कानुनमार्फत विकास निर्माणको कामलाई रफ्तारमा अघि बढाउँछौँ

बुधबार, बैशाख २६, २०७५



- शेरबहादुर तामाङ कानुन, न्याय तथा संसदीय मामिलामन्त्री

शेरबहादुर तामाङ
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री
हामीले सवै पुराना कानुनलाई विस्थापित गर्नुपर्नेछ । हामी आवश्यक सवै कानुनको मस्यौदा तयार पारेर संसदमा पेश गर्ने तयारीमा छौँ । द्रुत गतिमा काम भइरहेका छन् । हाम्रो पहिलो प्राथमिकता नै कानुन निर्माण छ । कानुन विना कुनै पनि विकास निर्माणको काम अगाडि बढ्दैन भन्नेमा हामी सचेत छौँ ।

देशलाई विकास निर्माणको बाटोमा द्रुत गतिमा अगाडि बढाउन पहिला कानुन आवश्यक पर्छ । हामी सोही अनुसारका कानुनको मस्यौदा तयार पारेर संसदमा पेश गर्छौँ । संविधानतः संघीय संसदको पहिलो बैठक बसेको एक वर्षभित्र नयाँ संविधानसँग बाँझिएका सवै कानुन खारेज हुन्छन् । कानुनको अभाव हुन नदिनेतर्फ हामी सचेत भएर काम गरिरहेका छौँ ।

कानुन संशोधनको विषय हाम्रो दोस्रो प्राथमिकतामा छ । सवै कानुनलाई नयाँ संविधान अनुसार मिलाउनुपर्नेछ । त्यस्ता कानुनको संख्या तीन सयको हाराहारीमा छ । त्यस्ता कानुनका मस्यौदा पनि हामी संसदमा पेश गर्नेछौँ । यो वर्ष कानुन निर्माण र संशोधनको वर्ष हुनेछ । कानुनमार्फत नै विकास निर्माणको कामलाई रफ्तारमा अगाडि बढाउनुपर्नेछ ।

अदालतलाई पारदर्शी, स्वच्छ, स्वतन्त्र र जनउत्तरदायी बनाउन र जनताले विश्वासको केन्द्र मान्ने अवस्था गराउने गरी कानुन तयार पार्नेछौँ । अदालत, मुद्दामामिला भन्दा पीडित तर्सने अवस्था छ । त्यस्तो अवस्थाको अन्त्य गर्न कानुनतः सुधार गर्ने सोचेका छौँ । कानुनी सहायता सम्बन्धि केही नीतिलाई पनि प्राथमिकतामा राखेका छौँ । एकल महिला, दलित, अपांग, जेष्ठ नागरिक, बालबालिका र हिंसामा परेका महिलालाई निःशुल्क कानुनी सहायता दिने व्यवस्था गर्न लागेका छौँ ।

नेपालको कानुनले बैदेशिक लगानीलाई अवरुद्ध गरेको अवस्था छ । हामी त्यो अवस्थाको अन्त्य गर्न चाहन्छौँ । जति विदेशी लगानी भित्रियो त्यति नै रोजगारीको अवसर सिर्जना हुन्छ । राज्यको नीति नियमभित्र बसेर विदेशी लगानी भित्र्याउने गरी कानुनले सहजता बनाउनुपर्छ ।

(कानुन दिवसको सन्दर्भमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङसँग गरिएको कुराकानीमा आधारित)

166 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank