क्रान्तिपछिका नेता

सोमवार, जेष्ठ ६, २०७६



- डा. गोविन्द बहादुर थापा

नेपालका लोकतान्त्रिक तथा गणतन्त्रवादीका तीन पुस्ताले यो व्यवस्था ल्याउन झन्डै ६ दशक लामो बलिदानीपूर्ण संघर्ष गरेकै हुन्। यस क्रममा लाखौं नभए पनि हजारौं सपुतले सहादत प्राप्त गरे। लामो निर्वासनको कष्टपूर्ण जीवन बिताए, सयौंले १० वर्षभन्दा लामो लगातारको पीडादायी जेल जीवन बिताए। १० वर्षसम्मको जेलजीवन बिताउनेहरूको संख्या त लाखौं होला।

यस क्रममा नेपाली मण्डेला पनि निस्के, हजारौं अपांग भए, लाखौं युवाको जवानी राजनीतिक संघर्षमै बित्यो, लाखौं परिवार बर्बाद भए। त्यस्ता योद्धाहरूले त्यस अवधिमा न पेटभरि ढुक्कसँग खान पाए, न आराम गर्न पाए, न त कहिल्यै सुकिलो कपडा लगाउनै पाए। कतिले अरूले दिएका अर्धाना कपडा लगाएर वर्षौंसम्म गुजारा चलाए। नेपाली जनताले यस अवधिका त्यस्ता त्यागी नेताहरूको कुरा स्वीकार गरी जोखिम मोलेर पटकपटक आन्दोलनमा साथ दिए।

अन्ततोगत्वा जनताले आफूले चाहेको राजनीतिक व्यवस्था ल्याइछाडे। जनता नेताका जीवनशैली, जनताकै जस्तो खानपान र व्यवहार, संवेदनशीलता, मिलनसारिता, परिवारबाट टाढा रही कष्टप्रद जीवन बिताइरहेको अवस्थाबाट प्रभावित भए। त्यसैले तिनका कुरामा जनताले विश्वास गरे र तिनको आह्वानमा आन्दोलनमा सामेल भए। यी नेताहरू यति दुःखकष्ट सहेर सत्ता फेर्न लागिपरेका छन् भने यिनमा पक्कै पनि इमानदारी छ। यिनले भनेका कुरामा सत्यता छ भन्ने जनताले माने। त्यसो नभएको भए प्रशासनको आँखा छलेर जीउज्यानको जोखिम मोल्दै यसरी किन रात, दिन, झरी, बादल नभनी लागिरहन्थे भन्नेमा जनता विश्वस्त भए। त्यसैले साथ दिए।

अति न्यून राजनीतिक चेतना भएका जनतालाई शक्तिशाली र क्रूर सत्ताको विपक्षमा उभ्याउन सानो प्रयत्नबाट सम्भव थिएन। तर नेताहरूले हिम्मत हारेनन्, काम गर्दै गए, जोखिम मोल्दै गए र अन्त्यमा जनता सत्ता पल्टाउने आन्दोलनमा नेतासँगै सरिक हुन तयार भए। त्यो चानचुने कुरा थिएन। नेताहरूले त्यसलाई सम्भव बनाए। यहाँसम्म यी नेताहरूलाई धन्य भन्नैपर्छ र अभिवादन र अभिनन्दन गर्नैपर्छ। किनभने अहिले देशमा समावेशी लोकतान्त्रिक व्यवस्था छ। जनताले सबै किसिमका नागरिक अधिकार पाएका छन्। ठूला राजनीतिक मुद्दा व्यवस्थित गरिएको छ। त्यही अनुसार संविधान बनेको छ र त्यही संविधान अन्तर्गत निर्वाचित सरकारले काम गरिरहेको छ।

यस्ता किसिमका हिंसात्मक र शान्तिपूर्ण राजनीतिक संघर्ष र आन्दोलनहरू अरू देशमा पनि भएका छन्। चीनमा माओको नेतृत्वमा क्रान्ति भयो र २१ सेप्टेम्बर १९४९ मा त्यो क्रान्तिले सफलता पायो। भियतनाममा हो ची मिन्हको नेतृत्वमा विदेशी उपनिवेशविरुद्ध संघर्ष (युद्ध) भयो, उत्तर र दक्षिण भियतनाम दुई अलग–अलग मुलुक बने। उत्तर भियतनामको राष्ट्रपति भइरहेकै बेलामा २ सेप्टेम्बर १९६९ मा हो ची मिन्हको मृत्यु भयो तर युद्ध जारी रह्यो र २ जुलाई १९७५ मा उत्तरकोरिया अमेरिकासँगको युद्धमा विजयी भई भियतनामको एकीकरण भयो। दोस्रो विश्वयुद्धपछि कोरिया टुक्रियो। सन् १९५० देखि १९५३ सम्मको कोरियन युद्धपछि उत्तर र दक्षिण कोरिया बन्यो, जुन कायमै छ। ती सबै वैदेशिक हस्तक्षेपबाट उत्तर कोरियालाई सुरक्षित राख्ने कम्युनिस्ट नेता किम इल सुङको ८ जुलाई १९९४ मा मात्र मृत्यु भयो।

यहाँ यी महापुरुषको प्रसंग ल्याउनुको उद्देश्य के हो भने यिनीहरूले आ-आफ्नो देशमा क्रान्तिको नेतृत्व गरे र क्रान्तिको सफलतापछि कसैले देशको कार्यकारी प्रमुख भएर काम गरे भने कसैले सत्तासीन पार्टीको अध्यक्ष भएर मृत्युपर्यन्त काम गरे। माओत्से तुङ क्रान्तिपछि २७ वर्षसम्म ९१९४९-१९७६० पार्टी अध्यक्षको शक्तिशाली पदमा रहे। हो ची मिन्हले भियतनामलाई फ्रान्सको उपनिवेशबाट छुटाउन सन् १९४१ देखि स्वतन्त्रता संग्रामको नेतृत्व गरे, सन् १९४५ मा फ्रान्सलाई परास्त गरी स्वतन्त्र भियतनाममा कम्युनिस्ट सरकार गठन गरे र त्यसको प्रमुख बने। सन् १९६५ मा खराब स्वास्थ्यको कारण पद त्याग गरे। सन् १९६९ मा उनको मृत्यु भयो।

किम इल सुङ ४६ वर्षसम्म १९४८-१९९४० राष्ट्रपति रहे भने फिडेल क्यास्ट्रो ४९ वर्ष १९५९-२००८० सम्म राष्ट्रपति र प्रधानमन्त्री भएर काम गरे। यी सबैकोे मृत्युमा ‘नेसनल हिरो’ को रूपमा सम्मान अर्पण गरियो र अद्यापि ती महान् नेताहरू आआफ्ना देशका जनताबीच शीर्षरूपमा लोकप्रिय र सम्मानित छन्। किनभने क्रान्तिकालमा जनतालाई बताइएका कुरा तथा दिइएका आश्वासन पूरा गर्न क्रान्ति सफल भएपछि यी नेताहरू अहोरात्र जुटे। त्यसबेला जनताले न यिनको नियत र कर्ममा कुनै खोट देखे न त जनताले नरुचाउने गरी तिनको जीवन शैलीमा कुनै परिवर्तन र विचलन आयो। आफ्नो मृत्युपर्यन्त ती नेताहरू जनताप्रति समर्पित र संवेदनशील रहे। उनीहरूले जनताले शंका गर्नुपर्ने कुनै गतिविधि गरेनन्, सुखसयल र मोजमस्तीबाट कोसौं टाढा रहे र आफ्ना सहयात्री तथा सहकर्मीलाई पनि टाढै रहन लगाए। त्यसैले मृत्युपछि पनि उनीहरू पछिसम्म उत्तिकै सम्मानित, स्तुत्य रहिरहनेछन् भन्नेमा शंका छैन।

नेपालको २०६२/६३ को आन्दोलनलाई क्रान्ति मान्दा त्यसपछि सत्ताको करिडोरमा रहेका नेपालका शीर्ष नेता र तिनका सहयात्री नेताहरूमा पनि माथि उल्लिखित चार देशका नेताहरूको जस्तै सादगीपन, जनताप्रतिको समर्पण भाव, मितव्ययी, सुखसयल र सानसौकतबाट टाढा रहने आचरणले निरन्तरता पाउनेछ भन्ने सबैको अपेक्षा थियो र छ। क्रान्तिकालमा झैं नेताहरू जनतासँग समीप रहिरहने छन् भन्ने विश्वास थियो। आफ्नो सुखदुःखमा नेताहरू पहिले झैं साथै रहनेछन् भन्ने अपेक्षा थियो।

क्रान्ति सम्पन्न भएपछि उनीहरूले आफूसँगसँगै विपन्न जनतालाई पनि अगाडि बढाउने छन् भन्ने विश्वास थियो। किनभने क्रान्तिकालमा नेताहरूले उनीहरूलाई त्यस्तै विश्वास दिलाएका थिए। त्यस्तै हुनेछ भनेर जनतालाई आश्वस्त पारेका थिए। तर क्रान्तिपछि नेपालका अधिकांश नेताहरूमा चिताउनै नसकिने गरी चमत्कारिक परिवर्तन आयो। अधिकांश नेताहरूको जीवनशैली, रहनसहन, प्रवृत्ति, सरसंगत र आचरणमा अनपेक्षित परिवर्तन आयो। उनीहरूमा जनताप्रतिको संवेदनशीलता हराउँदै गयो। उनीहरूको ध्यान आफू र आफ्नाहरूको मात्र प्रगतिनिमित्त केन्द्रित हुँदै गयो। उनीहरू आफू, आफ्ना र भजनमण्डलीबाहेक दायाबाया र अघिपछि अरू कसैलाई नदेख्ने हुँदै गए।

अधिकांशमा धनसम्पत्ति प्रति अत्यधिक मोह जाग्यो। पद र प्रतिष्ठाप्रति अत्यधिक आसक्ति पलायो। सुखसयल र रोबरवाफको भोक जाग्यो। उनीहरू सुविधाभोगी हुँदै गए। राज्यको ढुकुटीतर्फ लोभी आँखा लाग्न थाले। उनीहरू आम जनताबाट टाढिँदै गए। राजनीतिक परिवर्तन निमित्त त्यस्तो कष्टप्रद र त्यागपूर्ण संघर्ष गरेका नेताहरू क्रान्तिपछि जनताको अवस्थामा पहिले भनिए जस्ता सुधार ल्याउने कामलाई सर्वोच्च प्राथमिकतामा राखिदिन र रात नभनी खट्नुपर्नेमा कसरी त्यसबाट विमुख भई आत्मकेन्द्रित बन्न पुगे रु कसरी स्वार्थी बन्न सके रु नेताहरू कहाँ पुगे–पुगे, तर जनताको अवस्था जहाँको त्यहीं रह्यो वा अझ बिग्रियो। यस मामिलामा कम्युनिस्ट नेताहरूमा समेत कुनै पनि बुर्जुवा पार्टीका नेताका चरित्र र आचरण बिर्साउने खालका व्यवहार देखिन थाले। वास्तवमा यसो गर्नु जनतालाई धोखा थियो। जनताप्रतिको गद्दारी थियो। यो यक्षप्रश्न आज हरेक नेपाली नागरिकको मनमा उठेका छन्।

भनिएला कि चीन, भियतनाम, उत्तर कोरिया र क्युबामा भएका क्रान्ति र नेपालमा भएको क्रान्तिबीच आकाश–जमिनको फरक छ। उनीहरूको क्रान्ति सशस्त्र थियो र एउटै पार्टीले क्रान्तिको नेतृत्व गरेको थियो। क्रान्तिको सफलतापछि ती मुलुकमा एउटै पार्टीको सरकार बनिरहने परिपाटी अपनाइयो।

तर नेपालमा धेरै पार्टी मिलेर शान्तिपूर्ण क्रान्ति गरियो र आवधिक निर्वाचन हुने बहुदलीय परिपाटी अपनाइयो। यसमा विमति हुने कुरै भएन। तर क्रान्ति हासिल गर्न नेपालका नेताहरूले र विशेषगरी कम्युनिस्ट नेताहरूले गरेको त्याग, तपस्या र बलिदान ती मुलुकका नेताहरूको भन्दा धेरै फरक थिएन। त्यसैले क्रान्तिको सफलतापछि ती देशका नेताहरूले क्रान्तिकालका जनताप्रतिका आफ्ना प्रतिबद्धता, अठोट र आचरण जसरी मृत्युपर्यन्त कायम राखे। त्यसबाट रत्तिभर विचलित भएनन्। जनतालाई कहिल्यै पर राखेनन्।

जनता र मुलुकप्रतिको समर्पण भावमा कुनै कमी आउन दिएनन्। क्रान्तिपछि नेपालका नेता र विशेषगरी कम्युनिस्ट नेताहरू यस्तै रहने छन् भन्ने जनताको विश्वास थियो, तर त्यसो भएन। नेताहरू कहाँ पुगे–पुगे। तर जनताको अवस्था जहाँको त्यहीं रह्यो वा अझ बिग्रियो। वास्तवमा यसो गर्नु जनतालाई धोखा थियो, जनताप्रतिको गद्दारी थियो। अहिले आम जनता यस्तै महसुस गरिरहेका छन्।

तब के बहुदलीय र आवधिक निर्वाचन प्रणाली अवलम्बन गरेकै कारणले नेताहरूमा यस्तो सैद्धान्तिक र आचरणगत विचलन आएको हो त रु अवश्य होइन र हो भने पनि त्यो आंशिक सत्य मात्र हो। यसलाई सुधार्न सकिन्थ्यो। प्रमुख कुरा त व्यक्तिको आस्था र निष्ठाको हो, सोच र दृष्टिकोणको हो। त्यसमै खोट भएपछि अरू कुनै कुराले पनि मानिसलाई बिग्रनबाट रोक्न सक्दैन। त्यो सत्य हुन्थ्यो भने बहुदलीय तथा आवधिक निर्वाचन प्रणाली दुनियाँले उहिल्यै त्यागिदिन सक्थ्यो। विश्वव्यापी भएर आउने थिएन।

अर्को सम्भाव्य कारण यी नेताले क्रान्तिकालमा जनताप्रति जेजस्तो हमदर्दी देखाएका थिए त्यो वास्तविक नभई देखावटी मात्र थियो, खोक्रो थियो। राजनीतिक क्रान्तिपछि उनीहरूमा त्याग र सादगीपन विस्तारै हराउँदै गयो। उनीहरूले बिसाइ मारे, सुस्ताए। उनीहरूले जनतासामु पहिले गरेका सम्पूर्ण प्रतिबद्धता विस्तारै बिर्संदै गए। सुखसुविधा र ऐसआरामको बाटोमा लागे। उनीहरूमा जनताप्रतिको संवेदनशीलता हराउँदै गयो। जनता पहिले जहाँ थिए अहिले पनि त्यहीं छन्, केवल नेताहरू मात्र अगाडि बढे। यसले गर्दा जनता अहिले किंकर्तव्यविमूढको अवस्थामा छन्। यो स्थिति अगाडि बढ्दै गयो भने फेरि सडकमा आउन जनतालाई कसैले रोक्न सक्दैन।अन्नपूर्ण पोष्टबाट साभार

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank