मदन भण्डारीलाई सम्झदा

शनिबार, जेष्ठ ४, २०७६



- डा. गोविन्द बहादुर थापा

हरेक वर्षको जेठ ३ गते नेपालीहरुले एउटा व्यक्तित्वलाई झलझली स्मरण गर्दछन् ।  उक्त व्यक्तित्व अरु कोहि नभएर मदन भण्डारी हुन् । मदन भण्डारी नेपाली राजनीतिको खुला रंगमञ्चमा उदाएको वा सार्वजनिक भएको धेरै समय भएको थिएन । यो २०४७/४८ सालतिरको कुरा हो । उनका २/४ वटा सार्वजनिक भाषणले नै उनलाई चर्चित बनाएको थियो । मानिसहरुले उनलाई प्रत्यक्ष रुपमा देखेका हुदैनथे तर मानिसहरु उनको बारेमा सुनेकै भरमा चर्चा गर्ने गर्दथे । टुडिखेलको खुलामञ्चमा उनले बोल्न थालेपछि मात्र मानिसहरुले उनलाई खुला रुपमा देख्न पाएका थिए ।

उनको बारेमा बुझिएको र केहि मात्रामा अनुभव समेत गरिएको कुरा के थियो भने मदन भण्डारीमा पार्टी चलाउने सहि दृष्टिकोण थियो । उनले पार्टी राजनीतिमा रहेका सम्पूर्ण नेता कार्यकर्ताकाे गुण दोषको आधारमा मुल्याङ्कन गर्ने र क्षमताको आधारमा कामको जिम्मेवारी दिने गर्दथे । उनमा सकेसम्म सबैलाई समेट्ने, पार्टीलाई ठुलो र शक्तिशाली बनाउने धुन थियो । उनमा कुनै बडप्पन र आडम्बरको आग्रह (कम्प्लेक्स) पटक्कै थिएन । उनको वाक पटुताले मानिसहरुलाई मन्त्रमुग्ध पार्दथ्यो । कतिपय उच्चतहका काँग्रेसी नेताहरु पनि उनको भाषण लुकिलुकि सुन्दथे । त्यसले गर्दा छोटो समयमा नै उनको लोकप्रियता यसरी बढेको थियो कि उनको भाषण सुनेर आउने मानिसहरु हप्तौसम्म त्यसको चर्चा गरेर थाक्दैनथे । उनको भाषण यति तर्कसंगत हुन्थ्यो कि त्यो सुनेर बिरोधीहरु पनि ‘त्यो त हो’ नभनि रहन सक्दैनथे । उनका तर्कसंगत भाषणबाट नै माले (एमाले) मा सयौं हजारौं बुद्धिजीवि तथा समाजका अगुवाहरु आकर्षित भएका थिए । उनको भाषण सुन्न कर्मचारीहरु (म समेत) कार्यालय छोडेर कार्यक्रम स्थल पुग्दथ्याै । मदन भण्डारीको भाषण छ भनेपछि मानिसहरु लुँडो लाएर ओहिरिन्थे ।

उनको भाषणको प्रमुख बिशेषता के हुन्थ्यो भने उनले समसामयिक राजनीतिक अन्योल र विवादका बारेमा तार्किक हिसावले विश्लेषण गर्दथे ।  देश र जनताको निमित्त उपयुक्त के हो भन्ने कुरा आकर्षक ढङ्गले प्रस्तुत गर्दथे । जसमा सबैको चित्त बुझ्दथ्यो र त्यो नै सम्बन्धित बिषयमा पार्टीको दृष्टिकोण हुन्थ्यो । २०४७/४८ जन आन्दोलनबाट पञ्चायत ढलेको र नयाँ लोकतान्त्रिक संविधान बन्दै गरेको समय थियो ।

त्यसैले संविधान निर्माणको सम्बन्धमा अनेक थरिका विवाद सार्वजनिक हुन्थे । दरबार र लोकतान्त्रिक दलहरुकाबीच तानातान भइरहन्थ्यो, नेपाली काँग्रेस र वाममोर्चाबीच पनि रस्साकसी चलिरहन्थ्यो । अन्तरिम सरकारलाई संविधान निर्माण गर्ने र त्यस अन्तर्गत आम निर्वाचन गर्नको निमित्ति एक वर्षको समय प्राप्त थियो । त्यसैले देशमा चर्को राजनीतिक सरगर्मी थियो । देशमा हरबखत के होला, कसो होलाको कौतुहलपूर्ण परिस्थिति थियो । कहिले कहि त वातावरण तनावपूर्ण पनि हुने गर्दथ्यो । त्यस्तो परिस्थितिमा मदन भण्डारीको भाषण हुन्थ्यो र उनले आफ्नो भाषण मार्फत राजनीतिक वृतभित्र कस्तो खिचडि पाकिरहेको छ भन्ने बारेमा छर्लङ्ग हुने गरी जनसमक्ष राख्दथे र हुनु पर्ने के हो भन्ने सम्बन्धमा पनि पर्याप्त प्रकाश पार्दथे । त्यो सुने पछि मानिसका मनमा भएका आशंका, त्रास र अन्योल छर्लङ्ग र हलुङ्गो हुने गरी हट्थ्यो । त्यसपछि मानिसहरु शान्तसँग सुत्न सक्दथे ।

नेपाली राजनीतिमा मदन भण्डारीको सबैभन्दा महत्वपूर्ण योगदान नेपालको कम्युनिष्ट आन्दोलनलाई शान्तिपूर्ण बाटोमा लैजानु हो भन्ने मलाई लाग्दछ । साथै नेपालको समग्र राजनीतिलाई जनपक्षीय पार्ने कुरामा पनि उनको दोस्राे महत्वपूर्ण योगदान थियो । सोभियत संघको विघटन भई विश्व कम्युनिष्ट आन्दोलनले गम्भिर धक्का खाएको अवस्था थियो । विश्वमा गैह्र कम्युनिष्ट शक्तिहरु हावि हुन थालेको स्थिति थियो । चारैतिर कम्युनिष्टहरु प्रतिरक्षात्मक अवस्थामा पुगेका थिए । कम्युनिष्टहरुको लागि त्यस्तो अप्ठ्यारो परिस्थितिमा उनले जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त प्रतिपादन गरी कम्युनिष्टहरुले शान्तिपूर्ण बाटोबाट पनि विपन्न, उत्पीडित, शोषित र सिमान्तकृत जनता, समुदाय र क्षेत्रको मुक्ति हासिल गर्न सकिन्छ भन्ने बाटो देखाए । वास्तवमा जबज नेपालको सन्दर्भमा मात्र नभई विश्व कम्युनिष्ट आन्दोलनको सन्दर्भमा पनि उत्तिकै प्रभावकारी मार्ग दर्शन हो । त्यसै आधारमा नेपालमा कम्युनिष्टहरु शक्तिशाली हुँदै आए । तत्कालीन माओवादीहरु हिंसात्मक बाटो छोडेर शान्ति प्रकृयामा आउनुले पनि जबजको सच्चाईलाई पुष्टि गरेको छ ।

दिइएको एक वर्ष भित्रै नयाँ संविधान निर्माण गरि त्यसको आधारमा आम निर्वाचन गर्न सफल अन्तरिम सरकारका लोकप्रिय  प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई र काठमाण्डौ महानगरपालिकाका पूर्व मेयर हरिबोल भट्टराईलाई लोकतन्त्र पुनःस्थापना पछिको पहिलो प्रतिनिधि सभाको निर्वाचनमा पराजित गरेपछि मदन भण्डारीको लोकप्रियता शिखरमा पुगेको थियो । यो उनको देशभक्ति, अधिकतम् रुपमा जनपक्षीय दृष्टिकोण, वैचारिक स्पष्टता, सबैलाई समेट्ने उदात्त कार्यशैली र चमत्कारिक वाकपटुताले जनतामा पारेको अमिट प्रभावको परिणाम थियो । त्यो चुनावको परिणाम आएपछि अमेरिकाबाट प्रकाशित हुने प्रशिद्ध अग्रेजी साप्ताहिक पत्रिका न्युज विकले  ईन नेपाल, ‘कार्लमाक्र्स लिभ्स’शीर्षक दिएर मदन भण्डारीको अन्तर्वार्ता छापेको थियो ।

२०५० साल जेठ ३ गते चितवनको दास ढुङ्गामा रहस्यमय तरिकामा भएको जिप दुर्घटनामा उनको र पार्टीको संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भएपछि तत्कालीन राजा बीरेन्द्रले एक सच्चा देशभक्तको देहावसान भएको भनेर समवेदना सन्देश जारी गरेका थिए । सामान्य जनताको छोरा (नेता) को मृत्युमा तत्कालीन राजाले समवेदना दिएको त्यो पहिलो घटना थियो । यस्तो थियो मदन भण्डारीको चमत्कारिक व्यक्तित्व !

त्यसपछिको एमाले पार्टीले जबजलाई नै मार्ग दर्शक सिद्धान्त मानेर अगाडि बढ्यो र यहाँ सम्म आईपुग्यो । वास्तवमा पार्टी र पार्टीको सरकारले जबजलाई आत्मसात गरेर त्यसको मर्म अनुसार काम गर्ने हो भने छोटो समयमा नै देशको कायापलट हुन सक्दछ । तर जबज रट्ने काम भने मनोगत ढंगले गर्ने परम्परा बसेकोले सरकारको काम कारवाहि प्रभावकारी र अपेक्षा अनुसार हुन नसकेको हो । तर पनि जबजको महत्व र उपादयता अहिले पनि उत्तिकै सान्दर्भिक छ ।

माओवादीसँगको पार्टी एकीकरण पछि जबजको उपयुक्तता र सान्दर्भिकताको सम्बन्धमा चर्चा हुन थालेको छ । हिजो जबजको सम्बन्धमा ‘फुलस्टप र कमा’ समेत परिवर्तन हुन सक्दैन भनेर अडान लिनेहरुबाट नै अहिले आएर एकाएक जबज गीता वा बाईबल जस्तो जडशुत्र होईन भन्न थालेका छन । हेर्दै जाउँ, अरु के के देख्न र सुन्न पाईन्छ !

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata