तीज – मौलिकताः पुस्तान्तरण र चुनौति

शनिबार, साउन २१, २०७४



- सीता ओझा

हिन्दु धर्म संस्कृती भित्रको हरितालिका तीजले ऐतिहासिक, सामाजिक महत्व राख्दछ । हरितालीका तीजसँग नेपाली जनताको भावनात्मक सम्बन्ध जोडिएका कारण उमङ्गता पनि छ । विशेष गरि खस आर्य समाजमा यसको ऐतिहासिक सांस्कृतिक, सामाजिक,मनोवैज्ञानिक र पारिवारिक आयामहरुमा गाडा सम्बन्ध गासिएको देखिन्छ । नेपालीसमाजमा विवाहित महिलाका निमित्त विशेष सम्बन्ध राख्ने यो चाडले नयाँ घर परिवारको संरचनाभित्रको प्रवेश, परिचय र ,पहिचान सहित माइतीसँगको सम्बन्धलाई प्रगाढ बनाउने ऐतिहासिक प्रचलन रहि आएको कुरालाई तीजको महत्वले एकिकृत गरेको देखिन्छ । यसरी सुरुवात भएको हरितालीका तीजको महिमा र प्रचलन राज्यको उत्पतिको हाराहारी देखि नै रहेको छ भन्ने कुरा अध्ययनले देखाएको छ

पार्वतीले संगिनीहरुको साथ लिएर परिवारबाट हरण गरेर शिवसँग विवाह गराएकै ( शिवलाई पतीका रुपमा स्वयं वरण गरिन) कारण तीजको नामाकरण हरितालिका रहेको कुरा ऐतिहासिक धार्मिक महत्व राखने हाम्रा कथाहरुले पुष्ट्याउँछ । तीनै सती या पार्वतीलाई आर्यमुलको वैदिक समाजले पुज्यदेवीहरुमध्ये अग्रस्थानमा राखेर ‘प्रथमम् शैलपुत्री च” किरात समुदायले पार्वतीलाई सुम्निमा र शिवलाई पारुहाङ्गका रुपमा मान्दै आएको तथ्य अहिले पनि हामीले पढ्ने गरेका छौ । हरितालिका तीजसँग गाँसिएको अति प्राचिनकाल या सत्य युगका शिव र पार्वतीको प्रेम र प्रेममा देखिएको सर्मपण सहितको विवाहसँग गासिएको संघर्षपूर्ण जीवन कथाका रुपमा बुझ्ने बुझाउने चलन नै प्रमुख रुपमा उठाइएको कुरा नै पढ्रन पाइन्छ । त्यस बेलाको समाज,समाजको विकाशक्रम भिन्न भिन्न जाती, समूहहरुका आ–आफ्ना रीतिरिवाजहरुको मान्यताका आधारमा चलन चल्दै अघि बढेको तथ्य आर्य, किराँत, आष्ट्रिक, द्रविड आदि जस्ता भिन्न भिन्न जाती समूहका मुलका मानिसहरुको आ–आफ्नै रिवाजहरु चलनका रुपमा कायम रहेकै अवस्थामा हरिको प्राप्ती जातीय एकता र जन जिवनको सम्वृद्दि प्राप्तिकालागि गरिएको अनौठो र कौशलतापुर्ण सफलताको उचतम रुपको नमुना पनि हो भन्ने आधारहरु थुप्रै भेटिन्छन ।

भावनात्मक सम्बन्धको निकटता नभएको अवस्थामा विश्वासिलो वातावरण हुने कुरै भएन । मानव जाती भित्र मानव अस्तित्व स्विकार नभएको समयमा एक समूहका रीवाज अर्को समूहका लागि मान्य थिएनन । एक अर्का जातीमा परस्पर युद्ध चल्दथ्यो । मानविय अस्तित्व नै स्वीकार्य हुँदैन थियो ।मानविय चेतनाको विकाश भएका थोरै व्यक्तिहरुमा पनि मित्रवत व्यबहार र सदभावका कुरा पनि गरेको पाइदैन थियो । सदासयता पुर्ण व्यवहार र विचार समूहका व्यक्तिहरु थोरै हुन्थे । तात्कालिन बसोबासको हिसाबले पश्चिमी क्षेत्रतिर रहेका आर्य जातीका दक्षप्रजापति आफ्नो जातीय समूहलाई निकै सव्य सुसंस्कृत ठान्दथे । त्यहि कुरा उनकी छोरी सतीदेवीले मानिनन् । त्यो विचारले तात्कालिन समाजमा भातृत्व र सहिष्णुता सहितको मानवता विरोधी भएको ठहर गर्थिन । त्यस विचारलाइ परस्थ गनु र सहिष्णुता कायम गर्नेतिर नै उनी तल्लिन देखिएको कारण नै सतीदेवी र शिवको पे्रम भयो भन्न सकिन्छ ।

पूर्वी हिमाली भेग तिर रहेका किराँत (अनार्य) जातीका शिवसँग तात्कालिन समाजको विकास र सन्तुलनको क्षमता सती देवीले देखेकी थिइन् । शिवसँग भएको तन्त्र, योग, नृत्य शास्त्राश्त्र आदिले त्यो समाजमा वर्चस्व कायम राखेका कुराको निकटता भए मात्र राजनीतिक शक्तिको सन्तुलन बुझे रै अन्य समुहका अगुवाहरुले पनि विवाहको समन्वय गर्न खोजेको अनौठो उदाहरणपनि विश्लेषण गर्न सकिन्छ । सतीदेवीलाई शिवजीसँग भएको अलौकिक दक्षता र मानवताले तात्कालिन समाजमा सन्तुलन कायम गर्दै सुसंस्कृत समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने विषयले अगाडि बढाइ रहेको थियो । त्यसैले शिब र सती देवीको विवाहलाई आर्य र मङ्गोल कुलका मानवजातीलाई एकताको डोरीमा बाँध्ने महान अभियानका रुपमा लिन सकिन्छ । यो विषय अहिले पनि उत्तिकै सान्र्दभिक र महत्व राख्ने उदाहणका रुपमा लिन सक्छौ । आफ्ना पिताले पति प्रति गरेको अपमानलाई सतीदेवीले यज्ञकुण्डमा होमिएर यज्ञ आत्मदाह गरेको र पछि हिमालय पुत्रीका रुपमा पुनः जन्म लिई पुन शिवसँग पार्वतीको नामले ठूलै तपस्या गरी विवाह गरेको पौराणिक किम्बदन्ती अझै नेपाली समाजमा ताजै छ । सतीदेवीले पिताका लागि मन्जुर नभए पनि सामाजिक सद्रभाव र मैत्रीपुर्ण समाजको निर्माणको उद्देश्य राखेर नै शिवसँग विवाह गरी छाडिन् । तात्कालिन समय देखि नै महिलाहरुले आँट गरेको काम र कुरा अनेकौ चुनौति सामना गरेर पनि पुरा गर्छन भन्ने कुरा प्रमाणित भएको पनि छ ।

यसरी हेर्दा तीजपर्व अन्तरजातीय विवाह, सामाजिक सदभाव र धार्मिक सहिष्णुताको प्रतिकका रुपमा र सफल, एकिकृत, र भावनात्मक निकटता रहेको दाम्पत्य जिवनको प्रमुख उदाहरण हो भन्ने कुरा अर्थनारेश्वरको रुपलाई सुक्ष्म ढङ्गले अध्ययन गर्यो भने पनि थाहा पाउन सकिन्छ । अर्धनारेश्वर आधा पुरुष आधा महिलाको शिव र पार्वतीको समान पहिचान स्थान मान र मर्यादाको प्रतिकका रुपमा स्थापित स्वरुप अहिले पनि हामीले पुजा गर्ने गरेकै छौ । यो नै समानता र मानवताको महत्वपूर्ण तथ्य हो । यो रुपले भिन्न भिन्न वंश र मुलुकका मानव समुदायमा साँस्कृतिक,आर्थिक, धार्मिक अस्थित्व सहितको विलिनीकरण भई मानवजातीमा विश्वास, मैत्री सम्बन्धका रुपमा स्थापित थियो भन्ने कुरा निम्न वाक्यहरुले प्रष्टयाउछ ।

माता च पार्वतीदेवी पिता दवो महेश्वरः
वान्धव वा शिवमआश्रम स्वदेशो भुवनत्रमम् ।।
(आमा पार्वती र बुबा शिवका रुपमा)

मथिका हरफहरुले शिवभक्त मानवजातीको एकता र बन्धुत्वका रुपमा तिनैलोकको सम्बोधन गरेको देखिन्छ । तीजको लगतै पश्चिम नेपालका विभिन्न जिल्लामा मनाईने गौरा पर्वको सम्बन्ध पनि हरितालिका तीजसँगै जोडिएको छ । विशेषगरि पार्वतीले आफ्नो स्वेच्छाले शिवलाई वरण गरेको सन्दर्भ गौरा पर्वमा जोडिएको तथ्य जोडिएको देखाइन्छ । यस्ता ऐतिहासिक घटनालाई महिलाले महिलाको स्वतन्त्रता, स्वनिर्णयको अधिकार र पहिचानसँग जोडेर चाडपर्व मनाउने चलन २०४६ साल अघि प्रसस्तै थिए । अहिले पनि यस्ताप्रचलनहरु विभिन्न नाममा त्यत्तिकै महत्व राख्दछ मनाउने चलनहरु छन ।

तीजपर्वसगँ मानव र वनस्पतिको सम्बन्ध र ऐतिहासिक महत्व गाँसिएका विषय पनि निकै महत्वपूर्णपक्षको रुपमा स्थापित छ । तीजपर्वको विशेष महिना भाद्र नै छानिनुमा विशेष सांस्कृतिक र प्राकृतिक पक्षको महत्व देखिन्छ । खेतीपाती सकेर नदिनाला खड्ीएको बेला चारैतिर हरियाली छाएको मौसम भएकोले नै छनौट भएको हुपर्छ । यो मौसम प्राय सबै प्राणी, वनस्पति जातीको प्रजनन क्षमता बढी भएको रसिलो भरिलो याम,मानिसको मन मस्तिष्कमा मनोवैज्ञानिक रुपमै मुस्कान भरिएको रमणीय प्राकृतिक सौन्दर्यसँग प्रत्यक्ष सम्बन्ध राख्दछ । हिन्दुहरुका अरु पर्वहरु पनि विशेष गरि जोडो याममै पर्दछन् । यसको पनि विशिष्ट वैज्ञानिक कारण हुन सक्दछ । वर्षमा रित्तिएका अनाज, तरकारीहरु विस्तारै प्रसस्त बढ्रने समय हुने भएकोे पहाडी क्षेत्र भएका कारण पनि यो महिना रोजीएको होकी भन्न पनि सकिनेछ आधार प्रसस्तै छन ।

तीजको सन्दर्भ शिव पार्वतीसँगै श्री कृष्णअष्टमीसँग पनि गाँसिएको जस्तो देखिन्छ । विष्ण्ुाको पूर्ण अवतारका रुपमा मानिने कृष्णको जन्मदिनलाई भव्यताका साथ मनाउने प्रचलन हामी हिन्दूहरुमा अझै पनि छ । कृष्णको जन्मदिनको दिनबाटै चेलिबेटी बोलाई तीज बनाउने प्रचलन पनि नेपाली समाजमा प्रसस्तै पाईन्छ ।

यसरी हेर्दा सिंगो दक्षिण एसिया बहुजातीय भएकोले विभिन्न कार्य अनुभव , स्थानको चुनौति र समयको सन्र्दभले अस्थित्वमा रहेका सबै जातिका फरक फरक देवता पनि हुदै र बन्दै गएको सत्य पनि हाम्रा तेत्तीसकोटी इश्वरका रुप रहेको उैतिहासिकताले झल्काउछ । गए । ह त्यसलाई घटाउने अभियान क्रममा ‘गणेश, विष्णु, शिव, सूर्य, काली’ यी पाँच देवता (पाञ्चायन देवता) लाई सबैका साझा देवता बनाउने प्रयत्न पनि चलेको प्रसङ्ग धार्मिक कथाहरुका वाचनमा श्रवण गर्न पाइन्छ । अहिले त्यो संख्या घटाउँदै लगी ‘शिव र विष्णु एउटै हुन्’ भन्ने चिन्तन, क्रमशः विकसित हुँदै आएको छ । जे होस शिव र पार्वतीको महिमा भित्र मान सम्मान र मानवताको सहअस्तित्व झल्कन्छ । यसलाई समस्त मानवजातीले बुझ्नु जरुरी छ ।

यी ऐतिहासिक प्रचलन सहित पछिल्लो काल खण्डमा पटक पटक मुसलमान जातीको आक्रमणमा परेका हिन्दुहरुले आफ्ना छोरीहरुको कुमारीत्व जोगाउन एक वर्षभन्दा मुनि नै सिन्धुर पोतेले सजाइ रक्षा गर्ने सुरक्षाको प्रचलनसँग पनि सम्बन्ध राखेको देखिन्छ । सानै उमेरमा विवाह गरेका आफ्ना छोरीवेटी वर्ष याममा कामका कारण खानपिनमा ख्याल नपुगेको अवस्थामा कम्जोरभएका हुने, खेतीपातिको काम सकिए पछि जन्मघर गएर मिठो मसिनो खाएर परिवारै रम्ने र हरितालिका तीजको व्रतले पुन घर,परिवार र पति पत्निको सम्बन्धको न्यानो सम्बन्ध कायम गराउने कुरा प्रति पनि महत्व राख्दछ ।

जेहोस परापूर्वकालदेखि प्रचलनमा आएको हरितालिका तीजको आफ्नै ऐतिहासिक महत्व छ । यसलाई आधुनिकता भित्र फेसन र आडम्बरको रुपमा शहरका होटल, पाटीप्यालेसमा भट्किलो र खर्चिलो बनाउने प्रचलनलाई हामी महिलाहरुले नै त्याग्न सक्नु पर्दछ । यस्ता विकृतिले धार्मिक सास्कृतिक र ऐतिहासिक मौलिकता नष्ट भइ समाजमा कम्जोर नागरिकलाई चाडवाड र सस्कृति मनाउने, सुख दुःख साट्ने प्रचलनमा दरार सिर्जना भई विभेदको अर्को रुप विकाश हुन सक्छ । अब आउने पुस्तालाइ यो पर्वको सास्किृतक महत्व ,गरिमा र ऐतिहासिक महत्व कसरी बुझाउने यो कार्य अहिले पुस्ताको निकै चुनौतिपुण पक्ष हो । यस्ता विषयमा विचार नपु¥याए समाजमा विविध अपराध पूर्ण घटनाले प्रश्रय पाउँछ । महिलाहरुले यस्ता धार्मिक सांस्कृतिक महत्वका चाडपर्व मनाउँदा विशेष होस पु¥याउनु उत्तम हुनेछ ।

(लेखक) महिला अध्ययन केन्द्र

985 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank