राजनीति र अपराध

शुक्रबार, कार्तिक ८, २०७६



- यमराज उपाध्यय

राजनीति जनताको शान्ति सुरक्षा कायम गर्ने, मौलिक अधिकारको कदर गर्ने, राज्यको शासन व्यवस्थाको प्रणाली निर्धारण गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिको उपयुक्त सन्तुलन गर्ने, राज्यको शासन व्यवस्था सम्बन्धी नीति या राज्य सञ्चालन प्रणाली प्रशासनसँग सम्बन्धित एक सामाजिक सिद्धान्त भन्ने बुझिन्छ ।

कसैको अपमान वा हानी नोक्सानी हुने कार्य गर्नु, कानुन विपरीतको कार्य वा धार्मिक दृष्टिबाट गर्न नहुने आचरण गर्नु अपराध हो । अपराध र राजनीति ठ्याक्कै विपरीत र फरक विषय हुन् । तर विभिन्न बहानामा गरिएका अपराधजन्य कार्यलाई राजनीतिक रङ्ग मिसाएर उम्काउन खोज्नुले नेपाली समाजमा राजनीति र अपराध परिपूरक जस्ता देखिँदै गइरहेका छन् भन्दा अनुपयुक्त नहोला । धेरै जसो केन्द्रीय नेतृत्व सम्हालेका र स्थानीय तह सम्मका नेताहरू नै आपराधिक कार्यमा मुछिएकाले पत्रपत्रिका, रेडियो, टेलिभिजन, सामाजिक सञ्जाल आदि सञ्चार जगत नै अपराध र राजनीतिका बारेमा तरङ्गित भइरहेका छन् ।

स्वीकार गरे पनि नगरे पनि राजनीतिक दलको आडमा अपराधीहरू संरक्षण पाउँछन् भन्ने कुरा अझ बढी छर्लङ्ग भएको छ । नेताहरूले नै जघन्य अपराध गरेका व्यक्तिहरूलाई टीका लगाएर पार्टी प्रवेश गराउँछन् । उनीहरू कार्यकर्ता मात्रै होइन संसद् र मन्त्री सम्म पुग्छन् । राजनीति पार्टीले सहन रूपमा त्यस्ता व्यक्तिलाई प्रवेश गराउने भएकोले कानुनी शासन कमजोर हुन पुग्छ । त्यसैबाट अनुशासनहीनता. अराजकता. आपराधिक दण्डहीनताको संस्कृति र संस्कार मौलाउन पुग्छ । पावर या शक्तिमा बसेको मान्छेले अपराध गर्‍यो भने पनि जोगिन्छ भन्ने मनसाय हुन्छ । सजाय हुँदैन बच्न सकिन्छ भन्ने मानसिकता बढेर नै छलकपट गर्नेहरू पार्टीमा प्रवेश गर्ने गर्छन् ।

खास राजनीतिक प्रतिबद्धता सहितका व्यक्ति अपराध घटनामा कमै मुछिएका हुन्छन् । तर जब सोही व्यक्ति अवाञ्छित रूपमा शक्ति वा पावर होल्डको दुरुपयोग गर्छ अनि नराम्रो सँग चिप्लिन जान्छ । जहाँ सम्म अहिले मनि र मसल नहुने हो भने राजनीति मिसन सफल हुँदैन भन्ने बुझिन्छ । व्यापक पैसा खर्च नगरी चुनाव जित्न पनि सकिँदैन । त्यति बेला पैसाकै आवश्यकता पर्दछ र त्यस्तै पृष्ठभूमिका व्यक्ति बाट सरसहयोग लिइएको हुन्छ र चुनाव जितिएको हुन्छ । पछि उनीहरूले भनेको मान्नुपर्ने बाध्यता आइपर्छ । त्यसैले पनि जो सँग पैसा छ फूर्सदले खर्च गर्न सक्छ या जसरी पनि कर्मचारी, संघसंस्थाबाट पैसा उठाउन सक्छन्, सर्वसाधारणलाई थर्काउन, तर्साउन र प्रलोभनमा पार्न सक्छन् त्यस्ता व्यक्ति नेताको नजरमा पर्छन् । त्यस्तो कार्य गर्न सक्ने भनेका आपराधिक कार्यमा संलग्न व्यक्ति नै हुन्छन् ।

हुन पनि खासमा जो कुनै न कुनै आपराधिक क्रियाकलाप (चोरी, डकैती, लुटपाट, बलात्कार, चेलीबेटी बेचविखन, मानव तस्करी, भू-माफिया, भ्रष्टाचारी दलाल गुण्डागर्दी गर्ने, गैरकानुनी पेसा अङ्गाल्ने, कर छली गर्ने आदि ) मा संलग्न रहेको व्यक्ति हुन्छ ।त्यो कुनै न कुनै राजनीतिक पार्टीसँग जोडिएर बच्ने चाहना राखेको हुन्छ । सिधै शीर्ष नेतृत्वसँग सम्पर्क भएको व्यक्तिलाई हातमा लिन्छ र नेतृत्वको नजरमा सजिलै पर्न थाल्छ । अनि शीर्ष नेतृत्वले पनि वर्षौँदेखि संघर्षरत इमानदार नेता कार्यकर्तालाई पछाडि पार्दै विभिन्न क्रियाकलापमा जोडिएको बुझेर / नबुझेर त्यो व्यक्तिलाई पार्टी भित्रको बलियो नेता कार्यकर्ता बनाइदिन्छ । त्यस्तो व्यक्तिले राजनीतिको खोल ओढिसके पछि समाजमा अपचलनका कुराहरू स्वतः बढ्ने नियमहरू भत्कने गर्दछन् । किनभने भोलिका दिनमा उनीहरू आफैलाई आइलाग्ने ऐन नियम बनाउन उदासीन रहने नै भए । राजनीतिको आडमा नीतिनियम पालना गर्दैनन् । एक न एक उच्च स्तरको नेतालाई रिझाएकै हुन्छन् । अनि अनेकौँ कामहरू बिग्रने लथालिङ्ग हुने गर्दछन् । आफूलाई चाहिने वा गर्न चाहेको कुरा भएन भने कानूनीराजको खिल्ली उडाउँदै गुन्डा, मनि, मसला परिचालन गरी स्वार्थ पुरा गरेरै छोड्छन् ।

राजनीति रूपमा सम्मान र डर बिचको भिन्नता छुट्ट्याउन सक्दैनन् । राजनीति रङ्ग मिसाएर घटना घटाउने गर्छन् । अनि दलमा आबद्ध इमानदार नेता कार्यकर्ताहरूमा पनि इमानदारिता र लगनशीलतामा ह्रास आउने गर्दछ । जनताको आशा, भरोसा विश्वास र आस्था माथिको भरोसा टुट्छ । अनि नेता नेता रहँदैन । नेपाली राजनीतिको आम प्रवृत्ति नै भएको देखिन्छ । जो आजीवन सामाजिक अपराध विकृति र विसङ्गतिका विरुद्ध डटेर सामना गरिरहेका राजनीतिक दल भित्रका उच्च नैतिक र इमानदार भएका व्यक्तिलाई पछिल्ला यस्ता अनेकौँ घटनाले मर्माहत तुल्याएको छ । राजनीति सेवा हो भन्नेहरूले नै संविधानको धारा २२०(८) र धारा २२७ सँग सिधा बाझिने गरी बनाएका प्रदेश १ बाहेक ६ वटा प्रदेशले लागू गरेका सेवा सुविधा पाउने ऐनहरूका दफा ३ अन्तर्गतका अनुसूचीहरू पनि एक प्रकारका अपराध नै मान्नुपर्छ । भलै अदालतको फैसलाबाट ती सेवा सुविधा कटौती हुने भएका छन् हेर्न बाँकी नै छ । त्यस्तै दोहोरो सुविधा लिन नपाउने सङ्घको नियमावली नै मिचेर राज्यबाट दोहोरो सेवा सुविधा लिइरहेका छन् ।

नेता त त्यस्तो व्यक्ति हो जो राष्ट्रिय एकता, स्थायित्व, स्वाभिमान, स्वाधीनता र आत्मनिर्भरताको लागि काम गर्ने हुन्छ । नागरिकको सुख, सुविधा, शान्ति, खुसी र सहज जिम्मेवारी लिन सक्ने, विवेकशीलता, नैतिकता, पारदर्शिता जवाफदेहिताको मर्म बुझ्ने हुनुपर्छ । नेताको जीवनशैली सादा, सरल, आदर्श र कानुनको परिधिभित्र रहेको अनुकरण गर्न लायकको हुनुपर्छ । तर नढाँटेर भन्दा आजभोलि नेता र बिचौलिया को हो छुट्ट्याउन गाह्रो पर्छ । इमानको राजनीति गरिरहेका व्यक्तिलाई निल्नु न ओकल्नु भएको छ । माफिया भ्रष्टाचारी दलाल गुन्डागिरी, बलात्कारी र गैरकानुनी व्यवसाय अपनाउनेहरूले नेता कार्यकर्ता मात्रै नभएर सेना, प्रहरी प्रशासन, उच्च तहका अधिकृतलाई समेत प्रलोभनमा पारी गैरकानुनी व्यवसाय गरिरहेका हुन्छन् । घुस्याहा कानूनकर्मी र भुस्याहा राजनीतिकर्मीको मिलेमतोमा अपराधजन्य कार्यहरू बढेका छन् । भ्रष्टाचारजन्य अपराधी कार्यहरू निर्मूल पार्न नसकिँदा असल शिक्षित र सृजनशील प्रतिभाहरू देशबाट पलायन भएका छन् । राज्य सञ्चालन गर्ने व्यक्तिहरू नै अनेक काण्डमा मुछिए पछि स्वभावैले नैराश्यता उत्पन्न हुने नै भयो । आफ्नो भविष्य सुरक्षित नदेखिए पछि जन्मभूमि छोड्नु रहर नभए पनि बाध्यता आइपर्ने नै भयो । विदेशमा उच्च शिक्षा हासिल गरे पनि देशको वातावरण फर्किएर आउन सक्ने देखिँदैन । किनभने योग्य र सबल र राम्रो भन्दा पनि हाम्रो भन्ने मानसिकता नेपाली राजनीतिमा बढी नै देखिन्छ ।

र, अहिलेको राजनीतिमा विचारको खडेरी परेको देखिन्छ । अघिल्लो पुस्ताका राजनीति गर्ने व्यक्ति दर्शनमा गहिरो अध्ययन गरेका हुन्थे । एक अर्कामा विचार विमर्श गर्ने, आदर्श छलफल गर्ने, व्यक्तिको स्वार्थ नहेरी सामूहिक हक र अधिकारमा आधारित आदि बहस चलाउने गर्थे तर वर्तमानमा पक्ष विपक्षमा त कुरै नगरौँ एउटै पार्टी भित्र पनि आपसमा बौद्धिक व्यक्तिको राय सुझाव ग्रहण गर्न पनि फिटिक्कै मन पराउँदैनन् । एक आपसमा छलफल परामर्श गर्ने त्यस्तो बहस सक्कि’सकेको देखिन्छ । स्व अध्ययन गर्ने बानी झनै देखिँदैन, आफ्नो उद्दण्ड शैली लाद्ने गुन्डा प्रवृत्ति हाबी भएको छ । मुन्द्रा लगाउने, लामालामा कपाल दारी पालेका, ट्यापे घुँडा च्यात्तिएका कपडा लगाएका, अनुशासनहीन, गहिरो अध्ययन नभएका, असल खराब छुट्ट्याउन नसक्नेले पार्टी कब्जा गरिरहेका छन् । जो अरूलाई थर्काएर चर्को बोल्न सक्छ । जसले टेबुल ठँटाउन सक्छ । अनेकौँ भ्रमित गफ दिन सक्छ । विभिन्न ठाउँका कमिसनले गुजारा चलाइरहेको हुन्छ त्यस्तो पछिल्लो पुस्ता राजनीतिमा हुर्कनु नै राजनीति भित्रको आपराधिक गम्भीर अवस्था हो भन्न सकिन्छ । बेलैमा सचेत भएर त्यस्ता प्रवृत्तिलाई परास्त गर्न नसकिँदा अझ झनै भयावहको स्थिति व्यहोर्नुपर्ने देखिन्छ ।

जुनसुकै दलको सरकार भए पनि सरकारी वकिल र प्रहरी प्रशासनलाई निर्भीक भएर काम गर्न दिनुपर्छ । मुखले बोलेर मात्रै होइन कामकारबाहीमा ध्यान दिइनु पर्छ । आपराधिक कार्यमा संलग्न व्यक्ति जुनसुकै पार्टी, जात, धर्म, क्षेत्र, भूगोल र कुन घरानाको हो त्यो हेरिनु हुँदैन । सिङ्गो शासन प्रणालीलाई चुनौतीको विषय भएका आपराधिक कार्यमा संलग्न व्यक्ति जो सुकै होस् एक जुट भएर जनताको भूमि भावना र भविष्य सँग खेलबाड गर्नु हुँदैन । गलत गर्ने व्यक्तिलाई तत्कालै कानुनी कठघरामा उभ्याइनु पर्छ । संस्थाहरूलाई बलियो बनाउनु पर्छ । प्रशासनिक संयन्त्र चुस्त दुरुस्त बनाउनु पर्छ । होइन भने पार्टीमा भित्र्याइएका आपराधिक गुन्डा प्रवृत्तिले बिस्तारै अवैध धन आर्जित त्यस्तै अवाञ्छित गतिविधिबाट राजनीतिलाई धुमिल्याएर कब्जामा लिने र नेतृत्वलाई सङ्कट नपार्लान् भन्न सकिँदैन । तसर्थ राजनीतिबाट भ्रष्ट अपराध निर्मूल पार्न र पार्टी प्रवेशमा एक बलियो संयन्त्र बनाउन आवश्यक देखिन्छ । होइन भने जस्ता सुकै जघन्य अपराध गरे पनि राजनीति रङ्ग मिसाएर अस्थिरता पैदा भइरहने देखिन्छ । भ्रष्ट र अपराध निर्मूल पार्ने अर्को उपयुक्त विधि भनेको निर्वाचन नै हो । त्यसका लागि जनता सुशिक्षित हुनु र सही रूपमा उपयुक्त व्यक्तिलाई चुन्न सक्नुपर्छ । अहिलेको आवश्यकता भनेको मिसन भिजन र प्रतिबद्धतामा विश्वासिलो, विश्व वातावरणलाई मध्यनजर गर्दै जनताका इच्छा र आकाङ्क्षा बुझी तत्काल सम्बोधन गर्न सक्ने, खास विचार भएको सबल र सक्षम नेतृत्व र नेतृत्वबाट अनुकरणीय बन्न सचेत नागरिक निर्माण गर्नु नै असल राजनीतिको परिचय हुनसक्छ । अहिले ठुला व्यक्तिहरूलाई समेत कानुनी रूपमा सोधपुछ गर्न थालिएको कार्य सह्रानीय छ । थोरै भए पनि आशा राख्न सक्ने ठाउँ देखिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata