के यी नागरिक सरोकारका विषयहरू होइनन् र ?

मङ्लबार, जेष्ठ १५, २०७५



- सीता ओझा अध्यक्ष महिला अध्ययन केन्द्र

अहिले हामी सबैले निषेध या सिन्डिकेट शव्दको निकै प्रयोग गर्ने गरेका छौँ । केही समय अघि मात्रै सार्वजनिक यातायातको क्षेत्रमा भएको/ हुने गरेको अथवा भइरहेको निषेध/ सिन्डिकेटको व्यापक चर्चा गर्यौ । यातायातमा भएको एक्लौटी सडक रूटका विषयमा दैनिक प्रकाशनमा आउने अखवार, विद्युतीय संचार माध्यम तथा सामाजिक सञ्जालहरूले पनि बजारीया समाचारहरू पढ्न,हेर्न, फेसबुकवालमा सम्प्रेषण गर्न निकै प्रतिष्पर्धा नै चल्यो । यसका पक्षका विविध विषयले कतिपयलाई हित र धेरै मध्येका जनतालाई असाध्यै अहित गर्यो । कक्षा १२ मा पढ्ने विद्यार्थीहरूको त झण्डै बार्षिक परीक्षा नै विग्रेको थियो । मनमा अनेकौं नकारात्मक तनावले ग्रस्त हुँदै १२ का विद्यार्थीले आफ्नो अन्तिम परीक्षा सिध्याए । यस्ता नागरिक सरोकार राख्ने विषय चर्चा गर्ने र त्यसको प्रत्यक्ष मारमा पर्नेहरूको पहिचान गर्ने र अस्थायी भए पनि समाधान गर्ने परिपाटी हामी कहाँ नभएका कारण यस्ता समस्याहरूको चपेटामा हामीहरू पनि बेला बेलामा पर्ने गरेका छौँ तर चर्चा या वहस गर्न हामी कसैले पनि सकेका छैनौँ  किन होला सोचनीय विषय हो जस्तो लाग्छ ।

शहर होस् या गाउँ सबैको निजी साधन हुदैन । निजी सवारी साधन भए पनि घरका सबै सदस्यको लागि प्रयोग गर्न पुग्ने क्षमता राख्ने नेपाली औंलामा गन्ने मात्रै होलान जस्तो लाग्छ । निजी सवारी साधन भएपनि चलाउने सीप सबैको हुदैन । सबैका लागि साधन बनाउ भन्दा आर्थिक पहुँच नपुग्न सक्छ / पुग्दैन । आम नागरिकहरूले कुनै न कुनै प्रकारले सार्वजनिक सवारी चड्नैपर्छ । त्यसरी सार्वजनिक यातायातका साधनको प्रयोग गर्नु रहर होइन बाध्यता हो साथै नागरिक अधिकार पनि हो । त्यस्तै व्यवसाय सञ्चालन गर्ने स्व रोजगार हुने र रोजगारी दिएर राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुर्याउने हक पनि हरेक नागरिकको मौलिक हक भित्र पर्दछ । त्यसै अनुरूपको नीति नियम र विनियम भित्र बसेर हरेक व्यवसाय या उद्योग सञ्चालकहरूले आफ्नो पेसा र व्यवसाय सञ्चालन गरेको हुनुपर्दछ र होलान पनि । यसरी पेसा व्यवसाय संचालन गर्नेहरूको नागरिक दायित्वको विषयमा राज्यले सरोकारवाला सबैलाई पेसा व्यवसाय सञ्चालन गर्न सुरूवात गर्न अगाबै बताउन मात्रै होइन दायित्वका रूपमा नियम बनाएर लागू गराउने वातावरण बनाउनु पर्दछ जस्तो लाग्छ । हाम्रो जस्तो देशमा अहिलेसम्म राज्यले एउटा समयमा एक खालको आवश्यकतालाई बुझेर नीति नियम बनाउछ । समय अनुसार आवश्यकताहरू बदलिन्छन । प्रविधि र साधनको प्रकृति र मानवीय आवश्यकता पनि बदलिन्छन तर सरकारले त्यो समयमा बनाएका नीति नियमलाई समय सापेक्ष ढाल्न या बदल्न चाहिँ महाभारतको युद्द भन्दा जटिल बनाउने र समस्या हुने देखाएर या बनाएर फेरबदलको कुरा गर्नेलाई तर्साउने चलन परम्परा जस्तै देखिन्छ । यस्ता सोचहरूमा रूपान्तरण कस्ले ? कहिले? कसरी र को बाट गर्ने होला ? भन्ने कुरामा पनि राज्य, पेसा व्यवसायी र श्रमिकहरूले सोच्नु पर्ने देखिन्छ ।

म यहाँ एउटा प्रसङ्ग बताउन चाहन्छु ! एक साता जति अघि म काम विषेशले रत्नपार्क आउदै थिएँ । समय बेलुकाको छ बजेको थियो । मलाई चाबहिलको बस स्टपमा झर्नु थियो । म आफू सजिलो र सहज तरीकाले (बस रोकेपछि ) ओर्लन चाहान्थेँ । त्यसैले मित्रपार्क मै लाग्ने भाडा दिएँ । अनि भने ” बाबू म चाबहिलको स्टपमा झर्छु; भाडा लिइराख है । म बस रोकेपछि मात्रै ओर्लन्छु । बस हिड्दा झर्न र हिड्दै ढोकाको छेउमा आउन सक्दिनँ । अलिक सन्चो पनि छैन ।” त्यति गर्दा बस चावहिल स्तुपानेर पुग्यो । त्यसै बेला कन्डक्टरले भन्यो ; “आमै यहीँ झर्नुस । उता रोक्न मिल्दैन । यहाँ न झरे चुच्चेपाटी पुर्याइदिन्छु । कस्तो पेसेन्जर परेछ । आइहाल्नुस, आउनुस भनेको, कति अटेरी हो ! ” आदि आदि अनि मैले भने “भाइ म चावहिलको स्टपमा झर्ने हो । बस रोकेपछि मात्रै झर्छु । तिमीलाई मैले लाग्ने भाडा दिईसकें । नरिसाउ, जथाभावी पनि नबोल । यात्रुहरूलाइ हेप्ने गालीगलौज गर्ने बानी नगर । किन हप्काउँछौँ ।” म बोल्दै थिएँ अरू यात्रीले पनि क्रिया प्रतिक्रिया दिन थाल्नु भयो ।” यो निकै बढी छ । अरूलाई पनि थर्काउदै थियो । अरू दिन पनि यस्तै गर्छ । बुढाबुढी देख्यो भने रोक्दै रोक्दैन । विद्यार्थी पनि केटीहरू देखे रोक्छ । अरू कसैलाई टेर्दैन” आदि यतिकैमा म ओर्लने बेला आइपुग्यो । अनि म उठेँ र छेउतिर गएँ । बस रोकिएकै थिएन । एक्कासी ब्रेक लगायो म हुतिए । लडिसकेकी थिएँ तर एक जना यात्रुले च्याप समात्नुभयो र लड्नबाट जोगिएँ । मैले केही भन्नै नपाइ उसैले फलाक्न थाल्यो । कस्तो अटेरी होला, ऐस्ले गर्दा मान्छे हाल्नै नपाइने भो । साला ट्राफिक यै बेलामा आछ । उसले तथानाम गरेको चालक चुपचाप सुनिरहेको छ । यात्रुहरू सास फेर्न र फर्कन नसक्ने अवस्थामा कोचिएका छौँ । लाग्ने भाडा तिरेर पनि अनावश्यक गालीगलौज गर्दा हामी चुप नलागे जीवन नै जाला जस्तो गरि कन्डक्टर कराउछ, चालक ब्रेक लगाएर गुन्द्रुक खाँदे झै खाँदछ । यस्ता कुराको अनुगमन छैन । उजुरी लाग्दैन । बोल्दा हेपाइ र ज्यानको जोखिम । राज्य महसुस गर्ने वातावरण नै छैन ।

त्यस्तै अर्को प्रसङ् छ रत्नपार्क कै; म धादिङको यात्राबाट फर्कदै थिएँ । नागढुङ्गा भन्दा तल तीन घण्टा जाममा परियो । म निकै छटपटिएँ । म सँगै जाने साथीले भन्नुभयो । “नौ बजेसम्म रत्नपार्क पुग्नपाए त साधन भेटिन्थ्यो होला !” हेरौं जे पर्ला नि ! जामको कारण म अलि डराएँ  र भने ” खोइ पुगिएला जस्तो त छैन । पुग्न पाए र साधन पाए त राम्रै हुने थियो । मेरो बसाइ त अलि भित्र छ । खल्ती मारा पनि हुन सक्छन । अस्ति भर्खरै एक जनाको तीस हजारको नयाँ मोबाइल थुते छन । समाउन सकेनन् । उल्टै उनीहरूका ग्याँङले लखटे रे ” खरर भने तर पनि कुनै उपाय थिएन । त्यति कुरा गर्दा नगर्दा जाम खुल्यो । हाम्रो बस अन्त कतै रोकिएन । एक घण्टा जतिमा रत्नपार्क नै आइपुगियो । रत्नपार्कमा निलो माइक्रोहरू देखेर साथी र म खुःसी भयौँ। माइक्रो छेउमा गएर सोध्यौँ । ” भाइ चावहिल जान्छ ? उस्ले भन्यो जान्छ तर १०० रूपैया एक जनाको ” मैले सोधें ” भाइ यो ट्यासी रेटमा चल्ने हो र ? तिमीले त एकै पटक हजार पन्ध्रसय पो उठाउने भयौ त ! रूटको माइक्रो होइन र ? यति भन्दा भन्दै उसले जवाफ दियो । दि तपाईलाई चढ्न मन रहेनछ । तपाईं उता जानुस । हाम्रो पेसेन्जर नभड्काउनुस । भन्दै गाली गर्न थाल्यो । मैले सोचें ठिकै छ राती भएको छ घर जानै छ । यो साधन नभए ट्याक्सीमा जानुपर्ने हुन्छ भन्ने मानेर फेरि भने ” ल ल भाइ जानै पर्यो १०० तिरेर भए पनि ” तर उस्ले मानेन । अरू यात्रु जो विना संवाद चड्नु भएको थियो वहाँहरूलाई लिएर हिड्यो । फेरि अर्को कुरेर १०० रूपैया नै तिरेर चाडें । रत्नपार्कबाट हिड्न त हिड्यो यति धेरै गतिमा हिड्यो कि ७ मिनेटमा चावहिल ल्याइदियो । म माइक्रोबसमा छु या कहिकतै आँधीवेरिमा थाहा नै पाइनँ । डरले पानी पानी भएर थरथर हुँदै चावहिलमा झरेँ । एकछिन आराम गरेर घरतिर लागेँ ।

दैनिक जस्तो हामी काम विषेशले घरबाट बाहिर निस्कने गर्दछौँ । निजी सवारी साधन हुनेहरूले त प्राय: सधैजसो आफ्नो गन्तव्यको सजिलो र असजिलो लगभग पहिचान गरिसकेका छौँ या हुन्छौँ । कतिले त सवारी साधन चलाए बापत ट्राफिक जाममा परेर तोकिएको स्थानमा समयमा पुग्न कठिनाइ व्योहोर्नुपर्छ । कठिनाइ सगैंको कार्यलयीय अनुशासनको दायरा उल्लंघन गरेको कारण स्व : मनोबैज्ञानिक दवाव खेपिरहेकै हुन्छौँ ।  त्यस्तै सडकमा निजी साधन चलाउनेहरू पनि एकैछिन धैर्य गरेर लेनमा बस्न चाहान्नौं । आफ्नै तर्फबाट निकै निसासिदै सडकमा भएको यातायातको साधन लेनक्रस गरेर या पेटी चडाएर , हर्न बजाएर या मिचमाच पारेर भए पनि आफ्नो साधन अघिल्तिर धकेल्छौँ ।  अनि  भन्छौँ कस्तो जाम कति खतम छन नेताहरू; सबै भद्रगोल छ । कुरा ठुला गर्छन काम गर्दैनन ..आदि आदि । आफुले पालना गर्नुपर्ने ट्राफिक नियम पालना नगरेका कारण या लेन अनुशासन भंङ्ग गरेको कारण हामी सबै जाममा पर्यौ या मैले पनि ट्राफिक नियम उल्लंघन गरेँ या फुट्पाथबाट मोटरसाइकल चलाएर ल्याए आदि चाहिँ भन्दैनौं । हामी आफुले गरेको कमि कम्जोरी कहिले महसुस गर्ने होला ? यी र यस्ता विषय पनि त चर्चा हुनु पर्ने होला नि ?

यी र यस्ता अरू धेरै बेथिताका विषयहरू आम नागरिकले सरोकार राख्नुपर्ने विषय हुन तर हामी कति सचेततापुर्वक यस्ता विषयमा छलफल गर्ने गरेका छौँ या छैनौँ । अब यस्ता विषयमा पनि हाम्रो ध्यान पुर्याएर छलफलहरू चलाउन पाए कति राम्रो हुने थियो होला ? अझै राज्यले नै यस्ता विषयको निगरानी, अनुगमन र व्यवस्था गर्ने कुरामा ध्यान दिए कति राम्रो हुने थियो । यस्ता काम कुरा गर्दा कुन कुन निकायले गर्ने हो ? समन्वय गरेर गरे कति राम्रो हुन्थ्यो होला ।त्यस्तै पेसा व्यवसायीको माथि भने जस्तो व्यवहार लाग्ने दस्तुर तिरेर सेवा लिनेहरूले किन ? र कहिले सम्म सहने होला । एकाइसौ सताव्दीमा पनि अनाहकमा हेपाइ खानु पर्ने यी र यस्ता अन्य धेरै अवस्थाबाट कसरी छुट्कारा पाउने होला ? सम्बन्धि निकायको ध्यान जान जरूरी देखिन्छ । मेरो विचारमा माथि उठाइएका सबै कुराहरू सिन्डिकेट कै रूपहरू हुन कि ? एक पटक सोचौं त ।

2952 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank