सामाजिक संरचना र वैदेशिक रोजगार

बुधबार, जेष्ठ ९, २०७५



- सीता ओझा अध्यक्ष महिला अध्ययन केन्द्र

नेपाली समाजको पारिवारिक संरचना पहिले विस्तारित परिवारको स्वरूपमा रहेको देखिन्छ । यस्तो परिवार तीन चार पुस्ताको एकै भान्सामा सहज र समायोजन भएर बसेको हुने गर्दथ्यो । गण, कविलाको स्वरूपबाट टुक्रिदै आएको यस्तो प्रकृया त्यस बेलासम्म सरल र सहजै मान्ने गरेको थियो । त्यसबेला मानिसहरूको जिविकोपार्जनको तरिका व्यक्तिको सामाजिक र पारिवारिकस्तरका आधारमा निर्धारण हुने गर्थ्यो । समाजमा जिविका गर्नेहरूमा श्रमको आधारमा वर्गीकरण भएको कुरा पनि त्यहि कालखण्डमा भेटिन्छ । उच्च र मध्यम वर्ग मध्ये सम्पन्नता भएकाहरूको प्रसस्त खेती र पशुपालन आदि गर्ने गरेको पनि भेटिन्छ । हुने खाने र हुँदा खानेहरूको वर्ग विभाजनको प्रचलनको विकास पनि यसै समयदेखि भएको मान्न सक्ने प्रसस्त आधारहरू यहि समयमा भेटिएका छन । विशेषगरी घरका महिलाहरूले खेतीपाती र पशुधनसहितको नाता सम्बन्ध धान्ने प्रचलनहरू प्रसस्तै भेटिन्छन् । साथै आफ्नो सम्पत्तिको सान, मान बढाउन र घरको र सम्पतिको व्यबस्थापन गर्न बहुविवाह गर्ने गरेको पनि भेटिन्छ । विषेशगरि पुरूषहरू बाहिरको कामको चाँजोपाँजोमा लाग्ने कारण घरायसी कामकाज धान्नका लागि नै महिलालाई विवाह गरेर ल्याउने, घर र घरायसी सबै काम जिम्मा लगाउने चलनहरू चलेको देखिन्छ । यसरी काम र कामको व्यवस्थापन, जिम्माको भरपर्दो वेतन दिन नपर्ने व्यक्ति श्रीमती हुने भएकोले पुरूषले आफ्नो सम्पत्तिको व्यबस्थापनका लागि नै बहुविवाह गर्ने गरेको पनि देखिन्छ । यी र यस्तै प्रचलनहरूको विकाससँगै समाजले महिलालाई निजी सम्पति बनाउने, निजी सम्पतिको रूपमा उपयोग गर्ने कुराले समाजमा स्थान लिएको देखिन्छ । त्यसबेला यस्ता कुरा महिलाको अधिकार र शोषणमा पनि परेनन् ।

समय गतिशील छ, समय अनुसार समाजमा केही बदलावहरू देखिइरहन्छन । हाम्रो समाजमा त्यो समय शिक्षाको गति धिमे देखिन्छ । त्यसबेलाका समाज सञ्चालकहरूले समाजको गतिशीलताको कारण खोजेनन् र बुझेनन् पनि । समय अनुसारको आएको गतिशीलताको कारण समाजले समय अनुसारको स्वरूप र रङ्ग फेर्यो । बिस्तारै विस्तारित परिवार टुक्रिएर संयुक्त परिवार तिर लाग्यो । समाजमा केही परिवारको स्वरूपमा आएको फेरबदलका बारेमा टिक्काटिपणीहरू चल्न थाले । गतिशीलताको रूप फेरिएको कुराको हेक्का समाजमा रहेका गन्यमान्यले बुझ्न सकेनन् । शिक्षाको विकासमा रहेको कमिको कारण नै त्यो बेलासम्म परिवारभित्रको आवश्यकता पनि स्थानीयस्तरमा नै पूरा हुँदै थियो । पढ्ने पढाउने कुरा पनि जात, पहुँच र कुराका आधारमा मात्रै रहेको देखिन्छ । थोरै लेखपढ गर्नेहरू पनि आफ्नो जातीय सस्कारका कर्म र धर्म आदि सकेर काममा जाने गरेको कुरा अझै हामी दन्ते कथा जस्तो गरि सुन्दै आएका पनि छौँ ।

नेपाली समाजमा शिक्षाको विकासमा फट्को मारे जस्तै गरि पारिवारिक संरचनाको फेरवलमा पनि उतार चढाव आएको देखिन्छ । यस्तो किन भयो ? भनेर त्यसको कारण खोज्ने र समयको बदलाव पहिचान गर्न, बदलाव अनुसारको सामाजिक नीति नियम बनाउन नसकेर हामीले परिवार र परिवारको आवश्यकता थाहा पाउन सकेनौँ । पारिवारिक सदस्यहरूको स्थान, मान र मर्यादा बुझ्न र बुझाउन नसक्दा परिवार भित्रका काम, कार्यक्षेत्र र अधिकार क्षेत्रको व्याख्या र विश्लेषणमा कमि देखियो । यस्ता कुरा नबुझ्दा परिवार विखण्डन हुने कुरा स्वाभाविक बन्न गयो । त्यो स्वाभाविक पनि थियो तर परिवारको विभाजनलाई (छुटिएर बस्ने कुरा) पनि त्यस समयको समाजले प्रतिष्ठा बनाएको भेटिन्छ । एउटै भान्सामा खाना खाएर बस्ने प्रचलन (सदियौं देखि विकास भएको विस्तारित परिवार) संयुक्त हुँदै एकल हुन पुग्दासम्म हामीले अझै परिवारको उचित व्यवस्थापन गर्न सकेका छैनौँ । त्यहि विषय पहिचान हुन नसक्दा र परिवारभित्र सामाजिक न्याय नपाउदा परिवार भित्रैबाट अधिकारको विषय पनि उठ्न पुगेको कुरा अझै हामीले महसुस गर्न सकेका छैनौँ ।

अबको परिवारभित्र जोडिएको जिविको पार्जन र जीवनस्थरको सुधारको कुरासगँ परिवारका हरेक व्यक्तिको आवश्यताको परिपुर्ति कसरी हुने या गर्ने भन्ने कुरा चाहिँ अहिलेको समयका मानिसहरूको जिविको पार्जनसगँ जोडियो प्रमुख विषय हो । यो कुरा पछिल्लो समयमा फड्को समाजको विकास र शिक्षाले व्यक्तिलाई घरबाट निकाल्यो । व्यक्ति व्यक्तिबीच अन्तरक्रिया गरायो । मानवीय सम्बन्ध जोडिदियो । राम्रो, नराम्रो र फाइदा घाटा सहितको जीवनको सबै पक्ष जोडिएको सम्वृद्दिलाई नजिक ल्याइदियो । त्यहीँ जिवनको सम्वृदीको विमानबाट मानिसले आफ्नो सरल र सहज दिन चर्याको परिकल्पना गर्न बाध्य भएको देखिन्छ । त्यस परिकल्पनाले आफुलाई कतिसम्मको जोखिन मोल्न पुर्याउछ भन्ने कुरा नसोचि निर्णय गरेको पनि देखिन्छ ।

हरेक मानिसले लगानी गरेपछि प्रतिफलको आशा गरेकै हुन्छ । विशेषगरि वि स २०४६ सालपछि स्वरोजगारको उदेश्यसहित सरकारले निजी स्तरमा सेवाभावले व्यवसाय सञ्चालन गर्न सक्ने लचिलो प्रावधानको ढोका खोलिदियो । थोरै तर उच्चस्तरीय शिक्षा लिएका सम्पन्न केही व्यक्तिहरूले त्यो अवसरको सदुपयोग गर्दै निजीक्षेत्रमा शिक्षाको व्यवसाय सञ्चालन गर्ने उदेश्यले पुर्व प्राथमिक, प्राथमिक नामका अंग्रेजी माध्यमका विद्यालयहरू सरकारको नीति नियम र कानुन भित्र छिरेर, अनुमति लिएर व्यवसायका रूपमा सञ्चालन गर्न थाले । पढाइको माध्यम अंग्रेमा बनाएपछि अभिभावकहरूले निजी सस्थामा आफ्ना नानीहरू लान थाले । आफ्ना नानीहरूको उज्वल भविष्य ठानेर मागे जति शुल्क तिर्दै गए । यसरी लगानी अधिक गरेकै कारण विस्तारै अंग्रेजी पढ्ने जन शक्तिले नेपालमा काम पाउन मुस्किल पर्यो अनि युवा जनशक्ति विदेशीनु पर्ने बाध्यता पनि आइ लाग्यो । देशमा भएका उद्योग धन्दा, कलकारखानाहरूको संरक्षण गर्न सकेर राष्ट्रिय पुँजीको जगेर्ण गर्न सकेको भए स्वदेशमा नै रोजगार या स्वरोजगार हुने या बन्ने अवस्था हुनसक्थ्यो तर ती र त्यसता संभावनाहरू राजनीतिक अस्थिरता र राजनीतिक अपराधीक कारणले गर्दा सबै गर्भ मै तुहिने अवस्था भयो । मानिसमा अस्थिर मनोविज्ञान र अधैरता बढ्यो । स्वदेशमा रोजगार हुने अवस्था नभएपछि पढेलेखेका वेरोजगार जनशक्ति विस्तारै विदेशिनी मनस्थितिमा पुगे । परिवार भित्रको आर्थिक संकट, आर्थिक संकटले भित्त्त्र्याएको गृह कलहको व्यवस्थापका लागि बिस्तारै युवा शक्ति वैदेशिक रोजगारीमा आकर्षित बन्यो । उनीहरूको जीवनको जवर्जस्त जिविकाको आकर्षणको केन्द्र बन्ने बाध्यता भयो । संयुक्त परिवारबाट टुक्रिदै गरेको पुस्ताका महिलाले त्यहि आवश्यकता अब आफुमा पनि दाँजेर हेर्न थाले । पितृसत्तात्मक समाजको संरचना र त्यसले परिवारभित्र महिलामाथि भएको हेलाहोचो व्यवहारका विरूद्द आर्थिक सम्मपन्नताको विकल्पका रूपमा महिलाहरूले लिए । पुरूषको निजी सम्पतिको रूपमा पारिवारीक बन्धनमा बाँधिएका महिलाले पनि स्वजिविको या पारिवारिक जिविको पार्जनलाई आफ्नो परिवारको आवश्यकता पूरा गर्ने आधारको रूपमा मान्न थाले । परिवारको संरचनामा रहेका परिवारका सदस्यहरू मध्येका छोराछोरी र श्रीमतीहरू सम्पतिको रूपमा राख्ने या ठान्ने परम्परागत धारणाको अवशेष अझै पनि समाजमा महिला र बालबालिकालाई गर्ने कतिपय सम्बोधन र व्यवहारले देखाउने गरेको छ । त्यसको प्रतिकार स्वरूप महिलाले जिविको पार्जन सहज पार्न वैदेशिक रोजगारीलाई लिएको पाइन्छ ।

मुलुकले राष्ट्रिय पुँजीको आधार तय गर्न नसकेको अवस्थामा हरेक परिवारभित्र विदेश जाने या पठाउने कुरालाई हामीले आफ्नो परिवारक इज्जत ठान्ने गरेका छौँ । साथै हामीले अंग्रेजी माध्यममा निकै खर्चेर पढाएका आफ्ना छोराछोरी सकेसम्म युरोप, अमेरिका र अष्ट्रेलिया पठाउदा या पठाउन पाउँदा निकै गर्भ महसुस गर्छौ । विकशित ठुला राष्ट्र पठाउन नसक्ने मध्यम वर्ग र निम्न वर्गको जनशक्ति विदेशीन बाध्य छ । आफ्नो पारिवारिक पेसा या जमिनको प्रयोगमा हुन नसकेको आधुनिकीकरण र प्राविधिकहरूको व्यवस्थापनमा भएको ढिला सुस्तीका कारण सयौं विगा जमिन अनुत्पादक भइरहेको छ । यहि शिलशिलामा अलिकता लेखपढ गरेका महिलाहरू आफ्नो जिवनस्तरको सुधार्न अपनाएको देखिन्छ । स्वदेश रोजगारीमा नहुने या रोजगारीको विकल्प नभेटेपछि गुजाराको लागि विदेशिने अबस्था बनेका महिलाहरू वैदेशिक रोजगारीको सम्पर्कमा जादा मेनपावरको मुल सन्चालकसगँ सम्पर्कमा पुग्न सक्दैन । महिलाहरू वैदेशिक रोजगारको अपुर्ण सूचनाको आधारमा आफ्नो राहदानी अरूको जिम्मा लगाउन पुग्छन । कामको सिलसिलामा अबैध रूपमा एजेन्ट बनेका व्यक्तिहरूले सूचनाको पुर्णता विना नै उनीहरूसँग रकम असुली गर्ने र बिस्तारै यौन शोषण गरेका घटनाहरू पनि निकै भेटिन्छन । यसरी स्वदेशमा रोजगारीको प्रवन्ध हुन नसकेपछि अन्तिममा वेरोजगार बसेर दुँनियाको गाली सुन्नु, हेपाइ खानु भन्दा दुःख खपेर भए पनि अलि पर अर्कै देशमा गएर केही न केही काम गर्छु भन्ने मनस्थितिमा विदेशीएकाहरूले जस्तोसुकै जोखिम सहेर घर छोडेको भेटिन्छ ।

यसरी वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरूले कामको अबधिको रकम, विदेश उड्नु अघि एजेन्टले दिएको वचन या मेनपावर कम्पनीले दिने भनेर गरेको सम्झौता अनुसारको वेतन पनि हातमा नपर्ने कुरा अधिकाँशले बताउछन । यस्ता अनियमितता र आएका गुनासाहरूको सुनुवाइ गर्ने सरल सेवा डेक्स सरकारको तर्फबाट सञ्चालन हुनुपर्ने तर यस्तो सुनुवाइ भएको देखिएको छैन । यदाकदा भएको पनि श्रमिकको हितानुकुल होइन मेनपावरको हितानुकुल नै काम गरेका देखिन्छ । वैदेशिक कम्पनीमा काम गर्दा या गर्नुपर्दा तोकिएको बेतन नपाएको अवस्थामा बोलिदिने निकायहरूको भुमिका पनि खासै प्रभावकारी छैन । यस्तो संकटपुर्ण अबस्थामा काम गरेको अबधिको कामको पारिश्रमिक सहित पुनः रोजगारीको व्यवस्था नहुन्जेलको आर्थिक व्यवस्था या क्षतिपूर्तिकोलागि सरकारले अभिभावकत्व लिनुपर्ने हुन्छ तर अहिले सम्म त्यस्तो व्यवस्थापन गरेको देखिन्न । यस्ता जोखिमको पहिचान गर्न नसक्दा वैदेशिक रोजगारीमा जानेहरूको मृत्युको खवर सुनिन्छ । सरकारले जोखिमपूर्ण अवस्थामा रहेका कामदारहरूको खवर पाउने वितिकै समस्याको सुनुवाइ या उद्दार गर्ने अवस्था भए रोजगारीमा गएका सन्तान कफिन बक्समा स्वदेश फर्काउनु पर्ने थिएन । आम नागरिकलाई स्तब्ध पार्ने यस्ता समाचारले परिवारमा भएको क्षति हामी कसैले अनुमान र पूरा गर्न सक्दैनौ । रोजगारीको शिलशिलामा हाम्रा चेलीबेटी माथि भएको अमानवीय हिंसाबाट जोगाउन सकिन्थ्यो कि !

1662 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank