“”

महिला हिंसाः दरिद्र मानसिकताको उपज

शुक्रबार, चैत्र २, २०७४



- सीता ओझा

निकृष्ठ प्रकृतिका सुन्दै अत्यास लाग्ने घटना भइरहँदा जनप्रतिनिधि किन् मौन ? 

वि.स. २०७४ साल नेपालको लागि निर्वाचन वर्षको रुपमा परिचित भयो भन्दा फरक पदैन । गत बैशाखको ३१ गते स्थानीय तहको पहिलो चरणको निर्वाचनको तिथि मिति तय भएसँगै वर्षभरिमा सबै तह र संरचनाको निर्वाचन सकिएर स्थायी सरकारको स्वरुप पनि देखिसकेको अवस्था छ । अहिले सबै स्थानीय तहका विभिन्न पदमा महिलाहरू जनप्रतिनिधिको रुपमा निर्वाचित पनि भएको अवस्था छ । महिलासँगै स्थानीय तहमा अरु पनि जनप्रतिनिधिहरु निर्वाचित भएका छन । जनताप्रतिको उत्तरदायी निकाय र जनप्रतिनिधिहरू सेवाका लागि तैनाथ रहेकै अवस्थामा मुलुकका विभिन्न ठाउँमा महिलामाथि विभिन्न प्रकारले निकृष्ट प्रकृतिका अमानवीय घटनाहरू हुन पुगे । यस्ता घटनाहरू भइरहँदा सबैभन्दा बढी जिम्मेबार को हुने गर्छ होला ? अहिले सबैको मनमा खुल्दुलीको विषय बनेको छ र बनिरहने देखिन्छ ।  निर्वाचन नभएर अन्योलताको शिकार जस्तो बनेको मुलुकले त्यो अवस्थालाई चिर्दै अहिले अग्रगामी फट्को मारेको देखिन्छ । तरपनि सरकारको छायाँको अनुभुति आमजनताले लिन नसकेको यो अवस्थामा सोच्न नसकिने गरि महिलामाथि उत्पीडनका घटनाहरु भएका छन् । नेपालको संविधानले व्यवस्था गरेको संवैधानिक हकसँगै महिला हिंसा न्युनिकरणका लागि कानुन पनि बनिसकेको अवस्थामा भएका महिला हिंसाका घटना सुन्दा तपाई हाम्रो आङ्ग सिरिङ्ग हुनेगर्छ । यस्ता निकृष्ठ प्रकृतिका सुन्दै अत्यास लाग्ने घटना भइरहँदा स्थानीय तहका जनप्रतिनिधिहरू र स्थानीय प्रशासन मौन रहेका छन् ? बुझ्न कठिन छ ।

यस्ता अन्धविश्वासका विरुद्द अभियानहरू सञ्चालन गर्न त अहिले प्रत्येक वडामा नै बजेट विनियोजन गर्न सकिने प्रावधान रहेको स्थानीय तहको परिचालन निर्देशिकाले नै देखाउछ । यस्ता कुरामा स्थानीय तहमा भएका सबै राजनीतिक दलहरूसहितको विषेश संयन्त्र निर्माण गरेर विविध सचेतनाका अभियानहरू सञ्चालन गर्न सकिन्छ । खै ! यतातिर जनप्रतिनिधिहरूको ध्यान नपुगेको हो की जस्तो पनि लाग्छ ।
विषेशगरी, यो वर्षको मध्यतिरबाट महिला हिंसाका घटनाहरू अत्यधिक बढेको देखिन्छ । घटनाको प्रकृति सुन्दा र पढ्दा कहालीलाग्दो अवस्थाले अपराध बढ्दै छ भन्ने भान हुन्छ । अपराधको सुनुवाइको विधि र प्रकृया हेर्दा राज्यका सबै संयन्त्र अर्ध चेतनामा छन् की जस्तो लाग्छ । यो अवस्थामा सर्वसाधारणले कसरी सुरक्षाको अनुभुति गर्न सक्लान प्रसस्तै प्रश्नहरु उव्जिएका छन् । आर्थिक रुपमा जर्जर भएको अहिलेको हाम्रो पारिवारिक संरचनाभित्र सयकडौं मानिस रोजगारीका लागि विदेशिएका छन् । वैदेशिक रोजगारीको कारणले रित्तिएका गाँउघरमा जेष्ठ नागरिक, बालबालिका र केहि महिला मात्रै बसेको देखिन्छ । यस्तो सामाजिक अवस्थाको संरचना भएको अहिलेका मानिसको दिनचार्याको सहयोगीको रूपमा स्थानीय तहका जनप्रतिनिधिहरूले त्यो संरक्षणको भुमिका निभाउन सकेका छन या छैनन् । उनीहरुका दललाई यो अवस्थाको पहिचान भएको छ की छैन ? छ भने अझै किन उत्पीडनका घटनाहरूप्रति स्थानीय प्रतिनिधिको ध्यान जान सकेन अब स्थानीय नागरिकहरूले सोधनी गर्नपर्ने हो की ? सोचौँ है ।

विश्वभरका महिलाहरूले महिला माथि हुने र गरिने विभेदका विरुद्द आवाज उठाउने दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकै दिन पश्चिम नेपाल कैलालीको घोडाघोडी नगरपालिकामा एघार कक्षामा अध्ययनरत छात्रा राधा चौधरीमाथि बोक्सीको आरोप लगाएर छ घण्टासम्म निर्घात कुटपिट गरियो । रमेश चौधरी नामको भोले बाबा रुपधारण गरेको ढोगी रमेश चौधरीको नेतृत्वमा अर्की किस्मती नाम गरेकी महिला सहितलाई कुटपिट र यातनामा संलग्न गराएको भिडीयो नै सार्वजनिक भयो । सबै गाउँले मुुकदर्शक र ताली बजाउने भएर छ घण्टा विताउदा स्थानीय प्रसासन र सुरक्षा निकायले थाहा नपाएको नाटक सुन्दा अपराधले छुट नै पाएको देखिन्छ । पीडित राधा चौधरीका छिमेकी नै रहेका जनप्रतिनिधि मेयर ममताप्रसाद चौधरीले पनि थाहा नपाएर या ज्ञान कै अभावले होला रमिते बन्दै गिरफ्तार भएका भोलेबाबा नामको ढोगीलाई जमानीमा छुटाएका । यो र यस्ता अनेको घटनाले पटक–पटक किन यसरी राजनीतिक संरक्षण पाउछन ? यस्ताले दलको टिकट पाएर जितेर जनताले कस्तो न्याय पाउछन् ? दल र स्थानीय जनप्रतिनिधिप्रति पनि आम सरोकारवालाले प्रश्न उब्जाएका छन् ।

त्यस्तै भर्खरै भिमदत्त नगरपालिका ५ वनखेतमाकी सानो चन्दले विवाह गर्न नमान्दा गड्डाचौकी २७ का राकेश चन्दले आँखा र अनुहारमा नै गम्भीर चोट पर्नेगरि कुटपिट र लछारपछार पारेर अनुहारमा तातो घ्यू खन्याएका छन् । सोनीलाई मात्रै होइन सोनिकी आमाले समेत कुटाइ र गालीगलौज सहनु परेको छ । यस्तो घटना सुन्दा लाग्छ की महिलाको स्वतन्त्रताको हक, आफ्नो रोजाइको केटा छान्ने, घरजम गर्ने, सन्तान जन्माउने, पालन पोषण गर्ने र नागरिकता दिने आदी हक संविधानमा मात्रै हुन की कार्यान्वयनकालागि राज्यका संयन्त्रले पनि साथ दिएर भुमिका खेल्छन ? अनेकौ सवालहरु राज्य प्रति तेर्सिएका छन । महिलाले पाएको उपलव्धिको रक्षाको लागि यो निकै सोचनिय विषय हो जस्तो लाग्छ ।

नुवाकोट तुप्चेश्वर गाउँपालिका १ घ्याङ्गफेदीका वडा अध्यक्ष शुक्क बहादुर तामाङ्ग २०७४ बैशाखका जननिर्वाचित वडा अध्यक्ष हुन । वडा अध्यक्ष हुनु भन्दा निकै अधि देखि उनले भारतको विभिन्न ठाँउमा यौनक्रिडास्थल (वेश्यालय) खोलेको तथ्य सार्वजनिक भएको छ । उनले सो कार्यमा लगभग २५० नेपाली महिलालाई सो काममा संलग्न गराएको तथ्य नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्युरोले नै अनुमान गरेको देखिन्छ । उनको त्यो कामलाई उनका छोरा र श्रीमतीले साथ दिएका छन । यी सबै कुरा थाहा पाएर पनि उनी ५ लाख धरौटीमा छुटे । राजनीतिक दलबाट वडा अध्यक्ष लडन टिकटै पाए । अब तपाई हामीले न्याय कसरी पाउछौ होला त ? यस्ता अनगिन्ति सवालको जवाफ कस्ले दिने होला ।

डिएसपी देव बोहोराकी पत्नी गीता वली बोहारा जेठी श्रीमतीसँग सम्बन्ध विच्छेदपछि मन पराएर दुबैको सहमतिमा वि स २०७१ मा प्रेम विवाह गरेका रहेछन । उनीहरुको एक सन्तान पनि जन्मिए छ । तर डिएसपीले फेरि दोस्रो विवाह गरेकी श्रीमतीलाई पनि अनेकौ यातना र हिंसा गरेर सन्तानसहित घरबाट निकालेको समाचार हामीले पढिरहेका छौँ । गीता न्यायकालागि राष्ट्रिय मानव अधिकार आयोगको कार्यलय,महिला आयोग, नेपाल प्रहरीको महिला सेल,स्थानीय निकाय,महिला तथा बालबालिका कार्यलय लगायत दर्जनौ सघं सस्थामा न्यायको भिख माग्न पुगिन तर अझै पाएकी छैनन् । यिनले न्याय पाउने कुरामा भएको ढिला सुस्ति हेर्दा वर्षौ पहिले अहिलेको बुडानिलकण्ठ नगरपालिकामा गीता ढकाल नाम कै डि यस पि पत्निको डि यस पि आफैले काटेर टुक्रा टुक्रा पारेर गाडीमा हालेर मकवानपुरका जङ्गलमा लगेर जलाएको आततायी घटना नदोहोरिएला भन्न सकिन्न । तर पनि सबै मौन छौ, किन होला बुझ्न सकिएको छैन ।

कपिलवस्तु १० कटुवाकी सात वर्षिय नाबालक बालिकालाई पचहत्तर वर्षको बृद्दले चक्लेट दिएर बलहत्कारको कोशिस गर्यो । स्थानिय केहिले मेलमिलाप गराउन दौडधुप गरे । काठमाडौको स्वयम्भुमा दश महिना अघि बालकिाको बलहत्कार पछि हत्या भएको केसलाई प्रहरी र पोष्टमार्टमको रिपोटले आत्महत्या भनिदिए । बलहत्कारी शक्ति केन्द्रमा पहुँच भएको भएर त्यो अपराध पनि सामान्य भयो । बालिकाको यौनाङ्ग रक्ताम्मे, छातीमा टोकेका दाग र निलडाम सबै आत्म हत्याका संकेत भए । मातापिताले अपराधीले मारेकी छोरीलाई न्याय दिलाउन गरेको प्रयत्न खेर गयो । शक्ति र पहुँच नभए बोल्नै नहुने कस्तो विडम्बना !

२०७४ माघको २३ गते ललितपुरमा भएको सामुहिक बलात्कार, इटहरीमा घटेको बलात्कारको घटना या दरवार मार्गमा भएको सामुहिक बलात्कारमा देखिएको प्रहरीको मिलेमतो या बालिका जोगाउन सकिएन शीर्षकः कान्तिपुर डेली फागु्न २६ मा प्रकाशित रुपन्देही कोटीहवा घाँस काट्न गएकी १२ वर्षीया बालिका बलात्कार गरी मारेर फालिएको अवस्थामा फेला परेको घटना नै किन नहोस । कुनै अपराधिले दण्ड पाएको अहिलेसम्म सुनिएको छैन । उजुरी गर्न ढिला भएको कारण या यस्तै कुनै बाहना देखाएर प्रहरीले जाहेरी नै लिन मानेन । स्थानीय प्रहरीले यसरी जाहेरी लिन नमानेपछि अब यस्ता विषयको जाहेरी बुझाउन पीडित पक्ष कहाँ जाने ? कमजोरहरूलाई समस्या माथि समस्या ।

बैठक मै प्रमुखले उप–प्रमुखलाई कुटे शीर्षकमा अनलाइन समाचारमा छापिएको समाचार पढ्दा अझ उदेक लाग्यो । दोलखाको कालिन्चोक गाँउपालिकाका अध्यक्ष विन कुमार थामीले उपाध्यक्ष कालिका पाठकलाई बैठक कक्षमै हातपात र गाली गलौज गरे । त्यो घटना त्यसै सेलायो । हामी अधिकाँशले औपचारिक या अनौपचारिक छलफल या कुराकानीमा निकै ठुलो स्वरमा महिलाले अब सबै अधिकारहरु पाइसके । अब के चाहिएको भनेर निकै चम्केर बोल्ने गछौँ । यसरी बोलिरहँदा हामीले आफ्नै घरका आमा, छोरी, बहिनी, श्रीमतीलाई कति खुकुलो गरेका छौँ । उनीहरुलाई नाता सम्बन्ध भित्र मात्रै राखेका छौँ ।  या नागरिकको हैसियतमा गनेका छौँ भन्ने विषय सोच्नु पर्ने बेला आयो की । अथवा आर्थिक सामाजिक स्वामित्व र सुरक्षा दिन सकेका छौँ या छैनौँ ख्यालै नगरि बोल्ने गर्छौँ की जस्तो लाग्यो । अझै पनि हामीहरूमा भएको दरिद्र मानसिकताको निरंकुश सोचको उपजको रुपमा महिलामाथि हिंसा हुने गरेको छ । यस्तो दृष्टिकोण बदल्न अब नयाँ कार्यक्रम कहिले र कसले बनाउने हो ? यतातिर ध्यान लगाउन अबेर भएन र ! सबैले गम्भीरताका साथ सोच्ने बेला आएको छ ।
(ओझा महिला अध्ययन केन्द्रको अध्यक्ष हुन्)

2952 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank