सप्तरी घटना: गठबन्धित षड्यन्त्रको उपज

विश्लेषण

बुधबार, फाल्गुन २५, २०७३



- डा. ऋषिराज बराल

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आरम्भ गरेको ‘मेची-महाकाली अभियान’ सप्तरी आइपुग्दा अप्रिय घटनामा परिणत भएको छ । पूर्वपश्चिम राजमार्गभन्दा दक्षिण नेपाल होइनझैं गरी व्यवहार गर्ने महन्थ ठाकुरलगायतका भारतीय दलालहरूले जसरी पनि एमालेको कार्यक्रम बिथोल्ने धम्की दिइरहेको अवस्थामा यस किसिमको घटना हुनु आश्चर्य मान्ने विषय भएन ।

पूर्वपश्चिम राजमार्गभन्दा दक्षिणतिबाट पहाडियाहरूलाई धपाउने त्यसमा पनि माओवादीलाई धपाउने योजनाअनुसार ६३ सालमा गौर हत्या काण्ड मच्चाइएको थियो, जसमा सर्वसाधारण नगरिकसहित तीन दर्जन पहाडिया मूलका माओवादी कार्यकर्ताहरूको हत्या गरिएको थियो । त्यस हत्याकाण्डमा मुछिएका कतिपय “नेताहरू”  प्रचण्डको पार्टी हुँदै बाबुरामको क्लबमा अहिले बास बस्न गएका छन् । गत साल पहाडिया खेदाउने उर्दी दिने उपेन्द्र यादव, राजेन्द्र महतो र अमरेशकुमारको भाषणपछि भारतीय विस्तारवादका दलालहरूद्वारा टिकापुरमा दुधेबालकसहित एक दर्जनजति नेपाली देशभक्तहरूको हत्या गरिएको घटना पनि ताजै छ  ।

महन्थ ठाकुरद्वारा “स्थिति भयावह” हुने भनेर दिइएको धम्कीसँगै भएको अहिलेको सप्तरीको घटना योजनाबद्धताको उपज हो भन्ने कुरा प्रस्ट छ । यसलाई भावुकता र आवेगमा होइन, यथार्थमा बुझ्नु आवश्यक छ । यो “मदिसे मरे” भनेर खुसी हुने तथा “पहाडियालाई मार्न पाइएन” भनेर  आक्रोसित हुने कुरा होइन  । “मधेस” का केही दलालहरूलाई अघि सारेर फेरि “मधेस” का उत्पीडित जनता र पहाडका उत्पीडित जनताबीच सम्बन्ध बिगार्ने नयाँ षड्यन्त्र हुनथाल्यो भनेर सो घटनालाई बुझ्नु आवश्यक छ ।

एमालेको राजनीतिप्रति विमति जनाउन पाइन्छ । टनकपुर प्रकरणलगायतका सन्दर्भमा एमालेको इतिहास बिर्सन सकिँदैन, तर महन्थ ठाकुर तथा सिके राउतको जस्तो एमालेले यो मुलुक टक्र्याउँछु भनेर भाषण गर्दै र धम्की दिँदै हिँडेको छैन । पछिल्ला दिनमा एमालेले लिएको अडान राष्ट्रिय अखण्डता र हितअनुकूल छ भन्ने यस टिप्पणीकारको ठहर छ । यसो भएको हुनाले पनि महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र  यादव, बाबुराम लगायतका भारतीय विस्तारवादका नयाँ-पुराना दलालहरू अहिले एमालेको विरुद्ध खनिएका हुन् भनेर बुझ्न सकिन्छ । नेपालको प्रधानमन्त्री भइसकेको पात्र  बाबुरामले फेसबुकमार्फत जेजस्तो अभिव्यक्ति दिए, यो कल्पनाभन्दा परको कुरा हो । यसलाई गठबन्धित  षड्यन्त्रका रूपमा बुझ्नु आवश्यक छ ।

सत्य के हो भने मधेसका नाममा काठमाडौँमा महल ठ्ड्याएर महन्थ ठाकुरदेखि महतोहरू मधेसका “चिन्तक”  बनेर  मधेसकै जनतालाई ठगिरहेका छन् । यो देशका नागरिकलाई नेपालको भूगोलभित्र जुनसुकै ठाउँमा पनि जान, बस्न र गतिविधि गर्न छुट छ । जसरी मधेसवादी भनिनेहरूले काठमाडौँमा निर्वाधरूपमा आफ्नो विचार राख्न पाइरहेका छन, त्यसैगरी अरू पार्टीले तराईमा आफ्नो राष्ट्र हित र जनहितको विचार राख्न पाउँछ र पाउँनुपर्छ । यस अर्थमा एमालेले मधेसमा आफ्नो विचार लिएर जाने कुरालाई अस्वाभाविक मान्न सकिन्न । एक हिसाबले सप्तरी एमालेको पकडको क्षेत्र पनि हो । राजमार्ग दक्षिणको नेपाल, नेपालको माटो मधेसका केही कथित नेताहरूलाई भारतले दिएको बिर्ता होइन । यो नेपाली जनताको रगतले आर्जेको माटो हो । रगतले कोरिएका छन्—सिमानाहरू l  अहिले मधेसका नेता  भनिनेहरूका पुर्खा त्यतिबेला कहाँ थिए, थाहा थिएन, तर भानुभक्तकालीन कवि रघुनाथ भट्ट पोखर्याल सप्तरीको हनुमाननगरमा जन्मेका थिए भनेर बिर्सनु हुँदैन ।

सप्तरीमा हिजो २३ गते घटेको  घटनालाई लिएर पत्रपत्रिकामा थरीथरीका टिप्पणीहरू आएका छन् । आक्रोस, आवेग, हर्ष र विस्मातका शब्दहरूले सामाजिक सञ्जाल भरिएका छन् । सामान्य व्यक्तिदेखि “माओवादी केन्द्र” का नेताहरूलगायतका अभिव्यक्तिहरू सार्वजनिक भएका छन् । त्यस्ता कतिपय अभिव्यक्तिहरू सत्यतथ्य र  यथार्थपरकताबाट विमुख छन् ।  घटानसम्बद्ध सारतत्वभन्दा क्षेत्र, समुदाय र पार्टीगत स्वार्थहरू हाबी भएका छन् । घटनाको चर्चा शब्द खेतीमा परिणत भएको छ ।

“हाम्रो पकडमा छैन ” भन्ने उपेन्द्र यादवहरू मौका यही हो भनेर “मधेस बन्द” का साथ उत्रिएका छन् र नारायणकाजीहरू  गैरजिम्मेवारपूर्ण बनेर लेखिरहेका छन् । “गोली नचलाउनु भन्ने प्रधानमन्त्रीको निर्देशन थियो, गोली चलाइयो” भनिएको छ । प्रचण्डका तलदेखि माथिसम्मका नेता-कार्यकर्ताहरू यथार्थभन्दा बाहिर एकलकाटे ढङ्गले यथार्थका विरुद्ध बोलिरहेका छन् । प्रधानमन्त्रीले दिएको निर्देशन गृहमन्त्रीले मानेनन् भन्न खोजिएको हो, अथवा प्रहरीले मानेन भन्न खोजिएको हो प्रस्ट छैन । यो त  आगोले घर जलिरहेको बेला आगो निभाउने निर्देशन छैन भनर दर्शक बन्नेजस्तै कुरा हो । यो भनाइ त त्यहाँ टीकापुरको जस्तो घटना हुनुपथ्र्यो अथवा एमालेलगायतका थुप्रै मान्छे मर्नुपथ्र्यो, गौरको जस्तै घटना हुनुपथ्र्यो भनेजस्तो भयो । यहाँ एमालेको पक्ष  लिन  खोजिएको होइन, बरु, सप्तरीको त्यो घटना गौर हत्याकाण्डको पुनरावृत्ति हुनबाट जोगियो भन्न खोजिएको हो । एमालेको कोही मरेन भनेर मन खिन्ने पार्ने र “मदेसीहरू” मरे भनेर हर्षबढाइँ गर्ने कुरा होइन यो । यो मुलुकको विरुद्ध केकस्ता अभ्यासहरू हुन थालेका रहेछन् भनेर बुझ्ने बेला हो ।

सप्तरीमा रगतको खोलो बगाउन गरिएको षड्यन्त्र अर्थात् गौर हत्याकाण्डको पुनरावृत्ति गर्न खोजिएको षड्यन्त्र सतहमा आएको छ । नयाँ गौर हत्याकाण्ड मच्चाउन महन्थ ठाकुरदेखि बाबुरामहरू सक्रिय भएका रहेछन् भन्ने कुरा सबैका सामु प्रस्ट भएको छ । यो शिक्षा लिएर सचेत हुने गम्भीर विषय हो ।

नागरिकको हत्या हुनु राम्रो कुरा होइन, काठमाडौँका महलमा बसेर एमालेका विरुद्ध मर्न/मार्न उत्तेजित पारिएका पात्रहरू थिए ती । ती भारतीय विस्तारवादका दलाल जमिनदारहरूका आज्ञापालक मात्र थिए ती । भाषा र व्यवहारबाट सबैथरी नागरिकलाई जोड्ने मैथिली भाषाका महाकवि विद्यापतिको पनि ठाउँ हो सप्तरी र कवि रघुनाथ भट्ट पोखर्यालको पनि ठाउँ हो । मैथिली भाषालाई लात मारेर हिन्दीलाई नेपालको राष्ट्र भाषा बनाउन कम्मरकसेर लागेका राष्ट्रघाती पाखण्डीहरूले विद्यापति र पोखर्याल  दुवैको टाउकामा घन बजारेका छन् ।

सप्तरीको घटना खासमा  मधेसका जनताको टाउकोको मूल्य निर्धारण गरेर मर्न/मार्न उत्तेजित पार्ने र तिनका नाममा सरकारसित पैसा असुलेर काठमाडौँमा महल ठड्याउने जमिनदारहरूद्वारा घटाइएको घटना हो । खासमा यस घटनामा उत्तेजना र आवेगमार्फत समुदाय–समुदायबीच विभाजन र विखण्डनको राजनीति गर्नेहरू बढी जिम्मेवार छन् । एमालेका पनि समस्या छन । उसको विगत र वर्तमानकै पनि कतिपय सन्दर्भप्रति प्रश्न उठाउन सकिन्छ तापनि अहिलेको सन्दर्भ अलि फरक हो ।

मधेसमा अरू पार्टीले आफ्नो कार्यक्रम नै गर्न नपाउने स्थिति हुन्छ र ? के मधेस नेपालको सार्वभौम सत्ताअन्तर्गको भूभाग होइन ? यो घटनाले थुप्रै प्रश्नहरू उठाएको छ ।  अहिले त यस्तो छ भने जातीय आधार  तथा “पहिचानवाद” का आधारमा बन्ने सङ्घीय विभाजनपछि झन् कस्तो स्थिति उत्पन्न होला भन्ने जटिल प्रश्न सो घटनाले उब्जाएको छ । वास्तवमा यसो हेर्दा एमालेका विरुद्धजस्तो लागे पनि सप्तरीको घटना राष्ट्रिय स्वाभीमानका विरुद्धको षड्यन्त्र हो । अन्य पार्टीहरू मधेसी उत्पीडित जनतासम्म नपुगून भन्ने मधेसका सामन्त तथा दलालहरूको  कुचिन्तनको उपज हो सप्तरीको घटना । नाकाबन्दीदेखि अनेक कुकुत्य गरेर नाङ्गिएका र मधेसमा गुम्दै गएको आफ्नो भूमिकाबाट छटपटिएका दलालहरूद्वारा पहाडिया र मधेसी उत्पीडत जनताका विरुद्ध गरिएको षड्यन्त्र हो सप्तरीको घटना ।

यो मुलुकमा भ्रद्रगोल उत्पन्न गरेर आफ्नो इच्छाअनुसार नेपाललाई चलाउन खोज्ने भारतीय विस्तारवादको  गोटी बनेर अहिले महन्थ-बाबुरामहरू खुलेरै देखा परेका भए पनि  सरकारको बागडोर समालेकाहरू यसबाट भाग्ने स्थिति छैन । एमाले  विरुद्ध निषेधित क्षेत्र घोषणा गरेर घटना घटाउने शक्ति र प्रचण्ड र निधीलाई सिंहदरबारमा विराजमान गराउने शक्ति एउटै हो भन्ने कुरा सबैलाई थाहा छ । दुवै थरीको प्रहारको मूल केन्द्र उत्पीडित नेपाली जनता र नेपालको सार्वभौम सत्ता हुनुको कारण पनि यही नै हो । यस्ता घटनासन्दर्भहरूले यो मुलुकलाई माया गर्नेहरूलाई चिन्तित तुल्याउनु स्वाभाविक छ ।

०००

1662 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank