सामाजिक सञ्जालमा मोदीप्रति यति धेरै आक्रोस किन ?

शुक्रबार, बैशाख २८, २०७५



- नरेन्द्र मिश्र

पछिल्लो समय आमसञ्चार क्षेत्रको विकाससँगै सूचना तथा सञ्चारको क्षेत्रमा धेरै नेपालीको पहुँच पुगेको छ । जसले गर्दा मानिसहरू आफ्ना विचार तथा भावनाहरू साटासाट तथा आदानप्रदान गर्न सामाजिक सञ्जालहरू (फेसबुक, ट्वीटर, स्काईप आदि) माध्यम बनिरहेका छन् । विभिन्न विषयमा विचारहरू प्रस्तुत गर्ने पाटो यी माध्यम बनेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने चर्चा चलेदेखि नै सामाजिक सञ्जालमा ठूलो आक्रोस देखियो । मोदीको भ्रमणबारे नेपालीहरूले सधैँ नकारात्मक टिप्पणी गरेको देखिन्छ । आक्रोस पोखेको देखिन्छ । यो मात्र नभइ जुनसुकै विषयमा पनि नकारात्मक टिप्पणी गर्नेहरूको कमी छैन् ।
मोदीको नेपाल भ्रमण, यसबारे देखिएको तीव्र आलोचना र आक्रोशले भारतले लगाएको नाकाबन्दी नेपालीले बिर्सी नसकेको रुपमा लिन सकिन्छ । जसका कारण तीखो प्रहार पनि स्वभाविक रुपमा लिएको देखिन्छ । त्यो बेलाको दुःख बिर्सन नसक्नु नै आलोचनाको प्रमुख पाटो बनेको हो ।

मानसिकता नै नकारात्मक
मोदीको नेपाल भ्रमणको विषयमा मात्र होइन, प्रायः सवै विषयमा नकारात्मक टिप्पणी गर्नेहरू धेरै छन् । सरकारी निर्णय एकपक्षीय हुनुले पनि विरोध र आक्रोशलाई बल पुर्याउँछ ।
हाम्रो दक्षिणी सिमानामा रहेको भारतसँग खुल्ला सिमाना हुनु, बसाईसराईजस्ता सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक भौगोलक जस्ता बिषयहरूमा सधैँभरी प्रत्यक्ष तथा अप्रत्यक्ष सम्बन्ध रहिरहने भएकाले पनि यस्ता उठ्ने÷उठाउने गरिएको पाइन्छ । नेपाल र भारत बीचका खुला सिमाना भएकाले पनि यससम्बन्धी कुराहरू धेरै उठ्ने गरेका छन र यो उठनु स्वभाविक पनि हो ।

उचित वैदेशिक नीति आवश्यक
यस्ता विवादबाट माथि उठ्न नेपालले उचित बैदेशिक नीति तयार पारि कार्यान्वयन गर्न जरुरी छ । समाजलाई सकारात्मक धारबाट अगाडि बढाउनुपर्नेछ । तर यो धेरै जटिल पक्ष हो । समाजलाई सकारात्मक धारबाट अगाडि बढाउन व्यक्तिगत विचारको सम्मान गर्ने परिपाटी हुनु आवश्यक छ । सबैभन्दा ठुलो कुरा हामी सबैभन्दा पहिले आर्थिक रुपमा सबल हुनु जरुरी छ । भारत हाम्रो छिमेकी भएका कारण राजनीति, इतिहासलगायत सबै कुरा जोडिएको छ । त्यसैले हामीले विगतका गल्तीलाई सच्याउँदै दुई देशबीचको समधुर सम्बन्ध कायम गर्नुपर्छ ।

नागरिक सचेत बन्नुपर्छ
नागरिकहरू पनि सचेत हुन जरुरी छ । त्यसमा नागरिकका भूमिका र विचार कसरी उत्पादन हुन्छन भन्ने कुरा हुन्छ । आर्थिक, सामाजिक पक्ष पनि जोडिएको हुन्छ । हामी आर्थिक पक्षले सबल हुन सक्यौँ भने समाजमा देखापर्ने विकृति र विसंगतिहरू सबै आफैँ निर्मुल हुन्छन । आर्थिक पक्ष हाम्रो लागि सबैभन्दा मुल विषय हो । पछिल्लो समय हामी नेपालीहरूको पनि आर्थिकस्तर केही माथि उठेको छ । तर, जबसम्म हाम्रो आर्थिक अवस्था पूर्ण रुपमा सुध्रदैन तबसम्म यस्ता नकारात्मक टिप्पणीहरू आईरहन्छन । यस्तै हाम्रा नीति, नियमहरू पनि परिमार्जन गर्नुपर्ने देखिन्छ । भएका नीति, नियमहरू लागु गर्नुपर्ने चुनौती पनि हामीमाझ छ । वैदेशिक कुटनीति सम्बन्धी थप नीति बन्नेमा हामी पनि आशावादी छौँ ।
(समाजशास्त्री तथा आरआर क्याम्पस समाजशास्त्र विभागका प्रमुख नरेन्द्र मिश्रसँग नेपालपाटीका डटकमका लागि एलीना कार्कीले गरेको कुराकानीमा आधारित ।)

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata