जातीय विभेद शिक्षित, शहरीया र सम्पन्न परिवारमै अधिक

बुधबार, चैत्र ७, २०७४



- सरोजदिलु विश्वकर्मा

दलित युवक र गैरदलित युवतीवीचको विवाहभन्दा दलित युवती र गैरदलित युवकवीचको विवाह कमै हुने गर्दछ । कारण दलितले गैरदलित युवतीलाई जति सजिलो गरी अपनाउछ, दलित युवतीलाई गैरदलित परिवारमा सहज छैन । जवकि शारिरीक दुर्वलताका कारण महिलामाथि दमन र तिरस्कार गर्न सजिलो हुनाले केटा पक्षबाट हिंसा गरिने गरिएको छ । तर पुरुष शारिरीकरुपमा तुलनात्मकरुपमा वलियो भएको कारणले गैरदलित समाजले एक्लोदोक्लो वाहेक अन्य अवस्थामा आक्रमण गर्न सक्दैन । यसरी गरिव र निर्धो परिवारमा हुने अन्तरजातीय विवाहमाथि भने एकिकृत गैरदलित समाजले आक्रमण गर्दै आएको छ, जुन जातीय विभेद मात्र नभई लैंगिक हिंसा पनि हो । विशेषतः यस्तो हिंसा गैरदलित पक्षबाट नै हुनेगरेको छ ।

हाम्रो समाजमा पुरुषभन्दा महिला हिंसाको शिकार ज्यादा हुने गरेका छन् भने यस्तो हिंसा गर्नेमा पुरुषभन्दा महिला नै एक कदम अगाडि छन् । जवकि, पुरुषले आफ्नो दृष्टिगोचनको सेरोफेरोभन्दा अलि पर हेरेर बुझद्छ, आजभन्दा भोली के हुन्छ भन्नेमा विचार गर्दछ । तर महिलाहरु जतिसुकै विद्धान र पढेलेखेका भएपनि आजको राम्रो मात्र उनीहरुको नजरमा घुमेको हुन्छ । उनीहरु सामान्यतया आफ्नो वरपर जति देखिन्छ, त्यतिमात्र हेर्दछन् र त्यती नेै संसार हो भनेर बुझ्दछन् । भोलीभन्दा आज नै सवै गर्नुपर्दछ भन्ने मानसिकताले ग्रसित हुन्छन् । समाजमा आज जे छ, त्यही सही–सत्य हो भन्ने उनीहरुको मान्यता छ । यसकारणले उनीहरु ज्यादा विभेद गर्दछन् । तर दलित महिलाहरु विशेषगरी चारदिवार भित्रै कुण्ठिएका हुन्छन् । उनीहरु श्रीमान र वा घरमुली पुरुषले जे देख्यो त्यसैमा सही थाप्ने हुनाले विभेदमा उत्रिदैनन् । साथै, उनीहरु वर्षौदेखि हिंसाले पीडित भएकाले समाजसंग प्रतिवाद गर्न पनि सक्दैनन् । यसकारणले उनीहरु विभेद गर्दैनन् । त्यसअर्थमा दलित महिलाभन्दा गैरदलित महिला वढी मात्रामा विभेद गर्दछन् । त्यो पनि अशिक्षित र गरिव महिलाभन्दा शिक्षित र सम्पन्न महिलाले जवर्जस्त र बढी मात्रामा विभेद गर्दै आएकाछन् ।

अर्कोतर्फ गाउंमाभन्दा शहरउन्मुख क्षेत्रमा ज्यादा जातीयह हिंसा हुनेगरेको छ । फरक यति हो, गाउंमा सानो घट्ना पनि छुप्न सक्दैन, शहरमा जघन्य अपराधहरु सजिलै छुपाईन्छन् । गाउंमा विभेदैविभेदका विचमा केटा र केटी संगै खेल्छन्, खान्छन् । वाल्यअवस्थामै एकआर्कालाई बुझिसकेका हुन्छन् र माया प्रेममा फस्दछन् । फसेपछि समाजको डर हुन्छ, नातागोता इष्टमित्र छरछिमेकले के कसो भन्ने र तिरस्कार गर्ने चिन्ता हुन्छ, उनीहरुलाई । त्यसैले पछि जेजस्तो भएपनि त्यसलाई सामना गरेरै उनीहरुको जीवन अगाडि बढ्दछ भने शहरमा विनाचिनजान र एकआर्कालाई राम्रोसंग नबुझी, रुप र रवाफको भरमा केटाकेटी पे्रममा फस्न पुग्दछन् । उनीहरुलाई समाज नातागोताले के भन्छ के गर्छ भन्ने चिन्ता हुदैंन । पछि केटा वा केटीले त्योभन्दा अझ राम्रो रुप र रवाफ भएको अर्को भेटेपछि त्यतातर्फ आकर्षित हुनथाल्छन्, दाम्पत्य जीवनमा आएका तीतामीठा कुरालाई सहन गर्न रुचाउदैन । जव एकाआर्कामा विकर्षण बढ्दै जान्छ एकले आर्कालाई खोट लगाउने काम शुरु हुन्छ र अन्ततः उनीहरुको जीवन असफल हुनेगरेको छ । त्यसवेला समाजले उनीहरुलाई पहिचान गर्ने र तिरस्कार गर्ने भय पनि हुदैंन । शहरीया समाज आफै पनि गतिशील हुन्छ । घरजग्गा साटासाट, ब्यापार ब्यवसाय र आवतजावतका कारणले आजको एउटा समाज भोली अर्को रुपमा परिणत भइरहेको छ ।

हामीसंग गाउं र शहर दुवैको अनुभव छ । गाउंमा हामीसंगै धेरै गैरदलित युवतीले प्रस्ताव राख्न आउँछन् । शिक्षित र धनीभन्दा पढ्दै गरेका सामान्य परिवारका युवतीहरु त्यस्ता प्रस्ताव राख्छन् । शहरमा प्रेम हुन्छ, मोजमस्ती हुन्छ रासविलास सवै हुन्छ तर केटीहरु विवाहको मामलामा भने दलित भनेपछि एककदम परै रहन्छन् । विनम्र र जति नै करुण भएर विवाहको अनुनय विन्ति गरेपनि एउटा न एउटा वहानाले उनीहरु दुर हुन चाहन्छन् । तिनीहरु क्याम्पस पढ्ने, गतिलो एन्जीओ वा आईन्जीओमा जागीर खाने विशेषगरी भोलीका कर्णधार युवा निर्माणका लागि शिक्षा दिदै र समाजलाई चेतना भर्दै हिड्नेहरु नै हुन्छन् । त्यस्ता युवतीसंग दलित युवकको विवाह भइहाले पनि केटीहरु आफू ठूलो जात भएको र दलित केटोलाई निगाह गरेको रुपमा बुझ्दछन् र केटोको खरावी कोट्याउन थाल्छन् कित श्रीमानलाई एैंचमा राख्न खोज्दछ्न र मानसिक हिंसा दिन थाल्दछन् । त्यहीबाट दाम्पत्य जीवनको दरार शुरु हुन्छ । दलितको स्वभावै हो, ऊ भोकै मर्न चाहन्छ, बर्बाद भएर नासिन पनि सक्छ, तर श्रीमतीको हुकुम वा मानसिक हिंसासंग सम्झौता गर्दैन । जति नै मायालाग्दी प्राणप्यारी भएपनि बेलुका जाँडको नक्कली जोश निकालेर स्वास्नी कुट्न बाध्य हुन्छ । सामान्यतया जति नै अशिक्षित र जड्याँहा भएपनि दलित युवकमा ‘मैले गैरदलितको छोरीचेली ल्याएको छु, उसका परिवारको माया–ममता र उसका चाहनाहरुलाई कुण्ठित बनाएर मैले विवाह गरेकोे छु, अव मैले श्रीमतीलाई त्यो अनुभूति गर्न दिनुहुदैन’ भन्ने बोध हुन्छ । तथापि, जेजस्तो भएपनि मेरो श्रीमान–श्रीमती हो, मैले अव सम्मान गर्नुपर्दछ, मैले अरुको भर गर्नु हुँदैन भन्ने दम्पतीहरु भने सफल नै भएका छन् ।

दलित युवती जव गैरदलितसंग जान्छे, तव उसको सासुबाट, आमाजुबाट वा जेठानी देउरानीबाट विभेद शुरु हुन्छ । तिनीहरुले केटालाईसमेत बसीभूत पारिदिन्छन् । परिवारको अनेक मोहजालमा केटो पनि आफैं फस्न पुग्छ र नयाँ विभेदकारी संसारको कल्पना गर्दछ । अन्ततः उसले श्रीमतीलाई विभेद गर्न थाल्छ । श्रीमानलेसमेत विभेद गर्न थालेपछि दलित केटीको मनोवल गिर्दै जान्छ । त्यस अवस्थामा नातागोता, आमाजु, देऊरानी, जेठानी, नन्द, सासु सवैलाई ऊमाथि हिंसा गर्न सजिलो हुन्छ । अन्ततः सवै मिलेर दलित महिलालाई जलाएर वा अरुद्धारा बलात्कार गराएर हत्यासमेत गर्नेगरिएको छ ।

यस्तो हिंसा आफैं निम्त्याउन दलित केटीहरु पनि कम छैनन् । अधिक महत्वकांक्षाका कारणले उनीहरु आफैं पीडित हुनुपरेको छ । विशेषतः पढेलेखेका र शहरी क्षेत्रमा रहने दलित युवतीहरु आफ्नो जात र नाता वंशमा पर्नेसंग विवाह गरेर सुखमय जीवन चलाउनुभन्दा सातवटै स्वास्नी फेरेको किन नहोस् वा घरमा सौता किन नहोस्, त्योसंग प्रेम गर्न रुचाउछन् । विशेषगरी यिनीहरुमा गरिव दलितको मिहिनेत र इमान्दारिता भन्दा धनको मोह, केटाको कमाईमा आफू रजाईं गरौं भन्ने लालच हुन्छ । उनीहरुको अभिभावकहरुले नै त्यस्तै खालको शिक्षा दिईरहेका छन् । आमाबुबा अन्य नातागोताले उनीहरुलाई राजकुमारसंग विवाह गरिदिने, विदेश लाने, शहरमा गाडी–बंगला भएकोलाई छोरी दिने सपनामा कुण्ठ्याइरहेका हुन्छन् । आफू हरिकंगालबाट सम्पन्न भएको आफैंसंग उदाहरण हुँदाहुँदै धन भनेको मिहिनेत गर्दैजाँदा हुने कुरालाई उनीहरु बिर्सन्छन् । दलित आन्दोलनमै पनि ठूलाठूला शिक्षित हस्तीहरु छन् जसले आफ्ना छोरा वा छोरीलाई सोही विभेदकारी शिक्षा दिइरहेका छन् । अन्ततः सोही सपनाले दलित युवतीलाई एउटा हिंसायुक्त कोठरीमा पुर्याउँछ र यस्ता दलित केटीहरु अनेक शारिरिक र मानसिक हिंसालाई सहन त्यस्तो परिवारमा बस्नुपरेको छ ।

यसर्थ पुरुषलाईभन्दा महिलालाई हिंसाविरुद्धको शिक्षा दिनुपर्छ । यसबाट उसले भोली हिंसा र विभेद नगर्ने पिँढी उत्पादन गर्छे । गाउंको विभेदभन्दा शहरको विभेदलाई अव हामीले निगरानी राख्नु जरुरी छ । यसका लागि पीडितलाई खुलस्त बोल्न र उजुरी गर्ने सहज वातावरण दिईनु पर्छ । त्यसैगरी अनपढ, विपन्नले गर्ने विभेदभन्दा सम्पन्न र शिक्षितले गर्ने विभेदलाई बढी दण्डित गर्नुपर्ने हुन्छ । जवकि अशिक्षित र विपन्नले त डर र करले नै विभेद गर्न छोड्दै जान्छन् भने शहरियाले त जानीबुझि विभेद गरिरहेका हुन्छन् ।

180 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank