कम्युनिष्ट पार्टी र यसको दायित्व !

बुधबार, चैत्र २७, २०७५



- बाबुराम ढकाल

कम्युनिष्टको अर्थ सामुहिकतामा विश्वास गर्ने भन्ने हुन्छ । किनकि कम्युन वा कम्युनिज्म प्रणालीमा विश्वास गर्ने व्यक्तिहरु नै कम्युनिष्ट हुन् । त्यसैले कम्युनिष्ट पार्टिहरुको मुल उदेश्य सबैको भलो गर्ने भन्ने हुन्छ । इतिहासलाई खोतलेर हेर्ने हो भने कम्युनिष्ट विचार एंव सिदान्त प्रतिवादन र विकास हुनुका पछि धेरै विद्वानहरुको हात रहेको देखिन्छ ।

विशेषगरी फुयरबाखको भौतिकवाद र हिगेलको द्न्दवाद लगायतका विचारहरुको गहन अध्यन पश्चात जर्मनका दार्शनिक कार्लमाक्स र एङ्गेल्स लगायतले भौतिकवाद र द्वन्दवादको सम्मिलन गरी “द्वन्दात्मक भौतिकवाद” नामक नयाँ सिद्दान्तको जन्म गराएपश्चात एवं औधोगीक क्रान्तिपछि तत्कालिन युरोपमा देखिएको मजदुर वर्गका समस्या र जिवनचर्याको व्यापक अध्ययन पश्चात मजदुर वर्गको घोषणा पत्र मानिने कम्युनिष्ट मेनिफेस्टो लेखिसकेपछि कम्युनिष्ट विचारधाराले नयाँ मोड लिएको हो । द्वन्दात्मक भौतिकवादको सार भनेको प्रकृति र जीवन कुनै ईश्वरीय शक्तिको सृष्टि र रहस्य नभई पदार्थहरुभित्र हुने द्वन्दात्मक गुण र यसको विशिष्ट नियम हो भन्ने हो ।  त्यसैले द्वन्दात्मक भौतिकवाददेखि आजपर्यन्त निरन्तर विकास भईरहेको मार्क्सवादको आधारभुत गुण भनेको निश्चित नियमभित्र रहेर निरन्तर परिवर्तन हुनु हो ।

मानव सभ्यताको विकास क्रमलाई सुक्ष्म रुपमा अध्ययन गर्दा पत्ता लाग्ने एउटा कुरा के हो भने मानव जाति जहिले पनि खुसी र शान्त हुन चाहन्छ । त्यसका लागी ऊ विजय हुन चाहन्छ । मानव जातिको यहि स्वाभावले मानव समाजमा अनेकन उथल पुथल आएका छन् । जुन उथल पुथल राजनिति र शासकिय स्वरुपमा पनि देखिन्छ ।  फलत मानव सभ्यताको विकास क्रम ढुङ्गे युग देखी दास युग र सामन्तवादि युग हुदै आजको पुजिँवादि युगसम्म आईपुगेको छ । हरेक युगमा मानविय द्वन्द अनिवार्य सर्त बन्दै आईरहेको छ ।  कम्युनिष्ट विचारधाराका प्रतिवादक मार्क्स लगायतहरुले यहि तथ्यलाई बुझेर समाज विकासको क्रमबारे नयाँ भविष्यवाणि गरे कि हिजो समाज साम्यवादी थियो र तुलनात्मक रुपमा बढि शान्त र खुसी थियो । अब पनि मानव खुसी र शान्त हुने भनेकै साम्यवादी व्यवस्था आएपछि हो ।  तर उनिहरुले समाज विकासका चरणलाई वैज्ञानिक हिसावले अर्थ्याउने क्रममा अब आउने साम्यवाद वैज्ञानिक साम्यवाद हुने कुरा उल्लेख गरेका छन् ।

यहि विचारधाराको उदय भएपछि विश्व राजनितिमा कम्युनिष्ट पार्टीहरुको जन्म भयो ।  उनिहरुको ध्यय भनेकै वर्तमान व्यवस्था भत्काउने र नयाँ शासकीय प्रणाली स्थापना गर्ने भयो ।  पहिले पूर्वी जर्मनको पेरिसमा कम्युन प्रणालिको अभ्यास गरियो भने विस्तारै लेनिन, स्टालिन लागयतको नेतृत्वमा पूर्वि युरोप विशेषत रसियामा नयाँ व्यवस्थाको अभ्यास भयो । यससगैँ ल्याटिन अमेरिका कतिपय देशहरुमा फिडेल क्यास्त्रो, चे ग्वेभारा लगायतका नेताको अगुवाईमा यसका लागी ठुला ठुला क्रान्तिहरु सम्पन्न भए ।  त्यस्तै एसियामा पनि भियतनाम, चिन लगायतका देशमा होचिमिन्ह, माओत्सेतुङ लगायतको नेतृत्वमा प्रभावशाली क्रान्तिहरु  सम्पन्न गरिए ।

मानव समाजमा स्थापित भईसकेको व्यवस्था जुन मानव समाजको हरेक तत्वहरुमा सेटिङ भएर रहेको हुन्छ । मानव जाति त्यहि प्रणाली मान्न अभ्यस्त हुन्छ । त्यसलाई जबरजस्त भत्काउन त्यति सजिलो थिएन ।  फलस्वरुप आजपर्यन्त दक्षिण अमेरिका र एसियाका कतिपय देशहरु कम्युनिष्ट व्यवस्थाकै लागी भनेर क्रान्तिमै अभ्यस्त छन् । रसिया, चिन, लगायत देशहरुले कम्युनिष्ट क्रान्ति पश्चात शासकीय व्यवस्थालाई समायानुकुल मौलिक बनाएर नयाँ स्वरुप दिए । ती देशहरु आर्थिक समृद्दिको बाटोमा द्रुत गतिले फड्को मार्दै छन् । तर नेपाल लगायत देशहरु विश्व राजनिति र शक्ति सन्तुलनमा भईरहने घढबढ र नेत्त्वको नियत एवं असक्षमताका कारणले जहिले पनि राजनितिक असन्तुलन र अस्थिरता भोग्न अभ्यस्त छन् ।

विश्व राजनितिमा लामो कालखण्डसम्म कम्युनिष्ट पार्टीहरु सत्ताको विरोध र क्रान्तिमै सिमित रहे । फलत मानिसहरुमा आजपर्यन्त कम्युनिष्ट र विरोध समानार्थि शब्द हुन कि भन्ने भान छ । कम्युनिष्ट पार्टीले स्थापनाकालदेखि नै द्वन्दात्मक भौतिकवादलाई आफ्नो मुलमन्त्र मानेको र पुरानो संरचनाको समुल नष्ट  नगरेसम्म नँया संरचनाको जन्म नुहुने र नँया व्यवस्थाको लागी नँया संरचना अनिवार्य शर्त हुने विश्वासले यो जीवनपर्यन्त विध्वंस र निर्माणको क्रममै हुन्छ । मात्र कुन कुराको विध्वंश गर्ने र के निर्माण गर्ने भन्ने प्रश्न यक्ष बनेर आएको हुन्छ । त्यसैले यहाँ, उल्लेख गर्न खोजिएको कुरा द्वन्दात्मक भौतिकवाद एवं मार्क्सवाद अथवा त्यसलाई मुल मन्त्र मान्ने कम्युनिष्ट पार्टीको बारेमा होईन बरु वर्तमान सन्दर्भमा मानव सभ्यताको नँया विकासका लागी कम्युनिष्ट पार्टीले पुरा गर्नुपर्ने जिम्मेवारिका बारेमा हो ।  कम्युनिष्ट पार्टीको जन्म नै समाजमा विद्यमान असमान एवं विभेदकारी प्राणालीको अन्त्य गरी समतामुलक समाजको निर्माण गर्नु हो । विशेषगरी नेपालमा चल्दै गरेको कम्युनिष्ट राजनिति र त्यसले समतामुलक समाज निर्माणमा पारेको प्रभावका बारेमा केहि उल्लेख  गर्नैपर्ने देखिएको छ ।

नेपालमा कम्युनिष्ट पार्टिका बारेमा कुरा गर्दा वि.स. २००६ सालदेखि आजसम्म सयौ कम्युनिष्ट पार्टिहरुको स्थापना र विघटन एवं रुपान्तरण भईरहेको छ । वर्तमान सन्दर्भमा पनि सरकार सञ्चालनका लगी बहुमतको सुविधा सहित नेपाल कम्युनिष्ट पार्टि (नेकपा) सत्तामा आसिन छ भने जनमोर्चा, नेमकिपा, लगायत दर्जनौ कम्युनिष्ट नामधारी पार्टीहरु संसद एवं व्यवस्थापिकामा उपस्थित छन्  ।त्यति मात्र होईन राजनितिक दलमा दर्ता समेत नभएका कतिपय कम्युनिष्ट पार्टिहरु अहिले पनि शासकीय व्यवस्था परिवर्तनका खातिर भुमिगत र अर्धभुमिगत विद्रोहमा छन् ।

विश्ववयापिकरण र विज्ञान एवं प्रविधिको विकासले  विश्वलाई एउटा गाँउमा बदल्दै गर्दा एवं  पुँजीवादी  व्यवस्था नँया नयाँ स्वरुपमा देखिदै झन झन बलियो बनेर स्थापित हुदै गर्दा  कम्युनिष्ट पार्टिहरुले पुँजीवादी  व्यवस्थाका विरुद्दमा बोल्नु तर त्यसको विकल्पमा मौलिक र व्यवहारिक काम गर्न नसके त्यो मुर्खाता सिवाय केहि हुन सक्दैन ।  आखिर कम्युनिष्ट पार्टीको ध्यय कुनै व्यवस्थाको अन्ध विरोध गर्नु मात्र होईन अपितु त्यो व्यवस्था किन र कसरी मानव विकासको वाधक छ र त्यसको विकल्प के हुन सक्छ बनेर जनतालाई बुझाउनु र नँया व्यवस्थाका लागी तयार हुनु हो ।  आत्मगत र वस्तुगत रुपले परिस्थिति तयार बनेपछि उक्त व्यवस्था ढालेर नँया व्यवस्था निर्माण गर्नु हो ।  नेपालको सन्दर्भमा कम्युनिष्ट  पार्टीहरु यहिँनेर आएर चुकेका देखिन्छन् ।

व्यवस्था परिवर्तनका खातिर ठुलाठुला आन्दोलन हुन्छन् । तर अन्यमा आधारभुत रुपमै केहि न केहि कमजोरी सहित ति आन्दोलन विसर्जन हुन्छन् ।  फेरी केहि समयपछि त्यहि पुरा गर्ने नाममा अरु आन्दोलनका बिउ रोपिन्छन् ।  नेपालमा समातामुलक समाज निर्माणको बाधक शासकीय व्यवस्था र प्रणाली हो भनेर यसका विरुद्द पटकपटक शसस्त्र र शान्तिपुर्ण आन्दोलन भए तर कम्युनिष्ट विचारधाराले मुख्य समस्या ठान्ने संसदीय व्यवस्थालाई झन बलियो गरेर स्थापित गरेर त्यसका हर्ताकर्ता समेत कम्युनिष्ट नै बनेर आन्दोलन टुङ्गियो । फलत नेताहरुले भन्ने गरेको राजनितिक क्रान्ति ‘हात्ति छिर्यो पुच्छर अड्क्यो’ मै सिमित भईदियो ।  आज संसदीय व्यवस्थाको विरोध गर्नु नेपालका कम्युनिष्ट पार्टीको विरोध गर्नु जस्तै सुनिन्छ ।  यसलाई उग्र विचार भनेर अमुक पार्टी र समुहको समर्थक भएको आरोप लगाई सोहि अनुरुप व्यावहार गरिन्छ । यसको फाईदा अन्ध दर्शन र अमुर्त कुरा गर्ने र राजनिति नै विरोध हो भन्ने मानसिकता भएका समुहले लिन्छन् ।

वास्तवमा कुनै पनि व्यवस्थाको नाममा केहि पनि हुदैन ।  त्यो व्यवस्थाले के गर्छ भन्ने कुरा त्यसको सारमा मात्र भेटिन्छ ।  यति हुदाहुदै पनि समृद्द र समतामुलक नेपाल निर्माण गर्ने आधार नै नभएको भन्ने छैन ।  यदि नेताहरुको नियत ठिक हुने हो भने यहि व्यवस्थाबाट पनि समृद्दि हासिल गरेका उदाहरण धेरै छन् । तर नेपालको कम्युनिष्ट आन्दोलनबाट आएका नेताहरु राजनीतिक आन्दोलन मै अभ्यस्त हुँदाहुदै विकासको विश्व स्वरुप बारे अनविज्ञ जस्तै भएका छन् । फलत तिनका विकास र समृद्दिका भाषण पनि राजनितिक भाषण जस्तै अमुर्त लाग्छन् । अब नेपालका कम्युनिष्ट पार्टिले गर्नुपर्ने काम भनेको सत्तामा भएको शक्तिको अधिकतम उपयोग गरी उच्चतम समाजवादि कानूनहरु निर्माण गर्ने र त्यसको कार्यान्वयनका लागी लाग्नु हो । जसले कम्युनिष्ट पार्टिको धारणा नै परिवर्तन गरोस् । अहिलेको सन्दर्भमा नेपालको मुख्य समस्या भनेको विश्व व्यवस्थाले सृजना गरेको आर्थिक पछौटेपन, वैदेशिक रोजगारले सृजना गरेको ब्रेनडेन, साथै कहालिलाग्दो व्यापार घाटा र कृषिकर्ममा देखा परेको डरलाग्दो अलगाव, बढ्दो भ्रष्ट्रचार साथै परिश्रम प्रतिको अविश्वास हो । सत्तासिन  कम्युनिष्ट पार्टीले उल्लेखित समस्यालाई सटिक ढंगले पहिचान गर्दै आम नेपाली जनताको जीवनस्तर उठाउने  प्रमुख दायित्व हो ।

वर्तमान समयमा नेपालका कम्युनिष्ट पार्टीका लागि देशको शासकीय व्यवस्था मात्रै होईन बरु शुसासन, विकास र समृद्दिको नँया स्वरुप कोरेर विश्व राजनितिमा एउटा गर्विलो उदाहरण बन्ने मौका छ । यसका लागी  कम्युनिष्ट पार्टीका हरेक नेता कार्यकर्ताले चिनेका महान नेता माओत्सेतुङको भनाई “क्रान्ति गर्नुछ भने क्रान्तिको पहिलो निशाना आफुलाई नै बनाऊ” लाई शिरोधार्य गर्दै  राष्ट्र बदल्न पहिला आफुहरु नै बदलिनुपर्छ भन्ने कुरालाई मनन गरी सबैले आफ्नो सोच, आचरण र व्यावहारमा सुधार गर्न जरुरी छ ।

नेपालका कम्युनिष्ट पार्टीले तत्काल यसो गर्न नसके कम्युनिष्ट विचारधाराको पतन मात्र होईन अपितु अपव्याख्या विसर्जनको खतरा बढेर जाने निश्चित छ । त्यसैले वर्तमान कम्युनिष्ट सरकारको ध्यान समाजवादी सत्ताको स्थापनाको नाममा फेरी रक्तपात युद्द लड्न नपरोस र राजनीतिक प्रणाली मात्र फेर्ने चक्रव्युमा फसिरहन नपरोस भन्नका खातिर हुनुपर्छ । आशा गरौ लामो समयको राजनितिक संकटपछि दुई ठुला कम्युनिष्ट पार्टीहरु पूर्व  एमाले र पूर्व माओवादी केन्द्रवीचको पार्टीगत एकता प्रकृया लगभग अन्तिम चरणमा पुगेको छ । यसको पुर्णता पछि कम्युनिष्ट पार्टी र उसको नेतृत्वको सरकारले जनताले महसुस नै गर्ने गरी केहि परीणाम दिनेछन् र विश्व राजनीतिमा नेपालको कम्युनिष्ट राजनीति एउटा नँया कोशेढुङ्गा सावित हुनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata