डरलाग्दो महिला हिंसा

बिहिबार, माघ २५, २०७४



- रम्भा पौडेल

देशमा नयाँ बिहानी उदाउदै छ । तर महिला बलात्कारका घटना भने दिनप्रतिदिन मौलाउदै छन् । अस्तिमात्रै दरबार मार्गको बलात्कार घटना अझै सेलाउन पाएको छैन् ।
प्रतिशोध र व्यक्तिगत रिसइबीका कारण एसएलसीको तयारी गरिरहेकी किशोरीमाथि गरिएको एसिड प्रहार होस या दाइजो नल्याएको बहानामा जिउँदै जलाइएका माहिलाका दुखान्त घटना हुन् या संसारदेखि विरक्तिएर भिक्षुणी बनेका महिला माथिका बलात्कारका घटना हुन, महिला माथिको हिंसा झन्भन् बढिरहेका छन् । महिलामाथि गरिएका जघन्य हिंसाका घटनाहरु आज हाम्रो समाजमा छताछुल्ल भएका छन । समाजको परिवर्तनसंगै महिलाका जिम्मेवारीहरू पनि परिवर्तन हुँदै छन् तर समाजमा राजनीतिक परिवर्तन भएपनि सामन्ती सांस्कृतिक अवशेषहरु भने बाँकी नै छन् जुन यसरी प्रकट भएका छन– महिलामाथि घरभित्रै हिंसा, बलात्कार, दाइजोप्रथा, बोक्सीसम्बन्धी अन्धविश्वास र पुरुषले गर्ने बहुबिवाह, जस्ता कुराहरु अझै नराम्रोसंग प्रकट हुन थालेका छन् । पहिले–पहिले नेपालभित्र नदेखिएका महिला हिंसाका तरिकाहरु पनि देखिन थालेका छन् ।

 

महिलाका समस्याका विषयहरु उठाउँदै महिला हक–अधिकार स्थापित गर्न र सम्मानजनक जीवन जीउने वातावरण बनाउन थुप्रै महिला संगठनहरु अहिले नेपालमा कार्यरत छन् । तर दैनिकरुपमा भइरहेका महिलामाथिका अत्याचारका विषयमा उनीहरु बोल्न सकेका छैनन् । सरकार, जनवर्गीय संगठन, संघ–सस्था, एनजिओ/आइएनजीओलगायतका संस्थाहरु पनि महिलाको हक–हितबारे वकालत गर्ने भन्छन् । तर उनीहरु पनि महिला हिंसाका ताजा घटनामा बोलिरहेका छैनन् ।

सार्वजनिक सवारी साधनमा दुई सिट महिलाका लागि छुट्याइएको छ । हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको अवधारण लागू भएको छ । छोरीहरू स्कुल र क्याम्पस जाने क्रम पनि बढेको छ । महिलामैत्री सार्वजनिक यातायातको अवधारणा पनि बनेको छ । जग्गा–जमिनका लालपुर्जा पनि महिलामा नाममा बन्दै छन् । पैत्रिक सम्पत्तिमा छोरीको अधिकारको कुरा पनि भएको छ, आमाको नामबाट नागरिकता पाउने व्यबस्था पनि भएको छ । झट्ट हेर्दा सबैतिर महिलामैत्री वातावरण बनेको जस्तो पनि देखिन्छ । तर, उत्तिकै मात्रामा महिला हिंसा पनि बढेर गएको छ । सवैतिर असुरक्षित वाताबरण बनिरहेको छ । सार्वजनिक यातायात, पैदल बाटो, अफिस, विद्यालय, ट्युसन कक्षा आदि सबैतिर अहिले पनि महिलाहरु सुरक्षित देखिदैनन् । एकातिर महिला अधिकार र समानताका मुद्दा जोडदार रुपमा उठिरहेका छन् भने अर्कोतिर हिंसाका श्रृखला पनि बढ्दै छन् । महिलामाथि हुने यी श्रृखलाबद्घ हिंसाले के देखाइहेका छन् भने जव महिला आफना अधिकारको खोजी गर्छन र सबै क्षेत्रमा समानताका आवाज उठ्छन तब झन् तिव्र रुपामा उनीहरुमाथि हिंसा खनिदै छ । अफिस, पार्टी, संघ–सस्था, आदि क्षेत्रमा काम गर्ने भद्र–भलाद्मी ठानिएका ब्यक्तित्वका पनि महिलालाई हेर्नै नजर उपभोगवादी छन् । यस्ता उपभोगवादी नजरले महिलालाई हतोत्साही बनाउनमा नै भुमिका खेल्दछ ।

समाज विकासको क्रममा हाम्रो समाज पूँजीवादी भएको छ । पूँजीवादको चर्को दमनभित्र महिलाहरु नै सबैभन्दा बढी पिसिएका छन् ।  

हामीकहाँ स्वतन्त्र पूँजीवादको विकास हुन नसकेका कारणले न त पुराना कुरालाई संरक्षण गर्न सकिएको छ न त नयाँ संस्कार र संस्कृति जन्माउन सकेको छ । प्रेमका नाममा हिंसा जन्मदै छन, पारिवारिक प्रेम र सद्भाव टुट्दै छ । सम्पूर्ण कुराहरू पैसासंग मात्रै जोडिएका छन् । यसले देखाउदैछ कि परिवर्तनका नाममा हाम्रो समाज कुन दिशातर्फ मोडिँदैछ ? सोचनीय अवस्था बनेको छ ।

सामन्ती समाजमा महिलाको दायित्व परिवार सहाल्ने मात्रै थियो । परिवारको चौघेराभित्र मात्र सिमित थिए महिला । हिंसा र दमन पनि परिवार भित्रमात्रै थियो । अब महिलाहरु बाहिर आउन थाले । उनीहरुमाथि हुने हिंसाको क्षेत्र झन फराकिलो बन्दै गयो ।

पुजीँवादले महिलालाई प्रयोग गर्ने बस्तु मात्र बनाउन खोज्दै छ । कोही खुला रुपमा त कोही गोप्यरुपमा किनिने र बेचिने बस्तुको रुपमा महिला परिभाषित बन्दैछन् । समाजको विकास र उन्नति महिला र पुरुषको समान सहभागिताले मात्र सम्भव छ । समान सहभागिताका लागि उत्तिकै योग्यता र अवसरको खाँचो छ । नयाँ संविधानले महिलाको लागि अवसरका विभिन्न क्षेत्रलाई फराकिलो पारिदिएको छ । केन्द्रीय र प्रदेश संसदमा महिलाहरुको उपस्थितिलाई पनि निकै बढाएको छ । समावेशिकरणको सिद्धान्त स्थापित भएको छ । राजनीतिक सचेतनामा निकै बृद्घि भएको छ । तर यति मात्र पूर्ण छैन । अझै पनि महिला आँफैले हरेक क्षेत्रमा निर्णय गर्न सक्ने क्षमताको विकास हुन सकेको छैन् । साधन र श्रोतमाथि पहुँच पुग्न सकेको छैन ।

समुहमा महिलाको हस्तक्षेपकारी भूमिका विकास हुन सकेको छैन् । त्यहा पुरुष कै भूमिका रहेको हुन्छ । पारिवारिक बिभेद हटेको छैन । तर, महिलामा आएको गतिशिलताले परम्परागत अवस्थाबाट भने एक पाइला अगाडि बढेको अवस्था छ । त्यसैको परिणामस्वरुप अहिले महिला घर होस् वा संगठन वा कार्यस्थल सबै क्षेत्रमा अस्तित्व खोजी गरिरहेको बेला छ । समानता, सहअस्तित्व र स्वाभिमानको नारा जति उठ्दै छ त्यति नै रुपमा उनीहरुमाथि हिँसाका घटनाहरु बिकराल रुपमा घट्दै छ । असुरक्षित वातावरणसंग भिड्दै हिँडनु वर्तमान अवस्थाको टडकारो चुनौती बनेको छ । उपलब्धि प्राप्त गरेर मात्र हुँदैन, त्यसलाई दिगो बनाउनका निम्ति उतिकै सहज वातावरण निर्माण हुनु पर्दछ ।

2357 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank