चिनिया क्रान्तिका नायक तथा आधुनिक चीनका महानायकः तङ स्याओफिंग

सोमवार, चैत्र १२, २०७४



- रमेश हतुवाली

आधुनिक चीनका निर्माता तङ स्याओफिंगको जन्म सन् १९०४ मा चीनको सछुवान प्रान्तस्थित क्वाङआन गाउँमा भएको थियो । उनी मध्यमवर्गीय किसान परिवारमा जन्मिएका थिए । उनका बाबु तङ वनमिङले सछुवान प्रान्तको सदरमुकाम छन्तूस्थित एक विश्व विद्यालयबाट काननू तथा राजनीतिशास्त्र विषय अध्ययन गरेका थिए ।

तङ स्याओफिंग वालकै हुँदा उनकी आमा तानको मृत्यु भएको थियो । तङ स्याओफिंग परिवारका पाँचौ सन्तान थिए । उनका तीन दाजुभाइ र तीन दिदीवहिनी थिए । तङ स्याओफिंगको पारिवारीक जीवन पनि अचम्मकै थियो । उनकी पहिली पत्नी उनकै सहपाठी थिईन जो रुसको राजधानी मस्कोस्थित एक विद्यालयकी विद्यार्थी थिईन । जसको निधन २४ वर्षकै अल्पआयुमा भएको थियो । उनले एक छोरीलाई जन्म दिएकी थिईन तर उनी पनि शिशु अवस्थामै आमाकै प्रिय भईन । उनकी दोस्री पत्नी चीन वईयिङ थिईन । १९३३ मा तङ स्याओफिंग राजनीतिक आक्रमणमा परेपछि उनले तङ स्याओफिंगलाई छाडेकी थिईन । उनकी तेस्री पत्नी चीनको युननान प्रान्तस्थित एक उद्योगपतिकी छोरी थिईन । उनी १९३८ मा चिनिया कम्युनिष्ट पार्टीकी सदस्य समेत भईन । त्यसको केही वर्षपछि उनले यान आन पहाडस्थित गुफामा अध्यक्ष माओको उपस्थितीमा तङ स्याओफिंगसँग विवाह गरिन । उनीहरुको साथबाट तीन छोरी(तङ लिन, तङ नान र तङ रोङ) र दुई छोराहरु( तङ फुफाङ र तङ चफाङ) को जन्म भएको थियो ।

ग्रामिण परिवेशमा हुर्किएका तङ स्याओफिंग कुनै समय चीनमा दशकौं सम्म दन्किएको जनवादी क्रान्तिका महान सिपाही थिए । सिंगो महाचीनमा फैलिएको चिनिया क्रान्तिको मशाललाई उनले अविचलित रुपमा वर्षौ सम्म उठाईरहे । चिनिया कम्युनिष्ट पार्टीका अध्यक्ष माओ चतोंगको नेतृत्वमा १९४९ मा नयाँ चीन स्थापना भएपछि तङ स्याओफिंग विभिन्न समयमा उच्च राजनैतिक पदहरुको जीम्मेवारीमा समेत पुग्न सफल भएका थिए । चीनको जर्जर आर्थिक अवस्थालाई सुधार गर्दै समृद्ध मुलुक निर्माणको क्रममा तङ स्याओफिंगमद्वारा १९७८ मा प्रतिपादीत सुधार र खुलापनको नीति लागू भए पश्चात तङ स्याओफिंग एकाएक आधुनिक चीनका नायक भए । यद्यपी पार्टी अध्यक्ष, राष्ट्रपति र प्रधानमन्त्री जस्ता पदको जीम्मेवारी नसम्हाले पनि उनी १९७८ देखि १९८३ सम्म चिनिया जनराजनैतिक परामर्श दात्री सम्मेलनका अध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष(१९८३–१९९०), चिनिया कम्युनिष्ट पार्टीका उपाध्यक्ष(१९७७–१९८२), चिनिया कम्युनिष्ट पार्टी केन्द्रीय सैन्य विभाग प्रमुख(१९८१–१९८९) जस्ता पदहरुको जीम्मेवारी सम्हालेका थिए ।

तङ स्याओफिंगलाई पाँच वर्षकै उमेरमा घर नजिकैको एक परम्परागत विद्यालयमा भर्ना गरिएको थियो भने उनी सात वर्षको हुँदा आधुनिक विद्यालयमा भर्ना गरियो । उच्च शिक्षा अध्ययनको सिलसिलामा १९२० मा फ्रान्स पुगेका तङ स्याओफिंग त्यही माक्सवाद र लेनिनवादबाट प्रभावित भए । १९२३ मा चिनिया कम्युनिष्ट पार्टीको सदस्य भई साङहाईमा पार्टी संगठनमा आवद्ध भए । तत्पश्चात चिनिया लालसेनाको राजनीतिक कमिसारको रुपमा ग्रामिण क्षेत्रको नेतृत्व गर्दै”revolutionary veteran” लामो यात्रा मा सरिक हुँदै नयाँ चीन स्थापनाको महान क्रान्तिमा होमिए । सो अभियानमा उनले चीनको दक्षिण तथा तिब्बतमा कम्युनिष्ट अभियानलाई सवल बनाउन सहयोग गरे ।

१९५० मा पार्टी महासचिवको जीम्मेवारी सम्हाल्दै तङ स्याओफिंगले दक्षिणपन्थि विचार विरुद्ध चीनको आर्थिक पुनःनिर्माण कार्यमा चीनको व्यवहारिक जीम्मेवारी वहन गरे । जसको परिणाम स्वरुप १९५७ देखि १९६० सम्म “लामो फड्को अभियान” मा चीन होमियो । तर यो अभियानका नीतिहरु अध्यक्ष माओका राजनीतिक विचारका अगाडी अनौठा सावित भए । त्यसैकारण यो अभियानलाई साँस्कृतिक क्रान्तिताका उल्टाईयो । जसले गर्दा “लामो फड्को अभियान” अगाडी बढ्न सकेन । १९७६ मा माओको मृत्यु पश्चात ह्वा कोफङको नेतृत्वमा जान लागेको पार्टी नेतृत्वलाई सच्याउँदै कम्युनिष्ट विचारधाराप्रतिका कमजोरीहरु र विग्रदै गएको समाजिक सद्भावलाई समेत सही धारमा ल्याउँदै १९७८ मा उनी चीनको दोश्रो पुस्ताका उच्च नेता भए ।

हाल तङ स्याओफिंगलाई चिनिया विशेषतायुक्त व्यवहारीक समाजवादी वजार अर्थतन्त्र निर्माणका प्रमुख योजनाकार मानिन्छ । तङ स्याओफिंगले चीनलाई विश्व वजारमा विदेशी लगानीका लागि खुल्ला गरे । जसको कारण चीनको दु्रततर आर्थिक विकास र करोडौं चिनिया जनताको आउदो कैयौं पुस्ताको जीवनस्तर उकास्नको लागि गहन नीतिहरु प्रतिपादन गरेको जस उनलाई जान्छ । हुन त १९८९ मा राजधानी पैचिंगको थिआन आन मन चौकमा भएको विद्यार्थी आन्दोलन दमनको आरोपबाट उनी पनि अछुतो रहन सकेनन् । तर पनि चीनको दक्षिण क्षेत्रको आर्थिक सुधारलाई तिब्रता दिन उनले १९९२ मा सुरु गरेको दक्षिण क्षेत्रको यात्रा, १९९७ मा हङकङ र १९९९ मा मकाओलाई मातृभूमि चीनमा फर्काउन उनले प्रतिपादन गरेको “एक देश, दुई व्यवस्था”को नीतिका कारण उनी चीनया जनताका प्रिय नेता हुन सफल भएका छन् । तङ स्याओफिंग १९७८ र १९८५ मा वर्ष पुरुष समेत घोषणा भएका थिए ।

तङ स्याओफिंगलाई चिनिया जनता माओ पछिका दोश्रो ठूलो नेता मान्छन् । चिनिया कम्युनिष्ट पार्टीका दोश्रो पुस्ताका उच्च नेता तङ स्याओफिंगको निधन १९९७ फेबु्रअरी मा ९२ वर्षको उमेरमा भएको हो । छोङ्गछिङ्गबाट माध्यमिक तह उत्तिर्ण गरेपछि उनका बुबाले तङ स्याओफिंगलाई उच्च शिक्षा अध्ययनको लागि काकासँग फ्रान्स पठाउने निर्णय गरे । फ्रान्स जाने अघिल्लो दिन वेलुकी तङ स्याओफिंगका साथीहरुबाट अलि पर लैजादै उनका बुबाले तङ स्याओफिंगलाई तिमी किन फ्रान्स जाँदैछौं भनी प्रश्न गरे । तङ स्याओफिंगले उनका शिक्षकले सिकाएको जवाफ स्मरण गर्दै भने “म पश्चिममा सिकेको ज्ञान र सत्यलाई चीनको सुरक्षामा समर्पित गर्छु ।” तङ स्याओफिंगको जवाफबाट उनका बाबु प्रफुल्लित भए । १९२० मा तङ स्याओफिंग ८० जना सहपाठीसँगै पानी जहाज चढेर फ्रान्सतर्फ हान्निए । तङ स्याओफिंग फ्रान्समा चिनिया विद्यार्थीहरुको लागि १९२७ सम्म सञ्चालन हुने उच्च शिक्षा अध्ययन परियोजना अन्तर्गत गएका थिए । सो परियोजनाले चार हजार एक जना विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरेको थियो । फ्रान्समा पुगेपछि उनको डब्फामा २१० जना सहपाठी भए । उच्च शिक्षा अध्ययनको लागि फ्रान्स पुगेपनि उनले अध्ययनबाट उब्रिएको सम्पूर्ण समय श्रम गर्नमा प्रयोग गरे । जसले उनलाई मेहनती बनाउन सिकायो । जुन मेहनत चिनिया क्रान्तिको लागि सहायकसिद्ध भयो ।
स्वदेश फिर्ता

१९२७ मा तङ स्याओफिंग मस्को हुँदै स्वदेश फर्किए । तत्पश्चात उनी उत्तरपश्चिम चीनमा फङ युस्याङको नेतृत्वमा रहेको जनसेनामा भर्ना भए । फङ युस्याङको नेतृत्वमा रहेको जनसेनालाई तत्कालिन सोभियत संघले सहयोग प्रदान गरिरहेको थियो । त्यसैगरी सो नेतृत्वलाई गणतन्त्र चीनका संस्थापक सन् यात्सेनले स्थापना गरेको कोमिन्ताङ पार्टी{ Kuomintang (KMT) Party का देशभक्त कार्यकर्ताहरुको समेत समर्थन थियो । तर दुर्भाग्य फङ युस्याङको नेतृत्वको गठबन्ध लामो समय टिक्न सकेन । तत्कालिन चिनिया शासक च्याङ काईसेकको प्रभावले सो गठबन्धन छिन्नभिन्न भयो । फङ युस्याङ च्याङ काईसेकसँग मिले । जसले गर्दा तङ स्याओफिंग र उनका साथीहरु त्यहाँबाट भाग्न बाध्य हुनुपर्यो । त्यसपछि तङ स्याओफिंगले चीनको क्वाङसी प्रान्तमा पुगी “पाईस विद्रोह”को नेतृत्व गरे । जसको मूल उद्देश्य कोमिन्ताङको सरकारलाई उल्टाउनु थियो । तर सो विद्रोह सफल नभएपछि तङ स्याओफिंग दक्षिणपूर्वी चीनको च्याङसीमा रहेको सोभियत प्रभाव क्षेत्रमा गए ।

तङ स्याओफिंगको राजनीतिक उदय

तङ स्याओफिंग वास्तवमा चिनिया जनमुक्ति सेनाका वहादुर सिपाही थिए । तर इतिहासकार मोपो काओ उनलाई माक्सवादी भन्दा पनि देशभक्त क्रन्तिकारी थिए भन्न रुचाउँछन् । उनको भनाई अनुसार तत्कालिन अवस्थामा कम्युनिष्ट पार्टीको नेतृत्वबाट नै राष्ट्रिय स्वाभिमान बचाउन सम्भव हुने भएकोले कम्युनिष्ट हुनु तङ स्याओफिंगको बाध्यता थियो ।
साङहाई र उहानमा तङ स्याओफिंगको सक्रियता

फङ युस्याङसँगको गठबन्धन टुटेपछि तङ स्याओफिंग तत्कालिन कम्युनिष्ट पार्टीको मुख्यालय रहेको उहान शहर तर्फ लागे र आफ्नो उपनाम स्याओपिङ राखेर पार्टीको मुख्य नेतृत्व लिए । उनले ७ अगस्त १९२७ मा सोभियत संघ निर्देशित ऐतिहासिक आपतकालिन वैठकमा भाग लिए । जुन वैठकले छन तुसिउलाई हटाई छिउ छिउपाईलाई महासचिव बनायो । सोही स्थानमा माओसँग तङ स्याओफिंगको पहिलो भेट भयो । तर त्यो वेलासम्म सोभियत समर्थकहरु माझ माओको त्यत्ति धेरै प्रभाव थिएन । १९२७ देखि १९२९ सम्म तङ स्याओफिंगले साङहाईमा रही कोमिन्ताङ सरकारको विरुद्धमा प्रतिकार गरिरहे । सो प्रतिकारमा थुप्र्रै कम्युनिष्ट कार्यकर्ताहरुको सहादत भएकोले उनीहरुको संख्या क्रमस घट्दै गयो । तथापी तङ स्याओफिंग क्रमिक रुपमा पार्टीको उच्च नेतृत्वमा पुग्दै गए । सोही समयमा उनले मस्कोमा भेटेकी सहपाठी चाङ सियुआनसँग विवाह गरे ।
क्वाङसीमा सैन्य अभियान
क्वाङसीमा गरिएको सैन्य अभियानमा च्याङ काईसेकका सेनाको उच्चताले गर्दा कम्युनिष्ट सेनाहरुको हताहती बढ्यो । जसको कारणले तङ स्याओफिंगको नेतृत्व असफल भएको मान्न थालियो, र उनको नेतृत्वप्रति आशंका पैदा हुन थाल्यो । यस अवधिलाई तङ स्याओफिंगको जीवनको एउटा दूभाग्यपूर्ण अवधि मान्नु पर्छ । परिणाम स्वरुप उनलाई कुनै कारवाही नै त गरिएन तर पार्टी नेतृत्वको जीम्मेवारीबाट भने १९३१ मार्च पछि पछाडी धकेलियो । जसको कारण उनले कम्युनिष्ट सेनाको सातौं बटालियनबाट हात धुनु पर्यो । तत्कालिन भूमिगत कम्युनिष्ट नेताहरुले तङ स्याओफिंगलाई कारवाही गरे भन्ने खालका कुराहरु आएता पनि सो अवधिको प्रस्ट जानकारी भने पाउन सकिएको छैन । तर पनि सो अवधिमा उनीबाट भएका नेतृत्वको कमजोरीलाई साँस्कृतिक क्रन्तिताका समेत ल्याएर जोड्ने गरियो ।
तङ स्याओफिंग सोभियत प्रभावित च्याङसीमा
पुनः साङहाई फर्कदा तङ स्याओफिंगले श्रीमति र छोरीको निधन भएको समाचार सुने । त्यति मात्र नभएर कोमिन्ताङ प्रतिरोधी संघर्षको क्रममा उनका धेरै पुराना साथीहरु पनि मारिएको खवर उनलाई सुनाईयो । राष्ट्रिय मुक्ति आन्दोलनको त्यो भयंकर अवस्थामा एकातिर सोभियत निर्देशित कार्यकर्ताहरु शहरी क्षेत्रका सर्वहाराबाट क्रान्ति सफल हुन सक्छ भन्ने मान्यता राख्थे भने अर्कोतिर माओ चतोंग ग्रामिण क्षेत्रका किसानहरुको सहभागीताबाट मात्र वास्तविक रुपमा क्रान्तिले लक्ष्य हासिल गर्ने पक्षमा वकालत गर्दथे । अन्तत्वगत्वा परिणाम माओकै पक्षमा आयो । उनको सोच र क्रान्तिकारी विचारलाई तङ स्याओफिंगले खुलेरै समर्थन गरे । आजको च्याङसी त्यहि क्रान्तिकारी भूमि थियो जहाँ कम्युनिष्टहरुले पहिलो पटक गणतन्त्रको झण्डा गाडेर कम्युनिष्ट राज्य सत्ता स्थापना गरेका थिए ।

जसलाई चिनिया सोभियत गणतन्त्र नाम दिईयो । च्याङसी प्रान्तको पहाडी क्षेत्रलाई आधार बनाउँनै कम्युनिष्टहरुले जनवादी राज्य सत्ता स्थापनाको सुभारम्भ मात्र गरेनन् कि उनीहरुले आफ्नै पैसा समेत सञ्चालनमा ल्याए । च्याङसीमा निर्माण गरिएको कम्युनिष्ट सरकार जुन कम्युनिष्ट प्रणालीको पहिलो सफल प्रयोग थियो । जसले आफ्नै मुद्रा, छाप र लेटर हेट प्रयोगमा ल्याएको थियो । तर पछि कोमिन्ताङ समर्थित सेनाहरुले च्याङ्सीमा डरलाग्दो आक्रमण गरे जसले आधार इलाकामा अकल्पनीय क्षती पुग्यो । १९३१ मा तङ स्याओफिंग सोभियत निर्देशित क्षेत्र रुईचिनमा पार्टी सचिव भए । त्यसैगरी १९३२ मा हुईछाङको जिम्मेवारी पनि उनलाई दिईयो । १९३३ मा तङ स्याओफिंगलाई च्याङसी प्रान्तिय पार्टी संगठनको प्रचार विभागको निर्देशक बनाईयो । सोही समयमा उनले साङहार्ईमा भेटिएकी एक युवती चीन वेईयिङसँग विवाह गरे । च्याङसीमा पार्टीको सफलता देखेपछि साङहार्ईका पार्टी नेतृत्वका नेताहरु च्याङसीतिर जान थाले । जसको कारण उनीहरुवीच प्रभावको प्रतिस्पर्दाले नराम्रो रुप लियो । अव दुवै खेमाले तङ स्याओफिंगलाई पछाडी हटाई माओको विचारलाई समर्थन गरे ।
लामो अभियान
१९३४ को अक्टोवर महिनामा गणतन्त्र चीनको विशाल सेनाले कम्युनिष्ट आधार क्षेत्र च्याङसीलाई घेराबन्दी गर्यो । जसको परिणाम स्वरुप चिनिया कम्युनिष्ट पार्टीको गतिमा विशाल मोड खडा भयो । त्यतिवेला आधार क्षेत्रहरु खाली गर्न निक्कै ठूलो जोखिम उठाउनु पर्ने बाध्यता थियो । किनकी चिनिया सेनाले आधार क्षेत्रका कुनै पनि स्थानलाई खाली छोडेको थिएन । त्यो कठिन अवस्थामा ८६ हजार कम्युनिष्ट सेनाहरुले सत्रुहरुको घेराबन्दी तोड्दै दुर्गम पहाडी क्षेत्रको बाटो पहिल्याउदै महान अभियान सुरु गरे । यस महाअभियानमा ३५ जना महिला र १५ हजार श्वयंसेवक पनि सहभागी थिए । जुन अभियान एक वर्ष पछि शान्सी प्रान्तको यान आन पहाडमा पुगेर समाप्त भयो । त्यतिवेला लगभग ८ हजार कम्युनिष्ट सेना मात्र सकुसल शान्सी पुग्न सफल भएका थिए ।

कति लडेर मरे, कति नदीमा वगे, कति भोग खप्न नसकी मरे, कति युद्धमा मारिए, कति हिउँमा कठाङग्रिए । चीन आमाका हजारौं छोराछोरी मातृभूमिको मुत्ति आन्दोलनमा जीवन उत्र्षग गर्दै अमर बने । दश हजार किलो मिटर लामो त्यो डरलाग्दो यात्रा, ४ हजार मिटर भन्दा अग्ला हिउँपर्ने ८ वटा पहाडहरु, २४ वटा उर्लेर वग्ने नदीहरु, दर्जनौ डरलाग्दा लडाई, घना जंगल, झाडीहरु, खाद्यान्न र यातायातको अभाव अनि त्यसमाथि हवाई जहाजबाट समेत सरकारी सेनाको आक्रमण । तर पनि कम्युनिष्ट सेनाहरुले हिम्मत नहारी झण्डै ७२ हजारको शहादत पछि यो विशाल यात्रा पुरा गरे । जुन यात्रा विश्व भरिकै कम्युनिष्ट आन्दोलनको लागी उदाहरणीय बन्यो । यो लामो यात्राको नेतृत्व माओ चतोङ, चाओ अनलाई, तङ स्याओफिंग, लिन प्याओ, चुत र फङ तह्वाईले गरेका थिए ।

लामो अभियानको सुरुको समयमा चुनयी मा सम्पन्न सम्मेलनले वोल्सेभिक समर्थित पो कु र वाङ मिङलाई नेतृत्वबाट हटाई माओलाई कम्युनिष्ट पार्टिको नेतृत्वको जीम्मेवारी दिईयो । जसबाट सोभियत समर्थित नेतृत्वको अन्त भई चिनिया ग्रामिण जनप्रभावित नेतृत्वको हातमा कम्युनिष्ट पार्टी पुग्यो । साथसाथै सोही समयमा तङ स्याओफिंग पुनः पार्टीको उच्च तहमा आउन सफल भए किनकी उनी निर्देशीत उत्तरी क्षेत्रमा पार्टीले गृहयुद्धमा कोमिन्ताङलाई परास्त गर्यो । साथ साथै कोमिन्ताङ र कम्युनिष्ट पार्टीबीच जापानी प्रतिक्रान्तिकारीहरु विरुद्ध एकजुट भएर लड्न एक ठाउँमा आउन वाध्य पार्यो ।
जापानी आक्रमण
१९३७ मा दोश्रो पटक चीन जापान युद्ध सुरु भयो । त्यो वेला तङ स्याओफिंग उत्तरमा कम्युनिष्ट नियन्त्रित क्षेत्रमा रहि कम्युनिष्ट सेनाको तिनवटा डिभिजनको उप राजनीतिक निर्देशक भएर काम गरे । १९३८ को जनवरीमा उनले १२९ औं डिभिजनको राजनीतिक आयुक्त भई काम गरे ।

दोश्रो जापान चीन युद्धमा तङ स्याओफिंगले शान्सी, हनान र हपै प्रान्तका सीमावर्ती क्षेत्रमा अग्रपंतिमा रहेर काम गरे । सो समयमा पनि उनी माओले स्थापना गरेको कम्युनिष्ट पार्टी नेतृत्वको आधार क्षेत्र रहेको यान आन मा माओसँग सम्पर्कमा रहीरहे । १९३९ मै यान आन भ्रमणको क्रममा उनले चुओ लिनसँग विवाह गरे । जुन उनको तेश्रो विवाह थियो । चुओ लिन कम्युनिष्ट विचारधाराबाट प्रभावित भई कम्युनिष्ट पार्टीको सदस्य हुन यान आन गएकी थिईन ।
पुनःदेशभक्त विरुद्धको युद्ध
दोश्रो जापान चीन युद्ध पछि तङ स्याओफिंग शान्ति वार्तामा भाग लिन छोङछिङ गए जुन ठाउँ च्याङकाई सेकको युद्धको वेलामा शासन गर्ने राजधानी थियो । तर वार्ताले सकारात्मक रुप नलिएपछि उनीहरुबीचमै द्वन्द सुरु भयो । जब च्याङकाई सेकले नानचिङमा आफ्नो राजधानी बनाए सो समयमा कम्युनिष्टहरु नानचिङलाई नियन्त्रणमा लिन युद्ध गरिरहेका थिए । छापामार शैलीमा गाउँ गाउँबाट आफ्नो प्रभाव बढाउदै गएका कम्युनिष्टहरुले च्याङकाई सेकका सेनामा रहेका राष्ट्रवादीहरुलाई आफ्नो सेनामा समावेश गर्न थाले । अन्तिम अन्तिम चरणमा आएर तङ स्याओफिंगले पुनः लिउ पोछङको नेतृत्वमा रहेको दोश्रो फिल्ड आर्मिको रणनीतिक तर्जुमाकारको जीम्मेवारी वहन गरे । जुन पछि कम्युनिष्ट पार्टीको सैद्धान्तिक आधार बन्न पुग्यो । र अन्तमा च्याङकाई सेक पराजित भई नयाँ चीन स्थापनामा सहयोगी सिद्ध भयो ।
माओको छत्रछाँयामा राजनीतिक व्यक्तित्व
१९४९ अक्टोवर १ मा नयाँ चीन स्थापना घोषणा सभामा तङ स्याओफिंग सहभागी भए । सो समयताका चीनको उत्तरी क्षेत्रमा कम्युनिष्टहरुको पकट भए पनि दक्षिणी क्षेत्रमा कोमिन्ताङको प्रभाव कायमै थियो । त्यसैले तङ स्याओफिंगलाई पश्चिम र दक्षिणको नेतृत्व कर्ताको हैसियतले अझै पनि केही काम गर्न बाँकी थियो । त्यसैले दक्षिण पश्चिम विभागको प्रथम सचिवको हैसियतले गर्दा तङ स्याओफिंग सामु नेतृत्वलाई चरमचुलीमा पुर्याउनु पर्ने जीम्मेवारी छँदैथियो । जसको फलस्वरुप उनले कोमिन्ताङ निर्देशित क्षेत्रलाई नियन्त्रण गर्नुपर्ने थियो । यसैवीच अर्कोवर्ष कोमिन्ताङको प्रभावबाट तिब्बत पनि मुक्त भयो । क्रमिक रुपमा कोमिन्ताङले क्वान्चौ छाड्नु पर्यो र छोङछिङलाई तात्कालिक प्रादेशिक राजधानी बनाउनु पर्यो । जहाँ तङ स्याओफिंगका रुस पढदाका सहपाठी तथा च्याङकाई सेकका छोरा छ्याङ छिङ खुओ ले कम्युनिष्ट सैन्यलाई रोक्ने प्रयास गरे । १९४९ नोभेम्वरमा कम्युनिष्ट सेना छोङछिङ कब्जामा लिई छन्तु प्रवेश गरे । त्यसपछि च्याङकाई सेक सत्ताको पूर्ण रुपमा पतन भएपछि तङ स्याओफिंग छोङछिङका पहिलो मेयर बने । १९५० मा कम्युनिष्ट सेनालाई जनमुक्ति सेनामा रुपान्तरण गरियो । जसले कोमिन्ताङप्रति झुकाव राख्नेलाई पनि दबाए भने तिब्बतलाई समेत जनमुक्ति सेनाले नियन्त्रणमा लियो ।

पैचिंगमा राजनीतिक उत्थान
१९५२ को जुलाईमा तङ स्याओफिंगलाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिईयो । साथै उनलाई वृत्तिय समितिको उपप्रमुख पद दिइयो । त्यस लगत्तै उनलाई अर्थ मन्त्री बनाईयो र सञ्चार विभागको निर्देशक पनि बनाईयो । १९५४ मा उनलाई अन्य जिम्मेवारीबाट हटाएर पूर्ण रुपमा उपप्रधानमन्त्रीको जिम्मेवारी दिईयो । १९५६ मा कम्युनिष्ट पार्टीको संगठन विभागको प्रमुख तथा केन्द्रिय सैन्य आयोगको सदस्य बनाईयो । माओ चतोंगप्रति पूर्ण वफादार तङ स्याओफिंगलाई १९५७ देखि प्रधानमन्त्री चाओ अनलाई र राष्ट्रपति लिउ साओछीको सानिध्यमा रहेर उनीहरुका आर्थिक विकासका नीतिहरुलाई प्रबद्र्धन गर्न योगदान गरे । लिउ साओछी र तङ स्याओफिंगले निर्माण गरेका आर्थिक सुधारका कार्यक्रमहरु निक्कै लोकप्रिय भए । जसले माओको पालाको ठूलो फड्को कार्यक्रमका कमजोरीहरुलाई समेत पुरा गर्यो । तर दुर्भाग्य के भयो भने तङ स्याओफिंग र लिउ साओछीको लोकप्रियताको अगाडी आफु कमजोर हुने ठानेर माओले राज्यको नियन्त्रणलाई आफ्नो हातबाट उम्कन नदिई क्रान्तिकारी गतिविधिलाई अगाडी बढाउन देशलाई साँस्कृतिक क्रान्तिमा होमे ।

जुन क्रान्तिको माध्यमबाट माओ सत्तामा विद्यमान पूँजीवादी अर्थतन्त्रमा झुकाव राख्नेहरु र दक्षिणपन्थि सोच राख्नेहरुलाई जरैबाट उखेल्न चाहान्थे । त्यसैले उनले तङ स्याओफिंगलाई पनि दक्षिणपन्थि पथ अंगाल्ने गुटको विल्ला भिराए । पूँजीवादी र दक्षिणपन्थि विचार राख्नेहरुलाई चीनमा उस बखत”capitalist-roaders” faction (Zouzipai) भनिन्थ्यो ।

साँस्कृतिक क्रान्ति
तङ स्याओफिंग र लिउ साओछीको सुधारवादी आर्थिक नीतिले चिनिया क्रान्तिलाई अन्त्य गर्दै पूँजीवाद स्थापना गर्छ भन्ने डरले माआेले १९६६ मा उनीहरुलाई मुख्य जिम्मेवारीबाट बर्खास्त गर्दै देशलाई साँस्कृतिक क्रान्तितर्फ होमे । साँस्कृतिक क्रान्तिको समयमा तङ स्याओफिंग र उनका परिवार लालसेनाको निगरानीमा थिए । उनका जेठा छोरालाई जेलमा हाली विभिन्न यातना मात्र दिईएन कि चारतले घरको झ्यालबाट समेत फालियो । जसको कारण उनको शरिर नचल्ने भयो । त्यतिमात्र नभएर १९६९ मा तङ स्याओफिंगलाई च्याङसी प्रान्तको सिनच्यान काउन्टीको एउटा ट्याक्टर फ्याक्ट्रीमा सामान्य मजदूरको काम गर्ने गरि पठाईयो । सो समयमा तङ स्याओफिंग फुर्सद भएमा सामान्यतया लेखहरु लेख्ने गर्थे ।

तत्कालिन सैन्य प्रमुख लिन प्याओको विमान दुर्घटनामा मृत्यु भएपछि तङ स्याओफिंगले सैन्य विभागको मुख्य जिम्मेवारी पाए । क्यानसरबाट पिडीत चौ अनलाईले १९७४ मा माओलाई अबको नेतृत्व तङ स्याओफिंगलाई दिनु पर्ने कुरामा विश्वस्त गराएपछि उनलाई प्रथम उपप्रधानमन्त्रीको जिम्मेवारी दिई दैनिक मामिला सञ्चालन गर्ने जिम्मेवारी दिईयो । तत्पश्चात तङ स्याओफिंगले मुलुकको उत्पादन वृद्धि गर्दै देशको आर्थिक पुननिर्माण गर्ने अभियानलाई जोड दिए । आफ्ना विचारसँग मेल नखाने माओका विचारहरुलाई पन्छाउदै तङ स्याओफिंगले आफ्ना विचारहरु दृढ रुपमा अघि बढाए । आफ्नो उदयको छोटो समयमा तङ स्याओफिंगले राजनीतिक अनुसन्धान विभागको स्थापना गरि तत्कालिन विद्वानहरु हु छ्याओमु, यु क्वाङ्गयुआन, हु सङलाई आर्थिक सुधारका नीतिहरुको अध्ययन गर्ने जिम्मेवारी सुम्पिए । जसको मुख्य उद्देश्य ग्याङ अफ फोरGang of Four_ चार गुटको समुहलाई निष्तेज पार्नु थियो ।

१९७५ सम्म आउँदा पनि साँस्कृतिक क्रान्तिको अन्त भैसकेको थिएन । चार गुटको विगविगी रहेको सो समयमा तङ स्याओफिंगलाई सो गुटका नेतृत्वकर्ताहरुले सँधै तङ स्याओफिंगको प्रभाव बढिरहेको ठानेर उनलाई आफ्नो कट्टर प्रतिद्वन्दी मानेर उनले लिएका केही निर्णयहरु वेठिक थिए भनि समय समयमा आत्मालोचना गर्न लगाईयो । त्यति मात्र नभएर पछि उनका कमिकमजोरीहरुको बारेमा पार्टीको केन्द्रीय समितीमा समेत उनलाई निचो देखाउने काम भयो ।

चौ अनलाईको १९७६ को जनवरीमा मृत्यु भएपछि पार्टीमा तङ स्याओफिंगको प्रभाव कम हुँदै गयो । जसको कारण चार गुटले माओको सहमतीमा तङ स्याओफिंगको विरुद्ध प्र्रचारवाजी गर्दै चौ अनलाईको उत्तराधिकारीको रुपमा ह्वा क्वोफङलाई अगाडी बढाए । सन् १९७६ को फेब्रुअरी २ मा तङ स्याओफिंगलाई तत्कालिन जिम्मेवारीबाट हटाई पार्टीको वैदेशिक मामिला हेर्ने सामान्य जिम्मेवारी प्रदान गरियो । फलस्वरुप उनी आफ्नो भाग्य पर्खेर घरमै बसिरहे । तत्कालिन राजनीतिक खिचातानीले तङ स्याओफिंगको आर्थिक सुधारका प्रारम्भिक योजनाहरु भताभुङ्ग भए । सोही सालको मार्च ३ तारिखको दिन माओ चतोङ्गले साँस्कृतिक क्रान्तिको वैधानिकता सम्बन्धि एक निर्देशिका जारी गर्दै सो क्रान्ति असफल हुनुमा तङ स्याओफिंग नै जिम्मेवार रहेको दोष लगाए । जसले सुधारवादी नेताको रुपमा स्थापित हुनै लागेका तङ स्याओफिंगको प्रतिष्ठामा डरलाग्दो धक्का लाग्यो । कुरो कहाँ सम्म भने १९७६ को छिङमिङ चाडको अवसरमा थिआन आनमन चौकमा सार्वजनिक रुपमै चार गुटले तङ स्याओफिंगको उज्यालो छविलाई धमिल्याउने प्रयास गरे । जसको परिणाम उनलाई पार्टिको साधारण सदस्य वाहेक का सबै जिम्मेवारीहरुबाट अलग गरियो ।

साँस्कृतिक क्रान्ति पश्चात तङ स्याओफिंगको पुनःउदय
१९७६ को सेप्टेम्वर ९ मा माओको निधन भएपछि ग्याङ फोरको प्रभाव कमजोर हुँदै गयो । माओको मृत्यु अघि तङ स्याओफिंगले उपप्रधानमन्त्रीको जिम्मेवारी मात्र प्राप्त गरेका थिए भने २२ जुलाई १९७७ मा तङ स्याओफिंग पार्टी केन्द्रिय कमिटिको उपाध्यक्ष, सैन्य आयोगको उपाध्यक्ष र जनमुक्ति सेनाको प्रमुख नियुक्त भए । उच्च नेतृत्व प्राप्त गरेका तङ स्याओफिंगले आफ्ना समर्थकहरुलाई सतर्कताको साथ परिचालन गरे । जसले उनको प्रभाव दिनानुदिन बढ्दै गयो । दिनानुदिन शक्ति केन्द्रको नेतृत्वमा पुगेका तङ स्याओफिंगले साँस्कृतिक क्रान्ति र माओकालीन समयका शक्तिशाली नेता ह्वा क्वोफङलाई उच्च जिम्मेवारीबाट मुक्त गर्दै पार्टीको केन्द्रीय सदस्यमा सिमित गरे ।

तङ स्याओफिंगलाई गुटहरुको षडयन्त्रमा पारी उपप्रधानमन्त्री पदबाट हटाई कारखानाको सामान्य मजदूर सम्म पुर्याएको तितो अनुभव थियो । तर उनी उच्च जिम्मेवारीमा पुगिसकेका नेताहरुलाई शारीरिक रुपमै क्षति पुग्ने सम्मको सजाय दिनु हुन्न भन्ने पक्षमा थिए । जसको परिणाम ह्वा क्वोफङलाई उनले शारिरीक क्षति नपुग्ने गरि पदीय जिम्मेवारीबाट मात्र मुक्त गरे । जुन उनको उच्च विवेक हो भन्दा फरक नपर्ला । १९७७ मा तङ स्याओफिंगले साँस्कृतिक क्रान्तिताका भएका गतिविधिहरुको समर्थन वा आलोचना गर्ने बाटो खुल्ला गर्दै सो क्रान्तिको अन्त गरे । साथै उनले वर्ग पृष्ठभूमि प्रणाली समेत अन्त्य गर्दै पुँजीपति र किसानवीच हुँदै आएको वर्गभेदको अन्त गर्दै निजी व्यापार प्रणालीको उत्थानको बाटो खुला गरे । सर्वसाधारण मानिसहरुलाई समेत साँस्कृतिक क्रान्तिको आलोचना गर्ने अवसर दिएर उनका विरोधीहरुलाई कमजोर पार्दै गए । जसले उनलाई व्यापक जनसमर्थन प्राप्त भयो ।

सो समर्थनको वलमा उनले पार्टीमा आफ्नो प्रभाव मजवुत बनाए र १९८० मा उनले ह्वाको फङलाई हटाई चाओ च्याङलाई प्रधानमन्त्री बनाई आफु सर्वोच्च नेताको रुपमा स्थापित भए । महत्वपूर्ण कुरो चाँही के छ भने तङ स्याओफिंग कतिपय महत्वपूर्ण निर्णयहरु पार्टीका उच्च आठ जना द्विग्गजहरुको समुहवीच आफ्नो घरमै गर्दथे । तत्पश्चात उनी मुलुकको कुनै पनि उच्च जिम्मेवारीमा नरहे पनि देशकै सर्वोच्च नेताको रुपमा भने स्थापित भईरहे । १९८७ पश्चात उनले राज्य तथा कम्युनिष्ट पार्टीको केन्द्रीय सैन्य आयोगको अध्यक्षको जीम्मेवारी भने वहन गरे । उनले माओका कट्टरपन्थी विचारहरुलाई परिमार्जन गर्दै आफ्ना योजनाहरु अघि सारेका थिए ।

१९८२ मा चिनिया कम्युनिष्ट पार्टीले “नयाँ चीन निर्माणदेखि आजसम्मको ऐतिहासिक घटनाक्रम” नामक दस्तावेज पारित गर्दै माओलाई एकजना महान माक्सवादी सर्वहारा क्रान्तिका महान सिपाही तथा सेनापती हुन भनि विश्लेषण गरियो । साथै माओका केहि त्रुटीहरुका बाबजुद पनि उनको योगदानले ति क्रुटीहरुलाई ढाक्न सक्छ भनि समर्थन गरियो । उक्त दस्तावेजमा माओको साँस्कृति क्रान्ति एउटा भुल थियो भनी उल्लेख गरियो । तर तङ स्याओफिंगले माओको वारेमा व्यक्तिगत टिप्पणी गर्दै माओ दशमा सात असल र तीन खराव भएको कुरा व्यक्त गरे ।

तङ स्याओफिंग र खुलापन
१९७८ को नोभेम्वरमा मुलुकको राजनीतिक उथलपुथल सामान्य भएपछि तङ स्याओफिंगले सिंगापुर, थाईल्याण्ड, मलेसिया लगायतका मुलुकहरुको भ्रमण गरे । सिंगापुर भ्रमणको क्रममा उनी सिंगापुरमा भएको हाउजिंग प्रणाली, हरियाली व्यवस्थापन, आर्थिक विकास आदि देखेर छक्क परे । तत्पश्चात उनले धेरै चिनियाहरुलाई विदेशमा भएका विकास निर्माणहरुको बारेमा जानकारी लिई त्यहाँको अनुभवलाई स्वदेशमा उपयोग गर्ने उद्देश्यका साथ दशौं हजार चिनियाहरुलाई विश्वका विकसित मुलुकहरुमा पठाए । एक पटक सिंगापुरका प्रधानमन्त्री लि क्वानयौ ले तङ स्याओफिंगलाई दक्षिणपूर्व एशियामा कम्युनिष्ट विचारधारा निर्यात नगर्न सल्लाह दिएका थिए र उनले पछि त्यस्तै गरे । १९७९ को सुरुवातदेखि आर्थिक सुधारको बजार ढाचाले गति लियो । जसले कम्युन प्रणाली विस्तारै निष्कृय हुन थाल्यो । तत्पश्चात किसानहरुलाई प्रशस्त मात्रामा आफुद्वारा उत्पादित वस्तुहरु बजारमा वेच्ने स्वतन्त्रता प्राप्त भयो । त्यो समयमा चीनको व्यापार विदेशको लागि खुला भयो । सोही वर्ष अमेरिकाले चीनलाई व्यापारीक कार्यका लागि चीनलाई मान्यता प्रदान गर्यो ।

१९७८ मै अमेरिकाको वोईङ कम्पनीले वोईङ ७४७ चीनका विभिन्न हवाई कम्पनीहरुलाई वेच्ने निर्णय गर्यो भने कोकाकोला कम्पनीले पनि सांघाईमा आफ्नो उत्पादन गृह स्थापना गर्ने निर्णय गर्यो । १९७९ को सुरुवातमा तङ स्याओफिंगले अमेरिकाको भ्रमण गरे । भ्रमणको क्रममा उनलाई अमेरिकी राष्ट्रपति जिम्मी कार्टरले भव्य स्वागत गरे । सोही भ्रमणमा तङ स्याओफिंगले जोन्सन अन्तरिक्ष केन्द्र, एटलान्टा र सियाटल बोईङका मुख्य कार्यालयहरु र कोकाकोला कम्पनीको अवलोकन गरे । त्यसपश्चात उनले चीन सरकारले पनि प्रविधी र आर्थिक विकासका कार्यहरुलाई मुख्य कार्ययोजनामा राख्नु पर्छ भनि योजना बनाए । समय क्रमसँगै तङ स्याओफिंगले जापानलाई चीनको आर्थिक विकासको एउटा राम्रो उदाहारण मान्नु पर्ने धारणा व्यक्त गरे ।

तङ स्याओफिंगले १९६२ को कम्युनिष्ट युवा लिगको सम्मेलनमै भनेको कुरा साँचो हुन आयो । त्यो के थियो भने“विरालो चाहे कालो होस् चाहे सेतो त्यसले केही असर पार्दैन, जसले मुसो समात्छ त्यै ठिक ।” त्यस्तै गरि उनका सहकर्मीहरुले चीनको अर्थतन्त्र, कृषि, विज्ञान तथा प्रविधिको विकास तथा राष्ट्रिय सुरक्षा जस्ता चारवटा महत्वकांक्षी योजनाहरुलाई अर्थतन्त्रको खुलापन र उदारीकरणमा सफलतापूर्वक कार्यान्वयन गरे ।
१९८० पश्चात तङ स्याओफिंगले वेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरसँग व्यक्तिगत छलफल गरि हङकङलाई मुख्य भूमिमा समाहित गर्ने सम्बन्धि चीन–वेलायत संयुक्त घोषणा पत्रमा १९८४ डिसेम्वर १९ मा हस्ताक्षर गरे । जस अनुरुप १९९७ मा हङकङ मुख्य भूमि चीनमा समाहित भयो । त्यस्तै १९८७ मा पोर्चुगलसँगको वार्तामा मकाओ पनि १९९९ मा चीनमा समाहित हुने निर्णायक कार्य सम्पन्न भयो । एक देश दुई व्यवस्थाको सिद्धान्त प्रतिपादन गरि तङ स्याओफिंगले हङकङ र मकाओ दुवै स्थानमा चिनिया प्रशासन स्थापित गरे । तङ स्याओफिंग जीवनकाल भरी नै थाईवान(त्बष्धबल)लाई समेत चीनमा समाहित गर्ने उद्देश्यले थाईवानी जनताको लागि आकर्षक विकल्पहरुको निर्माणमा लागिरहे ।

आर्थिक सुधार चिनिया आर्थिक सुधार र समाजवादी बजार अर्थतन्त्र
तङ स्याओफिंगका दुई मुख्य सैद्धान्तिक आधारहरुमा वाह्य संसारसँगको सम्बन्ध सुधार र सुधार एवम् खुलापन नै हो । तङ स्याओफिंगको सुधार तथा खुलानीतिलाई चिनियाहरु (काईक खाईफाङ) भन्छन् । तङ स्याओफिंगद्वारा प्रतिपादित उक्त सिद्धान्तले चीनको कृषि, उद्योग, विज्ञान प्रविधि र सैन्य शक्तिमा समेत सुधारको बाटो खोल्छ ।

आधुनिक तथा औधोगिक राष्ट्रको निर्माणको रणनीतिक उद्देश्य भनेको समाजवादी वजारमुलक अर्थतन्त्र नै हो । तङ स्याओफिंग चीनलाई समाजवादको प्रारम्भिक चरणमै रहेको ठान्थे । पार्टीको मुख्य उद्देश्य भनेको चिनिया विशेषतायुक्त समाजवादको निर्माण गर्नु र तथ्यहरुबाट सत्य पत्ता लगाउनु हो भन्ने उनको भनाई थियो ।

तङ स्याओफिंगको भनाईमा समाजवाद भनेको साझा गरिवी होईन । योजना तथा वजार शक्ति भनेका समाजवाद र पुँजीवादवीचका फरक होईनन् । योजनावद्ध अर्थतन्त्र समाजवादको परिभाषा होईन किनकी पूँजीवादमा पनि योजना हुन्छ । र वजार अर्थतन्त्र समाजवादमा पनि हुन्छ । योजना तथा वजार शक्ति दुवै आर्थिक क्रियाकलाप नियन्त्रण गर्ने माध्यम मात्र हुन् ।

माओसँग सम्बन्धित छैन भन्ने वित्तिकै कुनै पनि योजनालाई हटाईनु हुन्न । पुँजीवादसँग मिल्दाजुल्दा भए भन्ने वित्तिकै तिनीहरुलाई पनि हटाईनु हुन्न । यीनका यि भनाईहरुलाई तलका भनाईहरुले पुष्टि गर्छ । तङ स्याओफिंग पूँजीवादी मुलुकहरुले लागु गरेका व्यवस्थापनका विकसित विधिहरु प्रयोग गर्न डराउनु हुन्न भन्थे । उनको भनाईमा समाजवादको मुख्य सार भनेको उत्पादन प्रणालीको उदारीकरण र विकास हो । समाजवाद र वजार अर्थतन्त्र प्रतिकूल होईनन् । हाम्रो मुख्य चासो भनेको दक्षिणपन्थ नभएर वामपन्थ नै हो । यद्यपी तङ स्याओफिंगले आर्थिक सुधारको लागि सैद्धान्तिक तथा राजनीतिक समर्थन जुटाए ।

कतिपय सिद्धान्तहरु तङ आफैद्वारा प्रतिपादित सिद्धान्त जस्ता थिए । चौ अनलाईद्वारा समर्थन गरिएका चार आधुनिकीकरणको सिद्धान्त उनीद्वारा नै प्रतिपादन गरिएको थियो । तङ स्याओफिंगको पालाका कतिपय सिद्धान्तहरु त स्थानीय तहले आफ्नो आवश्यकता अनुसार लागु गर्न पाउने गरि विकसित गरिएका थिए । महत्वपूर्ण कुरो चाँहि के हो भने तङ स्याओफिंगका सिद्धान्तहरु तत्कालिन सोभियत संघका राष्ट्रपति मिखायल गोर्भाचेवद्वारा प्रतिपादित Perestroika जस्तो Top-Down विधि नभएरDown-Up विधि हो ।

तङ स्याओफिंगको सुधारमा वृहत अर्थतन्त्रको सक्षम कर्मचारीतन्त्रबाट व्यवस्थित तथा केन्द्रिकृत व्यवस्थापन पक्ष समेटिएको थियो । जसमा माओका आर्थिक निर्माणका कतिपय योजनाहरुलाई त्यागिएको थियो । तर तङ स्याओफिंगद्वारा माओका कृषि उत्पादनका प्रार्थमिकताहरुलाई बढि महत्वका साथ जोड दिईएको थियो । जसमा प्रत्येक किसानहरुले आफ्नो श्रोत, साधन र निर्णय उपयोग गर्न सक्थे । जसबाट खुला व्यापारको आधार निर्माण हुन सक्थ्यो ।
निर्यातमा जोड
वजारको वितरण र व्यवस्थापनमा स्थानीय नगरपालिका तथा प्रान्तहरुलाई मात्रै उपयुक्त खालका उद्योगहरु स्थापना गर्ने अधिकार थियो । जसले हल्का वस्तुहरुको उत्पादनलाई प्रोत्साहन गर्यो । फलस्वरुप तङ स्याओफिंगको सुधारको कार्यले उद्योग धन्दाहरुलाई निर्यातजन्य वस्तुहरुको उत्पादनमा प्रोत्साहन मिल्यो । जसबाट कम पूँजीको आधार भएका मुलुकहरुलाई फाईदा पुग्ने निश्चित थियो । छोटो अवधिमा नै सानो पूँजीको आवश्यकता पुरा गर्नुका साथै धेरै वैदेशिक वस्तु विनिमय गर्ने आय र प्रयाप्त मुनाफा प्राप्त गर्न सक्नुले विकसित उत्पादन तथा पूँजी लगानीमा सहयोग पुग्यो ।

तङ स्याओफिंगको सिद्धान्त अनुसार राज्यद्वारा सञ्चालित उद्योग धन्दाहरुबाट प्राप्त भएको आम्दानीलाई पूँजीको रुपमा लगानी गर्दा औधोगिक विकासले गति लिएको हो । जसले गर्दा जनताले आफुमाथि प्रत्यक्ष रुपमा करको भार परेको महशुस गरेनन् । यो सिद्धान्त माओको आर्थिक नीतिको आत्मनिर्भरता सम्बन्धि नीतिसँग मिल्दोजुल्दो छ । चीनले आधुनिकीकरणलाई गति प्रदान गर्न वैदेशिक व्यापारको मात्रालाई बढाउदै लैजाने नीति लागु गर्यो । जापान र पश्चिमी मुलुकहरुबाट आधुनिक मेसिनहरुको खरिद गर्ने, निश्चित वैदेशिक कोषको निर्माण गर्ने, प्रविधि व्यवस्थापन सम्बन्धि विज्ञता हासिल गर्ने कुराहरु यसमा सामेल थिए । तङ स्याओफिंगले विदेशी लगानी कर्ताहरुलाई आकर्षित गर्न र पूँजी भित्रयाउन का लागि वजार उदारिकरणको नीति लागू गर्दै विशेष आर्थिक क्षेत्रको स्थापना समेत गरे ।
तङ स्याओफिंगको सुधार कार्यले श्रमिकको उत्पादकत्व बढाउने कुरालाई जोड दियो । भौतिक रुपमा प्रोत्साहन र बोनस प्रणालीलाई लागू गरियो । कम्युनको अतिरिक्त उत्पादनलाई पुनरजीवित गरियो । जसबाट ग्रामिण वजारको समेत विकास हुन पुग्यो । गार्हस्थ उत्पादन र उपयोगमा समेत वृद्धि गर्यो जसले औद्योगिकरणलाई टेवा पुर्यायो ।

पदत्याग र दक्षिण क्षेत्रको भ्रमण, १९९२
तङ स्याओफिंगले औपचारिक रुपमै महत्वपूर्ण जिम्मेवारीबाट १९९२ मा विदा लिए पनि उनलाई यो युगकै एकजना सर्वमान्य नेता मानिन्छ । तङ स्याओफिंगलाई आर्थिक सुधार तथा समाजवादी आधुनिकीकरणका प्रमुख योजनाकार मानिन्छ । र उनलाई सामान्यतया चीनमा कमरेड स्याओपिंग पनि भनिन्छ । तङ स्याओफिंगले सन् १९९२ को वसन्त चाड ताका क्वान चौ, सनचन र चुहाईको भ्रमण गरे भने सांघाईमा नयाँ वर्ष मनाए । उनको भ्रमणको मूल उद्देश्य चाँहि उनीद्वारा प्रतिपादित आर्थिक नीतिको परिणाम कस्तो थियो भनि मूल्याङकन गर्नु पनि थियो । जसमा उनी खरो उत्रिए ।

तङ स्याओफिंगले भ्रमणको क्रममा महत्वपूर्ण ठाउँहरुमा सम्बोधन गर्दै आर्थिक सुधार र खुलापनको महत्वको बारेमा चर्चा गरे । साथै उनले उक्त नीतिको विरोधमा रहेकाहरुको आलोचना पनि गरे । सोही अवसरमा उनले धनी हुनु गौरव हो, व्यक्तिगत उद्यमसिलताको ढोका खोल्नु चीनको आजको आर्थिक स्थितीलाई निरन्तरता दिनु हो । तर यसका लागि वामतत्व नै चीनमा दक्षिणपन्थि तत्व भन्दा खतरनाक थियो । उनले फुतोङ क्षेत्रको विकासलाई चीनको आर्थिक केन्द्रको रुपमा अगाडी बढाउन उनी नै आफै साधनको रुपमा लागि परे ।
तङ स्याओफिंगको दक्षिण क्षेत्रको भ्रमणलाई सुरु सुरुमा पैचिंगस्थित राष्ट्रिय सञ्चार माध्यमहरुले समेत उत्ति महत्व दिएनन् । पार्टी भित्र उनीसीत भिन्न मत राख्ने व्यक्ति तत्कालिन चिनिया कम्युनिष्ट पार्टीका महासचिव च्याङ चमिन स्वयंको मातहतमा सञ्चारमाध्यमहरु थिए । तर सांघाईको लिबरेसन डेली नामक पत्रिकाले तङ स्याओफिंगको भ्रमण सम्बन्धि प्रशस्त समाचारहरु प्रकाशन गरिरहयो । त्यसरी प्रकाशित समाचारहरुप्रति स्थानीय अधिकारी र जनतामाझ ठूलो समर्थन प्राप्त गर्यो । तङ स्याओफिंगद्वारा प्रतिपादीत सैद्धान्तिक नीतिले पार्टीको पोलिटव्यूरोमा समेत ठूलो आँधी ल्यायो । जसले च्याङ चमिन स्वयंलाई तङ स्याओफिंगको पक्षपोषण गर्न बाध्य पार्यो । तङ स्याओफिंगको यो भ्रमणले के थप्यो भने सुधारवादीहरुको शक्तिलाई उच्च विन्दूमा पुर्यायो र चीनलाई आर्थिक विकासको दिशातिर अगाडी बढायो । तङ स्याओफिंगको दक्षिण क्षेत्रको भ्रमणले तङ स्याओफिंगका अझ पनि चीनका शक्तिसाली व्यक्ति हुन भन्ने कुराको पुष्टि गर्यो ।

तङ स्याओफिंगको आर्थिक खुलापनले तटीय क्षेत्रको अभुतपूर्व विकासलाई अगाडि बढाएको छ । जसको कारण आज सांघाई लगायतको क्षेत्रलाई सुनौलो त्रिकोण-Golden Triangle_ भनिन्छ । तङ स्याओफिंगले के कुरामा जोड दिए भने कुनै कुनै क्षेत्रहरु अन्य क्षेत्र भन्दा पहिले नै विकसित हुनपर्छ र तटीय क्षेत्रको सम्पत्तिलाई भित्रि भूमिको आर्थिक निर्माणको लागि परिचालन गर्नुपर्छ । तर यो सिद्धान्तले सुरुका दिनहरुमा प्रान्तिय सरकारका व्यक्तिगत स्वार्थका कारणले केही कठिनाईहरुको समाना गर्नुपर्यो ।

तङ स्याओफिंगको निधन
१९९७ फेब्रुअरी १९ मा फोक्सोको समस्या तथा पार्किनसन रोगको कारण तङ स्याओफिंगको ९२ वर्षको उमेरमा निधन भयो । चीनले उनको राजनीतिक तथा आर्थिक दर्शनलाई अघि बढाएको छ । तङ स्याओफिंगको निधनपछि उनलाई एकजना महान माक्सवादी, सर्वहारा क्रान्तिका योद्धा, राजनेता, सैन्य योजनाकार तथा कुटनीतिज्ञ र चिनिया कम्युनिष्ट पार्टी र चिनिया जनमुक्ति सेना र समग्र चीनका मात्र नभएर सुधार र खुलापन नीतिका मुख्य योजनाकारका रुपमा सम्मान गर्ने गरिन्छ । उनीद्वारा प्रतिपादित सिद्धान्तलाई तङ स्याओफिंग सिद्धान्त भनिन्छ ।

प्रधानमन्त्री लि फङले तङ स्याओफिंगको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै २४ फेब्रुअरी विहान १० वजे उनको सम्मानमा जनतालाई तीन मिनेट मौन धारण गर्न आग्रह गरे । चीनको राष्ट्रिय झण्डालाई एक हप्तासम्म आधा झुकाईयो सात दिने राष्ट्रिय शोकको घोषणा गरियो । शोक सन्देशमा राष्ट्राध्यक्ष च्याङ चमिनले तङ स्याओफिंगको सिद्धान्त अनुसार देश अघि बढिरहने बताए । उनको पार्थिव शरिरका केही अंगहरु स्वास्थ्य अनुसन्धानको लागि दिइयो भने बाँकि अंगहरुको दाह संस्कार गरि उनको ईच्छा वमोजिम सो संस्कारको खरानी समुद्रमा विसर्जन गरियो ।

तङ स्याओफिंगको निधनमा शोक व्यक्त गर्दै संयुक्त राष्ट्र संघका महासचिव कोफी अन्नानले तङ स्याओफिंग चीनको आधुनिकीकरण र नाटकिय रुपमा आर्थिक विकासका प्रणेता भएकोले उनलाई सँधै स्मरण गर्नुपर्ने बताए । फ्रान्सका राष्ट्रपति ज्याक सिराकले यो शताब्दिमा तङ स्याओफिंगको जस्तो थोरै मात्र मानिसहरुले मानव समुदायको लागि भिषण योगदान गरेका छन् भने । वेलायती प्रधानमन्त्री जोन मेजरले हङकङलाई चीनमा समाहित गर्ने कुरामा तङ स्याओफिंगको ठूलो भूमिका भएको बताए । क्यानडियन प्रधानमन्त्री जन क्रिटेनले चिनिया इतिहासमा तङ स्याओफिंगको केन्द्रीय योगदान छ भने । थाईवानस्थित कोमिन्ताङ सरकारले तङ स्याओफिंग शान्ति, समझदारी र समृद्धि चाहानु हुन्थ्यो । दलाई लामाले तङ स्याओफिंगको निधनमा दुःख व्यक्त गरे ।
धन्यवाद ।

रमेश हतुवाली
चाईना वेस्ट नर्मल युनिभरसिटी
नान्छोङ, सछुवान, चीन

943 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank