“”

मृत्यु कुरिरहेको गाई र राप्रपाको चुनाव चिह्न !

सोमवार, असार २६, २०७४



- शुकदेव थपलिया

केहि बर्ष पहिले काभ्रेबाट प्रकाशित हुने गरी मैले एउटा स्थानिय पत्रिका सञ्चालन गरेको थिएँ । त्यस पत्रिकाको कार्यकारी सम्पादक पनि म स्वयम् नै थिएँ । यहाँ उल्लेख गर्न लागेको घटना कुनै नौलो त होइन तर पनि स्मरणयोग्य छ । त्यस समयमा मैले कहिल्यै बगरमा जस्तै गाडी हिँड्ने बाटो भरि त्यसरी गाइबस्तुहरू छाडा रुपमा चरनका लागि छोडिएको देखेको थिइनँ । त्यसैले म यी दृश्यहरू निकै रोमाञ्चित भएर नियाली रहेको थिएँ । त्यहाँ करिब १८-२० वटा गाईहरू २-३ मिनेटको फरकमा देखिन्थे । म आश्चर्य मान्दै ती कहाँबाट आए भनेर सोचमग्न थिएँ तर पनि कसैलाई ती कहाँबाट आए र कहाँ जाँदैछन् भनेर सोध्ने चेष्टा समेत राखिनँ । त्यसरी त्यो दिन बित्यो । अर्काे दिन पनि त्यसरी नै केही गाई र बाच्छाहरू बाटोभरि नै छरिएर रहेका थिए । प्रायः गाईहरु थकित र उमेर पुगेकाजस्ता देखिन्थे । बहरहरू पनि कतै दाउँन छोडिएजस्ता देखिए पनि निकै दुब्ला देखिन्थे । त्यसरी हप्ता बिते तर दिनहरूमा ती बहर र गाईहरूलाई देख्न छोडिनँ ।

पवित्र हुने विश्वासमा होस् या हिन्दु धर्मको कुनै परम्परा धान्ने नाममा, गाईको गोबरले नै सारा घर लिपिन्छ । आफ्नो घरमा गाई नभए पनि अझैसम्म गाईको गोबर लिन घण्टौँ तल पैदल हिँड्दै पाण्डेको घरबाट गाईको गोबर ल्याएर मेरी आमा हप्तामा एक चोटि मझेरी लिप्नुहुन्छ । हुन त म अध्ययनको लागि आफ्नो घरदेखि टाढा सहरमा बस्न थालेको लगभग ६ बर्ष बित्नै लाग्यो । म बस्ने सहर वरपर पनि गाउँहरू छन् । जहाँ गाई, भैंसी, बाख्रा, कुखुरापालन निकै राम्रो छ । सदरमुकाम धुलिखेलकै आसपासमा पनि धेरै गाई फर्महरू सञ्चालनमा छन् । केही फर्महरूलाई सरकारले उत्प्रेरणास्वरुप अनुदान समेत दिँदै आएको छ ।

बर्षात्को समय थियो । निकै ठूलो झरी परिरहेको थियो । त्यो दिन पनि म सदा झैँ आफ्नो काममा व्यस्त थिएँ । एउटा बूढी गाईलाई कुनै बसले ठक्कर दिएछ तर त्यो गाई मर्न सकेनछ । तुरुन्तै मैले त्यो खबर नगरपालिकामा गरेँ तर त्यो गाईको उपचारको त कुरै छोडौँ साटोमा वरपर रहेका मानिसहरुबाट समेत उसलाई हेर्ने र थुक्दै हिँड्ने काम मात्रै भइरह्यो । म सोच्न थालेँ त्यो घाइते गाईको स्थिति । यतिबेला त्यो गाई के गर्दै होला ? बेलुकीसम्म त पक्कै मर्छ नै होला ! तर गाई सख्त घाइते र चोटग्रस्त नै भएता पनि मैले सोचेजस्तो अप्रिय चाहिँ केही भएन अर्थात् गाई मरेन । हप्तौँसम्म नउठेर पनि ऊ बिरामीको बिरामी नै रह्यो । न त उ पूरै निको नै हुन सक्यो न त मर्न नै सक्यो । मैले बिरामी गाईको फोटोसहित एउटा फिचर समाचार पनि लेखेँ ।

तर त्यसको प्रभाव केवल चोक–चोकमा मजाकको विषय मात्रै बन्न पुग्यो । त्यसको भोलिपल्ट बिरामी गाईले प्राण त्याग ग¥यो । यसरी अकालमा गाई मरेको कुरा मनले पटक्कै पचाइरहेको थिएन किनभने त्यसबेला म पनि एउटा पशु स्वास्थ प्राविधिकको विद्यार्थी थिएँ । तर मसँग गाईको उपचारको लागि आवश्यक खर्च थिएन । जति रकम आवश्यक पथ्र्यो त्यति त मैले एक महिनामा पनि कमाउन सक्दैन थिएँ । पछि गाईको मृत शरीर बनेपा नगरपालिकाको फोहोर राख्ने ट्रयाक्टरमा राखियो कहाँ लगियो मैले चाल पाइन । बिस्तारै मैले देख्ने गरेका गाईका जमातहरु हराउँदै जान थाले ।

आज फेरि त्यसरी नै एउटा गल्लीमा अर्को गाई पनि बिरामी भएको छ । हाम्रो देशमा गाईको नाममा राजनीति गर्नेहरू त्यही बिरामी गाईको नजिकबाट उसकै चित्ररुपी झण्डा हल्लाउँदै हिँड्छन् तर भुईंमा मर्न लागेको त्यो गाईको खाली एउटै मात्र अभिलाषा होला, कि उपचार या आफ्नो मृत्युको प्रतीक्षा । वरपर ठुल्ठुला घरहरू पनि छन् । नजिकै कुनै पार्टीको कार्यालय पनि छ । त्यहाँको झण्डा बेला–बेलामा हल्लिइरहँदा त्यही हावा गाईको कानसम्म पनि पुग्दो हो । अलि पर एउटा बाच्छो कमजोरीका कारण ज्युँदै भुस्याहा कुकुरहरूको झम्टाइ र आक्रमण सहन बाध्य छ । उसको पुच्छरमा ठुलो चोट छ र कुकुरहरूले त्यही चोटमा झम्टन्छन् र बगिरहेका रगतहरू चाट्दै फेरि टोक्न थाल्छन् ।

ऊ त्यो पीडा सहन नसकेर जोडले कराउँछ । अर्धनिन्द्रामा रहेकी उसकी बिरामी आमा पुलुक्क आँखा खोल्छिन् । र पर पर नजर डुलाउँदै आवाज आएतिर केहि कुरिरहेको आशाजस्तो नजरमा बिरामी माउ गाई देखिन्छ । केहि दीनपछि त्यहि बाटो हुँदै भयङकर विजयी जुलुस निस्कन्छ जतिबेला गाई मरिसकेको र वरिपरि झिङगा भन्की रहेको थियो भने गन्ध पनि निकै पर सम्म फैलिएको थियो । विजयी र्यालीमा सहभागी मध्ये एकले औडाहाको भाषामा केहि कुहिएको बतायो तर बाजा गाजा सहितको टोलीमा सहभागीले त्यो गन्धलाई कुनै प्रर्वाह नै नगरी रमाईलो गर्दै हिँडिरहन्छन् ।म त्यही बाटो हिँडिरहेको हुन्छु केही सोच्दै । जब सहर र गाउँको फरक दृश्यहरू आँखामा आए तब मानिसका व्यवहार पनि गाउँ र सहरमा अलगअलग नै पाएँ मैले ।

यदि भिन्नता नै नियाल्ने हो भने, आज पनि मेरो गाउँमा ती गाईका बहरहरूलाई पालन गरि जोत्न प्रयोग गरिन्छ । यता सहरमा ट्रयाक्टरको जमाना छ । त्यही गाईले बहर जन्मायो भने १ महिनामा नै घरबाट लघार्ने र बाच्छी पायो भने पाल्ने । दूध दिन सकुञ्जेल खाना दिने र छोड्यो या बाली जान नसक्ने गरी कमजोर भयो भने त्यसरी नै सहरको गल्लीहरूमा छोडिदिँदा रहेछन् । मानव जीवनमा त बुढेसकालका लागि बृद्धाश्रम पनि छ तर गाईको लागि के छ ? सहरका मानिसहरूलाई त मैले राम्ररी चिनिसकेको थिएँ । उनीहरू त मानिस नै यस्तै दुर्दशामा मर्दा पनि कुनै चासो राख्दैनन् । मृत्युशोकमा रुझेको परिवारकै अगाडि बडो फूर्तिसाथ पराग खाएर पिच्च थुक्दै बडो मानवीयता प्रदर्शन गर्छन् । तिनै मानिसहरू पाप, धर्म र मर्मका कुरा गरेर मठ मन्दिरहरूमा बिहानै धाईरहेको पनि देखेको छु । तिनै मानिसहरू मानव अधिकार बाहेकका पशु हक अधिकारका कुरा गरेर चोक–चोकमा भाषण गरेर जमातलाई अर्काे नाटक प्रदर्शन गरिरहेको पनि भेटेको छु । तिनै जमातमध्ये केही मेरा साथीहरू पनि छन् जसलाई मैले गाईको अवस्था बताउँदा खुबै रमाईलो कथा मानि सुन्छन् । बिरामी गाईकै नजिकबाट पिच्च थुक्दै हिँड्छन् । मैले कसबाट के सिक्ने अनि कसलाई के सिकाउने अनि गर्ने ? अन्यौलताले गाँजेका यी प्रश्नका जवाफ खोज्नै सकिरहेको छैन ।

गाई नेपालको राष्ट्रिय जनावर हो । हिन्दु संस्कारमा लक्ष्मीको प्रतीक मानिन्छ । तर पनि गाईको अधिकारसँग मानव व्यवहार किन सँधै क्रुर मात्रै हुँदै गयो । कतै त्यही झण्डाकै कारण आज गौहत्याको आरोप खेप्दै जेल जीवन बिताइरहेको कुनै तामाङको छोरा किन नहोस्, बजारमा दिनभरि पण्डितको काम गरि साँझपख भट्टीमा रक्सीको मातमा झुम्ने कुनै ब्राम्मणकै छोरा किन नहोस् या कुनै कम्युनिष्ट सिद्धान्त बोक्ने प्रसिद्ध नेता नै किन नहुन् ,देशको विभिन्न नाममा ठेक्का लिई ठेकेदार झैँ बनेका उनीहरू सबैलाई एउटै प्रश्न सोध्दैछिन् त्यो गाई, के म भैंसीजत्ति प्रेम पाएर बाँच्न पाउँदिन ? त्यो भोट कुन गाईको निम्ति हो जुन बहुदलपछि लगातार त्यही बिरामी बनेर ढलिरहेको गाइ आज पनि चुनाव चिह्न बनेर खडा भएको छ । कसले जित्ने हो यसरी ? यही कुरालाई खाने भाँडो बनाएर भाषणबाजी गर्दै सत्तामोह र नेतृत्व मोहमा लिप्त हुने क्रम अझै सयौँ बर्ष यसरी नै चलिरहने सङ्केत मैले महसुस गरेको छु । गाइले सोच्दो हो, कम्तीमा पनि बाँचुञ्जेल राम्ररी बाँच्न पाउँ । अरु पशुसरह बाँच्ने अधिकार किन छैन ? मेरो विचार खाली गाईसँगको दुश्मनी मानवको जातियता र धर्मसँग हो कि त्यो राजनीतिक बिल्ला भिर्ने जो कुनै दलका हुन् तिनीहरुको राजनीतिक लडार्इंको पराकाष्टाको रुप हो ।

म कहिलेकाहीँ यो सोच्छु कि गाईसँगको सम्बन्ध र अधिकारको नाममा कहिलेसम्म अल्झिईरहने ?कुनै संस्कार जोगाउने बाहानामा भनौँ त्येहि गाईलाई कुनै मानिसको मृत्यु हुँदा दान गर्ने त्यो जमात त्येहि गाई मर्दा के दान गर्छ कसलाई ? म सानै हुँदा त्येहि गाईको चित्र भएको गाईपैसे ड्याकले पिप्लामेट (चक्लेट) खान्थे अहिले बाटोमा भेटिदा पनि टिप्नुको औचित्य र गाईपैसेको अस्तित्व कसले हराम गर्र्याे ? गाईलाई त्ेयहि गाईपैसे बनाउने आखिर कुन हो जमात ? गाईकै नाममा सत्तामोहमा झुम्ने जमात र गाईकै बिरुद्धमा हतियार उठाउने जमात आखिर गाईको स्वतन्त्रतालाई किन खाली आफ्नो पक्ष र विपक्षसँग जोडेर लिन्छन् भन्ने प्रश्नको जवाफ कसले दिने ? गाईसँगको मानव सम्बन्ध केवल विचाररुपी बहसलाई मान्ने हो भने गाई स्वतन्त्र हुन सक्ने अवस्था र मानवीय धर्म अनुरुप सबै मानव जमातले उनीप्रति गर्ने व्यवहार फरक भए पनि बिचार र कुनै नाममा तौलनु कति ठिक कति बेठिक ? कठै त्यो गाई ! कठै ती खोक्रा भाषण गर्नै जमात ! कठै मानवीय व्यवहारहरू ! त्यसैले यतिसम्म पनि लापर्वाही नबन कि तिम्रो चुनाव चिन्हले तिमीलाई नै धिक्कारोस् ।

1000 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank