दिवंगत रविन्द्र अधिकारी , प्रतिष्ठान र ५० औं स्मृति

आइतवार, बैशाख २२, २०७६



- सीता ओझा

रविन्द्र अधिकारी बुबा इन्द्र प्रसाद र आमा लक्ष्मिदेवी अधिकारीको कोखबाट वि स २०२६ साल वैशाख २२ गते कास्की जिल्लाको भरतपखरी गाविस वडा- ९ जमुनाबोटमा जन्मिएका थिए । रविन्द्र अधिकारी र अधिकारी पत्नी विद्या भट्टराई दुवै आफ्नो विद्यार्थी जीवनबाट नै राजनितीमा लागेका थिए । राजनीतिक यात्रा भित्रै बि.स. २०५४ साल असारको २७ गते काठमाडौ चावहिल निवासी पिता हेमराज भट्टराई र माता टोम कुमारी भट्टराईकी सुपुत्री विद्या भट्टराईसँग  प्रेम विवाह भयाे ।  विवाह अघि राजनीतिक यात्रामा रहेका रविन्द्र र विद्याले आपसी सम्झदारीमा  राजनीति यात्रालाई अघि बढाउने र  घर,परिवारको व्यवस्थापन गर्ने सरसल्लाह गरेर सहयात्रालाई अघि बढाए ।

उक्त सहमतिपछि विद्याले आफ्नो शैक्षिक योग्यता बढाउने र परिवार चलाउन पढाइ साथै पेसालाई निरन्तरता दिइन । निकै लामो समय करार सम्पर्कको रूपमा ग्रामिण आदर्श,सगरमाथा ,पृथ्वीनारायण र रत्न राज्य कलेजमा अध्यापनको कार्य गरेर परिवारको आन्तरिक जीवनलाई व्यवस्थापनमा सहयोग गरिन् ।

बि.स. २०३७ सालबाट पृथ्वीनारायण क्याम्पस मार्फत विद्यार्थी राजनीतिमा प्रवेश गरेका रविन्द्रले  बि.स. २०४४ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष पदको जिम्मेवारी पाए ।  राजनीतिक जिम्मेवारीलाई निकै महत्त्वपूर्ण जिम्मेवारी ठान्ने रविन्द्रले बि.स. २०४५ सालमै एक वर्षे शिक्षण पेसा त्याग गरेर पृथ्वीनारायण क्याम्पसकाे स्ववियु सदस्यमा उम्मेदवारी दिए र विजयी पनि भए । यो सफलताले उनलाई कास्की जिल्लाको अनेरास्ववियुको अध्यक्ष पद सम्म पुर्यायाे । विद्यार्थीको हकहित साथै वैचारिक काममा निकै अध्ययनशील अधिकारीले आफ्नै बलबुतामा एमाले देखि माले र माले देखि एमाले सम्मको राजनीतिक यात्रा सफलता पूर्वक पार गरे ।    २०४७ सालमा अनेरास्ववियुको गण्डकी अञ्चलको अध्यक्ष तथा केन्द्रिय सदस्यमा चयन भए ।यस कार्यले उनलाई विद्यार्थी राजनीतिमा लोकप्रियता बढायो । त्यहीँ प्रभावका कारण उनी वि स २०४९ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भए । बिस्तारै विद्यार्थीको राष्ट्रिय राजनीतिमा आफ्नो पहुँच कायम गर्न सफल रविन्द्रले वि स २०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस किर्तीपुरको स्ववियु सभापतिको उम्मेदवारी पाए र अधिक मत सहित विजयी बने । केन्द्रीय क्याम्पसको सभापति पद प्राप्ति पछि वि स २०५३ सालमा नै स्ववियु काउन्सिल नेपालका संयोजक र वि स २०५६ सालमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष निर्वाचित भए ।

रविन्द्र अधिकारीले विद्यार्थीको नेतृत्व समालिरहदा विद्यार्थी हकहितका लागि उल्लेखनिय कामहरू गरेका थिए । विद्यार्थी नेतृत्वमा रहदा उनले शिक्षामा भएको निजीकरण र व्यापारीकरण विरुद्ध लामो संघर्ष गरेर प्राविधिक शिक्षाको विस्तार र गुणस्तरियता, सबैका लागि गुणस्तरिय शिक्षा जस्ता विषयहरूको बहस पैर र अगुवाई गरे । नेपालको सिमामा भएको अतिक्रमणको विरूद्द वहु चर्चित कालापानी सिमासम्म मार्च अभियानको नेतृत्व गरे । राष्ट्रिय रूपमै नेपालको सिमा सुरक्षाका लागि सिमा सुरक्षा अभियान, नेपाली भू-भाग डुबाउने लक्ष्मणपुर बाँधको विरोध , राजकुमार पारस शाहको ज्यादतीविरुद्धको हस्ताक्षर संकलन अभियान सञ्चालन गरि पाँच लाख तेईस हजार हस्ताक्षर राजा विरेन्द्रलाई बुझाएर राजतन्त्र भित्रको जनहित विरोधी कामकारबाहीको अन्त्य गर्न र आम नागरिक जीवन रक्षाको लागि प्रयत्नशील रहन राजालाई अनुरोध गरे । यस कार्यले उनको जीवन रक्षामा केहि समयका लागि चुनौती पनि देखियो । तर संवैधानिक राजतन्त्रले आम नागरिकको जनसराेकारको विषय सुरक्षित गर्ने अभिभाकत्व राजाले नै लिनु पर्ने विषय हो भनेर उनी अडिक रहे र हत्यारा बस्ने दरवारमा होइन जेलखानामा हो भन्दै निरन्तर दवाव दिई रहे । उनले यातायात लगायत सार्वजनिक क्षेत्रमा ३५  प्रतिशत भाडादरमा विद्यार्थी सहुलियतको आन्दोलनमा प्रमुख अगुवाई गर्दै सम्बोधन गराए । त्यो बेला व्यवस्थापन गरेको यातायातमा विद्यार्थी सहुलियतको व्यवस्था अझैसम्म कायम नै रहेको देखिन्छ ।

विद्यार्थी हुँदैदेखि राजनीतिक यात्राशुरू गरेका रविन्द्रले वि स २०४६ सालदेखि राजनीतिक दल मालेमा निकै गति बढाएको देखिन्छ । उनको यो क्रियाशीलता पञ्चायत विरोधी आन्दोलनमा पनि केन्द्रीकृत रह्यो । यहि अगुवाइका कारण वि स २०४६ सालमा ८ महिनाको जेल ,प्रतिगमन विरोधी आन्दोलनमा ४ पटक पक्राउ र हिरासतमा बस्नु पर्यो । तात्कालिक एमाले कास्की जिल्ला कमिटी सदस्य हुFदै सचिव नेतृत्व समाले । वि स २०६४ मा संविधान सभा सदस्यमा निर्वाचित भएका उनले वि स २०७० साल र वि स २०७४ को आम चुनावमा पुनः तेस्रो पटक कास्कीबाट प्रतिनिधी सभामा निर्वाचित भए । नेकपा एमालेका केन्द्रीय सदस्य रहेका रविन्द्र पार्टी एकिकरण भएपछि नेकपाका केन्द्रिय सदस्य बने ।

संसदीय निर्वाचनमा तीन पटक विजयी रविन्द्र अधिकारी विकास समितिका सभापति हुँदै दुइतिहाईको नेपाल सरकारको मन्त्री मण्डलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बने । रविन्द्र अधिकारीले विकास समितिमा रहदा संविधानसभा,लोकतन्त्र र पुनः संरचना र सम्वृद नेपाल जस्ता राजनीति र नेपालको दिगो विकाससँग जोडिएका कृतिहरू पनि प्रकाशन गर्न सफल रहे ।

पार्टी भित्रको असहयोगी र गुटबन्दीको विपक्षमा उभिने उनको स्वभावका कारण अनेकौं पटकको अवसरका प्रयत्न नै गरेनन् । दलभित्रका इमानदार ,सक्षम र लगनशील कार्यकर्ताहरूलाई नेतृत्वमा स्थापित गर्नु पर्छ भन्ने रविन्द्र वैचारिक अध्ययन गर्न सधै सबैलाई अनुरोध गर्दथे । अधिकारी पदीय जिम्मेवारी र राजनीतिक शुद्दताका हिमायती युवा पुस्ताका प्रेरणका श्रोत देखिन्थे । थोरै बोल्ने रविन्द्र विषयको गहिराई बुझेर जनसाधारण समक्ष पुर्याउथे र अरूलाई पनि एक पटक मात्रै त्यो विषयको महत्त्वको बारे चर्चा गर्दथे । आम नागरिकका हरेक विषयलाई आफ्नो जीवनसँग जोडेर समस्याको हल गर्ने उनको स्वाभाव कै कारण उनी हरेक उमेरका मानिससँग चिरपरिचित थिए । अधिक सकारात्मक सोच र रूपान्तरणको विषयलाई परिवर्तनसँग जोड्दै मुलुकको अग्रगमन चाहान्थे । मानिसको जन्म ,कर्म र मृत्यु सरल हुनु पर्ने,हामी संस्कारहरू गरिरहदा लिङ्ग ,जात र क्षेत्रका आधारले विभेदकारी हुनु हुदैन र गर्नु हुदैन भन्ने गर्थे । लोग्ने मानिसको मृत्यु पश्चात् स्वास्नीमान्छेलाई सेतो वस्त्र पहिराउने ,घर परिवारभित्र आश्रीत गराउने अन्ध विश्वासका कुराले घर,परिवार रूमलिने र अनावश्यक बकबास गरेर समय विताउने कुरा रविन्द्रका लागि मन नपर्ने विषयमा पर्दथे । घर,परिवार देखि साथीभाइ सबैले केही न केही काम गरेकोमा खुसी हुने अधिकारी यस्ता राम्रा कुराको अन्यत्र चर्चा गरिदिने पनि गर्दथे । रविन्द्र काममा सहयोगी ,मिलनसार र हँसिलो स्वभावका भएको कारण सबैलाई काममा सहयोगी बनाउन सक्थे

पदमा बहाल रहेकै बेला एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनामा परि वि स २०७५ फागुन १५ गते उनी सहित ७ जनाको ताप्लेजुङमा उनको निधन भयो । उक्त अकल्पनीय, अप्रत्यासित र दुखद घटनाबाट राष्ट्रलाई अपुरणिय क्षति भयो । यस्तो घटनाको गहिरो दुख, शोक घडीमा धैर्य गर्न आव्हान गर्दै सरकारले दिवंगत आत्माको चीर शान्ति र शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना र सहानुभूत प्रकट गर्यो । सरकारले एक दिनको शोक विदा गर्दै पोखराको देवीघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गर्यो ।

रविन्द्रको समग्र जीवनको अध्ययन गर्दा आफैभित्र जुझारू र अग्रगमन चाहाने व्यक्तिको रूममा चिनिन्छन । एउटा क्रियाशील मानिसको जीवनको मृत्यु सहन गर्न अहिले सबैलाई अस्विकारर्य जस्तै देखिन्छ । तर पनि मृत्यु मृत्यु नै हो । अब हामीसँग रविन्द्रको भौतिक शरीर छैन । उनीसँग जोडिएको भावना नेपालमा मात्रै होइन विश्व भरि छरिएको छ ।

अहिले पोखरामा रविन्द्रको नाम र कामसँग जोडिएको रविन्द्रको प्रतिष्ठान बनाउने कुरा चर्चामा आएको सुन्दा खुसी लाग्यो । प्रतिष्ठान बनिरहदा हिजो रविन्द्रले राख्ने र राखेका भावनाहरूलाई प्रतिष्ठानले सम्बोधन गर्न सकोस । रविन्द्रको अग्रगमन र रूपान्तरित समाजको परिकल्पनालाई सम्बोधन गर्ने कार्यक्रम बन्न सकुन । रविन्द्र अधिकारी हिजो राजनीतिक जिम्मेवारीको कारण पोखरामा चुनावमा प्रतिष्पर्धा गर्न गए होला तर अहिले दुनियाँका भइसके । प्रतिष्ठान बनाइ रहदा यस्ता उनका भावना र क्रियाशीलता मनहरू जोडेर अलि फराकिलो र सबै खाले मनहरूलाई समेट्ने कुरामा ध्यान पुगोस् । फराकिलाे  सोचका साथ रविन्द्रका विचार र भावना समेटिएको प्रतिष्ठान बनोस् । शुभकामना !!!

रविन्द्र अधिकारीको ५० औं स्मृति मनाइरहदा हामीले रविन्द्रको भावनात्मक पक्षका केहि विचारहरूको चर्चा गर्नै पर्छ । यस्ता चर्चाले समाज रूपान्तरणमा भुमिका खेल्न सकोस् । मानिसको मृत्यु पछि उनीसँग जोडिएको मृत्यु संस्कार पनि उसकै इच्छा अनुसार हुनु पर्दछ । हामी त्यस्ता कुरालाई खासै ध्यान दिदैनौ ।  रविन्द्रको निधनपछि अपनाइएकाे संस्कार पद्धतिले हामीलाई केहि सिकाएको छ । यस्तो कार्यको लागि परिवारलाई धन्यवाद ।

 समाज बदल्न हामी नै बदलिनु जरूरी छ । हामी बदलिन हाम्रा संस्कारहरू बदल्नु अनिवार्य छ । रविन्द्रको जीवनको अन्त्यसँग उनको मृत्यु संस्कारमा जुन बदलाव देखियो त्यो निकै प्रसंशनीय काम हो । हामीले व्यवस्था त बदलियौ तर हाम्रा जन्म,कर्म र मृत्यु संस्कारहरू पुरानै र लिङ्गीय रूपमा विभेदकारी छन । पतिको निधनले पत्नि कुरूप हुनु पर्दछ र बनाइन्छ । नावालक छोराहरू बाबुको श्रद्दाका लागि घर,परिवारबाट अलगिनुपर्ने बाध्यतात्मक परिपाटी छ । यी र यस्ता कार्यले बालमनोविज्ञानमा पर्ने मानसिक असरका बारेमा हामीले अहिले सम्म सोच्न सकेका छैनौ । समय सापेक्ष बदलिनु पर्ने अझै बदल्ने अबस्था बनिरहेको छैन । शोकलाई शक्तिमा बदल्न पुराना धर्भग्रन्थको स्तुतिले होइन निधन भएको व्यक्तिको काम र विचारको चर्चा गर्ने परिपाटी बसाउनु पर्दछ । मानिसलाई  मनोबैज्ञानिक रूपमा आतंकीत पारेर होइन माया,प्रेम र निकटताले समवेदना व्यक्त गर्ने हो भन्ने सन्देश रविन्द्रको परिवारले दिन सक्यो । यस्तो अग्रगमनको कार्य गरेर समाजलाई नयाँ संस्कार सिकाएकोमा स्व रविन्द्रकी सहकर्मी समाज शास्त्रकी उप प्राध्यापक विद्या भट्टराई ,छोरा विराज र स्वराज साथै रविन्द्र अधिकारीका मातापिता ,भाइहरू र बहिनी लगायत सम्पुर्ण आफन्तजनहरू प्रति आभार व्यक्त गर्दछु ।

क्रियाकर्म आफ्नो इच्छा! संस्कार र सम्पतिमा नयाँ पद्धति धर्मशास्त्र र संस्कार जीवनका लागि ! भन्दै गरूड पुराण नपढी,कोरो ढिकुरो नगरी,सेतो वस्त्रको पहिरन विना सात दिन शोक मनाउदै मृत्यु संस्कार गर्ने वातावरण बनाउनेतर्फ सबैको ध्यान पुगोस् । । रूपान्तरित सोच परिवार भित्र विकास गर्न सकेकोमा मृत्यु पछि पनि समानपुर्वक नमन गर्न चाहान्छु ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata