सामाजिक र साँस्कृतिक रुपान्तरणमा महिला शिक्षकको भूमिका

सोमवार, बैशाख १७, २०७५



- रम्भा पौडेल

आज नेपाली समाज समाजवाद उन्मुख अर्थतन्त्रमा आधारित भएर अगाडि बढदैछ । समाजवादमा पुग्दा सबै नेपालीहरु लैंगिक, आर्थिक, सामाजिक र साँस्कृतिक रुपले सबै समान र सम्पन्न आवस्थामा पुग्ने छन् । त्यो बिन्दुमा पुग्नका लागि भने पुर्वाधारहरु निर्माण गर्न र पुरानो मानसिकतामा परिर्वतन गर्न बाँकी नै छ ।

पितृसत्तात्मक हाम्रो समाजमा साँस्कृतिक रुपमा सामन्तवादका अवशेष बाँकी रहेको अवस्था छ । पुराना सामाजिक मूल्यमान्यता र साँस्कृतिक परम्परालाई परिर्वतन गर्न नसक्दासम्म समाज प्रगतिशील गतिबाट अगाडि बढ्न सक्दैन । यसका लागि सबै क्षेत्रमा रुपान्तरण जरुरी छ ।
बहुसास्कृतिक, बहुभाषिक, बहुधार्मिक, बहुजातीय विविधताभित्र हुर्केका हामी महिलारुका आ–आफनै मूल्य र मान्यताहरु छन् । ती पुराना मूल्य– मान्यताले हामीलाई आधुनिक समाजसम्म पुग्नमा बाधा पु¥याइरहेका छन् । हिजोका मूल्य–मान्यतालाई चिर्दै परिर्वतनको बाटोतर्फ अगाडि बढनु नै रुपान्तरण हो । आर्थिक, समाजिक, शैक्षिक, राजनीतिक, साँस्कृतिक सबै क्षेत्रमा रुपान्तरणको जरुरी छ । कुसंस्कारहरुलाई चिर्दै नयांँमूल्य र मान्यता स्थापित गर्नै सवालमा विद्यालय र शिक्षकहरुको महत्वपुर्ण भूमिका रहन्छ । समाजमा रहेका कुरीति र कुसँस्कारको शिकार बढीमात्रामा महिलाहरु नै बनिरहेको वर्तमान परिस्थितिमा समाजमा अगुवा र शिक्षित मानिएका महिला शिक्षकको भुमिका महत्वपूर्ण हुनुपर्दछ ।

विद्यालय एउटा यस्तो बृहत् सामुदायिक संस्था हो, जहाँ सबै जातजाति भाषाभाषी, धर्म र संस्कृतिका बालबालिकाहरु समाहित हुन्छन् । भिन्न, साँेच र क्षमता र भविष्यका असंख्य सम्भावना बोकेका बालबालिकासँग आफ्ना विचार आदान–प्रदान गर्ने अवसर शिक्षण पेशाले दिन्छ । समाज परिर्वतनका लागि विद्यालय नै एउटा त्यस्तो केन्द्र हो जहाँबाट एकैचोटी धेरै मानिसहरुमा परिर्वतनको ढोकाखोल्न सजिलो हुन्छ । त्यसैले अवको समाज परिर्वतनका लागि बिशेषरुपमा महिला शिक्षकहरुले निम्नकुरामा खुलेर बोल्न जरुरी छ ।
दाइजोको बारेमा बोलौँ

छोरीको बिवाहका लागि कलंकको रुपमा रहेको दाइजो हाम्रो समाजबाट हटाउन जरुरुी छ । बिवाह दुईजनाबीचको साझा समझदारी हो । दुवैले आफनो मन मिल्ने जिवन चल्ने, भावना बुझने योग्य र सक्षम ब्यक्ति रोज्ने कुरा हो । त्रेता युगका रामलाई सिताले एउटा योग्य पतिको रुपमा रोजेकी थिइन । लाइन लागेर धेरै पुरुषहरु उनका लागि छानिन आएका थिए । यो इतिहास हाम्रो सामु छ । तर एक्काइसौं शताब्दिका महिलाहरु भने दाइजोका नाममा अझै जल्दै छन् । दाइजो सामाजिकरुपमा ब्याप्त कुप्रथा हो । भनेजति दाइजो दिन नसकेका कारण आज पनि कैयौँ चेलीहरुले ज्यान गुमाउनु परेको तीतो यथार्थ हाम्रा सामु छ । परिवार भित्रका सदस्यहरुको मिलीमतोमा नै आज पनि महिलाहरुले मानसिक तनाव सहन नसकेर ज्यान नै गुमएका घटना यत्रतत्र छन् ।

२०७२को संविधानले पैत्रिक सम्पत्तिमा छोरा र छोरीको समान हकको ब्यवस्था गरेको छ । छोरीहरुलाइ दाइजोमा बेच्ने होइन कि उनीहरुलाई शिक्षाको उज्यालोबाट सक्षम र सबल बनाउनेतर्फ हाम्र्रो अभियान बढाउन जरुरी छ । विद्यालयमा पढाउने हामी शिक्षकहरु समाजका पनि अगुवा महिला हौ । त्यसैले यो परम्पराको अन्त्यका लागि नानीहरुलाई सचेत गराउने र समुदायलाई सचेत गाराउनेतर्फ हाम्रो भूमिका अहम छ । यस्ता बिषयमा अब चुप भएर नवसौं । लैगिंक विभेद अव संविधानमा छैन तर ब्यवहारमा भने विभेद कायमै छ । यसको बारेमा विद्यालयबाटै चेतना जगाउँ ।

बढ्दो हिँसाका बारेमा बोलौं

देशमा महिलाहिसां बिरुद्ध अभियान चलिरहेका छन् । कडा कानुनको पनि निर्माण भएको छ तर पनि अपराधका घटनाहरु दिन प्रतिदिन बढदैछन । यसले हाम्रो सामाजिक र सांस्कृतिक संरचना, न्याय प्रणाली र सुरक्षा प्रणाली माथि नै प्रश्न चिन्ह उठाएको छ । किन समाजमा क्रुरता झन् बढिरहेको छ ? यस्ता घटना बिरुद्ध हाम्रो प्रतिरोधि क्षमतालाई कुन कुराले कमजोर बनाइरहेको छ ? महिलाहरु आफ्नै घर, कार्यालय, गाउवस्ति र समाजमा असुरक्षित महसुस गरेका छन् ।

महिला माथिको हिंसाको मुख्य स्रोत हाम्रो सामाजिक संरचना र यसले निर्माण गरेको सामाजिक मनोविज्ञानसँग जोडिएको छ । महिलाको हरेक कार्यमा अहिले पनि पुरुषको बर्चश्व छ । त्यसैका कारण महिला विरुद्घ जे गरे पनि हुन्छ भन्ने सोँच बिकास भएको छ । बोक्सीका नाममा दुब्र्यबहार भएका छन् । दाइजोका नाममा शरीर जलेका छन । छाउपडीका नाममा अमानवीय कार्य भएका छन । यी सबै कुरा पितृसत्तात्मक समाजका अवशेष हुन् ।

हाम्रो समाजले महिलाका नाममा एकतर्फी मूल्य र मान्यताहरु थोपरी दिएको छ । चरित्र, सतित्व, इज्जत जस्ता कुराहरुले महिलालाई सामजिक रुपमा बाँधेको छ । यही कारणले नै उनीहरुको प्रतिरोधी क्षमतालाई कमजोर पारेको छ । सामाजिक र साँंस्कृतिक मूल्य मान्यताबाट निर्देशित हानिकारक परम्परागत अभ्यासका कारण महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा स्थापित गर्ने सोचको आफैबाट परिर्वतन गर्दै सामाजिक तथा साँस्कृतिक रुपान्तरणको दिशातर्फ महिला शिक्षकहरु गभ्भिर बन्न जरुरी छ ।

यहाँ बलात्कार गर्ने बलात्कारीको इज्जत जाँदैन । वेश्यागमन गर्ने पुरुष चोखो रहन्छ तर महिला कोही अन्य पुरुषसँग संगै हिड्दा वा वोल्दा नै उसको नैतिककता माथि प्रश्न उठाइन्छ । एउटा पुरुषले गलत काम गरिरहेको छ भन्नेकुरा देख्दादेख्दै पनि चुप बस्नुपर्ने बाध्यता यथाबत छ । घरमा श्रीमती हुँदाहुदै पनि परस्त्रीसंग सम्बन्ध स्थापित गर्ने कुरामा पुरुषार्र्थ ठान्ने यो समाजमा महिला भने इज्जत, परिवार, नागोता, बालबच्चाका नाममा चुप बस्न बाध्य छन् । यस्ता गलत कुराहरुको बिरुद्धमा समाज र बिद्यालयमा अब हामी बोल्न जरुरी छ । छोरी–चेलीहरुलाई गलत संस्कृति बिरुद्ध उठ्नका निम्ति हामीले शिक्षा दिनै पर्दछ ।
जातभात छुवाछुत र लैंगिक बिभेद बिरुद्ध अब खुलेर बोलौं

हामी महिला शिक्षकहरु विभिन्न भूमिकामा छौँ । घरमा हामी आमा, बुहारी, छोरी, श्रीमती, दिदी–बैनी, सासू इत्यादि सबै भूमिकामा हुन्छौं भने बिद्यालयमा हामी शिक्षक हौँ । समुदायका हामी अगुवा महिला पनि हौँ । त्यसैले समाजमा रहेका यस्ता सामाजिक कुसंस्कारका बिरुद्ध आवाज उठाउने कुरामा आम्रो अहम भूमिका रहन्छ । एउटा समान्य निरक्षर महिलाका आवाज र हाम्रा आवाजमा भिन्नता रहन्छ । समाजले हामीप्रति सकारात्मक आँखाले हेर्दछ । त्यसैले हाम्रा दैनिक कृयाकलापहरु, ब्यवहार र आचरणहरु आदर्श हुनुपर्दछ ।

हाम्रा ब्यबहारहरुको अनुसरण समुदायका मानिसले गर्दछन भने विद्यालयमा बालबालिकाले गर्दछन । त्यसैले बालबालिकालाई गलत कुरालाईं नाईं भन्न र राम्रा कुरालाई स्विकार्न सक्ने बनाउनु हाम्रो पनि दायित्व हो । हिजोका दिनमा सबै कुरा छोरी चेलीले सहनु पर्छ, समाजमा छोरी मान्छे बोलेको राम्रो हुँदैन भन्ने गूरु मन्त्र हाम्रा अभिभावकबाट पाएको शिक्षा हो । तर अब हामीले यो संस्कारलाई बदल्नु पर्छ । महिनवारीका बेला हिजोका दिनमा हामीले धेरै दुख भोग्यौ सामाजिक संस्कारका नाममा । अव यसका बारेमा पनि हामीले चेतना दिनै पर्दछ ।
अन्त्यमा महिला माथि भइरहेका यी विविध हिासाका घटनाहरु पुरुष सृजित समस्या हुन् । अबको पुरुष महिलसँगको ब्यबहारमा कति सभ्य बन्न सक्छ ? त्यसैमा नै महिलाको सहभागिता निर्भर रहन्छ । एउटा पुरुष बाबुको रुपमा, दाजुको रुपमा, कार्यालयको हाकिमको रुपमा, विद्यालयको शिक्षकको रुपमा, राजनीतिक कार्यकर्ता र सहकर्मीको रुपमा रहँदा उनीहरुको भूमिका कस्तो रहन्छ । सँकास्पद र उनीहरुको नजिक जाँदा तर्सिनुपर्ने अवस्था भयो भने त्यसले महिलालाई अगाडि बढ्न हतोत्साहित नै गर्नेछ । त्यसैले आजका पुरुषहरुले आफ्ना हरेक क्षेत्रमा सहयात्रीको रुपमा रहेका महिलाहरुसँगको सहकार्यमा आफनो सभ्यता देखाउनै पर्दछ । यस्ता बिषयमा पनि हामी समाजका अगुवा महिला शिक्षकले बोल्नै पर्दछ ।

शिक्षक अर्थात् गुरू । जसको अर्थ हून्छ ।  अँध्यारोलाई हटाएर उज्यालो छर्ने व्यक्ति । उनीहरुको समाज परिर्वतनमा अहम भूमिका छ । शिक्षा एउटा यस्तो सशक्त हतियार हो जसले विश्व बदल्न सक्छ । त्यो सशक्त हतियार चलाउने व्यक्ति नै शिक्षक हुन् । बाबुको डरभित्र भन्दा आमाको लाड प्यारभित्र नै बालबालिकाले आफना कुराहरु निर्धक्कसंग व्यक्त गर्न सक्छन् ।

त्यसमा पनि हामी महिला शिक्षक जो घरमा बालबालिकाका आमा हौं । विद्यालयमा गुरुआमा हौं भने समूदायका अगुुवा कार्यकर्ता पनि हौं । तपाईं–हाम्रा आवाजहरु समाजका सबै मानिसहरुलाई सुन्न कर लाग्छ । त्यसैले समाजमा रहेको समाजिक सांस्कृतिक कुसंस्कारहरुलाई बदल्न हामीले आम्रा आवाजलाई माथि उठाउनै पर्दछ ।

209 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank