कोरोनाबाट भएको ४ मृत्युमा गम्भीर लापरबाही

शुक्रबार, जेष्ठ १६, २०७७



- मनाेज कुमार कडेल(अधिवक्ता एवम् बालअधिकारकर्मी)

कोरोना कहर बिच हाल सम्म ३ लाख ५० हजार विश्वभरिका मानिसहरूको मृत्यु भइसकेको छ । सार्क राष्ट्रको कुरा गर्ने हो भने सबभन्दा बढी भारतमा ४००० भन्दा माथि मृत्यु भएको छ भने भुटानमा आज सम्म कसैको पनि मृत्यु भएको छैन ।

हाल सम्म पाकिस्तान -११३३, बङ्गलादेश- ४८०, अफगानिस्तान-२१८, श्रीलङ्का- ९, मालदिभ्स- ४ र नेपालमा ४ जनाले ज्यान गुमाई सकेका छन् ।

नेपालमा हाल सम्म भएको ४ वटै मृत्यु विवादित भएको छ । यी सबै मृत्युमा प्रस्ट रूपमा अस्पतालको लापरबाही, सरकारको नीतिहीनता, क्वारेनटाइनको नाजुक अवस्था जिम्मेदार रहेको देखिएको छ ।

यी मृत्युहरूको निष्पक्ष छानबिन हुने हो भने अवश्य गम्भीर तथ्यहरू उजागर हुने र यसमा संलग्न व्यक्तिहरू शङ्काको घेरामा पर्ने कुरामा दुहिमथ देखिँदैन ।

मृत्यु नं. १

सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु कोरोनाबाट भएको जेठ ३ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी गराएको थियो ।

मन्त्रालयको भनाई अनुसार ती महिला वैशाख २३ गते त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएकी थिइन, त्यसको भोलिपल्ट उनको नर्मल डेलिभरी भयो र २५ गते सिधै सिन्धुपाल्चोकस्थित घर गइन ।

घर गइसकेपछि ज्वरो, श्वासप्रश्वासमा समस्या आयो र उनलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गरियो । उनमा झन् थप समस्या देखिए पछि थप उपचारका लागि धुलिखेल ल्याइयो तर बाटोमै उनको मृत्यु भइसकेको थियो ।

यहाँ गम्भीर विषय यो थियो की ती महिलाको १० दिनको बिचमा ३/३ वटा अस्पतालमा उपचार गरिरहँदा, श्वासप्रश्वासमा गम्भीर समस्या देखिदा, जरोले सताएको बिरामीको कोरोना परीक्षण नगर्नु र मृत्यु भएको २ दिन पश्चात् मात्र उनको कोरोना परीक्षणको रिपोर्ट आउनु सरकारको गम्भीर लापरबाही थियो ।

किन यत्रो उपचारका क्रममा उनको कोरोनाको परीक्षणको लागी कहाँ कतैबाट पनि रिफर गरिएन ? यस कारण पनि जनस्वास्थ्य विज्ञहरूले यो घटनालाई “‘कोरोनाले भएको मृत्यु भन्दा पनि हत्या “ भनेका थिए ।

मृत्यु नं. २

बाँकेको नरैनापुर घर भएका युवक मुम्बईमा काम गर्थे र लकडाउनकै बिच उनी भारतको मुम्बईबाट वैशाख ३० गते गाउँ फर्केका थिए र उनलाई सिधै क्वारेनटाइनमा राखिएको थियो ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार बाँकेका २५ वर्षीय युवकको कोरोना सङ्क्रमणको आशङ्कामा क्वारेनटाइनमै जेठ ४ गते मृत्यु भयो । जेठ ३ गतेबाट श्वासप्रश्वास सम्बन्धी समस्याबाट ग्रसित भएका ती युवकले जेठ ४ गते बिहानबाट एक्कासि बान्ता गर्न सुरु गरेका थिए र उनलाई अस्पताल लैजाने तयारी गर्दा गर्दै क्वारेनटाइनमै उनले ज्यान गुमाएका थिए ।

उनी भारतबाट आएकोले कोरोना सङ्क्रमित हुने शङ्काको कारण उनलाई क्वारेनटाइनमा राखिएको थियो । क्वारेनटाइनमा राखे पछि नत उनको परीक्षण गरिएको थियो, नत २ दिनदेखी जरो, श्वासप्रश्वासबाट ग्रस्त हुँदा पनि युवकलाई अस्पताल लाने कुरामा कसैले चासो नै देखाए थिए ।

श्वासप्रश्वास, बान्ता र जरोबाट छटपट्टिएर उनको मृत्यु भयो, सरकार हेरेर बस्यो । सरकार भन्छ एम्बुलेन्स चालकले सुरक्षा सामाग्री नभएको कारण एम्बुलेन्स चलाउन नमानेका र अरू एम्बुलेन्स खोज्दा नपाए पछि उनको क्वरेन्टाइनमै मृत्यु भयो ।

सरकारको यो भन्दा लाचारीपन र चरम लापरबाहीको नमुना के हुन सक्छ ?

यी युवक बाँच्नको लागी त्यो पनि सायद हिँडेर मातृभूमि आएका थिए, तिनलाई के थाहा क्वारेनटाइन नामको यातना गृहमा छटपटाई छटपटाई मर्नु पर्छ भनेर । यसरी कोरोनाको नाममा अर्को युवकको हत्या भएको थियो ।

मृत्यु नं. ३

मन्त्रालयले गुल्मी मदाने गाउँपालिका पुर्केट ६ निवासी ४१ वर्षीय शिक्षकको कोरोनाबाट मृत्यु भएको जानकारी गराएको थियो ।

एक हप्ता देखी ज्वरो देखिएको ती शिक्षकले गाउँकै एक पोलिक्लिनिकमा चेक जाँच गराएका थिए । त्यहाँ उनलाई टाइफाइडको औषधी दिइएको थियो ।

उक्त औषधि खाएपछि उनलाई एक दुई दिन कम भएको तर, वैशाख ३० गते
रातिदेखि बान्ता भएपछि जेठ १ गते सोही क्लिनिकमा जाँच गर्दा जन्डिस भएको भन्दै अर्को अस्पताल रिफर गरिएको थिए ।

यसरी सोही दिन स्थानीयको सहयोगमा मोटरसाइकलमा राखेर उनलाई अर्घाखाँचीको सन्धिखर्क स्थित छाया पोलिक्लिनिकमा लगिएको र त्यहाँका डाक्टरले चेक जाँच गरेपछि बिरामीलाई मणिग्रामको क्रिमसन अस्पताल रिफर गरेको थियो ।

ज्वरो र टाउको दुखाइको सँगै जेठ १ बाट उनको त्रिमसन अस्पतालमा भर्ना गरी सघन उपचार कक्षमा उपचार सुरु भयो र अस्पतालले दिएको जानकारी अनुसार कोरोनाको शङ्काको कारण उनको स्वाब प्रादेशिक प्रयोगशालामा परीक्षण गर्दा जेठ ५ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।

यस पछि अस्पतालले जेठ ६ गते नै बिरामी मृत्यु भएको जानकारी गरायो तर उनका आफन्तहरूले मृत्यु भएको कुरामा विश्वास गरेनन् त्यस कारण मृत्यु शङ्काको घेरामा रह्यो । यस अवस्थामा प्रदेश सामाजिक मन्त्रालयबाट बिरामीको अवस्था बुझ्न जाँदा बिरामी जिउँदै रहेको प्रमाणित भयो ।

सामाजिक मन्त्रालयका एक अधिकारीले स्पष्ट भनेका थिए की रिपोर्ट पोजेटिभ आए पछि जेठ ५ गते देखी चिकित्सकहरू बिरामीको छेउ नगएको, बिरामीलाई भ्यान्टीलेटरमा बेवारिसे अवस्थामा छोडिएको र मन्त्रालयबाट हेर्न जाँदा मात्र उनी जिउँदो रहेको जानकारी भएको थियो ।

मन्त्री ज्यूले नै बिरामी जिउँदै रहेको जानकारी गराउन दबाब दिए पछि मात्र बिरामी जिउँदै रहेको र बिरामीको उपचार र हेरचाह नभएको कारण अवस्था गम्भीर रहेको कुरा विज्ञप्ति मार्फत अस्पतालले जानकारी गराएका थियो ।

यसरी मृत्यु नै नभएको बिरामीलाई कोरोना सङ्क्रमणकै कारण उपचार तथा हेरचाह नै नगरी सघन कक्षमा बेवारिसे अवस्थामा छाडि मृत्यु घोषणा गरी बिरामीको अस्पतालले हत्या नै गरेको यी सबै तथ्यहरूबाट प्रस्ट देखिन्छ ।

मृत्यु नं. ४

मन्त्रालयले कोरोनाबाट चौथो मृत्यु बाराको करैयामाई गाउँपालिका ७ स्थित उम्जनका ७० वर्षीय वृद्धको मृत्यु भएको जनाएको थियो ।

मन्त्रालयको अनुसार वृद्धलाई ट्युबरक्लोसिस (क्षयरोग), दीर्घ श्वासप्रश्वास सम्बन्धी समस्या भएकोले सास फेर्न गाह्रो भएर जेठ २ गते वीरगन्जको नेशनल मेडिकल कलेजको सघन उपचार कक्षमा सुरु गरिएको र उनको जेठ ३ गते स्वाब कलेक्सन भएको थियो । नारायणी अस्पतालमा ३ गतेको परीक्षण शङ्कास्पद आएको थियो र यसै क्रममा बिरामीको ४ गते मृत्यु भएका थिए ।

अचम्मको कुरा के छ भने मृत्यु पछि फेरी ५ गते पुन परीक्षण गरियो र दोस्रो चोटि पनि शङ्कास्पद देखिएपछि सङ्क्रमणलाई लाई निश्चित गर्नको लागी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब पठाइएको थियो । यसरी मृत्यु भएको ३ दिन पछि स्वाब ७ गते टेकु पठाइएको थियो र स्वाब ८ गते मात्र टेकु पुगेको थियो ।

यहाँ स्पष्ट देखिएको छ की अस्पताले बिरामीको अवस्था लुकाइएको थियो । मृत्यु भएको ४ दिन पछि पुगेको स्वाबलाई टेकुमा पनि इमरजेन्सीमा परीक्षण गरिएको देखिएन । यहाँ सम्म की केश पहिले नै पोजेटिभ देखिएकोले यसको अवस्था के हुने भन्नेमा टेकु अल्मल्लीएको कारण रिपोर्ट बाहिर ल्याउन समय लागेको थियो ।

यता अस्पतालले भने टेकुमा पठाएको स्वाबको नजिता नआउँदै, पहिला दुई चोटि नै पोजेटिभ देखिएको लासलाई परिवारलाई जिम्मा लगायो र परिवारले नर्मल अवस्थाको लासको रूपमा हिन्दु परम्परा अनुसार वृद्धको दाहसंस्कार गरे ।

यसरी दाह संस्कार भएको ९ दिन पछि वृद्ध कोरोनाबाट मृत्यु भएको घोषणा गरियो ।
अस्पतालले यस सम्बन्धमा लापरबाही गरेको स्वीकार गरेको छ । सजायको भागीदार हुन स्वीकार समेत गरेको छ ।

कोरोनाबाट मृत्यु भएको चौथो मृत्युमा पनि अस्पतालको गम्भीर लापरबाही मात्र देखिएन अस्पतालले उचित उपचार तथा हेरचाह समेत नभएको स्पष्ट रह्यो । यसरी कोरोना पुष्टि भएको लासलाई परिवारलाई जिम्मा दिने देखी मृत्यु भएको ९ दिन पछि रिपोर्ट सँगै मृत्युको घोषणा, सरकारको लापरबाही र अकर्मण्यताको अर्को उदाहरण साबित भयो ।

अन्तमा,

यी ४ वटै मृत्यु सहज देखिँदैन । क्वारेनटाइनको नाजुक अवस्था, सरकारको ढिलासुस्ती, लापरबाही र गैर जिम्मेदारीता, अस्पतालहरूको लापरबाही र गैर जिम्मेदारीपन, विभिन्न स्वास्थ्य केन्द्र तथा अस्पतालहरू बिच समन्वयको अभाव, अस्पतालमा कार्यरत स्वस्थ्यकर्मीहरुमा मनोवैज्ञानिक त्रास र अकर्मण्यता जस्ता कारणहरूले कोरोना सङ्क्रमित बिरामीहरूले सहज उपचारको अवस्था नेपालमा नरहेको यी ४ वटा घटनाले प्रस्ट गरेको छ ।

लगातार एकै प्रकारको गल्ती नेपाल सरकार, अस्पताल तथा स्वास्थ्यकर्मीहरुबाट एक पछि अर्को मृत्युमा दोहरिनु गम्भीर अवस्थाको सूचक हो जसबाट नेपालमा कोरोना सङ्क्रमित उपचार सहज र व्यवस्थित छैन भन्ने कुरा प्रस्ट देखिन्छ ।

यदि साँच्चै भोलिको दिनमा बिरामीको चाँप बढ्ने अवस्थामा यी माथि भनिएका समस्याहरूलाई सच्चाइएन भने बिरामीको उपचार कहाली लाग्दो हुने देखिन्छ । कि आफै रोगसँग लडेर बाँच कि मर भन्ने अवस्था नआउला भन्न सकिन्न ।

यस अवस्थामा सम्पूर्ण नागरिक समाज तथा प्रबुद्ध वर्गहरूले यस अवस्थाको अन्त्यको लागी स्पष्ट दबाब नेपाल सरकारलाई दिनु आवश्यक छ । साथै यस प्रकारको गम्भीर लापरबाही गर्ने सबै व्यक्ति तथा संस्थाहरूलाई कानुनी कारबाहीको दायरमा ल्याउनु पनि अति जरुरी छ ।

दण्डहीनता कानुनी शासनको उपहास हो । जसले जङ्गली शासनको प्रारूपलाई अगाडि बढाउँछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments