के महिला एकल हुनु सामाजिक अपराध हो ?

बिहिबार, साउन १९, २०७४



अविवाहित बस्नु,बस्नु रुचाउनु या बस्न बाध्य हुनु, सम्बन्ध विच्छेद गर्नु अथवा विधवा हुनु यी सबै फरक फरक परिवेशका फरक विषयहरु हुन । पूर्विय सभ्यता,सामाजिक कानुन अथवा नेपालको कानुनले तोके या न तोके पनि यिनीहरुको पारिवारिक संरचनामा स्थान र मानको अवस्था सामाजिक मान्यताको हिसावले एकल नै देखिन्छ । निश्चित सामाजिक मापदण्डहरु पुरा नभएका कारण अहिले पनि यी महिलाले सामाजिककार्यमा दर्जा पाउदैनन् । त्यसैल यो पक्षलाई एकलको परभिाषाभित्र राखी वहस गर्न खोजीएको हो ।

आदिमकालदेखि नै पूर्विय सव्यताले विकास गरेको समाजमा महिला र पुरुषको विवाहको धारण र परिभाषा फरक गरेको पाइन्छ । अहिलेको सन्र्दभमा त्यो परिभाषा समानताको दृष्टीकोणबाट विभेदपुर्ण छ । यस्ता कुराहरु परिवार बचाउने नाममा राज्य, परिवार र नीजि सम्पति र स्वामित्वको व्यवस्था अघि देखि नै विकास गराएर ल्याएको भेन्टिन्छ । परम्परागत मान्यता र अग्रगमनको मान्यताको विजारोपण गर्नेहरुले पनि यस्ता विषयहरुलाई प्राथमिकतामा राखेर भएका भिन्नता र असमानताका विषयमा चर्चा ÷वहस गरेको खास भेटिएको छैन । यसरी परम्परागत रुपमा सुरुवात भएका तर वैज्ञानिक आधार नभएका सामाजिक विधि र रितिहरुका वारेमा रुपान्तरित हुने विषय अहिले सम्म ठोस रुपमा कार्यक्रम बनाएर कसैले बोलेका छैनन् । एकाद बोलेकाहरुले पनि कुनै एउटा विषयमा कुनै एकदिन कुनै संघ सस्थाले निम्त्याएर केहि सहुलिएत सहित विचार राख्ने अवशर मिल्यो भने लेख्ने र बोल्ने बाहेक बनेका नीति कार्यान्वयनमा देखिएका समस्या या ग्यापको विषयमा खासै चिन्ता गरेको पनि देखिन्न । मानिसहरु कसैले बोलेका आधारमा बानी बसेको व्यबहारमा परिर्वतन गर्न कति तम्सन्छ र सुद्रन्छन भन्ने खासै हेक्का पनि पुर्याएको जस्तो लाग्दैन । हाम्रो बानीमा भएको यहि अर्गेलोका कारण मानिसले आफ्नो मान्यता सितिमिति त्याग्न नसक्ने कारण कमजोर या पछि पारिएका पक्षहरु विभेद र अन्याय परिरहेका हुन्छन । यस्ता कुराको हेक्का सवलहरुले थाहा पाउदैनन, हेक्का हुदैन या बेवास्ता गरिरहेकाहुन्छौ । नागरिकलाई कानुनले यस्ता कुरा सहन बाध्यकारी बनाएको त छैन तर, सहनेले एकै नासले सहि रहेको हुन्छ । सहनु पर्ने बाध्यता पनि सृजना हुनसक्छ ।त्यो परिवारमा या समाजमा बाच्नकालागि उसले ती कुरा सहन गर्ने बाहेक अन्य उपाय नै नभएको अवस्था पनि त हुनसक्छ । नसहे या अलिक फरक विचार राखे एक्लै पारीन्छ , निशेध गरिन्छ र व्यक्तिलाई नै खराब बनाइन्छ ।यस्ता प्रचलन पनि हामी कहाँ प्रसस्तै नभएका होइनन् ।

यसरी कानुनी रुपमा पारविारिक संरचनाभित्र एकलहरुको पारिचय , स्थान र पहिचानको अवस्था संरक्षित, दया र निगाहमा मात्रै छ भन्ने आधार प्रसस्तै भेटिन्छन । अहिले पहिले भन्दा समय मात्रै होइन राजनीति र राज्यका कानुनहरु निकै बदलिएको अवस्था छ । समाज र परिवारमा थोरै खुलापन आएको छ । तर महिला र पुरुष विच पुर्विय सव्यताले कोरीदिएको भिन्नताको सीमारेखामा खासै बदलाब आएको देखिन्न । व्यवहारिक जिवनमा त्यस्ता बदलाब नदेखिए पछि मानिसमा भएको यथास्थितिवादी सोचहरुले भित्रभित्रै औंसा पारिरहेको कुरा हेक्का नै नराखि अर्को पट्टी ठोकीन पुग्ने हाम्रा बानीहरु अझै जिउदैछन । त्यस्ता कुराले कम्मजोर झन कम्मजोर हुन्छ । पारिवारिक संरचनामा अहिले पनि हाम्रा बोल्दा र व्यबहार गर्दा फरक नै छन ।अहिले पनि पारिवारिक शक्ति र मर्यादामा रहेकोले अरुलाई प्राय हेपिरहेकै देखिन्छ । त्यसरी गरिएको वर र परको व्यबहार हटाउने कहिले होला ? भन्ने प्रश्न र उत्तर दुबै हामी आफैँमा होलाकी जस्तो लाग्छ ।

एउटै रक्त सम्बन्धका छोरा र छोरीविचमा आमाबाबुले गर्ने गरेको या रहेको विभेद होस या फरक रक्त सम्बन्ध भित्र गाँसिएको ज्वाइँ र छोरीको नाता र सम्बन्ध नै किन नहोस हामीले विशेषगरि महिलालाई नै अन्यायमा पारिरहेका हुन्छौ । त्यस्तै गाँसिएको नाता र रगतको नाता छोरी र बुहारीविच पनि हामीले व्यबहारमा निकै भिन्नताहरु गर्ने गरेका प्रसस्तै उदाहरणहरु छन । रक्त सम्बन्धभित्र गरिने यस्ता व्यवहारगत विभेदहरु निकै निन्दनीय र निकृष्ट प्रकृतिकै देखिन्छन तर पनि हामी परिवार बनाउने नाममा मौन या चुपचाप बस्छौ ।

अहिले पनि हामी छोराछोरीको विवाह घर धान्न र व्यवहार टार्न गर्ने प्रचलन मै छौ । त्यसैले घर भित्र श्रीमान र श्रीमती विच हुने र गरिने व्यवहारमा पनि निकै सुधार हुन जरुरी देखिन्छ । परिवारमा महिला एकल बस्नु सामाजिक अपराध ठानिनछ । बसे माता पिताको सम्पुर्ण पक्षको हेरचाह एकलले गर्नुपर्छ भन्ने मान्यता पनि जोड्ने गरिन्छ । अविवाहित छोरी एक्लै बस्ने हक्कै हुन्न झै गरि निगरानी र कटाक्ष गर्ने प्रचलनहरुका साथै सामाजिक अपराध नै गरे झै गरि घर परिवार भित्रैबाट हेपाइ र र्दुवचन सहन गनुपर्ने अवस्थाहरु पनि प्रसस्तै छन । यस्ता व्यवहार संविधान विरोधी ,कानुन हातमा लिने र मानवअधिकार विरोधी गतिविधिहरु नै हुन् भन्न भने हामी सामाजिक अगुवाले पनि सक्दैनौ ।त्यो सँगै उनीहरुको सम्पतिको हक, मौलिक हक, स्वतन्त्रताको हक हो भनेर मुख खोल्न नसकेर समाजमा महिलामाथि प्रसस्तै हिंसा भएका घटना पनि देखेका छौ ।

व्यक्तिले विवाह गर्नु या नगर्नु व्यक्तिकै स्वतन्त्रताको कुरा हो । विवाह सामाजिक आवश्यकता हो व्यक्तिको बाध्यता होइन तर हामी व्यक्तिलाई कतिपय बेलामा जवरजस्त पारिवारीक दवावले विवाह गराउछौ । विवाह पछि परिवारिक संरचनामा हुने फेरबदल र थप योजनाका बारेमा सोच्दैनौ । परिवार चलेगाको परिकल्पनाले थपिएको सदस्यलाई अमैत्री वातावरण बन्छकी भनेर सोच्नु भन्दा बढि पारिवारिक अपेक्षा पुरा गराउनेतिर लाग्छौ । यहि नेर विचारमा भिन्नता आउछ र अन्तरविरोध जन्मन्छ । अन्तरविरोधको व्यवस्थावनकालागि मैत्रीपुर्ण व्यवहार र आयस्रोत नै पहिलो आवश्यकता हो भन्ने हेक्का हुदाहुदै पारिवारिक कलह वा तनावले मानिस मनो सामाजिक समस्यामा पर्ने र समाधानकालागि विदेसीने खतरा बढ्रछ । यो सामाजिक अस्वस्थता हो । यस्तो अबस्थामा पनि महिला या पुरुष एकल हुनसक्छ । यहाँ पनि एकल भएको महिला असुरक्षित र जोखिममा नै हुन्छ ।
मानिसलाई कुन बेला के रोग लाग्छ ?कस्तो घटना या र्दुघटनाका कारण मिनेट भरमा जिवन समाप्त हुने हो भनेर अनुमान गर्न नसक्ने कुरा हो । यसरी हेर्दा मनिसको जिवनको कुनै भरोसा छैन । यस्ता असमाहिक कुरा महिला या पुरुष जो कोहिलाई पर्न सक्छ । हाम्रो समाज यस्ता कुराप्रतिको व्यवहार अझै निकै कुर देखिन्छ । त्यहि विपत पुरुषलाई परे घाटै देखि विकल्पका बारे चर्चा गर्छन भने महिलालाई सर्वत्र नङ्गिग्याएर कुरुप पारिन्छ । यसरी कुरुप पारिएकीलाई विधुवाको संज्ञा दिएर अशुभको प्रतिक बनाएर सामाजिक मर्यादाबाट उडाइन्छ । यसरी भएकी विधवाले गुमाएका पतिको नाम जपेर हजारौ चुनौतिको सामना गर्न वाध्यपार्ने पनि हाम्रै समाज हो ।

विवाह व्यक्तिको जिवनको आवश्यकता, चाहाना र योजनाभित्रको निर्णय हो भन्ने मान्यता विरुद्द सामाजिक र पारिवारिक इज्जतको परिभाषामा राखुन्जेल समाज र परिवारमा यस्ता कम्मजोर स्थानमा रहेकामाथि विभेद भैरहन्छ विशेष गरेर यस्ता विषयमा हेक्का राख्नु पर्ने राज्य , देश चलाउने राजनीतिक दल र सामाजिकअभियान्ताहरुले हो तर उनीहरुका छलफलमा यी विषय खास परेका देखिन्नन् । परिर्वतनले ल्याएका यस्ता विषयहरु परिवारको आवश्यकतासगँ जोड्नु हुदैन । यसरी जोड्दा गाँसिने पारिवारक बोझले विवाहित दम्पतिले नाता सम्बनधका आवश्यकता पुरा गर्न सक्दैन र सम्बन्ध नै जटिल बन्छ । यहिक्रमले परिवारमा अपारर्दशिता जन्मन्छ र सम्बन्ध विच्छेद हुन पनि सक्छ । मानिसले विवाह सम्बन्ध बनाउनकालागि गरेको हुन्छ विछोड हुन होइन । यसरी एकल ÷ विवाहित या अविवाहित अथवा सम्बन्ध विच्छेद गरेर आमावुवासँग शरणमा बस्ने छोरीलाई पनि एकलकै दर्जा दिइन्छ र परिवार भित्रैबाट उपेक्षाको सुरुवात गरिन्छ । यसरी पनि एकलमाथि विभेद गरिएको छ ।

पारिवारिक अन्तरविरोधसँगै दम्पतिमा पनि मन मुटाव र समस्या सृजना हुन्छ । विशेषगरी केटाहरुले केटीहरुलाई परिवारसगँ नमिलेको अरोप लगाउछन । घरभित्र विशेषगरि आमाहरुको छोरा हुदा गरिने वुहारीप्रतिको व्यवहार र छोरा नहुदा गरिने व्यवहारमा अन्तर हुनेगरेको कुराले नवआगन्तुकलाई पिडा भइरहेको कुराको सुनुवाई नभएकै कारण पतिपत्नि विच अविश्वास बढेको कुराले विस्तारै दरार सृजना गर्छ ।आगन्तुक महिला विस्तारै घरपरिवारको बन्धनमा बाधिए परिवारका खुसीहुने हाम्रो प्रचलनले बुहारीको योग्यता र क्षमताको मुल्याकंन गर्न चुक्छन । यस्ता कुराले विस्तारै जोडिएको नाताकी वुहारीको आत्मसम्मानमा चोट पर्छ । यसको पुर्ति उनले पतिको भुमिकामा खोज्छिन । भुमिका पनि पति कै हो तर पति पन्सन्छ । यस्तै विधि व्यवहार र घोचपेचका कारण नै अनेकौ समस्याहरु उत्पन्न भएर सम्बन्ध विच्छेद भएका घटना पनि छन । वास्तवमा परिवारभित्र पतिको सबैसगँ पहिलो नाता हुन्छ । व्यवस्थापन पनि उनैले गर्ने हो तर हाम्रो समाजले घरभित्रको ब्यवस्थापनमा पुरुषको कुनै दायरा न बनाइदिएकै कारण अनेकौ समस्याहरु सृजना भएका छन । पुरुषको हुर्काइमा भएको जटिलताको कारणपनि कहिलेकाहिँ महिलाले सम्बन्ध विच्छेद गर्नपर्ने अवस्थामा पुग्छन र एकल बन्नु पर्ने बाध्यता देखिन्छ । पृष्ठभुमिका अनेकौ अपमाननलाई गौण बनाएर पुन ः महिलालाई नै आरोप लगाएर अपराधि बनाउने र हेप्ने प्रचलन विवाहित तर सम्बन्ध विच्छेद गरेका एकलहरुले व्यहोर्नु पर्ने बाध्यता पनि कम छैनन् ।

अहिले पनि महिला होस या पुरुष विवाह नगर्नु या नहुनुलाई त्यो व्यक्तिको अथवा परिवारको समस्या ठानिन्छ र अपराध मानिन्छ । ठानिने मात्रै होइन कतिपय बेलामा चरित्र, चोर या बोक्सिको शंकाको दायरामा पनि राखिन्छ । उसको आर्थिक सामाजिक हकबाट नै बन्चित गराइन्छ । यसो गरिरहदा हामी सबै दङ्ग पर्ने गछौ किन ? परिवारमा अविबाहित या अन्य एकल महिला देखेपछि जल्दा बल्दा अन्य सदस्यहरुले जेष्ठ नागरिकको संरक्षणमा जिम्मा लगाउने र आफु पन्सने प्रचलन पनि प्रसस्तै देखिन्छन । यसरी पन्साउने कुराले पारिवारिक ,सामाजिकन्याय गरेको ठहर गर्छ र ? एकलको अर्थ उसको वैयक्तिक स्वतन्त्रताको हरण या तिलान्जली दिनु हो र ! यस्ता विषयमा हाम्रा कानुनहरु अझै मौन छन ।

आधुनिक परिभाषामा परिवारको व्याखा व्यक्ति स्वयम पनि परिवार हो भनेर परिभाषीत गरेको अवस्था छ । व्यक्तिका आर्थिक, सामाजिक,सास्कृतिक र राजनीतिक सम्बन्धहरु ह्ुन्छन ।त्यसको आधारमा व्यक्तिले पाउने सबै हक स्वतन्त्तपुर्वक उपभोग गर्न पाउनु पर्छ भन्ने मान्यता र चिन्तन अझै विकास हुन र गराउन सकेका छैनौ ? रुपान्तरणकालागि यो र यस्ता अन्य विषयको वहस गर्नु पर्ला नि ।
अविवाहित या एकल भएका कारणले व्यक्तिको सामाजिक मान मर्दन हुनु या गर्नु सामाजिक अपराध हो । नेपालको संविधानको भाग तीन धारा १६ र १७ ले व्यवस्था गरेको सम्मानपुर्वक बाच्न पाउने हक र स्वतन्त्रताको हक प्रति राज्यका कार्यान्वयन गर्ने निकायको निस्कृयताको कारणले यस्ता नागरिकलाई हुन र पर्न गएका यस्ता अवस्थाको संबोधन अबका निर्वाचित जनप्रतिनिधिले गर्न सक्छन या ठोस नीति बन्नु पर्छ ? यो पनि अब स्पस्ट हुन जरुरी छ ।महिला एकल हुनु या विवाह नगर्नु या नहुनु सामाजिक अपराध होइन । यसरी पनि मानिस जिउन पाउनु पर्छ त्यो पारिवारिक हक हो भनेर सरल तरीकाले बुझ्ने प्रचलनको विकास गरौ । अनिमात्रै पारिवारिक सद्भाव कायम भै परिवार सबैकालागि मैत्री बन्नसक्छ । परिवारभित्रको भुमिकामा गरिएको निशेध वैचारिक दरिद्रता हो यसले सम्वृद्दि प्राप्त गर्न सकिन्न भन्ने कुराको अनुभुति परिवारको व्यवस्थापन गर्नेले बुझन्न जरुरी छ ।

लेखिका महिला अध्ययन केन्द्रका अध्यक्ष हुनुहुन्छ ।

1716 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank