सन्तानका लागि आमा बाबुले हजार पटक हारेका हुन्छन !

आइतवार, भदौ ३१, २०७५



- सीता ओझा-अध्यक्ष महिला अध्ययन केन्द्र

” नानी मेरो कोही साहारा भएन, कहिँ न कहिँ मेरो बासको बन्दोबस्त गरिदिनु पर्यो ।” ‘किन र आमा ? तपाईका छोराछोरी छन हैन र ? ‘ ” खै बा जन्माएका त छ ओटा हो,दैवको कानमा नपरोस् अझै त सबै  जीउँदै छन भन्ने छ, केही भए त कसै न कसैले भन्न आउथे होला, आजकाल  भेट हुनेले नराम्रो खवर ल्याएका छ‌नन्। “
नानी जसरी भए पनि मेरो बासको बन्दोबस्ती गरिदिनु है, नानीको भलो हुनेछ,म निरोगी र धनी हुने आशिर्वाद दिन्छु।” एउटा महिलासँग सम्बन्धि समस्याको समाधान खोज्ने क्रममा म झन्डै पचास पटक जति कोटेश्वरको ठाउँ  गइरहे । समस्यासँग गाँसिएका मानिसहरूको घर नजिकै थियो । मैले खास वास्ता पनि गरेकी थिइनँ । तर  देखिरहन्थे । एक जना आमाले म सगँ आफ्नो गुनासो राख्नु भयो ।
अनि मैले सोधें,- आमा यतिका दिन त भन्नु भएन नि ? आज किन भन्नु भएको नि ? अस्ति त मेरा छोराछोरीहरू छन भन्नु भएको हैन र ? छ जना भने  जस्तो लाग्छ ! होइन र ? मैले प्रश्न गरें , अनि बुढी आमाले हात तानेर छेउमै बसाल्दै भनिन् , ” नानी आफ्ना कुरा अर्कालाई गाएर के गर्नु ,म असी कटें, हिडडुल गर्दैछु।  मेरा घुडा असाध्य दुख्न थाले ।  अब जाने बेलामा त ठेगानमा बस्नु पर्यो नि । नत्र लास उठाउने मानिस नि पाइन्नन् । यो त शहर हो, होइन र ! ” मैले हो भनेर टाउको हल्लाए । फेरि सोधें, आमा भन्नु न किन बासको कुरा गर्नु भएको नि ? भन्दै थिएँ , एक छिन बस्न अनुरोध गर्दै बुढी आमाले कुरा खोल्नु भयो,”घरमै कुट्न आए । समाजले मेरा कुरा सुनेन,सधैं घरमा बुहारीले यता नहेर्नु नानीहरूको खाना खाने बेला भा छ, आँखा लाग्छ, त्यसै त नानी रोइरहन्छ।

कतै गए नि हुने भनेर बारम्बार घोचि रहि । घरमा बस्नै गार्‍हो भो,छोरासगँ दुखेसो गरेको कुरै सुन्न मानेन, कहाँ जाउ कहाँ जाउ भयो अनि काठमाडौ आएकी दस वर्ष नाग्यो । अब चाहिँ ठेगान लागेर बस्न पर्ने छ । मैले पुन : सोधेँ ”  तपाईंको श्रीमान हुनुहुन्न र ? अनि बृद्द भत्ता खानु भएको छैन ? उनले भनिन् , कसले बनाइदिने र बा, एक दुई साल मनले मानेन र  दशैमा  घर गएँ ।  वास्तै गरेनन्  ।  टीका लगाउन पनि घिन माने झै गरे ।  नाति नातीनीहरू छेउमा आउन खोज्दै थिए ।  टिप्पा लाए, आएनन बरै ! बुढा मरेको पन्ध्र वर्ष पुग्यो। बुढा भाको भए त कहाँ यस्तो गर्थे र ! नानी तपाईंले त्यो सरीताको सबै मिलाइ दिएको देखेर मेरो बासको बन्दोबस्त गरिदिन सक्नु हुन्छ जस्तो लागेर भनेको बा ! गरिदिनुपर्छ है । अहिले सम्म त यसो उसो काम गरिदिएर जीविका चलाएकी छु । अब सक्दिन जस्तो छ, फुन नम्बर चाहिँ दिनु ल । ”

कमल पोखरी जन्मिएकी  तर स्थायी घर रामेछाप  बताउने अर्कि बुढी आमा अहिले  ८६ वर्षकी भइन । विवाह गरिनन्। उनी दस वर्ष हुदा पिता परलोक भए । उनी जन्मिएको तीन वर्ष पछि निकै लामो विरामी परेर आमा वितिन । आमा वितेपछि पिताले अर्को विवाह गरे । उनी पट्टी उनी र भाइ गरि दुई सन्तान थिए । पन्ध्र वर्षको उमेर देखि भाइ पनि बेपत्ता भयो । अहिले उनी मात्रै छन तर सौतेनी आमा पट्टी तीन भाइ र दुई बहिनीहरू जन्मिए ।  सुत्केरी आमाको स्याहार सुसार ,भाइ बहिनीको हेरचाह , खेतीपाती,पसुधन सबैको बन्दोबस्त गर्दै म बीस वर्ष हुन्जेल रामेछाप मै बसें । भाइ बहिनीहरू पढ्ने लेख्ने गर्थे ।

पिताजी वित्नु भए पछि खर्चको अलि अभाव भयो । अनि म सरसल्लाहले  केही व्यापार व्यवसाय गर्ने हिसावले काठमाडौं आएँ । काठमाडौको मैतीदेवि र घट्टेकुलोमा पहिने किराना र पछि होटल चलाएँ । व्यापार प्रशस्तै हुन्थ्यो । झन्डै दस पाथी चामलको त भात मात्रै पकाउनु पर्थ्यो । राम्रो व्यापार थियो । भाइहरू पनि आएर बसे,पढे । विहे पनि गरिदिएँ । दुई महिना जतिमा घर जादा घरको लागि चाहिने सबै सरसामान र लुगाफाटो पनि लान्थे । फर्कने बेलामा दुईचार सय छोडेरै आउथें ।  आफ्नै लाग्थ्यो र कर्तव्य ठानेर गर्थें । झन्डै पन्ध्र वर्ष जति व्यपार गरें । पछि पसल चोरी भो अनि छोडें । समान धेरै थियो । दराज मात्रै  पाँच ओटा घर पठाए । भाडामा कोठा लिएर आधा जति सामान राखें । मेरा हात खुट्टा राम्रोसँग चलुन्जेल त जाँदै थिएँ अब त सक्दिन र जान छोडेँ । भत्ता खान पाइन्छ रे भनेर चार वर्ष अघि गएकी थिएँ ।

कति दिन बसिन्छ , खर्चवर्च पनि लाग्ला भनेर दुई लाख बोकेर नागरिकता बनाउनु पर्यो ।  यतै बसाइ सराई गर्नु  गरेर  भत्ता खानु पर्यो भनेर रामेछाप गएँ । तीन महिना बसें । नागरिता किन चाहियो र भनेर बनाइ दिएनन् । नजिकका नाता पर्नेहरूसगँ भनेका रैछन, बुढीलाई किन चाहियो नागरिकता ? नागरिकता बनाइ दिएपछि अंशियार हुन्छिन । अंशियार भएछी अंश दिनु पर्यो , कस्लाई खुवाउने हुन ठेगान छैन, आलटाल गरेर लगार्ने हो,भनेका रहेछन । त्यस्तो थाहा पाएपछि अपमान सहनु भन्दा हिड्नु उत्तम ठानेर आफैं चुपचाप हिडें । काठमाडौ आएर कोठा थुनेर  तीनदिन त रोएँ नानी म, अब आश्रमतिर बस्नु पर्यो बा !  खोजिदिनु पर्यो ”

विष्णुप्रसाद ओखलढुंगाका नाम चलेका पण्डित हुन । अहिले गौशालामा बस्छन । लगभग विस वर्ष अघि उनलाई घाटीमा क्यान्सर देखियो । उपचारका लागि काठमाडौं आए । आउदा साथमा छोरा पनि  थियो । तीन महिना जति यतै उपचारको क्रममा बसे । घर फर्कदा बाबू छोराको राम्रै कुराकानी हुँदै गएको । गएको भोलिपल्ट देखि छोरो बोल्न छोड्यो । एक महिना पछि बुवा अब अंशबन्डा गरौ होंला भन्यो । ” दाइ र भाइ विदेश छन ,आउन दे न त भने, ”  भन्न नपाउदै छोराले भन्यो ” मैले खवर गरेको छु दशैमा आउछन ।” त्यसो भए गरिदिउला नि त । ” भने । दुई महिना जतिमा दुईटै आए र विवाह गरिदिएँ । विवाह पश्चात्  अंशबन्डा  गर्ने भैयो । अंशबन्डाको बेला  बालाई किन चाहियो र ?  हामी हेरिहाल्छौ भने,होला तानी बुढी पनि छैन भन्ने ठाने ।  छोरा आफ्नै हुन भनेर अंशबन्डामा आफ्नो भाग नराखी बाडी दिएँ ।  अंशबन्डा गरेको दुई महिना जति त ठिकै व्यवहार गरेका थिए ।

त्यस पछि त छि: छि: र दुर दुर गर्न थाले अनि बिस्तारै  जे त होला नि ! भन्दै काठमाडौतिर लागेको अहिले सत्र वर्ष पुगेछ । म  घरबाट अघाएर निस्केकोले घर फर्किन । अहिले बयासी वर्षको भएँ । यहि मन्दिरमा बसेको छु । यहीँ बस्दा बस्दै मन्दिरमा पुजा गरिदिनु है बुवा भने,हुन्छ भने । बस्ने खाने व्यवस्था गरिदिएका छन । उपचार गर्ने पैसा पुजा आजाकोले पुगि हाल्छ । रोग पनि सुरू अवस्थाकै रहेछ । अहिले असर छैन नानी । तपाईले ढिपी गरेर सोध्नुभयो । कसैलाई भनेको थिइन ; छोरीको याद आयो र भनेको हुँ बा !

यी त प्रतिनिधि घटना मात्रै हुन । यस्ता घटनाले अहिले हाम्रो समाज आक्रान्त छ । परिवारमा जेष्ठ सदस्यको स्थान,मान र आत्म सम्मानमा विचार पुर्याउने चलन घटेको देखिन्छ । आफुले सृजना गरेको घर,परिवार भित्र अमैत्री वातावरण भयो भने परिवार परिवार हुदैन । मानिस मानिसकै अमानवीय व्यवहारले मानिसले आफ्नो अन्त्य निम्त्याउछ । समाज हाम्रो हो र हामीले नै बनाउनु पर्छ तर यी र यस्ता विषयमा अहिले कोहि बोल्दैन । खास गरि यस्ता विषयको सम्बोधन  राज्य र राज्य अन्तर्गतका संरचनाहरूले गर्न पर्ने हो । सँगै दलीय व्यवस्थामा यस्ता सामाजिक आर्थिक विषयमा दलहरूले पनि आफ्ना राजनीतिक मुद्दा बनाउनु पर्ने हो । ठोस रूपमा न राज्यसँग न दलसँग नै यस्ता विषयमा छलफल,योजना र व्यवस्थापनको कुरा उठ्छ । न नागरिक समाजले नै यी विषयमा बोल्छन ।

परिवारमा रहेका सबैको सम्पत्तिमा स्वातित्व हुनुपर्छ। स्वामित्व टुटाएर परिवारमा अंश बन्डा भएर छुट्टी  भिन्न हुने अवस्थामा त्यतिको आर्जन गरेका मातापिताको जायजेथा हुदाहुदै कस्ले पाल्ने ? भनेर निरीह बनाइन्छ । को मातापिताको साथमा बस्ने ? भन्नू पर्ने तर  को सगँ बस्ने ? भन्दै छेडछाड गर्ने गरिन्छ ।

त्यस्तै  जायजेथा उनीहरूको आर्जनको , उनीहरूले सन्तानको सुखको लागि भागबन्डा गरिदिए बापत सम्पति हात पारेपछि  हामी रेखदेख र पालनपोषण गर्छौ भन्नुको सट्टा कस्ले पाल्ने  ? भन्दै अपमान गरिन्छ । यहि नेर  हामी हाम्रो समाजप्रति चुकेको देखिन्छ ।  नेपालको संविधानले व्यवस्था गरेको संविधानको धारा,उपधारा भन्दा बलियो कानुन हामीले हाम्रो समाजमा बनाएका छौ । त्यही  परम्परागत आर्थिक सामाजिक  कानुनको आडमा टेकेर संविधानले व्यवस्था गरेको प्रावधानलाई हल्लाउन र भत्काउन हामी उद्दत छौ ।  यस्तै अमानवीय स्वभावहरू  बलियो रहेको  कारण आज पनि प्रत्येक घरमा  जेष्ठ सदस्य प्रति हेलाँ होचो,अपमान,आर्थिक नाकाबन्दी र हिंसा हुने गरेका घटना प्रसस्तै छन ।

राज्यले  जेष्ठको विषयमा सम्बोधन नगरेको पनि होइन तर व्यवस्था गरेको जेष्ठ नागरिक उपचार सबै अस्पतालमा देखिन्न। बसको जेष्ठ आरक्षण सिटमा लक्का जवान ठिटो गजक फुलेर बसेको हुन्छ,सिट छोड्दैन । जेष्ठ नागरिक कार्ड देखाउदा पाउने भाडा सहुलियतमा पनि सयौं पटक गाली सुनेर यात्रा गर्नुपर्छ । राज्यले दिने भत्ता पनि उस्तै परे परिवारका सदस्यले दिन नपाइ अनेकौं बहानाले फुत्काइ हाल्छन ।

राज्यले जेष्ठका लागि स्थायी प्रकारको आवास र उपचारको केन्द्र पनि बनाउन नसकिरहेको अवस्थामा पहुँच बाहिर रहेका जेष्ठहरूको पारिवारिक व्यवस्थापनको विषयमा केन्द्रीय, प्रादेशिक र स्थानीय सरकारले कार्यक्रम बनाउनु पर्ने होइन र ? परिवारमा हुने हेलाहोचो र कष्टकर जीवन भन्दा बिस्तारै जेष्ठ आवास गृह बन्ला कि भन्ने मान्यता  जेष्ठ नागरिकहरू मै आउन थालेको अवस्था देखिन्छ ।

अहिले सम्म सन्तान वृद्द अवस्थाको साहाराको रूपमा जन्माइदै छ । सन्तानका लागि बाबू आमाले दुनियासँग हजार पटक हारेका र आत्म सम्मान  गुमाएका छन तर सन्तानहरूको जेष्ठ नागरिक प्रतिको दायित्व  विल्कुलै विर्षे जस्तो व्यवहार देखाउछन । आफू विदेशी रहदा,रोजगारीमा जादा पनि परिवारको व्यवस्थापनको कुरा आफुसगँ हुन्छ भन्ने कुरा विर्सेको देख्दा र अरूलाई पन्साएर,देखाएर या दुइचार सय/ लाख दिएर आफू पानी माथिको ओभानु हुदा के सन्तानको जिम्मेवारी पूरा भयो त ? अशक्त भै सकेका अग्रजहरूसगँ रिसाउनु,घुर्कि लाउनु, अपमान गर्नु,खाने,बस्ने , सुत्ने जस्ता कुरामा वचन लगाउनु,खर्चवर्चमा चियोचर्चो आदि अमानवीय व्यवहार साथै उनीहरू प्रति बल भएकाहरूले गरेका  हिंसा  हुन ।

यस्ता  व्यवहार गर्ने सन्तानहरू दण्डित हुने कानुन बनाउन राज्य किन तत्परता देखाउदैन ? जेष्ठ नागरिकको विषयलाई अब पनि राज्यले आत्मसम्मानमा ठेस नलाग्ने गरि व्यवस्थापन गर्ने कुरा सोच्न सकेन भने सम्वृद्द नेपाल  र सुखि नेपालीको नाराको एउटा आधार कसरी पूरा हुने होला ? दिगो विकासको बलियो आधार  स्तम्भका रूपमा  यो र यो जस्ता अन्य सामाजिक विषयहरू पर्दैनन् र ? सम्बन्धि सरोकारवालाको ध्यान पुगोस् ।

503 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank