“”

व्यवस्थापन गर्नेहरुमा मौलाएको अराजकता

सोमवार, चैत्र १९, २०७४



- सीता ओझा

निकै ठुलो सर्घषपछि अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था भित्रका नागरिक बनेका छौँ । हामीलाई नेपालको संविधानले निकै धेरै कुराहरू पनि व्यवस्था गरिदिएको छ । त्यसैसँग जोडिएका अधिकार मध्येको जनप्रतिनिधि छान्ने काम लामो समयको अन्तरालपछि यहि वर्ष सकेका छौँ । अहिले हरेक सर्वसाधारणले स्थानीयदेखि प्रदेश र केन्द्रीय तहसम्मका संसदीय निकायहरूमा सेवाका लागि जनप्रतिनिधिहरू पाएका छन । यो सर्वसाधारणहरू मध्ये पनि पहुँच कम भएकाहरूका लागि अत्यन्तै गौरव गर्ने कुरा हो ।

दलीय व्यवस्थामा दलहरू राज्य सञ्चालनको प्रकृयाभित्र निकै महत्वपूर्ण भुमिकामा हुने गर्छन । त्यस्तै राजनीतिक व्यवस्थापनको निकै महत्वपूर्ण पक्षका रुपमा पनि दलहरूले भूमिका खेल्नुपर्ने हुन्छ । सरकारको स्थिरताका लागि सरकारमा बहुमत या दुईतिहाइ हुँदाहुँदै सरकार अस्थिरता तिर जाने खतरा पनि त्यतिकै हुन सक्छ । यस्तो संकट दलीय, व्यवस्थापनमा प्रजातान्त्रिकीकरणमा समस्या भयो भने, नेतृत्वमा क्षमताको अस्थिरता देखियो भने, नेतृत्वले पूर्वाग्रह राख्यो भने, नेतृत्वमा पुर्वाग्रह रह्यो भने अथवा दलभित्र अनेको गुट र उपगुटले संरक्षण पाइरह्यो भने या समय अनुसारका मुद्दाहरू दलले पहिचान गर्न नसक्दा या सांगठनिक सञ्जाल नहुँदा, भएर पनि गतिशिल नहुँदा, योजना बनाउन नसक्दा, योजना अनुसारका कार्यक्रम बनाउन र कार्यन्वयन गर्न नसक्दा दल र दलको सरकार फेरवदल या असफल हुन सक्ने निकै खतरा हुने गर्छ ।

दलहरू भनेका स्थिरता भित्र आफ्नै अनेकौ उदेश्य बोकेका सयकडौको भिड लाग्ने आन्तरिक संरचनाहरू भएको सञ्जालमा पर्दछन । त्यस्तै लाखौँलाख मानिसहरू यसको नेटवर्कमा सहकार्य गर्ने सहज रुपमा तत्पर रहेको ठाउँ पनि हो । यस्ता संरचनाहरू सामुहिक सहकार्यका लागि आत्मसम्मानका साथ सहज सहकार्य गर्न तत्पर रहने गौरवशाली संरचना पनि हुन भन्ने प्रसस्त आधार भएका निकायहरु हुन् । यस्ता संरचनाभित्र मानिसहरूले श्रम, शक्ति, समय, बौद्विक क्षमताको लगानी, आफनो आयश्रोतको नगद या प्रतिशत पनि सहयोगको माध्यमबाट योगदान गरेका हुन्छन । यसरी सञ्चालित यस्ता काम गर्ने ठाउँहरूमा संगठित मानव शक्तिहरू धरैथरीको हुने गर्छ । दलको संरचनाभित्र भएको मानवश्रोतहरू पनि कोहि पुराना, नयाँ, कमजोर, शक्तिशाली, उच्च बौद्धिक क्षमता तथा मन्द र फरक क्षमता आदि भएका व्यक्तिहरू÷सदस्यहरु हुन्छन र छन् भन्नु पनि स्वभाविक नै हो । यसरी बनेका यस्ता सस्थाहरूले यस्तो बेलामा सबैको क्षमताको पहिचान गरि क्षमता अनुसारको स्थान, मान र जिम्मेवारी दिनुपर्ने हुन्छ । त्यो मात्रै होइन निर्वाचनको समयमा एक मत धुकचुक गरेर दिने साथै दिन्न भन्नेको पनि स्थान सुरक्षित राख्न सक्नु पर्ने हुन्छ । त्यस्तै दलभित्र निर्वाचित भएपछि कसैप्रति दुराभाव र पुर्वाग्रहको भाव राख्नु हुन्न भन्ने कुरा व्यवहारमा गरेर देखाउन सक्नु चाहिँ दलहरुको आन्तरिक लोकतन्त्रीय पद्दतीको संकेत पनि हो भनेर दलहरुले बुझ्दा राम्रो हुने थियो होला । वास्तवमा यस्ता कुराहरु अबको दलीय राजनीतिमा राजनीतिक संस्कारको रुपमा दलका सबै संरचनाहरुमा रहेको देखिनु पर्ने हो तर त्यहि कुरामा कमि रहेको जस्तोगरि अराजकता छचल्किन थालेको आभास अहिले सूचनाका माध्यमबाट भइरहेको छ ।

मुलुकको दिगो विकास र सम्वृद्विको खाका कोर्न यस्ता आन्तरिक द्दन्द र दम्वले निकै घात गर्ला जस्तो गरि अहिले समस्याहरुको तरङ्ग उत्पन्न भएको देखिन्छ । यस्तो बेला शीर्ष नेतृत्वले दलका विविध क्षमता भएका लाखौ सदस्यहरूको अपेक्षाहरू पुरा गर्ने भन्दा मुलुकको विकासको ढोका खोल्न सक्नु पर्दछ । त्यो अत्यन्तै कठिन पनि छ । विस्तारै शीर्ष नेताहरूले यस्ता विषयहरूलाई दोस्रो पुस्तामा हस्तान्तरण गर्न सके भावी नेतृत्वका लागि अरु पनि दलीय मानवश्रोत पार्टीको कुशल व्यवस्थापनका लागि तयार हुने थिए होला । यस्ता जिम्मेवारीले नेतृत्व क्षमतामा सृजनशिल र व्यवहारिकता जाँच गर्दै नेतृत्वहरूलाई तिखार्न र कामप्रति इमान्दार बनाउन सकिन्थ्यो कि भनेर बुझ्न त्यतिकै आवश्यक हो की नेतृत्वले सोच्ने बेला आयो होला ।

अब पनि यसरी बुझिएन र गणेश प्रवृतितिर नै सोचियो भने उनीहरूसँग भएको सिप र समय खर्चन सक्ने अवस्था र उमेर निष्कृया हुँदा कतै राष्ट्रलाई नोक्सानी पो हुने होकी ! सोचेर योग्यतमलाई विषेश जिम्मेवारी दिन हिचकिचाउनु हँुदैन होला । नदेखिने तर निकै प्रभाव पार्ने यस्ता विषेश कामको योजना बनाउन नेताहरू आफै लाग्नु भन्दा योजनाको व्यवस्थापन गर्न तिर ध्यान दिन जरुरी हुन्छ जस्तो देखिन्छ । वास्तवमा कुनै पनि बिषयको योजना बनाउन जति सजिलो हुन्छ त्यो भन्दा अधिक बढी चुनौति योजना कार्यान्वयन गर्नलाई हुन्छ भनेर कार्यान्वयन पक्षको पनि मसिनो तरीकाले विश्लेषण गर्नु पर्ने हुन्छ ।

जसरी दलको राज्य सञ्चालनमा भुमिका रहेको देखिन्छ । त्यसैगरी राज्य सञ्चालन गर्ने कुरामा भने अझ धेरै दलीय संरचनाहरुमा गतिशिलता चाहिने अवस्था छ जस्तो लाग्छ । सरकारमा जाने दलहरुमा यस्तो बेलामा कामको बोझ बढेको हुन्छ र छ । यदि जनशक्तिको क्रियाशिलतामा चाप देखिएको छैन् भने किन गर्न सकिएन या हुन सकेन भनेर समीक्षा गर्नुपर्ने हुन्छ । तर, हामी कहाँ त्यो भन्दा बढी अवसर हात पर्ने र आफु बन्ने साथै आफ्नालाई बनाउने परिपाटी मौलाएको देखिएको छ । यस्ता कुराले व्यक्ति त बलियो होला संरचनालाई कमजोर बनाउछ । यहि चलन रहिरहे मुलुकको विकास र गतिशिलताको लागि निकै ठुलो चुनौती बन्न सक्छ । यस्तो बेला नेतृत्वले कसैसँग आग्रह नराखी सबैको योग्यता र क्षमताको उच्च मुल्यांकन गर्दै जिम्मेवारी दिन हिचकिचाउनु हुन्न । अधिकतम कार्यक्षमता भएकाहरूले यस्तो समयमा जिम्मेवारी पाएनन् भने आम नागरिकको अपेक्षा जस्तो गरि विकासको फड्को मार्न सक्दैन । पद कामका लागि हो, पगरी या सम्मानका लागि होइन । निषेध गर्नु या आग्रह राख्नु भने दम्व या कुन्ठा हो । अहिले दुईतिहाई ल्याउने दलले राष्ट्रिय नेतृत्वको संयोजन गरेर अन्तर्राष्ट्रिय सान बढाउने बेलामा पार्टीको आन्तरिक जिवनभित्र पुर्वाग्रह राखियो भने व्यवहार र शैलीमा भएको निरङकुशता र कार्यशैलीमा देखाएको दरिद्रता हुनेछ । अन्ततः यसले दलको शक्ति र संगठन निर्माणमा क्षय गर्दछ । त्यसैले हेक्का पुर्याउनु राम्रो होकी ।

दल र दलका संरचनाहरु वास्तवमै महासञ्जालहरु हुन । यिनीहरुका निकै ठुला र सारै साना संयन्त्रहरू प्रसस्तै भएका संस्थाहरु नै हुन । दलहरूले ती संरचनाहरूलाई अब निकै सोचेर देशको सम्वृद्विका लागि लगाउन सक्नुपर्दछ । यो राजनीतिक व्यवस्थाका लागि आम नागरिकले निकै क्षति व्यहोरेर निकै ठुलो परिर्वतन ग्रहण गरेको यो अबस्थामा दलहरुले आफ्ना सञ्जालहरुको भुमिकामा व्यापक फेरवदल ल्याउनुपर्दछ । दलका यस्ता सञ्जालहरू आम नागरिकको जिवनस्तर वृद्विका सामान्य भन्दा सामान्य कुराहरूदेखि आगामी कार्यभार समाल्नेसम्मको काममा अघि लाग्नु पर्ने देखिन्छ । विषेशगरेर पछि परेकाहरूको पहिचान गरि पहिले सम्बोधन गर्ने, अन्धविश्वासको विरुद्दको देश व्यापी सचेतना अभियानको योजना बनाएर लाग्ने, यस्ता कुरा अहिले नगरे कहिले गर्ने ? अब हामीले नगरे कस्ले गर्ने ? किन कसैलाई सहभागितामा छोडने ? आदि नाराका साथ अघि बढ्न सके या जोड दिए उत्तम हुने थियो होला ।

हामी सबै सहभागी भएर भर्खरै मात्र सबै तहको निवाचन सकेर नयाँ सरकार बनाएका छौँ । देशमा निकै अस्थिरता छ । हत्या, आतंक, बलात्कार र हिंसाबाट महिला, बालबालिका र फरक क्षमता भएका नागरिकहरू प्रताडित छन् । सरकार र सरकारको मतहतमा कार्यरत कर्मचारीहरूबीच देखिएको द्दन्दको दोहोरी संस्कृतिले कता,कता अब देश कता जाने हो भन्ने पनि भान भएको छ । यस्ता कुरा हेर्दा सामान्य देखिए पनि भुसमा सल्किएको आगो जस्तो फैलिएर राज्यको प्रसाशन नै अराजकतातिर मोडिने पो होकी भन्ने शंका उव्जिएको छ । यस्ता विषयहरूको व्यवस्थापनमा राज्य र कर्मचारी दुवै विषेश ढङ्गले लाग्नु पर्ने देखिन्छ । यसरी आन्तरिक व्यवस्थापनमा देखिएको समस्याले अबको सम्वृद्व नेपाल बनाउने सपना चकनाचुर हुने त होइन सम्बन्धित सरोकारबालाको ध्यान पुगोस ।

त्यस्तै, राज्यको विभिन्न तह या संरचनामा छानिनु भनेको राज्य सञ्चालनको दायित्व वहन गनु नै हो । तर अहिले सञ्चारका माध्यममा छाएको विभिन्न समाचारहरू पढ्दा लाग्छ, निर्वाचित निकायमा छानिएका जनप्रतिनिधि बीचको कुटाकुट, गाली गलौज, निषेध, अपारदर्शी कामकारबाही, पाखा लगाउने परिपाटी आदि व्यवहारको व्यवस्थापनका विषयमा दलहरुले विषेश ढङ्गले ध्यान नदिए निर्वाचित निकायहरू नै अपराधका इकाइ बन्ने त होइन भन्ने प्रश्न उव्जिएको देखिन्छ । सगै व्यवस्थापन गर्नेहरुमा मौलाएको अराजकताले अपराध र अपराधीलाई कहाँ पुर्याउछ होला ? सबैका लागि सोचनीय विषय बनेको छ । वास्तवमा हामी सबै विना पदका प्रशासक तथा कर तिरेका नागरिक भएकोले जिम्मेवार पक्ष र प्रतिपक्ष हुनुहुदैन कि ? सोचौँ जस्तो लाग्छ । यस्ता विषयको न्युनिकरणमा सबै दलको विषेश भुमिका हुनुपर्छ । यो र यस्ता कुराहरू आम नागरिकले पढ्दा रोग लागेको होइन रोगले काल पल्काएको हो की जस्तो भान भएको छ । त्यसैले यस्ता द्दन्द बढ्ने र बढाउने विषयमा सरोकारवाला पक्षले बेलैमा व्यवस्थापन गर्नतिर सोचाइ बनाओस्, शुभकामना ।
(ओझा, महिला अध्ययन केन्द्रकी अध्यक्ष हुन्)

429 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank