सन्दर्भ अङग्रेजी भाषणको

सोमवार, असार ३२, २०७५



- पूर्णशोभा चित्रकार

आजभोलि केही मन्त्री तथा नेताहरूले गरेका अङग्रेजी भाषणको चर्चा चुलीमा पुगेको छ । यस सन्दर्भमा मैले अनुभव गरेका विगतका केही घटनाहरूलाई सम्झना गर्दैछु ।
सन् २००७ तिर संयुक्त राष्ट्र संघ र अन्य अन्तराष्ट्रिय संगठनहरूको आयोजनामा जेनेभामा एक अन्तराष्ट्रिय सम्मेलन भएको थियो । उक्त सम्मेलनमा जन साधारणको तर्फबाट भारतका एक जना बमबाट खुट्टा गुमाएका व्यक्ति सहभागी भएका थिए । उनी अङग्रेजी भाषा जान्दैनथे । उनको कुरा अरुले बुझुन र अरुको कुरा उनले बुझुन भनेर आयोजकले दोभाषेको व्यवस्था गरेको थियो । दोभाषेहरुले अत्यन्त मेहनतका साथ बिहान उठेदेखि बेलुकी सुत्ने बेलासम्म हरेक कुराको अनुवाद गरिदिन्थे । तर, त्यो सहभागीले भने प्रत्येक क्षण आफुले अङग्रेजी नजानेकोमा दुःखेसो गर्थे । उनलाई सम्झाउन गाह्रोे भएकोले हुन सक्छ करिब डेढ हप्ताभित्र आधा दर्जन जति दोभाषेहरु फेरिए । तैपनि उनलाई चित्त बुझाउन सकेनन् । अन्तमा जेनेभाको भारतीय दुतावासबाट समेत दोभाषे बोलाईयो । तर पनि त्यो सहभागीलाई चित्त बुझाउन सकेनन् । सहभागी अझै भन्थे, ‘मलाई अङग्रेजी आएन, धेरै समस्या भयो ।’ उनको कुरा बारम्बार सुनेपछि दोभाषेले लामो व्याख्या गरेर सम्झाउन खोजिन्, ‘हेर्नुस अङग्रेजी भाषा हाम्रो मातृभाषा होइन । भारतमा अङग्रेजी नजान्ने धेरै छन् । भाषा आउनु वा नआउनु ठूलो समस्या होइन, ठूलो समस्या त तपाईंले भन्न खोजेको कुरा अरुले नबुभ्mनु हो । हाम्रा देशका अङग्रेजी जान्ने प्रधानमन्त्री, मन्त्रीहरू विदेशमा गएर अङग्रेजीमा बोल्छन् भने, त्यहि भाषा फ्रान्समा काम लाग्दैन । हरेक मानिसले हरेक भाषा जान्नु सम्भव पनि छैन । त्यस्तो बेला हाम्रा प्रधानमन्त्री वा मन्त्रीलाई फ्रेन्च भाषाको लागि दोभाषेको जरुरत पर्दछ । संसारमा धेरै भाषा छन् । धेरै भाषीहरू बीच एक आपसमा कुरा बुझ्न र बुझाउनको निम्ति धेरै थरिका दोभाषेहरूले काम गरिरहेका हुन्छन् । त्यसकारण तपाईले अङग्रेजी बोल्न नजानेको समस्या होइन, आफुनो कुरा आफ्नै भाषामा अरुलाई बुझाउन नसकेको समस्या हो ।’

नेपालका केहि बुद्धिजिवीहरूले एकताका नेपालमा हुने अन्तराष्ट्रिय सभा, सम्मेलनहरू नेपाली भाषामा हुनुपर्छ भनी अभियान चलाएका थिए । हुन पनि हो पचास जनाको सभामा अठ्चालिस जना नेपाली र दुई जना विदेशी भएछन् भने ती अठ्चालिस जनाले कनिकनि अङग्रेजी बोलिरहेका हुन्छन् । त्यसले कहिले काहिँ भन्न खोजेका कुरा एउटा, अरुले बुझ्ने अर्कै पनि भइदिएका छन् । टुटे फुटेका अङग्रेजी भाषीे कहिले काहिँ अरुको लागि हास्यका पात्र पनि बनिदिएका छन् । दुई जनाको लागि दोभाषेको व्यवस्था गर्दा अठ्चालिस जनाको लागि राम्रो छलफलको वातावरण बन्न सक्थ्यो ।

संयुक्त राष्ट्र संघ वा त्यससित सम्वन्धित औपचारिक कार्यक्रमहरूमा अरेबिक, चिनियाँ, अङग्रेजी, फ्रेन्च, रसियन र स्पेनिस गरी छ वटा भाषाहरू प्रयोग हुने गर्दछन् । प्रस्तोताले जुनसुकै भाषामा बोलेपनि दोभाषेहरूले साउन्डप्रुफ बन्द कोठाभित्रबाट समकालिक अनुबाद गरिरहेका हुन्छन् । त्यसकारण कुनै पनि भाषामा बोल्दा श्रोताहरूले वक्ताहरूको विचारबाट विमुख हुनु पर्दैन । अव प्रश्न उठ्न सक्छ नेपाली भाषालाई कसरी उल्था गर्न सकिन्छ ? त्यसको उपाय हो नेपाली भाषालाई आपूmलाई सजिलो लाग्ने छ वटा भाषामध्ये एक छानेर उल्था गर्ने, त्यसको प्रति आयोजकलाई उपलव्ध गराउने र आफुले नेपालीमा बोल्ने । शायद नेपालका मन्त्री तथा नेताहरूले यो उपाय अवलम्बन गरेको भए आज उहाँहरू आलोचनाको पात्र बन्नु हुने थिएन ।

त्यस्तो अन्तराष्ट्रिय सम्मेलनहरूमा कहिले काहिँ विषयवस्तुको गाम्भिर्यता र महत्वलाई ध्यानमा राखेर नेपाली भाषाको दोभाषे राखेको पनि मलाई अनुभव छ । मैले एकचोटी त्यो अवसर पाएकी थिएँ । अङग्रेजीमा बोलेको कुरालाई नेपाली सहभागीहरुको निम्ति नेपालीमा बोल्ने । त्यसमा दुई वटा तरिका छन् । एउटा, दोभाषेले वक्ताले बोली संगसंग अनुवाद गरि सुनाउने र अर्को वक्तव्यको अनुवाद तयार पारेर वक्तव्यको संगसंगै विषय मिलाएर बोलेको भाषामा पढ्दै जाने । संयुक्त राष्ट्र संघको भवनको साउन्डप्रुफ बन्द कोठाभित्रबाट समकालिक अनुबाद  मैले दोश्रो क्याटागोरीको गर्ने मौका पाएकी थिएँ ।

मन्त्री तथा नेताहरूको अङग्रेजी भाषणको सन्दर्भमा हामीले दुई किसिमले हेर्न सक्छौं । एउटा भाषिक शुद्धता र अर्को विषयवस्तुमा आफ्नो गहिरो ज्ञान, प्रतिवद्धता, कार्यान्वयन पक्षका सम्भावनाहरू र बाटाहरू । मेरो विचारमा अङग्रेजी भाषाले अर्थको अनर्थ नलाग्ने तहसम्म भाषिक शुद्धताको विषय त्यति महत्वपूर्ण होइन । तर, औपचारिक फोरममा बोल्दा अङग्रेजी भाषामै बोल्नु पर्ने बाध्यता कुनै पनि नेपालीलाई छैन । अझ नेपाली भाषाको पहिचान, संरक्षण र सम्वद्र्धनको लागि औपचारिक कार्यक्रमहरूमा मन्त्री तथा नेताहरूले नेपाली भाषामा नै बोल्नु पर्दछ भन्ने मेरो मान्यता हो ।

बोल्ने विषयबस्तुको कुरामा मेरो भनाई के छ भने मन्त्री तथा नेताहरू, मन्त्रालयका कर्मचारीहरू आदिले बोल्दा राष्ट्रको सोच, नीति, निर्देशन, भावना अनुरुप बोल्नु पर्दछ । विगतका मेरा अनुभवहरूमा के पाईएको छ भने कहिलेकाही मन्त्री तथा नेताहरू, मन्त्रालयका कर्मचारीहरूले मुलुकको प्रतिनिधित्व गरेर अन्तराष्ट्रिय फोरमहरूमा भाग लिंदा या बोल्दा सम्वन्धित निकाय वा क्षेत्रमा छलफल गरेर बोलेको हुँदैन । बिना छलफल वा हतारमा कसैले वक्तव्य तयार पारिदिने र त्यसैमा बोलिदिएको हुन्छ । बोलेका ती कुराहरूको सम्वन्धित निकाय तथा क्षेत्रमा अभिलेख राखेको हुँदैन र बोलेका कुराहरूको बारेमा अरुलाई जानकारी गरेको पनि हुँदैन । त्यसकारण एउटै किसिमको फोरममा फरक बेला फरक व्यक्तिहरूबाट फरक विचारहरू देखापरेका हुन्छन् । नेपालीहरूको आम प्रचलन के देखिएको छ भने ‘बोल्यो, सिद्ध्यो’ जस्तो तरिकाले आफ्नो वक्तव्यलाई हलुको रुपमा लिन्छन् । तर अन्तराष्ट्रिय स्तरमा त्यस्तो हुँदैन । ती वक्तव्यहरू दशकौंसम्म पनि सुरक्षित राख्दछन् । मेरो जानकारी अनुसार आयोजक डेक्स या इच्छुक व्यक्ति या सम्वन्धित निकाय वा समूहरूले हरेक वक्तव्यको रिकर्डिङ वा टिपोट गरिरहेका हुन्छन् । कहिले काहीँ विषयगत क्षेत्र अन्र्तगत एउटै वक्तव्यलाई चार पाँच जनाले टिपोट गरिरहेका हुन्छन् । वक्तव्यलाई ग्राफव्दारा विश्लेषण गर्दछन् । नेपालको अडान कुन तहमा छ छुट्याउँछन्, नेपालको लागि नीति बनाउनको लागि ती तथ्याङ्कको भर पर्दछन् र त्यो नीतिको बारेमा विश्वभर जानकारी दिन्छन् । तर नेपालमा भने यसप्रति आवश्यक गम्भिरता नभएको अनुभुती भएको छ ।

हिजोआज सरकारको तर्फबाट विदेश जानु पर्दा परराष्ट्र मन्त्रालयको स्वीकृति लिनु पर्ने व्यवस्था छ । यो निर्णयको अनुशरण गर्न नचाहने कतिपय कर्मचारीहरूले घर विदा वा विरामी विदा स्वीकृत गराएर जाने गरेको पनि सुनिन्छ । यसले के समस्या उत्पन्न गर्न सक्दछ भने नेपालको तर्फबाट व्यक्तिगत सहभागीको रुपमा देखिन्छ । तर अन्तराष्ट्रिय क्षेत्रले सरकारको प्रतिनिधित्वको रुपमा बुझेको हुन्छ । अथवा यसखालको सहभागिताको बेला बोलेका, राखेका धारणाहरू, गतिविधिहरू आदिलाई सरकारको तर्फबाट भएको बुझदछन् । त्यसकै आधारमा सरकारप्रतिको नीति बनाउन पुगे भने त्यो नेपालको लागि दुर्भाग्य बन्न पुग्दछ ।

सरकारलाई सजिलो बनाउन र सरकारले अन्तराष्ट्रिय सम्मेलन वा फोरमहरूबाट बढी भन्दा बढी फाइदा लिने हो भने अन्तराष्ट्रियस्तरमा वक्तव्य दिनु भन्दा पहिले विषयसंग सम्वन्धित तथ्यहरू बुझ्नु, सहभागिता र वक्तव्य बारे राष्ट्रिय एजेन्डामा केन्द्रित गर्नु, अभिलेखिकरण गर्नु र सन्दर्भ सामाग्रीको रुपमा उक्त वक्तव्यहरूलाई आवश्यक निकायको पहुँचमा राख्नु जरुरी छ ।

892 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank