरितो, सस्तो र गुणस्तरीय देखिएका, सरकारी जग्गा लुट्ने माफियाहरु, भ्रष्टहरुलाइ मुद्दा दायर, अख्तियारका सदस्य र प्रमुख, संसदका सभामुख, प्रदेश मन्त्री, पुर्व मन्त्री समेतलाई कानून अनुसार कारबाही गरिएको उदाहरण दण्डहिनता यो सरकारले सहन सक्दैन भन्ने उदाहरण होइन र ?

खेलकुदका पूर्वाधारमा उल्लेखनिय प्रगती, मंसिर १५- २४, २०७६ मा सम्पन्न तेह्राैं दक्षिण एसियाली खेलकुदको सफल आयोजना र नेपाल ऐतिहासिक रुपमा समग्रमा दोस्राे स्थान हासिल गर्नु सरकारको सफलताको उदाहरण हो। सरकारले युगीन महत्वका शताब्दि शताब्दि महत्व राख्ने काम गरेको। नेपाल rising star of world को रुपमा उदाएको भनेर विश्वले भनेका छन । भुकम्प र नाकाबन्दीले सिथिल अर्थतन्त्रका धेरै सूचकहरु-सकारात्मक दिशामा बढेका समयमा कोरोना महामारीको कारणले विश्व मै आर्थिक प्रभाव परेकोलाई केपी ओलीको सरकारलाई दोष दिन मिल्छ ?

यी तथ्यहरु प्रस्तुत गर्दा डा. बाबुरामले तथ्यांकमा अडिएको सरकार भनेका छन। तथ्यमा, सत्यमा विश्वाश नगरे के मा विश्वास गर्ने त ? कथिएका नयाँ कथाहरुमा, होहल्लाका विश्वाश गर्ने त ?
कोरोना माथि बिजय प्राप्ती
३१ जनवरीमा पहिलो संक्रमण भेटिएको अमेरिकामा हाल झन्डै ११ लाख मानिस संक्रमित भएका छन, झन्डै ६२ हजारको मृत्यु भै सकेको छ। जनवरी २३ मा पहिलो केश भेटिएको नेपालमा हालसम्म जम्मा ५९ जना संक्रमित भएका छन, १६ जना निको भएर घर फर्किसकेका छन् भने कसैको मृत्यु भएको छैन। यो सरकारको सफलता हो कि होइन ? दन्त्य कथाहरु पढेका बाबुरामले यो प्रश्नको उत्तर अनेकौं दिने छन। यो तथ्यले बाबुराम मर्माहत भएका छन, किनकी धेरैलाई रोग लागेमा, धेरैको मृत्‍यु भएमा ओली सरकारलाई अरु आक्रमण गर्न पाइन्थ्यो भनेर प्रार्थना गरिरहनु भएको होला हैन पूर्व प्रधानमन्त्री ज्यू ?  संसारलाई लालन पोषण गर्न सक्ने र गरिरहेको चीनले कोरोनालाई सजिलै जित्यो तर बिश्व कम्युनिस्ट आन्दोलनको ज्यान दुस्मन अमेरिका कोरोना बाट पराजित हुन लाग्दा बाबुराम मर्माहत भएका होलान ।
के बाबुराम भट्टराई विद्वान हुन ?
गौतम बुद्धले प्रतिपादन गरेको दर्शनमा अन्य धेरैले पि. एच. डी. गरेका छन। गौतम बुद्धले त कुनै डिग्री लिएका थिएनन। तसर्थ अध्ययन, अनुभव र स्वअध्ययनले कुनै बिषय बस्तुमा गहिरो सैद्धान्तिक र व्यवहारिक ज्ञान भएको व्यक्ति त्यस विषयको विद्वान हुन्छ भन्ने कुरा स्पस्ट छ । ग्रिक दार्शीनिकहरुले भनेका छन् अध्ययन, अनुभव, स्वःअध्ययनले प्राप्त ज्ञान “समुद्र” हो भने परिक्षामा प्राप्त नम्वरको आधार र शैक्षिक डिग्री “खोला” मात्र हो। “विद्धता” शैक्षिक डिग्री प्राप्त गरेको जस्तो सजिलै प्राप्त गर्न सकिन्न । संसारमा पि. एच.डी. यिनले मात्रै गरेका हुन भन्ने जस्तो स्वभाव बाबुरामले देखाउँछन।

गोरखा दरवारको पृथ्वीनारायण शाह सुत्ने दक्षिण तिरको सानो कोठाको झ्याल माथी “गणतन्त्र नेपाल” भन्ने शिर्षकको व्यानर टाँसिएको रहेछ, त्यहीँका व्यक्तिहरुको भनाईमा गणतन्त्र घोषणा भएको केहि दिन पछि सयौं मानिस सहित डा.वावुराम भट्टराई त्यहाँ गएर त्यो व्यानर राख्न लगाई भाषण गरेछन् “हाम्रो देशलाई एकात्मक राज्य वनाउने काम गर्ने व्यक्ति पृथ्वी नारायण शाह हुन । तसर्थ यिनि शत्रु हुन र आजका दिनबाट हामी मुक्त भयौ र यो व्यानर कसैले झिक्छ भने त्यसलाई कारवाही हुन्छ । यिनको शालिक पनि फुटाउने छ भनेर भनेछन् । पृथ्वीनारायण शाहले ठुलो शैक्षिक डिग्री त लिएका थिएनन् । तर उलने हाम्रो मातृभुमि नेपालको निमार्ण, राज्य सञ्चालनको सिद्धान्त, राष्ट्रियता र विदेश निति दिए। जुन देशको सवृद्धिको लागि राजनिति गरेको भन्ने अनि त्यही देशको निर्माणकर्तालाई अपराधी ठान्ने र अपमान गर्ने बाबुराम भट्टराइ कस्ता मान्छे हुन ?
आइ. एस. सी.पढेर बि. इ. गरेर इन्जिनियरिङ्गमा पि. एच. डी.गरेका बाबुरामलाई संसारका सबै बिषयका ज्ञाता भन्न मिल्छ ? बुद्धिमान मानिसले जानेर बुझेको कुरा मात्र बोल्छ । सम्बन्धित विषयका विशेषज्ञलाई सोध्छ, धेरै सिक्नुछ भन्ने ठान्छ, गत वर्ष नोबेल प्राइज जित्ने अर्थशास्त्रका प्राध्यापकहरुले गरेको खोजलाई इन्जिनियरिङ्ग पढेका बाबुरामले उक्त पुरस्कार पाउन योग्य थिएन भन्नु कती हास्यास्पद कुरा हो ?
बाबुराम भट्टराईको राजनैतिक पृष्ठभूमी
पञ्चायत ब्यवस्था ढलेपछिको पहिलो संसदिय निर्वाचनमा तत्कालिन भूमिगत कम्युनिस्ट पार्टीले संयुक्त जनमोर्चा नेपाल गठन गरी बाबुरामलाई संयोजक बनाएर चुनावी मोर्चामा लाग्यो। त्यस बेलामा पार्टीका पुराना, त्यागी, सिद्दान्तनिष्ट नेताहरुलाई संयोजक नबनाएर पार्टीमा खासै उल्लेखनिय योगदान नभएका बाबुराम जस्ता कोरा, अस्थिर, अराजक, कुनै दृष्टिकोण नभएका ब्यक्तिलाई त्यो जिम्मा दिनु नै ठुलो गल्ति थियो। यिनी कुनै दिन कम्युनिस्ट पार्टिको ज्यान दुश्मन हुन्छन भन्ने कुरा बुझ्न नसक्नु भुल थियो।

यिनको संकास्पद गतिबिधिको कारणले यिनलाई जनयुद्धको दौरानमा सुराकी गरी त्यस बेलाका सिर्फ नेताहरुलाई हत्या गर्न सक्ने शंका गरी यिनलाई निशस्त्र गरी करीब २ वर्ष कारबाही गरिएको थियो। उनी प्रधानमन्त्रीमा बहाल रहंदाकै समयमा अर्को देशमा गएर एक चोटी देशको निम्ति जुवा खेलें भनेका थिए, देशको साँचो अन्तै रहेछ भनेका थिए र यिनले त्रिभुवन विमानस्थलको व्यवस्थापनको जिम्मा अन्य देशलाई दिन खोजेका थिए । तर जनताको विरोधपछि यिनी पछी हटेका थिए । हाम्रो देश अर्को देशमा मर्ज वा सब्मर्ज हुन सक्छ भनेका थिय। तत्कालिन रक्षामन्त्री शरदसिंह भण्डारीले तराईको २२ जिल्ला टुक्रिन सक्ने अभिव्यक्ती दिएको कारणले मन्त्रीबाट राजिनामा दिएका थिए। आज उनीसंग बाबुरामको घाँटी जोडीनु संयोग मात्र होइन, सार रुप उजागर भएको हो।

नेपालका ठुला ठुला उद्योगहरु स्थापना हुन नदिने, लगानी मैत्री वातावरण हुन नदिने, नेपालीलाई गरीब देख्न चाहने, नेपाललाई परनिर्भर बनाई राख्न चाहना राख्ने शक्तिहरुले पुनः नेपालमा अस्थिरता छाओस् भनेर प्रार्थना गरिरहेका छन । तिनीहरु नेपालको आर्थिक अवस्थालाई ध्वस्त पार्न चाहन्छन । अत्यन्त उज्वल भविष्य भएको, संसारलाई उदाहरण भएको नेपालको कम्युनिष्ट आन्दोलनलाई निमिट्यान्न पार्न चाहन्छन । ति अदृश्य शक्तिहरु राम्रा देखिने नाराको आडमा राष्ट्रघाती काम गरिरहेका हुन्छन् र जनता झुक्क्याइरहेका हुन्छन् । दलाल पूँजीवादी प्रवृत्तिले आफ्नो कुरा सोझो भाषामा भन्दैन । त्यसैले उनीहरूले केही असम्भव तर सुन्दा-पढ्दा राम्रा लाग्ने नारा र भनाइ तयार गर्छन्  । र जनताको मनोविज्ञानको शोषण गर्छन् । त्यही अस्थिरता चाहने अदृश्य शक्तिले नै जननेता मदन भण्डारीको हत्या गरेको थियो। सही दलाल प्रवृति आज त्याग र संघर्षको प्रतिक बहालवाला प्रधानमन्त्रीलाई लाखौं मानिस मार्ने कोरोना भाइरससँग दाँज्ने, मानव सभ्यतालाई नै लज्जित पार्ने शब्दहरु बोल्ने काम गरिरहेको छ। नेपालमा नाकाबन्दी लगाएर नेपालको अर्थतन्त्र समाप्त पार्ने अपराधिक सोंच भएकासँगको घाँटी जोडाइले बाबुरामका सबै झुटा नाटकको पट्टाक्षेप भएको छ। उनको भित्री इच्छा अनुरुप दक्षिण छिमेकी देशमा उपचार गर्न नगएर स्वदेशमा उपचार गर्ने पहिलो प्रधान मन्त्रीलाई उनले भस्माशुर नभनेर कस्लाई भनुन त ?
सिद्धान्त बारे

जननेता स्व. मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादलाई बाबुराम सबैभन्दा चर्को आलोचना गर्थे। पदार्थको आधारभुत संरचना फरक हुन्छ र मानिसको आधारभुत संरचना वा “कोष” भित्र रहेका संरचनाहरु पनि मानिस पिच्छे केहि न केहि रुपमा फरक हुन्छ र आधार संरचनाबाट उपरिसंरचना बन्ने हुनाले प्रत्येक मानिसको विचार , चेतना, रुची , दृष्टिकोण, क्रियाकलाप फरक हुन्छ र त्यो कुरा समय क्रममा एक वंशवाद अर्को वंशमा सर्दै जाँदा अझ फरक हुँदै जान्छ। र नयाँ रुप नयाँ विचारको जन्म हुन्छ । सजिव, निर्जिवको आधार संरचनामा नै द्वन्द छ। द्वन्द सर्वब्यापक छ। यो सर्वब्यापी गतिशिल सत्यको कारणले पदार्थ परिवर्तनसिल छ । सिद्धान्त परिवर्तनसिल छ र माक्र्सवाद पनि परिवर्तनसिल छ । न्युटन, आइन्स्टाइनका सिद्दान्तहरू पनि विस्तारै परिवर्तन हुन्छन, भईरहेका छन।यो सर्वसभ्यतालाई संवोधन गर्नको लागि संविधानको सर्वोच्चता, बहुलवादी खुला समाज, शक्ति पृथकिकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, बहुदलीय प्रतिस्पर्धाको प्रणाली, आवाधिक निर्वाचन, मानव अधिकार, स्वतन्त्र न्यायपालिका, कानूनको शासन इत्यादि मानव जातिले समाज विकास क्रममा आर्जन गरेका मूल्यवान कुरालाई अंगालेर उत्पादक शक्तिको अभुतपूर्व विकास गर्दै, उत्पादक शक्ति र उत्पादन सम्बन्धबीचको दुरीलाई साँघुरो बनाउँदै लोककल्याणकारी कार्यक्रमहरु अगाडि बढाउँदै नेपाललाई संसारको विकसित मुलुक मध्येको एक बनाउन समाजवाद र विस्तारै साम्यवादको बाटोमा अगाडी बढ्ने मार्ग निर्माण गर्न प्रतिपादन गरिएको जनताको बहुदलीय जनवादको खिलाफमा बाबुराम भट्टराईले सँधै तल्लो स्तरमा ओर्लिएर आलोचना गर्थे ।

विज्ञानको विद्यार्थी हुँ भन्ने र धन्यवादलाइ स्विकार्ने तर जबजलाई संसद्बाद भनेर हदै सम्मको घृणा गर्ने अज्ञानी र अहँकारी ब्यक्ति हुन बाबुराम भट्टराई। नेकपासँग जनताको जनवाद छ, जनता समाजबादी पार्टीसँग के छ बाबुराम भट्टराई ज्यू ? आफुले आफैलाई विद्वान, महान मान्ने र विज्ञान र सभ्यतालाई कुल्चेर तत्कालीन राजनैतिक फाईदा लिन जातिय राज्यको वकालत गनर उनी के बादी ? अराजकतावादी ? अस्थिरतावादी ? जातिवादी ? बाबुरामले जे गरे पनि, जे बोले पनि अरुले स्विकार्छन भन्ने लाग्या छ बाबुरामलाई तर बाबुराम जी ! तपाईं भन्दा धेरै ज्ञान भएका, क्षमता भएका मानिस नेपालमा धेरै छन। तपाईंले बोलेका स्तरहीन, निक्रिष्ट भाषा सुन्दा धेरै नेपाली, मानब सभ्यता नै लज्जित हुनु परेको छ। बैचारिक रुपले पनि बाबुराम भट्टराई खोक्रा मान्छे हुन, जुन यिनको अन्तर्वातामा प्रयोग गरेका अशिष्ट भाषाले जनाउँछ।
नेकपालाई मधेश बारे बाबुराम भट्टराईले लगाउने गरेको आरोप
नेकपा मधेस विरोधी पार्टी हो भनेर बाबुराम भट्टराईले आरोप लगाउने गरेका छन। राजनैतिक फाइदाको लागि यति झुट कुरा गर्न पछी नपर्ने बाबुराम को के कुरा गर्नु रु नेकपा मधेसको समर्थक पार्टी हो। महान देशभक्त मधेसीहरु लाखौंको संख्यामा नेकपामा आबद्ध छन। मधेशका हर समुदायका जनताका घर घरमा नेकपाका कार्यकर्ता र जनता जरा गाडेर मजबुत ढंगले बसेका छन। बाबुरामका असली रुप थाहापाएपछी महान देशभक्त मधेसीले बाबुरामलाई नै मधेसमा निषेध गर्ने छन। यिनको कुटिलता, चञ्चलता, अस्थिरता, अराजकता, अहंकारता, जनताले र शंकास्पद गतिविधिले देशभक्त जनता समाजवादी दलका नेताहरु दिक्क हुनेछन र यिनको देशद्रोही रुप चिनेर यिनलाई निकालिदिने छन। किनकी पृथकतावाद समाप्त पारेको कुरा डा. बाबुरामलाई पटक्कै मन परेको थियन। पहाडमा बाबुराम भट्टराईको उपस्थिती पिँधमा औंलो छिर्ने प्वाल भएको माटाको गाग्रो जस्तो अवस्थामा पुगेको छ।

बाबुरामले कम्युनिस्ट पार्टी छोड्ने नैतिकता
आजभन्दा २०५० बर्ष अगाडि तिर इजिप्टमा दुइटा राज्यहरुकोबीचमा एउटा ठुलो लडाईं भएको थियो। एउटा राज्यको नेतृत्व त्यस देशको राजा र अर्को राज्यको नेतृत्व त्यस देशको महारानीले गरेका थिय। त्यस घमासान युद्धमा दुबै तर्फका हजारौं मानिसले ज्यान गुमाए। त्यस बेलामा राज्यका प्रमुख वा राजा वा महारानी आँफै सबभन्दा अगाडि युद्धमा हुन्थे। राजा पक्षका सेनाहरुले वि स्तारै लडाईं जित्दै गए र रानीले नेतृत्व गरेको राज्यका सेनाहरु मारिदै गए।

अन्तमा राजा पक्षले रानीलाई गिरफ्तार गर्‍यो र रानी पक्ष युद्धमा पराजित हुन पुग्यो। राजा पनि अविवाहित थिए र पराजित रानी पनि अविवाहित थिइन्। दुबै जवान थिए। राजाले कब्जामा रहेकी अर्को देशका पराजित रानीलाई विवाहको प्रस्ताब गरे। उनले भने हामी दुबै अविवाहित छौं विवाह गरौं । यसो गर्दा जित हार भएन, दुबै देश एकै भइहाल्यो। तब कब्जामा रहेकी पूर्व रानीले एक रातको समय मागिन् निर्णयको लागि। अर्को बिहान तिनले लामो लेख लेखेर आत्माहत्या गरेको पाइयो र लेखमा भनिएको थियो मेरो कारणले हजारौंले आफ्नो अमुल्य जीवन गुमाए, हजारौ विधुवा भए र हजारौ टुहुरा भए र लाखौं अपाङ्ग जीवन बिताउन बाध्य भएका छन अनि म भने सुख सुबिधा प्राप्त गर्न ठुलो राज्यको राजाको श्रीमती वा रानी बनी जिन्दगी भोग बिलासमा बिताउने ? म त्यस्तो गर्दिन भनेर लामो कारणहरु देखाएर आत्महत्त्या गरिन। डा.बाबुराम भट्टराईको कारणले हजारौं शहिद भएका छन, हजारौंको काख रित्तिएको छ। हजारौ विधुवा वा विधुर भएका छन। आजसम्म पनि हजारौ हजार मानिस जनयुद्धको घाइतेको, अपाङ्गको रुपमा दुखित जीवन बिताइरहेका छन। जनयुद्धको बेलामा एउटा बोरामा टाउको ल्याउने त्यहि बोरामा पैसा लैजाने भनेर टाउकाको मोल राख्ने एबं घोर दक्षिण पन्थी शक्तिसंग घाँटी जोडेर कुन कुरा प्राप्त गर्न बाबुरामले यो कम्युनिस्ट पार्टी छोड्न पुगे रु थोरै मात्र नैतिकता छ भने ति शहिदका परिवार, अपाङ्ग योद्धाले के भन्लान भनेर सोच्न पर्दैन ? धिक्कार छ। सही कम्युनिस्ट पार्टीमा रहेको भए जस अपजसको भागी हुन्थे र नैतिकतामा कुनै प्रश्न उठ्दैन थियो। शहीदका परिवार र घाइते योद्धाहरुले बाबुराम भट्टराईलाई थुकेका छन र अरु थुक्ने छन। नेकपा माओवादी देशभक्त शक्ती थियो तसर्थ बाबुराम त्यसमा अडिन सकेनन। बाबुरामले पार्टी नछाडेको भए एमाले र माओवादी केन्द्रको बिचमा एकता हुन दिंदैनथे। यिनले कम्युनिस्ट पार्टी छोड्नु भनेको कुचोले बढार्न पर्ने कसिंगर हावाले उडाइ दियो।

निष्कर्श
अराजकतावाद, ढुलमुले चरित्र, अस्थिरतावादी चरित्रको समाप्त अनिवार्य छ। रिस, ईष्र्या, डाह, द्वेष, आक्रोस, प्रतिशोध, बदला लिएर आत्मसन्तुष्टि लिने प्रवृत्तिका नाश निश्चित छ । राजनैतिक , बैचारिक मुद्धा नभएका कतिपय फुर्सदिला, सामाजिक ब्यक्तिहरु खुब कराउँछन, बेमौसमी बाजा बझाउँछन। मानिससँग तर्कको अन्त्य भएपछि र विवेक गुम्न थालेपछि गाली आरम्भ हुन्छ । देशभक्तसँग देशद्रोहिहरु स्वत रिसले आगो हुन्छन । अत्यन्त सुसंगठित, समाजको जरासम्म भिजेको लाखौं कार्यकर्ता र जनताको साथ रहेको, संसारमै कम्युनिस्ट पार्टीलाई एकिकरण गर्न सक्ने, विश्वमै नेपालको नाम ऐतिहासिक रुपमा राख्न सक्ने, असीम इच्छा शक्ति भएका, सामन्तवादलाई सधैंको लागि नेपालबाट हटाएर जनतालाई वास्तविक सार्वभौम बनाउने आन्दोलनको नेतृत्व गर्ने महानायकहरु सहितको नेकपाले देशलाई बर्बादी, अस्थिरतातिर लैजान षड्यन्त्र गर्ने तत्वहरुलाई धुलो चटाइ दिने छ। यो महाशक्तिले प्रतिकृयावादिहरुको सबै सबै षड्यन्त्र बिफल पारिदिने छ, घेराबन्दी सजिलै तोड्ने छ ।

लेखक: डा. अधिकारी  धादिङ २ () बाट निर्वाचित नेकपाका सांसद हुन् । उनी महाराजगन्ज मेडिकल क्याम्पसबाट PhD गर्ने पहिलो ब्यक्ती र NAST बाट वैज्ञानिकको रुपमा पुरस्कार प्राप्त गर्ने ब्यक्ति हुन।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments