सामाजिक दुरी हटाऔँ, अब शारीरिक दुरी कायम गराैं

सोमवार, जेष्ठ १९, २०७७



- मनाेज कुमार कँडेल-अधिवक्ता एवम् बालअधिकारकर्मी

विश्वमा हाल सम्म ३ लाख ६७ हजार भन्दा बढिको ज्यान लिई सकेको कोरोना महामारी भाइरसबाट सुरक्षित रहन चीनबाट सुरु भएको सामाजिक दुरी बढाउने लकडाउन हाल विश्वका अत्यधिक देशहरूले अपनाई रहेका छन ।

नेपाल पनि यसबाट प्रभावित नहुने कुरै भएन र नेपाल लकडाउन भएको आज ७० दिन पुरा हुँदै छ ।कोरोनाको कारण आज विश्व नै लकडाउन भएको ५ महिना बितेको छ । अबको बहस कोरोना नियन्त्रणको अवधि अनिश्चित रहेको अवस्थामा कोरोनाको सुरक्षाको विकल्प तिर भइरहेको छ । संसारका विज्ञहरूको प्रश्न छ, के विश्व मानवले लकडाउनकै आस्थामा जीवित रहन सक्छ ?

यसको बहस सर्वप्रथम हामीले प्रयोग गरी रहेको शब्द नै गलत थियो भन्नेबाट सुरु भएको छ । त्यसको सुरुवात विश्व स्वास्थ्य सङ्गठनले गरेको छ । विश्व स्वास्थ्य सङ्गठनकी महामारी विज्ञ मारिया भान केरकोभले भनेकी छिन, अब हामी शारीरिक दुरी कायम गर्नेछौँ । भन्ने शब्द प्रयोग गर्नेछौँ नकी सामाजिक दुरी ।

हुन पनि सामाजिक दुरीबाट नभएर शारीरिक दुरी कायम गरेर नै हामीले कोरोनालाई जित्नु पर्नेछ । नत्र रोगबाट बाँच्न खोज्दा भोकले मर्ने दिन आउन सक्छ ।

के फरक छ त सामाजिक र शारीरिक दुरीबीच ?

जब हामी सामाजिक दुरीको कुरा गर्दछौँ । यस्तो भान हुन्छ की मानिस मानिसबीच हुने सम्बन्धहरू रोक्नु पर्छ । हामी किन मानिसबीचको सम्बन्ध रोक्ने जबकि हामी शारीरिक दुरी कायम गरेर नै आफ्नो समुदायलाई कोरोनाबाट जोगाउन सक्छौ, स्टान्फोर्ड विश्वविद्यालय अमेरिकाको समाज शास्त्रका प्राध्यापक जेरेमी फ्रिजको भनाइ हो यो ।

विश्व स्वास्थ्य सङ्गठनले जब सामाजिक दुरी होइन शारीरिक दुरी भन्यो, लन्डन स्कुल अफ इकोनोमिक्सका समाज शास्त्रीय प्राध्यापक मार्टीन बाउरले स्वागत गर्दै भने “सुरुमै यो शब्द मलाइ मन परेको थिएन ।”

शारीरिक दुरी लाई नाप्न सकिन्छ जसको अर्थ एक अर्को व्यक्ति बीच दुरी कायम गर्नु हो । तर सामाजिक दुरी सामाजिक बन्देजसँग जोडिएको हुन्छ, मानिस मानिसबिचको सामाजिक सम्बन्धहरूसँग यसको महत्त्व हुन्छ ।

यस अर्थ पनि कोरोनासँगको यो लडाई मानिस मानिस बीचको २ मिटरको शारीरिक दुरी कायम गरेर लड्न सकिन्छ । तर महामारी जस्तो समस्याहरूमा मानिसहरू बीचको सम्बन्धको सामाजिक दुरीलाई भने झन् कम गर्नु जरुरी हुन्छ ।

कोरोनाबाट सुरक्षित हुन शारीरिक र मानसिक दुवै कुरामा दुरुस्त हुन आवश्यक हुन्छ । शारीरिक रूपमा दुरुस्त हुन मानिसहरू बीचको शारीरिक दुरी कायम गर्न जति जरुरी छ त्यति नै जरुरी उनीहरूको मानसिक दुरुस्ततालाई कायम गर्न सामाजिक दुरी कम गर्न र एक अर्को बिच नजिक हुन अत्यन्त जरुरी छ ।

कोरोनाको अन्त्यको भविष्य

यो गम्भीर प्रश्न आज हामी सामु उभिएको छ । विश्व स्वास्थ्य सङ्गठनले मे १३ मा गरेको पत्रकारहरूसँगको कुराकानीमा स्पष्ट भनेको छ कोरोना कहिल्यै नहराउन पनि सक्छ । सङ्गठनले ठोस तथ्य विना कुनै प्रकारको भविष्यवाणी नगर्न चेतावनी समेत दिएको थियो ।

डा. सिमोन क्लार्के, शुस्म जीव विज्ञानका प्राध्यापकले भनेका छन्, कुनै पनि लक्षण बिना मानिसहरूमा बस्ने यो भाइरस निरन्तर रहने कुरालाई नकार्न सक्ने अवस्था छैन ।

नोटिङघम ट्रेन्ट विश्वविद्यालयका सामाजिक शास्त्रका प्राध्यापक रोबर्ट डिङवालले पनि स्पष्ट भनेका छन् यस भाइरसको अन्तको अनुमान गर्न असम्भव छ ।

स्पष्ट छ की यसको अन्त्यको अहिले कल्पना गर्न सकिँदैन । जब सम्म यसको विरुद्धको खोप आविष्कार हुँदैन हामीले कोरोनाको कहरलाई सहनु पर्ने हुन्छ । यसै बिच हामीले आर्थिक सामाजिक गतिविधिलाई जोड्नु पर्ने हुन्छ र दैनिक जीवनलाई सरलीकृत गर्न जरुरी छ ।

खोप कहिले आविष्कार होला ?

झन्डै ८० कम्पनी तथा संस्थाहरू हाल कोरोना विरुद्धको खोपको आविष्कारमा लागि परेका छन् । त्यसमा झन्डै ५ वटा कम्पनीहरूले मानिसमा खोपको परीक्षण गरी सकेका छन् ।

तर कुनै कम्पनीहरूले १८ महिना भन्दा पहिला खोप ल्याउन सकिने दावा गर्न सकेका छ्रैनन । अर्को समस्या भनेको यो भाइरसले आफ्नो जेनेटिक रूप परिवर्तन गरिरहेका हुँदा खोप पत्ता लागे पनि अर्को रूपमा यसले आक्रमण नगर्ला भन्न सक्ने अवस्था छैन ।

फेरी खोपको क्लिनीकल ट्रायल ३ चरणमा हुने हुँदा यो आफैमा लामो समय हो । खोप विज्ञहरूको भनाई छ की अन्तिम अवस्थामा सबै परीक्षणहरू काम नलाग्ने पनि हुन्छ ।

समाजलाई बन्धक बनाएर हामी कतिन्जेल बाँच्ने ?

यस परिपेक्षमा सहजै अनुमान गर्न सकिन्छ अबको कोरोना सुरक्षाको रणनीति सामाजिक दुरी हुनै सक्दैन । समाजलाई बन्धक बनाएर विश्वका मानिसहरू कतिन्जेल बाँच्ने ?

नेपालको मुख्य आर्थिक श्रोत कृषि, वैदेशिक रोजगार र पर्यटन हो । यी तिनै आर्थिक क्षेत्र धारादायी हुने अबस्थाछ ।

यस वर्षको बजेटमा कृषिलाई महत्त्व दिएर बजेट त आएको छ तर विगत वर्षहरू जस्तो हाम्रो कार्यान्वयनमा हुने कमजोरीले अहिले नै यो वर्षको अवस्था आकलन गर्न सकिँदैन । हामीले कृषिलाई केही त्राण दिन सक्यौ भने कहीँ हदसम्म देशको आर्थिक अवस्थालाई थेक्न सकिएला नत्र भोकले मृत्यु वरण गर्नेहरूको सङ्ख्या गन्नु पर्ने दिन आउन सक्नेछ ।

तर वैदेशिक रोजगार र पर्यटन पूर्णतः धारासयी हुने निश्चित । आर्थिक विकासको तिन खम्बामा देखिएको यो जर्बजस्त प्रभावले बेरोजगारी भयावह हुनेछ ।

अन्य मध्यम स्तरीय व्यवसायहरू लकडाउनको कारण पूर्णतः बन्द रहेको छ । जसले गर्दा नेपालको आर्थिक गतिविधि पूर्णतः लकडाउनको अवस्थामा छ भने यस प्रकारको व्यवसायहरूको बन्दिले गर्दा लाखौँ बेरोजगार थपिएको छ ।

जम्मा जम्मी २ महिनाको लकडाउनमा लाखौँ मानिसहरू एक छाक खानको लागी भिख माग्नु पर्ने अवस्था देखिएको छ । ५ किलो चामलको लागी जम्मा हुने भिड नियन्त्रण गर्न प्रहरीले हवाई फायर गर्नु पर्ने अवस्था छ । हामीले यो अवस्थालाई कतिन्जेल थेक्न सक्छौँ ?

कोरोनाको ५ तथ्य अति महत्त्वपूर्ण ।

पहिलो- यो भाइरस अति कमजोर तर अति छिटो फैलिन सक्छ ।

दोस्रो- यसको असर ६० वर्ष भन्दा बढी उमेर समूहका विभिन्न रोगसँग लडिरहेका बिरामी र अति कमजोर रोगसँग लड्ने क्षमता भएको व्यक्तिलाई बढी असर गर्दछ ।

तेस्रो- यसको मृत्यु दर अन्य भाइरसको तुलनामा अति कम छ ।

चौथो- यो भाइरस हावाबाट सर्दैन र मुख, नाक र आँखाबाट मानिसको शरीरमा प्रवेश गर्दछ ।

पाचौं- ५६ डिग्री भन्दा तातो पानी र मानिसको पेटको रसायनले पनि यस भाइरसलाई मार्न सक्दछ ।

यी माथिको ५ आधारलाई आधार मानेर हामीले कोरोनासँग लड्ने रणनीति बनाउन जरुरी छ । हामीलाई लकडाउनको अनुभवले सिकाएको छ, लकडाउनले यसको सङ्क्रमण रोक्ने होइन । नत्र आज नेपालमा कुनै पनि सङ्क्रमित नहुनु पर्ने थियो ।

हामी २० घण्टा लकडाउनमा बस्ने अनि बिहान बेलुका बजारमा हुलका हुल लकडाउन खुलेपछि तँछाडमछाड गरी शारीरिक दुरी कायम नगर्ने हो भने त्यही १ घण्टामा मै यसले हजारौँमा सङ्क्रमण गरी सकेको हुन्छ ।

यहाँ हामीले प्रस्ट हुनु पर्ने कुरा सङ्क्रमितसँगको शारिर र सङ्क्रमितहरूले छोएको बस्तु, थुकहरूसँग संसर्ग भयो भने यो अर्कोमा सर्ने हो । यस कारण यसको सङ्क्रमणबाट बाँच्ने मुख्य आधार नै शारीरिक दुरी कायम गर्नु र सङ्क्रमितहरूको संसर्गमा रहेको बस्तुहरू प्रयोग गर्दा होसियार रहनु नै हो ।

अब के गर्ने ?

शारीरिक दुरी कायम गर्ने : त्यस्ता धेरै देशहरू छन् जसले पूर्ण लकडाउन जस्तो सामाजिक दुरी प्रयोग नगरी कोरोनालाई नियन्त्रणमा लिएका छन् । ती मुलुकहरू जस्तो दक्षिण कोरिया, सिंगापुर, ताइवान, इजरायल, जर्मनी, आइसल्यान्ड, नर्वे, न्यूजल्याण्ड लगायत देशहरूले आर्थिक तथा सामाजिक गतिविधिलाई अगाडि बढाएर कोरोनासँग लडिरहेका छन् ।

हामीले पनि कामलाई निरन्तरता दिने तर कामको रणनीति परिवर्तन गर्ने । कार्यालय जानै पर्ने अवस्थामा बाहेक घरबाट नै काम सुरु गर्ने, सबै कार्यालयहरू मुख्यतया नेपाल सरकारले जनताहरूलाई दिने सेवाहरू जति सकिन्छ अनलाइनबाट उपलब्ध गराउने र अन्तमा जानै पर्ने समयमा कार्यालयमा उपस्थित हुने व्यवस्था गर्ने ।

एक अर्को बिच सामाजिक दुरी र सुरक्षा विधि अपनाउने साथै डर र भयको वातावरणलाई पूर्णतः निस्तेज पारि सहज रूपमा काम गर्ने वातावरण बनाउनु अत्यन्त जरुरी छ ।

परीक्षण परीक्षण परीक्षण : ती देशहरूको अनुभवले देखाउँछ यसको मुख्य आधार टेस्ट र शारीरिक दुरी नै हो । हामीले देशको अरबौँ आर्थिक गतिविधिलाई बन्धक बनाउने भन्दा करोडौँ खर्च गरेर आमरुपमा कोरोनाको टेस्ट गर्ने र पोजेटिभ देखिएहरुको लागी आइसोलेसनमा राख्ने नीति अवलम्बन गर्नुपर्छ ।

संरक्षित समूहलाई आइसोलेसनमा राख्ने : यो भाइरस ६० नाघेका वृद्धबृद्धा, विभिन्न रोगहरूसँग लडिरहेका दिर्घरोगीहरु, कुपोषणले ग्रसित सबै समूहका व्यक्तिहरू जसको रोगसँग लड्ने क्षमता कमजोर भएकाहरूमा सङ्क्रमण भयो भने उनीहरूको ज्यान उच्च जोखिममा रहने प्रस्ट भएको छ ।

यस अवस्थामा जर्मनीले जस्तै हामीले यी जोखिम समूहलाई पूर्ण रूपमा केही समयका लागी आइसोलेसनमा राखेर स्याहारको व्यवस्था मिलाई ती समूहलाई सङ्क्रमण हुनबाट
बचाउने ।

अन्तमा,

अबको समय शारीरिक दुरी सहितको आर्थिक, सामाजिक गतिविधि गर्ने हो । जसबाट हामीले आफूलाई सफा सुग्घर हुन र रहन सिकाउनेछौँ । सामाजिक गतिविधि रोक्ने होइन की सङ्क्रमणलाई रोक्ने विधि अपनाउनु पर्दछ । त्यो भनेको परीक्षण हो ।

जब परीक्षण हुन्छ तब थाहा हुन्छ भाइरस कहाँ छ । क्वारेनटाइन आइसोलेसनको नाममा परीक्षण विना हजारौँ मानिसलाई मनोवैज्ञानिक त्रासमा राखेर सामाजिक गतिविधि ठप्प पारेर नत भाइरसको अवस्था थाहा हुन्छ न सङ्क्रमण नै रोक्न सकिन्छ । यसले क्वारेन्टाइनबाट मनोवैज्ञानिक त्रासको बिच भाग्नु पर्ने अवस्था सिर्जना हुन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments