सम्मान र पुरस्कारको ब्यापार कहिलेसम्म ?

आइतवार, साउन १५, २०७४



- स्पन्दन बिनोद

बास्तवमा संसार ढुंगे यूगबाट बिधुतिय यूगमा पुगिसकेको २१औं सताब्दिमा पनि नेपाली कला र साहित्यभित्रको कसिंगर देखेर उदेक लागेर आउँछ। धेरैबेर घोत्लिएर तालुका रौं तान्दा तान्दा यौटा कुरा लेख्न मन लागेर आयो। के साँच्चै नेपाली साहित्य र कला क्षेत्रमा आफू खुसि मनपरितन्त्र हावी भएको हो? के हिजोका सत्यमोहन जोसी, भिमनिधि तिवारी, बालकृण्ण पोखरेल, गोपाल प्रसाद रिमाल, बी.पी. कोईराला, जनकलाल सर्मा, पारीजात, पारसमणि प्रधान, धर्मराज थापा, ईश्वर बल्लभ, नयनराज पन्त, सरूभक्त, मदनमणि दिक्षित, बिनोद प्रसाद धिताल, रेवती रमण खनाल, कृश्ण धराबाशी, झमक घिमिरे, राजन मुकारूंग, जगदिस घिमिरे, बिजय कुमार पाण्डे, रामलाल जोशी, राधा पौडेल आदिको धरातल भासिएको हो? के कोहि नेपाली साहित्य र कलाको कसिंगर हटाउन सामर्थ छैन? छ भने किन बढ्दैछन् पुरस्कारका खेतीहरू? किन मनोबल गिरेका छन् स्रस्टाका ? किन प्राज्ञिक टोली गठन गरिदैन र नेपाली साहित्य रचनाको अध्यन अनुगमन तथा पुरस्कार र पदक धोषणा गरिन्न? किन आवेदन मागिन्छ र किन लिईन्छ मनग्य आर्थिक सहयोग? के आफ्नो कलाको सम्मान गर्न पनि घूस खुवाउन पर्ने? यौटा गीतकारले पैसा तिरेर आफ्नो गीत गाउन लगाउछ, यौटा साहित्यकारको रचना छाप्न पैसा दिनु पर्छ तर तिनै स्रस्टालाई सम्मान दिन पनि पैसा दिनु पर्ने? यो सम्मान हो कि ब्यापार? यसरी नै पुरस्कार र पदकको ब्यापार टुलु टुलु हेरेर बस्ने हो भने यतै कतै आदिकवि, यूगकवि, नाट्य सम्राट आदि बनिसकेका हुन्छन अनि एक यूगको अपमान हुन्छ।

देशमा जस्तै बिदेसमा पनि आफू खुसी भर्ति र सम्ममानको पगरी गुथ्ने गरेका छन नेपाली साहित्य प्रेमिहरूका नाममा।खै पलायन भएका र हुन लागेका साहित्यकार र कलाकर्मिको लागि अन्तर्रास्ट्रिय साहित्य समाजले के गरेको छ? अनेसास भनेपछि त्यहाँका प्राज्ञिक महोदयहरूलाई कुन कस्तो स्रस्टा कहाँ छ भनेर ढोका ढक्ढकाउन पर्ने हैन र? कि स्रस्टाले नै अनेसासको ढोका ढक्ढकाएर आवेदन भर्दै म यो हूँ भन्नु पर्ने हो? केहि दिन अघि मलाई यौटा मित्रले आफ्नो खर्च लगानी गरेर अन्तरास्ट्रिय साहित्य सम्मेलनमा अस्ट्रेलिया जान आग्रह गरेका थिए। सहित्यकारहरूले आफ्ना रचना बाचन गर्ने देखि छाप्न सम्म आफ्नै लगानी गर्नु पर्ने भएपछि फेरि स्वलगानीले किन सम्मेलनमा बोल्न जानु? के स्रस्टा र सिर्जना पैसामा किन्न पाईन्छ र?
धेरै स्रस्टाहरू स्वदेश तथा बिदेशमा भैरहेको साहित्य र कला माथिको राजनीतीलाई खुलेर बिरोध गर्न अघि बढेका छन।
धनेन्द्र ओझाले फेसबुक मार्फत चोरेर, सारेर, किनेर थेसिस “लेखेका”हरूको बाहुल्य भएको उच्च प्राज्ञिक सस्थाबाट उत्पादन भएको एउटा “समालोचक समूह” छ, जो पुस्तकको कभर र लेखकको फोटो (लैङ्गिक हिसाबले) हेरेर पुस्तकको “उचाइ” दिन्छ! अर्को “स्वतन्त्र समीक्षक समूह” छ, जो झारपात नै भए पनि पार्टीको झण्डा ओढेकाहरूलाई “महान स्रष्टा”को पगरी गुथाइदिन हतार गर्छन भन्नु भएको छ। उहाँ आंकलन गर्नुहुन्छ अबको नेपाली साहित्य समालोचना/समीक्षाका क्षेत्रमा केही यस्ता व्यक्तिको प्रवेश जरुरी छ, जो सत्य, तथ्य र निष्पक्षताको पक्षधर होस!’

आफूले गरेको कार्यको सम्मान स्वरूप दिईने पुरस्कारका लागि निबेदन दिन पर्ने ब्यवस्ता प्रति खेद प्रकट गर्दै उहाँले आक्रोस पोख्नु भएको छ। ‘एउटा असल स्रष्टाले पुरस्कार वा सम्मानका लागि याचना गर्छ, अप्लाई गरेर! छि, घिनलाग्दो परम्परा!’
सम्बन्धित विषयका विज्ञ राखेर पुरस्कार वा सम्मान दिने संस्थाले असल कृति र व्यक्ति छनोट गर्ने परम्परा नबसुन्जेल पुरस्कार र सम्मानाको ‘खेती’ घिनलाग्दो नै रहनेछ भन्ने कुरामा उहांसंगै सबैको सहमत हुन्छ जस्तो लाग्छ।

स्रष्टा धनेन्द्र कै अर्को जिज्ञासा छ ‘के छ त्यस्तो नेपाली साहित्यिक पुरस्कारहरूमा, जसले स्रष्टाको सिर्जनात्मक क्षमतामा प्रोत्साहन गरोस वा नेपाली साहित्यकै स्तर वृद्धिमा केही उल्लेखनीय काम गरोस?’ यसबाट सहजै नेपाली कला र साहित्यमा पदक वा पुरस्कारले लेखकको मनोबल उच्च राख्न नसकेको प्रस्ट हुन्छ।

उहाँले अगाडि भन्नु भएको छ कि स्रष्टाको काम सिर्जना गर्नु हो! जब असल स्रष्टा सम्मान, दोसल्ला, चर्चा र पुरस्कारका पछि दौडन थाल्छ, बुझे हुन्छ- उसको सर्जक मर्दै छ! सर्जक भनेको सन्त हो, उसको काम दिने मात्र हो, लिन अघि सर्ने वा लोभ, लालच, डाहा, इर्श्यामा फस्ने होइन! असल स्रष्टासग सिर्जना मात्र हुनुपर्छ, अरू गौण कुरा हुन! अनेक व्यापारी र खुद्रा पसलेले साहित्यका नाममा सम्मान र पुरस्कार राखिदिएर आफूखुसी टीका लगाइदिन थालेपछी नेपाली साहित्य र स्रष्टाको स्तर कहिले माथी उठ्ला?साच्चै चित्त नबुझेको उहाँको कुरामा सबैजना एकमत छन जस्तो लागेछ।

मदन र पद्मश्री पुरस्कार बारे महेन्द्र पौडेलले आफ्नो फेसबक मार्फत छनाेटमै नपरेका केही अब्बल पुस्तकबारे बजारमा अाश्चर्यमिश्रित चर्चा रहेको बताउनु हुन्छ । उहाँका अनुसार सबैभन्दा बढी प्रश्न डा. नवराज लम्सालकाे महाकाव्य “धरा” बारे उठेका छन्, र छानिएकाभन्दा नछानिएकाे “धरा” बढी लाेकप्रिय हुँदैगएकाे देखिएकाे छ । पौडेलका अनुसार ”पूर्वीय, त्यसमा पनि माैलिक नेपाली ज्ञानधारामा उभिएर सिङ्गाे नेपाल समेटेकाे याे महाकाव्य राष्ट्रिय एकताकाे पक्षमा अाएकाे एक दुर्लभ कृति हाे । नेपाली माैलिक ज्ञानधाराकै कुरा गर्दा लेखिरहेका कविहरुमा डा. लम्सालकाे प्रतिस्पर्धी भेट्न गाराे छ । साथै, बीस वर्षदेखि कहिले रेडियाे नेपाल र कहिले बीबीसीबाट नेपाली कवितालाई नै उठाइरहे, कविहरुलाई उठाइरहे । जस् पाएनन् । कमजाेर लेखेका भए कुराे बेग्लै हुन्थ्याे ।” ”भन्नेले सडकमा भने, नवराजले प्रधानमन्त्रीहरुकाे भनाइ राखेकाले बिग्रियाे । तर, सायद उनी एकमात्र त्यस्ताे लेखक हुन्, जसले विपरीत चिन्तनधाराका प्रधानमन्त्रीलाई एउटा नागरिककाे अाँखामा देश कस्ताे देखिन्छ, त्याे पढ्न-सुन्न बाध्य गराए । भन्नु-नभन्नु छुट्टै कुरा, तर हामीमध्ये काे चाहँदैनाैँ राष्ट्र प्रमुखले हाम्राे विचार पढून् ? त्याे अपराधै हाे त? कसले भूमिका वा समीक्षा लेख्याे भनेर किताबकाे मूल्य निर्धरण गर्ने मकैगेडे परम्परा कहिलेदृखि सुरु भयाे नेपालमा?” उहाँले आक्रोश प्रकट गर्नु भएको छ।

उहाँ अगाडि भन्नुहुन्छ कि पुरस्कार गुठीहरुले अाफ्नाे तटस्थताकाे तर्कलाई जाेखिममा पारेकै हुन् । पुरस्कार गुठीमाथिबाट बाैद्धिक, प्राज्ञिक र वस्तुनिष्ठ समुदायकाे विश्वास हल्लिनु गुठीकै सान्दर्भिकता हल्लिँदै जानु हाे । हजाराैँकाे सङ्ख्यामा रहेका पाठक र एक मुठी निर्णायककाे छनाेटमा ३६० डिग्रीकाे भिन्नता अाउनु अाश्चर्य र खेदकाे कुरा हाे । पुरस्कार दिनु नदिनु गुठीकाे चाहनाकाे कुरा हाे । तर २०७३ का उत्कृष्ट १२ पुस्तकमा “धरा” पर्दैन, याे तर्क मान्न सकिन्न । मानिँदैन । उहाँका अनुसार चर्चा शारदा शर्माकाे “कम्प” र जीबा लामिछानेकाे “सर्सर्ती संसार” काे पनि छ, उत्तिकै । तर्क सुनियो, शारदा दिदीले पद्मश्री पाइसक्नुभयो, ठीक छ, जिबा दाइ आफैँ पुरस्कार संस्थापक, त्यो पनि ठीक छ । तर नवराज लम्साल??

महेन्द्र पौडेलले भने जस्तै के अपेक्षा र निर्णयबीच फाटाे बढ्दैजाँदा निराशा बढ्दै जान्छ ? यहाँ डा.नवराजहरू धेरै छन् जस्को मूल्यांकन हुन सकेको छैन। आफ्ना रचना कुहियाएर देशका कर्णाली, राप्ती, भेरीमा डा. लम्सालहरु, बी. पीहरू, झमकहरू हलो जोतिरहेछन, घाँस काटिरहेछन र तिनका रचना रोईरहेछन। के तिनिहरूले आवेदन भर्न सक्छन ? देसमाझै बिदेशमा रहेर पनि आफ्नो भाषा, साहित्य र कलाको जगेर्ना गरेका मुर्दन्य साहित्यकारहरू पर्दा पछाडि छन। के तिनीहरूका रचनाको मुल्यांकन गर्ने प्राज्ञ टोलि छ? अनि कस्लाई दिने पुरस्कार? अाखिर पुरस्कार भनेकै अाशा र प्राेत्साहनका लागि र अरुलाई प्रेरणा दिनकै लागि लेखिने कुरामा कसैको दुईमत छैन। यसैबिच यसै साल चर्चामा रहेका केहि पुरस्कारको कुरा गरौं।

स्वतन्त्रता दिवसको अवसरमा प्रदान गरिएको सुप्रबल जन सेवा श्री पुरस्कार (मानपदबी) २०७३ – प्रम प्रचण्ड पुत्र प्रकास दाहाललाई दिने निर्णय गरे पनि पछि पुरस्कार लिनबाट अस्वीकार गरिएको थियो। ‘धन्यबाद तर म पुरस्कार लिन अस्विकार गर्दछु’ भनि फेसबुक मार्फत उनले भनेका थिए। १३५ जनाको नामबाट प्रकासलाई छानिएको थियो, जस्लाई धेरैले बिरोध गरेका थिए। अघिल्लो साल नेपालका अन्तराश्ट्रिय स्ट्राईकर नवयुग श्रेश्ठले सुप्रबल जन सेवा श्री पुरस्कार (मानपदवी) पाएका थिए। उनले गत वर्ष नेपाललाई वांगावन्धु गोल्ड कप र 12th SA games २०१६ मा AFC solidarity cup को सफलता पनि दिलाएका थिए ।

त्यसै गरि २२ बर्ष अघि लेखक नरेन्द्र राज प्रसाई र उहाँकी धर्मपत्नी ईन्दिराद्वारा खोलिएको काठमाण्डौको नई प्रकाशनले पूर्व प्र.म. पुष्प कमल दाहाललाई भेटेर उक्त संस्थाले दाहाललाई यस बर्षको शताब्दी पदक तथा त्रिमुर्ती सम्मान दिने निर्णय गरेको बताएपछि सो निर्णयको स्वागत गरी फोटोसम्म खिचाएका थिए तर भोलि पल्ट नै उक्त पदक अस्विकार गरे। उक्त प्रकाशनले सरकारबाट प्रत्यक बर्ष धेरै मात्रामा आर्थिक सहयोग लिने गरेको र सोहि रकमले सरकार प्रमुखलाई सम्मान गर्ने गरेको अनलाई खबरको समाचारले उल्लेख गरेको छ। पूर्व प्र.म. दाहालले पनि रू. १० लाख प्रकाशनलाई सहयोग गरेकाले उहाँलाई सम्मान गर्ने निर्णय गरेको उक्त समाचारले दावी गरेको छ। तर नरेन्द्रराजले भने दाहालले नेपाली साहित्य र कलामा पुर्याएको योगदानको कदर स्वरूप उक्त पदक दिने निर्णय गरेको भनिएको छ।

यसरी सबै पदक तथा पुरस्कार दिने भन्ने र लिनेले फिर्ता गर्दै जाने हो भने सहि सर्जकको मनोबलमा ठेस लागि नै रहन्छ। तर कुनै पनि सर्जकले पुरस्कारकै निम्ति लेखेको हुँदैन तर आफ्नो सिर्जनाको उचाई नाप्ने अधिकारबाट स्रस्टालाई कसैले रोक्न सक्दैन। सर्सर्ति हेर्दा देशमा प्राज्ञिक साहित्य र कला संरक्षकको अभाव देखिएको छ जस्ले राजनीति वा कुनै पनि आर्थिक प्रलोभनबाट टाढा रहेर साहित्य-कला र सर्जकको सुरक्षा र सम्मान गरोस।

स्पन्दन बिनोद, यूरोप साहित्य कोअर्डिनेटर

995 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank