अविचलित योद्धा साहाना प्रधान

बुधबार, असार २७, २०७५



- सीता ओझा अध्यक्ष  महिला अध्ययन केन्द्र 

महिलाका लागि शिक्षा,निर्वाचनमा चुन्ने चुनाउने हकको विषयमा कुरा गर्ने समुहकी  एक  निडर र जुझारू  युगिन योद्दा झण्डै एक शताब्दी अघि जन्मिएकी थिइन साहाना प्रधान । उनी वि स १९८४ सालको असारको २७ गते नेपालको राजधानी काठमाडौको मुटुमा रहेको असन टोलमा जन्मिएकी थिइन् । त्यो बेलाको नेपाली समाजको स्वरूप  झल्कने  संख्यामा निकै ठूलो  विस्तारित परिवारको भित्र साहानाको जन्म भएको थियो ।  विस्तारित परिवारभित्र रहदा परिवारमा मातापिताको निर्णय शक्ति कम हुन्छ  ! कहिलेकाही त्यस्तो निर्णय शक्ति कम्जोर भएको कुराले महत्वपूर्ण भुमिका खेल्छ भने कहिलेकाही मानिसको गन्तव्य रूमलिन पनि सक्छ भन्ने कुरा साहना प्रधानको जिवनबाट पनि पढ्न सकिन्छ ।

साहनाको बाल्यकालमा परिवारसँगको बर्मा प्रस्थान , बर्माको दैनिकीको प्रभाव तथा शिक्षा  र नागरिक जीवन शैलीले साहनाको जिवनमा निकै महत्वपूर्ण छाप पारेको कुरा उनले आफ्नो जीवनकाल भरि नै गरिरहिन् । यसरी कुरा गरिरहदा भोगेको विश्वयुद्धको पिडाभित्रको भोकमरी र सरकारले हवाई जहाज/ हेलिकप्टरबाट खसालेका खाद्यानसगै शत्रु राष्ट्रले बमगोला बर्षाउने माध्यमको रूपमा प्रयोग गरेको हवाई साधन विच पहिचान गर्न नसक्दा र साइरनको माध्यमबाट जिवनको सुरक्षाकालागि गर्नु पर्ने भागदौडको घट्ना सुन्दा निकै रोचक मात्रै होइन आपतकालीन सुरक्षा कसरी गर्नु पर्ने रहेछ भन्ने सिकाई पनि भेटिन्छ ।

नागरिक  शिक्षाबाट बन्चित नेपाली समाज र सामाजिकआर्थिक  विकासको क्षेत्रमा  नागरिकले ब्यहोर्नु परेका समस्याको बारेमा कहाँ कसरी कुरा उठाउने भन्ने अन्योलग्रस्त अवस्थामा  राणाहरूले नागरिकहरू प्रति गरेको अनुदार भाव नै राणाहरूको विरोधको सानो मसला बन्न पुग्यो । खान लाउन नै धौधौको अवस्थामा रहेको नेपाली समाज त्यो समस्या हल गर्ने दौरानमा विदेशिएको , विदेशीदा भोग्नु परेका समस्या र अपमानका श्रृङखलाहरू पनि साहना प्रदानले ब्यहोरेर अगि बढेको देखिन्छ । यी र यस्ता भोगाइले पनि धेरै कुरा सिकेको  प्रसङ्ग साहना प्रधानले निकै सानो पुस्ताहरूसंग गरेको प्रसङ्ग पनि धेरैले बताउने गर्छन ।

विश्वयुद्धले बर्मामा आतङ्कीत पार्नु र आमालाई रोगले च्यापेकै कारण निकै डर लाग्दो यात्रा गरेर नेपाल आएको प्रसङ्ग पनि इतिहासको एउटा महत्त्वपूर्ण क्षण बनेर रहने छ जस्तो लाग्छ । त्यस्तै त्यस्ता छोटा तर  निकै कष्टकर जीवन यात्रा पूरा गरेकी साहना प्रधानले नेपाल आगमन पश्चात् शिक्षा आर्जन गर्न पाइएला कि नपाइएला भन्ने विषयमा चाहिँ आफुलाई केन्द्रमा राखेको रहेछ भन्ने कुरा उनका प्रवचनहरू र  उनका बारेमा लेखिएका पुस्तकको अध्ययन गर्दा भेट्ने गरिन्छ । त्यस्तै वि स २००३ सालतिर  प्रेम बहादुर कंसाकारले भेट्न बोलाएको, घरबाट बाहिरिन समस्या भएको, पहिलो भेट मै प्रेम बहादुर कंसाकारले ” बहिनीहरू तिमीहरूले देशकालागि केही गर्न सक्छौ ´´ भनेर सोध्दा निकै हतारिदै जोसले ” देशकालागि ज्यान पनि दिन सक्छौ ” । “घर पनि छोड्न तयार छौ ”  ” तर पढन त पाइन्छ नि ”  जस्ता सवाल  त्यो उमेरमा गर्नु चानचुने कुरा होइन ।

वि स २००४ साल बैशाख १७ गते वृद्ध सारै माया गर्ने हजुरआमालाई बार्लि खुवाएर अनि अब कहिल्यै नभेट्ने गरि  त्यागेर , सधैकालागि अन्तिम पटक घरको दैनिक पुजा सकेर , दुइ दुई वटा पेटिकोट लगाएर, कम्मरमा अर्को साडी बाँधेर पूरा बाहुलाको चोलो भित्र मज्जाले पर्चा राखेर घुम्लुङ्ग ओड्ने ओढेर कसैलाई नभनि पछाडिको ढोकाबाट वहाल हुँदै सदाकालागि घर त्यागेर, त्रिचन्द्रमा तोकिएको ठाँउमा जुलुसको लागि तयार हुने ,  पढ्न पाउने शर्तमा राजनीतिक अधिकारको निकै कहालीलाग्दो यात्रा तय गर्ने ती दुई दिदीबहिनी साहना प्रधान र साधना प्रधान त्यो समयका निकै कठोर स्वभाव भएका अविचलित योद्दाका उत्कृष्ट नमुनाको रूपमा नेपाली इतिहासमा निकै लामो समय सम्म उदाइरहे ।

त्यो समय र उनिहरूले गरेको राजनीतिक निर्णयले उनिहरूलाई मात्रै स्वतन्त्र बनाएन; लगभग ७०/७५ वर्षको विचमा राणाहरूको अन्त्य,प्रजातान्त्रिक व्यवस्था , पञ्चायत र राजतन्त्र , बहुदलिय व्यवस्था हुँदै अहिले संघिय गणतन्त्रात्मक व्यवस्था सम्म पुग्ने अवसर नेपाल र नेपालीले पाएका छन । यीनै राजनीतिक सन्दर्भले नेपाली धर्तीमा पुष्पलाल ,गणेशमान , वि पि , गिरिजाप्रसाद ,मदन भन्डारी , मनमोहन र साहना जस्ता स्वाभिमानी राजनीतिका हस्तिहरू पनि यहि माटोमा उदाए । अहिले उनीहरू त छैनन् तर देशमा राजनीतिक रूपान्तरणले निकै फड्को मारेको अवस्था देखिन्छ । यी र यस्ता बदलाव भित्र लिङ्गीय पहिचान र जनसंख्याको आधारमा समानुपातिक सहभागीता साथै महिलाको अंश,वंश र नागरिकता सहितको पहिचानको अधिकारको पनि संवैधानिक हक महिला अधिकारको क्षेत्रमा स्थापित भैइसकेको अवस्था छ । यी महिलाका अधिकारका कुरासगै सिङ्गो राजनीतिक वृतको अधिकारको आन्दोलनको अगुवाइ गर्ने व्यक्ति थिइन साहना प्रधान ।

अब महिला संविधानमा व्यवस्था गरिएका  महिलाका संवैधानिक हकहरू प्रत्येक महिलाहरूले कसरी प्राप्त गर्न सक्छन ? स्थानिय तह सम्म यी र यसरी व्यवस्था गर्न अग्रजहरूले के कस्ता गतिविधिहरू कसरी कसरी सञ्चालन गर्दै यस्ता अधिकार स्थापित हुन सके ? के अब नेपालमा महिलाको अधिकारको कुरा स्थापित भै सकेकै हो या अधिकार र आन्दोलनको स्वरूप बदलिएको हो ? भन्ने कुरामा सबै  महिला अधिकार कर्मिको ध्यान जान जरूरी हो कि जस्तो लाग्न थालेको छ । हो पक्कै पनि अहिले महिलाले संवैधानिक रूपमा अधिकार त पाएकै हुन र छन तर पुर्विय सव्यताको   प्रभावमा विकास भएको नेपाली समाज र परिवारको संरचना भित्र अहिले पनि छोरी र बुहारीको स्थान र मान विचको विभेद कायमै छ । धर्म र सस्कृति भित्रको आडम्वरले छोरा र छोरी विच संस्कारगत विभेद गरैकै छ । छोरा जन्मदा खुसी हुने र छोरी जन्माउदा अपमान सहनु पर्ने अवस्थामा रूप फरक भएर ह्रिसा भएकै छ । छोराछोरी विचमा सम्पति र शक्तिको आधारमा परिवार भित्र रहेको स्थान र मानमा अझै समानता ल्याउन सकिएको छैन । पारिवारिक संरचनामा अझै पनि बुहारी कामकालागि र छोरी दानकालागि व्यवहार गर्ने चलन जिउदै छ । घर परिवारमा छोरा र ज्वाइलाई स्थान , मान र पहिचान दिने हाम्रो परिपाटी भित्र छोरीको कन्यादान अझै पुन्यकालागि बस्तु / पशु  सरहको व्यवहार गरि दयाभाव सहित अन्माउने परिपाटीलाई बदल्ने र समानतापुर्ण सस्कारहरू बनाउने तिर हाम्रा सोचहरू विकास गर्न सकेका छैनौ । संविधानमा व्यवस्था भए भन्दा थप सहभागिताका विषयमा राजनीतिक दल भित्र नै दलका सक्रिय सदस्य अथवा नेतृत्वहरूले उठाउन या सुधार गर्न नसकिरहेको अवस्था देखिन्छ । यी र यस्ता समस्याको व्यवस्थापनमा अब हामी कसरी लाग्न सक्छौ ? भनेर सोच्ने बेला आएको छ ।

आज साहना प्रदानको जन्म दिनको स्मरण गरिरहदा सम्पुर्ण महिलाहरूको सहभागिताको लागि आफ्नो दल भित्र होस् या अन्य ( अर्को फरक दल ) महिलाको सहभागिताको विषयमा निकै कडकेर बोल्ने,तर्क प्रस्तुत गर्न,सहभागिताकोलागि महिलाहरूकै समूह निर्माण गर्ने र साझा मञ्चको माध्यमबाट खुला मैदानमा संगठित शक्ति सहित लड्ने अविचलित योद्दाको अवसान भएको अनुभुति भएको छ । हरेक मानिसले बगैंचाको फुलको सुन्दरताको तारिफ गरेको त मैले धेरै सुनेकी छु तर बगैंचाका लागि आवश्यक पर्ने वस्तुहरूको बारेमा चर्चा गरेको या योजना बनाएको सुनेको छैन । बगैचामा गएर फुलहरू टप टप टिपेको देखेकी छु तर मलजल गरेर स्याहार सुसार गरेको अत्यान्तै कम देख्ने गरेकी छु । अरूले बनाएर झुन्डिएको सुन्दर मालाको प्रसंशा गरेको र सरक्क झिकेर लगाएको देखेकी छु । थुङ्गा थुङ्गा बटुलेर माला बनाउने मानिस कमै देखिकी छु । अहिले दलहरू भित्र पनि यस्तै यस्तै कुराहरू हावी भएको कारण महिलाको सहभागिताको कुरा ओझेलमा परेको हो कि जस्तो लाग्न थालेको छ । यी र यस्ता कुरा गरिरहदा हामीले हिजोका दिनमा महिलाको अधिकार सहित सिङ्गो राजनीतिक बदलावका लागि भुमिका खेल्ने नेतृत्वले आफ्ना आफ्ना दल भित्र निभाएको भुमिकालाई सम्झेर , चुनौतीहरू सामना गर्न सक्नु पर्छ होला । घर होस या परिवार, समाज होस या दल पितृसत्ता त जिवितै छ । महिला होस या पुरूष पितृसत्ता त मन भित्रै छ । हिजो होस या आज सस्कार त मानेकै छौ । रूपमा होस या सारमा कमि कमजोरी त भएकै छ । त्यसैले पनि एक पटक फेरि महिलाहरूले संविधानमा पाएका अधिकारहरूको व्यवस्थापनमा  नेपालका महिला अधिकार कर्मिहरूले भुमिका खेल्न सक्ने शक्ति मिलोस् । साहना प्रधान लगायतले महिला अधिकारको विषयमा खेलेको भुमिका अहिलेको सन्दर्भमा हामी सबैले सम्झन सकौं । यो शताब्दीकी राजनीतिक वृतकी शिखर व्यक्तित्व स्व. साहाना प्रधानप्रति हार्दिक श्रद्धाञ्जली सहित नमन !!!

2003 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank