जागरुक अभिभावकत्वका धनी: स्व. लक्ष्मीप्रसाद उपाध्याय

बुधबार, साउन ३०, २०७५



- सीता ओझा अध्यक्ष  अध्यक्ष महिला अध्ययन केन्द्र

पिता भै घरमा जमेर बसने स्वामित्व दर्शाउने
जँगार तरन, थेगेर टेकन, औंला समाई दिने

पिता हो पौरखको पृथ्वी भरमा सत्य बुझाई दिने
शक्ति हो घरको नित्य दिनको अमृत पिलाई दिने

पिता भै जिउदा आत्मसम्मान  र पहिचान  बुझाई दिने
शक्ति हो घरको सब जगतभरमा हार्न सिकेर जिउने

सत्ता हो नवको, पद हो घरको,नौका खियाई दिने
शक्ति हो पथको सहज रूपमा अवसर जुटाई दिने

पिता हो घरको जिविका सँगसँगै मौका जुटाई दिने
सौम्य भै जगतभरको सत्य र मिथ्या छुट्याई दिने

श्वास र विश्वासको  चराचरसगँ लड्न पठाई दिने
सारथी भै रथको जीवन भरको गौंडा देखाई दिने

पिता हो मनको हलुङ्गो रसको ब्यथा छुट्याई दिने
नाता हो सवको रगतसँगको निकटता सम्झाई दिने

sita ojha fatherवि स १९९९ सालमा पिता  पण्डित स्व. तारा प्रसाद उपाध्याय र माता  स्व.लक्षिमादेवि उपाध्याय ओझाका कान्छा सुपुत्र स्व. लक्ष्मीप्रसाद उपाध्याय ओझाको जन्म पूर्वी नेपालको पाँच जिल्लाको लाभुमा भएको थियो । आफू आठ वर्षको हुँदा पण्डित ताराप्रसाद उपाध्यायको देहावसान भएपछि उनको रेखदेख   माता लक्षिमाया र भ्राताहरूको जिम्मामा परेकाले  आफुले सोचे जस्तो गरि शिक्षा आर्जन गर्न सकेनन् । अहिले भन्दा ७५ वर्ष अघिको नेपाली ग्रामीण समाजमा शिक्षा लिने कुरा राजा महाराजा र राजगुरू पुरोहितहरूकालागि पनि सोचेको जस्तो थिएन । देशभरका  विद्यालयहरू औंलामा गन्न सकिने मात्रै  थिए । खुलेका ती विद्यालयहरू पनि जनताको पहुँच बाहिर थिए । राणहरूको शाशनमा हैकम भएकोले  पढ्नकालागि  राणाहरूसँग अनुमति लिएर मात्रै सम्भव हुने गर्थ्यो तर पनि परिवारको अभिभावक पिताले नै आचार्य गरेको कारण सामान्य शिक्षाकोलागि त खास दुख भएन ।

स्व. ओझाले साधारण शिक्षा भित्रको लघु कौमदी ,सामान्य कर्मकाण्ड आदि गाँउमै पूरा गरे । त्यस समयमा सर्वसाधारणले साधारण शिक्षा पार गरेपछि पढ्ने इच्छाशक्ति बढ्यो भने भारतको वनारस गएर उच्च शिक्षा आर्जन गर्ने प्रचलन थियो । त्यहीँ प्रचलन अनुसार पिठो सामल बोकेर अरू जस्तै उनी पनि उच्च शिक्षाको लागि घरबाट बाहिरिए र म्याट्रीक सम्मको शिक्षा आर्जन गर्न सफल भए । पाँच दिदी बहिनी र दुई दाइहरू पछि जन्मेका स्व. उपाध्यायलाई वाल्यकाल मै पिताको देहावसानले  शिक्षा आर्जन गर्ने धोको पुरा गर्न नसक्ने अवस्था सृजना गर्यो । सामान्य शिक्षा पनि जटिल भएको दुर दराजको गाँउ,शिक्षाको महत्त्व बुझ्ने पिताको निधन,निराक्षर आमा र शिक्षाको  खास महत्वको बोध नभइसकेका अभिभावकहरू मात्रै घरमा रहेका कारण बांकी शिक्षा आर्जन गर्ने कुरा उनकालागि त्यति सजिलो थिएनन्  तर पनि अनेकौ तरङहरू सृजना गर्दै म्याट्रीक सम्मको शिक्षा त लिएर नै छोडे ।

नेपालको पूर्वी  जिल्लाको पनि दुरमा रहेको जिल्ला पाँचथरको ल्वाफु सदरमुकामबाट खोज्दा अहिले पनि दुर्गममा नै पर्दछ । त्यो ठाउँ अहिले पनि भौगोलिक रूपमा अत्यान्तै विकट छ ।  टाढाबाट हेर्दै ठुलाठुला भिर र खोँच देखिन्छ । त्यो विकटताको दृश्यावलोकनले  अहिले पनि मन र मुटु कहालिन्छ । शरीर नै थररर् कापेर थुचुक्क बसौं बसौ हुन्छ ।  अनाजमा मकै,गहुँ भन्दा कोदो प्रसस्त फल्ने भएकोले खानामा मकै र कोदोको खोले र ढिँडो भएकोले धानको भात खाने कुरा स्व. ओझाकालागि निकै ठूलो कुरा लाग्थ्यो । हामीलाई पिताले र पिताका समकालीनहरूले सुनाएका कुराहरू बाल्यकालमा मलाई दन्त्य कथा जस्तो लाग्थ्यो । धानको भात खान चाडपर्व र तिथि श्राद कुर्नु पर्थ्यो ।  कहिलेकाही धानको भात खान मन लाग्यो भने माता र भ्राताहरू सबैलाई मनाएर मात्रै पाइन्थ्यो । त्यो बेलाको  कुरा सुन्दा  पहिले पहिले परिवार भित्र नै बालवालिकाहरूलाई पनि किन अन्याय गरेको होला जस्तो लाग्थ्यो तर अहिले  सम्झदा अनाजको उत्पादन र परिवारको वर्षभरिको उत्पादित खाद्यानको सन्तुलित प्रयोग र मितव्ययीताको कुरा  कारणले त्यसो गरेको रहेछ भनेर बुझ्ने गर्छु । त्यही धानको भात खाने चाहानाले उनलाई  विस्तारै बिस्तारै सामाजिक अवस्था,समस्या र विद्रोहको कुरा पनि सिकाएको देखिन्छ । स्व. ओझाको जिवनमा पिताको निधनले श्रमको सम्मान गर्न,गरि खान साथै समाजमा रहेका सामन्तवादी चिन्तन र  अन्ध परम्परा विरूद्द लड्न,समस्याहरूको निकास निकाल्न,व्यवस्थापन गर्न  र स्वाभिमानी जीवन जिउन सिकाएको देखिन्छ  ।

स्व उपाध्यायलाई हुर्कदै जाने क्रममा पुर्विय सव्यताले सिकाएको आफ्नो सनातन  परम्परागत पेसा पण्डित्याई / जजमान ,कर्मकाण्ड / ज्योतिषलाई सामान्य जानकारी भए पनि आफ्नो जीविकाको पेसा  बनाउन नचाहेको कुरा उनले अनेकौ पटक भनेका छन ।आफ्नो बाल्य अवस्थामा नै परिवारको हर्ताकर्ता माइलो दाइको दार्जिलिङको बसाइका कारण परिवार चलाउने कुरा निकै कठिन बन्यो । त्यो समयको  ब्राह्मण परिवारकोलागि पडित्यायी छोडेर खेति किषानी गर्ने कुरा नै निकै कठिन थियो । त्यो समयको समाजमा  ब्राह्मणले  हलो जोत्नु सामाजिक कानुन विपरीत थियो । अरूसगँ हार गुहार गर्दा पनि आफ्नो काममा बारम्बार  प्रतिकुलता आउदा सयौं हन्डरठकर खान पर्यो ।  आफ्नो बाल्यकाल र पारिवारिक ममता प्राप्त गर्ने कुरा भन्दा ठूलो कुरा,सिङ्गो परिवारको जीवीकाको कुराको व्यवस्थापन गर्ने प्राथमिकतामा पर्यो । अनेकौं उपाय सोच्दै जानेक्रममा  आफ्नो खेतबारीको काम आफै गर्ने निधो गरे । त्यो समयको ब्राह्मण पुत्रले ११ वर्षको उमेरमा वि स २०११ सालमा आफ्नै गाउँ पाँधथर जिल्लाको ल्वाफु भन्ने ठाँउमा हलो जोतेर विद्रोह गरे । त्यसरी हलो जोतेर समाजमा विग्रह गरेको कारण उनलाई समाजले सामाजिक बहिष्कारण गर्यो । खानपान र पानी समेतबाट सिङ्गो परिवारलाई समाजले समाजबाट बाहिरिय्यायो । त्यस प्रति कति पनि दुख नमानी खेतीपातीको काम हतार हतार सकाए र त्यसको निकासका लागि  त्यस बेलाको वडा हाकिमको सम्पर्कमा पुगे । आफू गरिखाने काम गर्दा सामाजिक अन्यायमा परेको कुरा जाहेर गरि न्याय दिलाइ दिन विन्तिपत्र पनि चडाए । त्यो उमेरको बालक परिवारको जीविका गर्न हलो जोतेको सम्पुर्ण वृतान्त सुने पछि दुइचार दिन आफ्नु घर मै बसेर पुजापाठ आदि गरिदिने आदेस गरेको कुराले उनी त्यहीँ बसे । बसाइ अलि लम्बिने भएपछि पुनः आफु माथि भएको अन्यायपूर्ण व्यवहारको छानबिनको कुरा सम्झाए । त्यति सानो बालकको त्यो टिठ लाग्दो कुरा सुनेर  आफ्ना सिपाही मार्फत गाँउका सबै  लोग्ने मान्छेहरूलाई बडाहाकिमले बोलाएर सजाय दिलाए साथै  सामाजिक बहिष्कार गर्ने समुहको आयोजनामा स्व. ओझाकी माता लक्षिमाया र भाउजुहरू सहित भान्से बनाएर गाँउका अरू ब्राह्मणहरूले मासको दाल र भात पकाएर पत्या भोज खुवाएर समाजमा स्व. ओझालाई स्थापित गराएको कुरा  गाँउका अग्रज तथा उनका दौतरीहरू सहितको भेटघाटमा बारम्बार हुने गरेको थियो । त्यसैको प्रभावले होला उनी  तराई झरेपछि पनि अनेकौ पटक अन्याय र पिडामा परेका समुहका मानिसहरमानिसहरूको लागि अनेकौं विभेद विरूद्दको  निकासको अड्कोफड्कोमा  नि :  शुल्क पुरेत्याई गरेका धेरै उदाहरणहरू अझै पनि  त्यो समाजमा जीवीत छन । उनी समाजमा देखिएका अन्धविश्वासको विरूद्द  एक्लै पनि ठिङ्ग उभिन्थें । समाजमा हुने अन्याय र सार्वजनिक हित विरूद्दका कुनै पनि कार्यहरू हुनलागेका थाहा पाए भन्ने त्यसको विरोध गर्न रतिभर डराउदैनथे । न्याय र समानताको पक्षमा एक्लै पनि  उभिन सक्ने ओझाले जीवनमा प्रशासन  र समाजबाट अनेकौं पटक अपमान र तिरस्कार पनि सहेका छन । उनी बहुदलीय व्यवस्था र राष्ट्रपतियीय शासन व्यवस्थाका पक्षधर भएको कारण वि स २०३६ सालको जनमत संग्रहको घोषणा भए पश्चात  पञ्चायत पक्षधरबाट निकै प्रताडित भए । लगभग एक महिनाको अवधि सम्म बेपता र सुचना विहिन अवस्थालाई चिर्दै जिल्ला प्रसासनको सुरक्षा सहित एक्कासि भएको  घर आगमनले परिवारमा खुसि  र आश्चर्य  दुबै पैदा गराएको कुरा म अहिले पनि सम्झन्छु ।

पाँचथरबाट तेस्रो बसाइँ सराई पछि साविक राजगढ गाउँ विकास समिति हालको बारदशी गाउँपालिकामा स्थायी बसोबास गर्न पुगेका ओझाले गाउँमा स्वास्थ चौकी,सुरक्षाकालागि प्रहरी कार्यलय, बालवालिकाको शिक्षाकालागि विद्यालय, चौडा सडक निर्माणकालागि अनेकौं प्रयत्नहरू पनि गरे । बालबालिकाको शिक्षाकालागि अभिभावकको विद्यालयमा विशेष भुमिका रहनु पर्छ भनेर प्रत्येक हप्ता विद्यालय जाने,पठ्नपाठनका विषयमा छलफल या जानकारी लिने, नानीहरूको पढाइको बारेमा सोधखोज र सुधारका बारेमा नियमितरूपमा चासो राख्ने,अरूलाई पनि चासो राख्न प्रयत्न गर्ने, विद्यालयको पोसाकको नियमितता,गृहकार्य आदीको खोजी गर्ने, अनुशासन र अतिरिक्त क्रियाकलापको नियमित भए नभएको बारेमा छलफल चलाउने जागरुक अभिभावकको भुमिकामा रहन्थें । त्यस बेला विद्यालयमा हुने  अनुशासन भित्र विद्यार्थीलाई दिने यातनाहरू निकै निर्मम हुने गर्दथे । त्यस्ता निर्मम प्रकृतिका यातनाको विरूद्दमा स्व. ओझाले  धेरै पटक विद्यालयको अभिभावक भेलामा बहस गरेका घटना निकै नै छन । जुन अहिले पनि त्यति नै आवश्यक छन । प्रत्येक महिनाको १५ गते भित्र आफ्ना नानीहरूको मासिक शुल्क बुझाउने पहिलो अभिभावक पनि सायद उनै थिए होलान् ।

अपर्झट कोही विरामी पर्दा आफ्नै बारीबाट जडीबुटी खोजी प्राथमिक उपचार गराई उज्यालो भएपछि अस्पताल सम्म पुर्याउने , गाउँ समाजमा मर्दापर्दा सरसहयोगमा निकै अघि रहेका ओझा मठ मन्दिरको पुनः निर्माण र स्थापनामा पनि निकै अघि देखिन्थे । घरपरिवार भित्र लिङ्गीय समानता कायम गर्न छोरा र छोरी विच समान शिक्षा,अवसर र आर्थिक  पारिवारिक हैसीयतका हिमायती पनि  थिए ।  उनी छोरीलाई पैत्रिक सम्पत्ति समान हकदार बनाउनु पर्ने पक्षमा समुदायमा बहस गर्दथे ।  सदा सर्वदा सन्तानहरूलाई सत्य,निष्ठा, आत्मसम्मानको पाठ सिकाउने पिताले जीवनका हर हिसाबकिताबहरू आफ्नौ दैनिक खर्चको कपिमा टिपेर राख्थे र बारम्बार भन्ने गर्थे ;  ”  म मरिहाले भने यो टिपोटमा हेरेर सबै बाँकी बक्यौता तिरिदिनु है !  दिएर मर्न परोस् अरूको रतिभर खान नपरोस । ”  यस्ता जागरुक समाजका अभिभावक वि स २०६३ सालको श्रावण महिनाको नाग पञ्चमीको  दिन नित्य कर्म सकेपछि  अपर्झट भएको हृदयघातको कारण उपचारकै क्रममा जीवन सहयात्री भोज कुमारी र हामी पाँच सन्तान सहितको १२ जना सदस्यको आफ्नो रक्त परिवार र त्यो समाजलाई  छोडेर  देह लिला समाप्त गरे ।  परिवार भित्रको व्यवहारमा नै समानता स्थापित गर्न भुमिका खेल्ने पिता प्रति  उनको यो पुन्य तिथिमा हार्दिक नमन सहित श्रद्धाञ्जली अर्पण गर्न चाहान्छु ।

791 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank