पुँजी बजारको अपरिहार्यता

बिहिबार, पुस ५, २०७५



- डा. गोविन्द बहादुर थापा

पुँजी बजार उद्योग, व्यापार व्यवसाय सुरु गर्न वा सञ्चालनमा रहेका उद्योग, व्यापार, व्यवसाय विस्तार गर्न आवश्यक हुने लगानीका लागि साधन परिचालन गर्ने एउटा महत्व पूर्ण माध्यम हो। उद्योग, व्यापार व्यवसाय सुरु गर्दा आवश्यक हुने साधनका मुख्य दुई स्रोत हुन्छन्ः पहिलो बैंकहरूबाट ऋण लिने र दोस्रो सेयर जारी गरी जनताबाट पुँजी संकलन गर्ने। यी दुई स्रोतका आआफ्नै गुण र दोष छन्। बैंकबाट ऋण लिएर उद्योग, व्यापार, व्यवसाय सुरु गर्दा त्यस्तो व्यवसायबाट नाफा आर्जन नभए पनि पूर्वनिर्धारित दरमा बैंकलाई (बैंकले बीचमा बढाउन पनि सक्ने) ब्याज तिरिरहनुपर्छ। तर सेयरमार्फत पुँजी परिचालन गर्दा नाफा भएको अवस्थामा मात्र सेयर होल्डरहरूलाई लाभांश दिइन्छ, नाफा नहुँदा केही दिनु पर्दैन। साथै बैंकबाट ऋण लिँदा ऋणीले बैंकमा सम्पत्ति धितो राख्नुपर्छ। पूरै ऋण फिर्ता नगरिन्जेल त्यो सम्पत्ति रोक्का रहन्छ तर सेयरमार्फत साधन परिचालन गर्दा त्यस्तो केही राख्नु पर्दैन।

त्यसैले जनविश्वास आर्जन गरेका उद्यमी, व्यापारी वा व्यवसायीहरूलाई बैंकबाट ऋण लिएर भन्दा सेयर बिक्री गरी साधन संकलन फाइदा हुन्छ। साथै कुनै कम्पनीको सेयर होल्डर त्यो कम्पनीको आफूले खरिद गरेको सेयरको अनुपातमा मालिक बन्छ तर बैंकबाट ऋण लिनेहरूको बैंकको सम्पत्तिमाथि कुनै दाबी हुँदैन। यसले पनि सेयरको महत्व दर्शाउँछ। तर धेरै सेयर होल्डर हुने कम्पनीहरूले निरन्तर सेयर होल्डरहरूको दबाब झेलिरहनुपर्छ। नाफा कमाउन नसकेको वा कम नाफा भएको वा नाफा घटेको अवस्थामा कम्पनी व्यवस्थापनमाथि सेयर होल्डरहरूको चर्को दबाब पर्छ।

तर ऋणबाट सञ्चालित कम्पनीहरूलाई ऋणको किस्ता नियमित भुक्तान भइरहेमा बैंकबाट अरू कुनै दबाब पर्दैन। तर नेपालमा बैंकहरूले आफूखसी कर्जाको ब्याज बढाई कर्जावाललाई जानकारी गराउने परम्पराजस्तै बसेको छ, जसबाट उद्यमी, व्यापारी तथा व्यवसायीहरू झन्डै पीडित भइरहेका छन्। पुँजी बजारको अर्को सकारात्मक पक्ष कुनै कम्पनीको सेयर पुँजी जति बढी भयो त्यो कम्पनीको बैंकबाट ऋण लिने क्षमता उति बढी हुन्छ। लोन इक्विटी रेसिओको कारणले यस्तो हुन्छ। सेयरको प्राथमिक बजारमा कुनै विवाद वा प्रश्न उठ्दैन, प्रश्न उठ्छ त दोस्रो बजारको कारोबारको बारेमा। किनभने सेयर खरिदबिक्री दैनिक रूपमा दोस्रो बजारमै हुन्छ।

केही समयदेखि नेपालमा पुँजी बजारको चर्चाले बजार तताएको छ। यसको कारण निकै लामो समयदेखि पुँजी बजार लगातार तल झर्नु हो। बजार माथि जाने आशामा बसेका लगानीकर्ता भने कुर्दाकुर्दै सबै निराश भइसकेको अवस्था छ। २७ जुलाई २०१६ मा सर्वाधिक १८८१ सम्म पुगेको नेप्से परिसूचक क्रमिक रूपमा घट्दै आएर १३ डिसेम्बर २०१८ सम्म आइपुग्दा ११४१ कायम रहेको थियो। यस क्रममा लगानीकर्ताहरूले अर्बौं रुपैयाँ गुमाइसकेको अनुमान गरिएको छ। त्यति मात्र होइन, सेयर बजार यसरी घटेपछि सेयर धितो राखी ऋण लिएका व्यवसायीलाई वाणिज्य बैंकहरूले मार्जिन कल गर्ने सम्भावना पनि हुन्छ। त्यो स्थितिमा त्यस्ता कर्जावालले थप रकम धितोस्वरूप बैंकहरूलाई बुझाउनुपर्ने हुन्छ।

सेयर बजारलाई अर्थतन्त्रको स्वस्थ मापकका रूपमा लिने विश्वव्यापी प्रचलन छ। सेयरबजारको अवस्थाका आधारमा कुनै एउटा मुलुक मात्र होइन, विश्व अर्थतन्त्रकै पनि स्वास्थ्यको मूल्यांकन गर्ने गरिन्छ। सेयर बजारको प्रवृत्तिको आधारमा कुनै देशको अर्थतन्त्र माथि जाँदैछ, यथास्थितिमा रहेको छ वा ओरालो लाग्दैछ भन्ने बुझ्न सकिन्छ। यो विश्वव्यापी प्रचलन हो। यसले सेयर बजारको महत्व दर्शाउँछ। आज संसारमा सेयर बजार (पुँजी बजार) नभएको मुलुक सायदै कुनै होला। युद्धग्रस्त मुलुक इराकमा समेत सेयर बजार सञ्चालनमा छ। त्यसैगरी सांघाई स्टक एक्सचेन्ज विश्वका १० सबैभन्दा ठूला स्टक एक्सचेन्जभित्र पर्छ। न्युयोर्क स्टक एक्सचेन्ज विश्वको सबैभन्दा ठूलो स्टक एक्सचेन्ज हो।

आधुनिक र विकासशील राष्ट्रका रूपमा परिचित हुन पनि मुलुकहरू सेयर बजार स्थापना र सञ्चालन गर्न लालायित हुन्छन्। नेपालले पनि त्यसै गरेको हो। त्यही भएर नेपाल सरकारले पनि विभिन्न ऐन, कानुन, नियमावली र निर्देशिका निर्माण गरी धितोपत्र बजारलाई अगाडि बढाएको हो। र, यो बजारमा आधुनिक र सहज ढंगले कारोबार गर्न सकिने विभिन्न आधुनिक प्रविधिहरू पनि प्रयोगमा ल्याइएको छ। यस बजारमा मानिसहरूको आकर्षण पनि क्रमिक रूपमा बढ्दै गएको छ। धितोपत्र बजारमा सूचीकृत हुने कम्पनीहरूको संख्या, सेयर संख्या, पुँजी र बजार पुँजीकरण पनि बढ्दै गएको हो। धितोपत्र बजारमा सूचीकृत कम्पनीहरूको संख्या २०७५ असार मसान्तसम्ममा २१२ पुगेको छ भने बजार पुँजीकरण १४ खर्ब ३५ अर्ब १४ करोड पुगेको छ।

यी सबै कारणले यो बजार प्रवद्र्धन र संवद्र्धन गर्नुपर्ने बजार हो। यसलाई प्रतिकूल असर गर्ने र यसप्रति जनमानसमा नकारात्मक सन्देश प्रवाह गर्ने किसिमका अभिव्यक्ति दिनु गलत हुन्छ। पुुँजी बजारको सर्वेसर्वा नियामक निकाय धितोपत्र बोर्डलाई होचो अवस्थामा नराखी त्यसको उचाइ र मर्यादा बढाउनुपर्छ।

यदाकदा सेयर बजारले अर्थतन्त्रको प्रवृत्तिको सही प्रतिनिधित्व नगरिरहेको हुन सक्छ। जस्तै– अर्थतन्त्र ओरालो लागिरहेको बेलामा सेयर बजार माथि जाने र अर्थतन्त्र माथि गइरहेको बेलामा सेयर बजार ओराले लाग्ने हुन सक्छ। विकसित मुलुकका स्टक एक्सचेन्जमा विल्कुल यस्तो हुँदैन। विकासको प्रारम्भिक चरणमा रहेका बजारहरूमा यस्तो हुन सक्छ। बजारभित्र इन्साइडर ट्रेडिङ पनि भइरहेको हुन सक्छ। तर यसो भनेर यो बजारलाई दुत्कार्नु बुद्धिमानी हुँदैन। त्यसमा रहेका कमीकमजोरी पहिचान गरी तिनलाई सच्याउनुपर्छ। खुला अर्थतन्त्रमा हरेक किसिमको प्रवृत्तिका मानिस विभिन्न आर्थिक गतिविधिमा संलग्न भइरहेका हुन्छन्, जसबाट अर्थतन्त्रलाई नोक्सान पुगिरहेको हुन्छ। तर त्यसो भयो भनेर अर्थतन्त्रको घाँटी अठ्याउनु उचित हुँदैन। अवैध गतिविधि गर्नेहरूलाई ऐन कानुनअनुसार उचित दण्ड दिनुपर्छ।

विश्व पुँजी बजारमा प्रत्येक दिन ट्रिलिअन डलर आसपासको कारोबार भइरहेको हुन्छ। र, स्टक एक्सचेन्जलाई खुला अर्थतन्त्रको इन्जिन मानिन्छ। वास्तवमा स्टक एक्सचेन्जलाई विश्वका हरेक मुलुकको अर्थतन्त्रको ड्राइभिङ फोर्सको रूपमा लिइन्छ। र, स्टक एक्सचेन्जको यो भूमिका अनन्तकालसम्म कायम रहने विश्वास गरिन्छ। यो कुरा सबैले मनन गर्नु जरुरी छ।

मुद्राबजार र पुँजी बजार आपसमा सहयोगीका साथै परस्पर प्रतिस्पर्धी पनि हुुन्। मुद्रा बजारका मौद्रिक उपकरणहरू कम जोखिमपूर्ण हुन्छन् भने पुँजी बजारका उपकरणमा जोखिमको मात्रा बढी हुन्छ। मुद्रा बजारले उद्योग, व्यापार व्यवसायको तत्कालीन र अल्पकालीन पुँजीको आवश्यकता पूर्ति गर्छ भने पुँजी बजार दीर्घकालीन आवश्यकता पूर्ति गर्छ। मुद्रा बजारमा मौद्रिक उपकरणले सामान्यतया कम प्रतिफल दिन्छन् भने पुँजी बजारका उपकरणहरूले अधिक प्रतिफल दिन्छन्। तर पुँजी बजारका उपकरणबाट नोक्सान पनि हुन सक्छ तर मुद्रा बजारमा त्यसो हुँदैन। साथै मुद्रा बजारमा तरलताको अभाव भई ब्याजदर बढ्यो भने पुँजी बजारमा त्यसको नकारात्मक असर पर्छ। किनभने मानिसहरू जसले बढी प्रतिफल दिन्छ, त्यतैतिर लाग्ने हुनाले उनीहरूले आफ्नो बचत सेयर बजारमा लगानी गर्नुभन्दा ब्याजका लागि बैंकमा जम्मा गर्न जान्छन्। आफूसँग भएको सेयर बिक्री गरेर पनि बैंकमा निक्षेप खाता खोलेर राख्छन्। त्यसैगरी मुद्रा बजारमा अधिक तरलता भई ब्याजदर तल झर्‍यो भने मानिसहरू पुँजी बजारतर्फ लाग्छन्। त्यसैले अर्थतन्त्र सञ्चालन गर्ने जिम्मेवार निकायहरूले जानी, बुझी अर्को बजारमा प्रतिकूल असर पर्ने गरी कुनै निर्णय गर्नु हुँदैन। अहिले नेपालमा सेयरको मूल्य घट्नुमा मुद्रा बजारमा तरलता अभाव भई ब्याजदर बढ्नु पनि एउटा कारण हो।

नेपालजस्तो मुलुकमा सबै कुरा उचित ढंगले के चलेको छ ? र, हामी यो बजारमा मात्र परफेक्सन खोज्छौं ? सबैतिर लथालिंग र अराजकता छ। सेयर बजार पनि त्यसको अपवाद कसरी हुन सक्छ ? तर यसो भनेर हामी यो बजारलाई तिरस्कार गर्न सक्दैनौं। किनभने यो हुर्काउनुपर्ने, सुधार्नुपर्ने र व्यवस्थित बनाउँदै लैजानुपर्ने कारोबार हो। साथै यो बजारमा हुने लगानी उत्पादक हो वा होइन भन्ने सम्बन्धमा बुझ्नैपर्ने के छ भने समाजमा पैसा भएका मानिसहरू सबै उद्यमी, व्यापारी हुन सक्दैनन्। हरेक देशमा केही मानिस मात्र उत्पादनशील उद्योगधन्दामा लागिरहेका हुन्छन्। त्यसो भन्ने हो भने हामीले बैंकमा मुद्दती र बचत निक्षेप राखेर ब्याज खानेहरूलाई के भन्ने ? त्यो उत्पादनशील लगानी होइन, बैंकमा पैसा नराख भन्ने ? त्यसलाई हामी अनुत्पादक त भन्न सक्दैनौं। जसरी बैंकहरूमा मुद्दती र बचत निक्षेपको रूपमा राखिएको रकम नै बंैकहरूले उत्पादनशीललगायतका क्षेत्रमा लगानी गर्छन्। त्यसैगरी सेयर बजारबाट पैसा कमाएकाहरूले पनि आखिर पैसा निक्षेपका रूपमा राख्ने त बैंकमा नै हो। तब बैंकले त्यो रकम उत्पादनशील वा अन्य कुनै आर्थिक गतिविधिमा लगानी गर्छ।

मुद्रा बजारको सर्वेसर्वा नियामक निकाय नेपाल राष्ट्रबैंकजति मर्यादित, गरिमामय र सम्मानित संस्थाका रूपमा रहेको छ। पुुँजी बजारको सर्वेसर्वा नियामक निकाय धितोपत्र बोर्ड त्यो उचाइ र मर्यादाको छैन। नेपाल राष्ट्र बैंक पुरानो र राष्ट्रको निमित्त अपरिहार्य संस्था भएकाले यसको त्यहीबमोजिमको गरिमा हुनु स्वाभाविक हो। तर धितोपत्र बजार तुलनात्मक रूपमा नयाँ र विकाससँग जोडिएको संस्था भएकाले यसको उचाइ र मर्यादा पनि नेपालको विकासको अवस्थाअनुरूप राखिएको छ। तर अब यो संस्थालाई त्यही होचो अवस्थामा राखिरहनु उचित हुँदैन। यसको हालको होचोपनको कारणले पनि नेपालको पुँजी बजार समस्याग्रस्त भएको हो। त्यसैले धितोपत्र बोर्डको उल्लेखनीय स्तरोन्नति गरिनुपर्छ। त्यहीअनुरूप यसका पदाधिकारी चयन गरिनुपर्छ। अन्नपूर्ण पोष्टबाट साभार

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank