श्रीमान पछिको सत्ताः महिलाको सम्मान या अपमान ?

शुक्रबार, अशोज १०, २०७६



- पूर्णशोभा चित्रकार

हिजो आज राजनीतिक पद सम्बन्धी केही प्रश्नहरू मनमा उठ्ने गरेको छ । जस्तो कुनै पनि पार्टी र सङ्गठनहरूमा पद के को लागि, सुविधा वा जिम्मेवारी ? राज्य वा सत्ता भनेको के हो ?- सुविधा भोग गर्ने माध्यम वा जिम्मेवारी बोध गर्ने ? यो जमिन वा सम्पत्ति जस्तै आफ्ना प्यारा, दुःखा पाएका, अपमान वा हेलामा पारिएका, श्रीमान् बितेका महिलाहरूलाई दया स्वरूप बाँड्ने हो या नीति निर्माण, सुशासन, निर्देशन, परिपालनद्वारा जनताको जीवनमा परिवर्तन, विकास र समृद्धि ल्याउने माध्यम हो ?

कहिलेकाहीँ पुरानै कुरा सम्झिन्छु । २०३२ साल देखि २०४६ साल सम्मको राजनीतिलाई हेर्ने हो भने पद सुविधाको लागि नभई जिम्मेवारीको लागि हुन्थ्यो । तत्कालीन पञ्चायती व्यवस्थाको दमनको सामना गर्न सक्ने आँटिला व्यक्तिहरू, सङ्गठन गर्न सिपालु, भूमिगत वा खुला रूपले आन्दोलन हाँक्न सक्ने व्यक्तिहरूले पदको जिम्मा लिने कोसिस गर्थे । त्यस बेला कुनै व्यक्ति पदमा जानु भन्दा पहिले धेरै कुराहरू सोच्थे । आफ्नो परिवार, ज्यान समेत त्याग्न सक्छु भन्ने मनस्थिति बनाए पछि मात्र पदमा जान तयार हुन्थे । कतिपयलाई पार्टीले जोड लगाएर पदको जिम्मा दिनु पर्थ्यो । जो पदमा जान्थे, उनीहरू पार्टीको अनुशासनलाई कडाइका साथ पालना गर्थे, इमान्दार हुन्थे, सक्रियताका साथ पार्टी काममा खट्थे, सङ्गठन गर्थे र हर तरहले पार्टीलाई माथि उठाउनको लागि प्रयत्न गर्थे । उनीहरूले सरकारबाट यातना भोग्नु पर्दा, जेलमा जानु पर्दा समेत आफ्ना साथीहरु, नेताहरू, पार्टी तथा पार्टीका सामानहरूलाई जोगाउन हर सम्भव कोसिस गर्थे, जेल भोग्थे र ज्यान दिन सम्म तयार हुन्थे ।

जे होस राजनीतिक पार्टीहरू र जनताहरूको प्रयासहरू सफल भए । पार्टी र जनताहरूलाई राजनीतिक स्वतन्त्रता प्राप्त भयो । २०४६ पछिको बहुदल र २०६२/०६३ पछिको सङ्घीय, लोकतान्त्रिक गणतन्त्र पछि राजनीतिको उद्देश्य र काम गर्ने ढाँचामा फरक भयो । सत्ताको लागि हिजो जस्तो सङ्घर्ष गर्नु परेन, चुनावद्वारा सत्ता प्राप्ति गर्न सक्ने भए ।

राजनीतिक परिवर्तनको साथसाथै पार्टीका नेता तथा कार्यकर्ताहरूमा राजनीतिक पद र राज्यसत्ताका बारेमा विचारहरू बदलिएको छ । राजनीतिक पद लाभको पदको रूपमा विकसित भएको छ । राजनीतिक परिस्थिति बदलिएको र राजनीति गर्ने तौर तरिकामा बदलाव आएको भए पनि विकास, निर्माण र समृद्धिको लागि देश अहिले सङ्क्रमणकालीन परिस्थितिमा रहेको छ । देश र जनताको हितको सन्दर्भमा पार्टीका प्रत्येक नेता तथा कार्यकर्ताको जिम्मेवारी बदलिएको छैन भन्ने हामीले बुझ्नु आवश्यक छ । प्रत्येकको जिम्मेवारी घटेको छैन, बरु बढेको छ भन्ने बुझ्नु आवश्यक छ । तर राजनीतिक चासो र अध्ययन, योग्यता र क्षमता केही व्यक्तिहरूमा सीमित रहँदै गएको अनुभूति दिनानुदिन बढ्दै गइरहेको छ ।

नेताहरूका वरिपरि कार्यकर्ताहरू राजनीतिक, सैद्धान्तिक छलफलको लागि भन्दा पनि पदमा कसरी एक अर्कालाई उछिन्ने भन्ने विषयको बहस मुख्य बनिरहेको छ । शायद पद जिम्मेवारीको लागि भन्ने कुरा दृढताका साथ पुरा गर्नु हो भन्ने लागेको भए, पदको लागि यति विघ्न मानिसहरू मरी मेट्ने थिएनन् । शक्तिमा आसीन नेताहरूले पनि पद वितरणमा मनपरी गर्ने थिएनन् । ‘ज्यू हजुर’ मा गुजार्ने व्यक्तिहरूको विभिन्न तहमा रजाई हुने थिएन । पदकै कारणले राजनीति देश, व्यवस्था, संविधान, विधानलाई बेला बेलामा नीति निर्माताहरूबाटै कुल्चेको समाचारहरू सुन्न पाउने थिएन । यसले एकातिर नेताका वरिपरि झुम्मिने व्यक्तिहरूले पद पाउने बढी सम्भावना बन्दै गएको छ भने पद नपाएको झोकमा निस्क्रिय बन्ने, झोक फेर्ने, पार्टी र पार्टीको चुनावलाई नै अप्ठेरोमा पार्ने गतिविधिहरू भएको भन्ने सुन्न पाउन थालेका छौं । व्यक्ति केन्द्रित राजनीतिको प्रभाव बढ्दै गएको छ । यो अझ विकास भएमा भविष्यमा केही प्रभावशाली व्यक्तिहरू मात्र चुनावमा जित्ने र बहुमतमा कुनै पनि पार्टीको नहुने सम्भावना नहोला भन्न सकिन्न । यसले मुलुक फेरि अस्थिर राजनीतिमा धकेलिनु पर्ने अवस्था आउने हो कि भन्ने शङ्का उपशङ्का पनि मानिसहरूको मनमा आउने जाने गरेको छ ।

पार्टीमा राजनीतिक पदलाई जिम्मेवारी भन्दा सुविधा हो भन्ने बुझाइबाट राजनीतिक प्रशिक्षण दिन शुरु भएको छ भन्ने उदाहरण धेरै छन् । एउटा उदाहरण यस्तो थियो- पार्टीका एक जना केन्द्रीय कमिटीका सदस्यले तत्कालीन नेकपा एमालेको भगिनी सङ्गठन अखिल नेपाल महिला सङ्घको सदस्यता वितरण तथा नवीकरण गर्ने भेलामा महिला नेतृले महिलाहरूलाई सम्झाउन खोज्नु भयो, “ हेर्नुस् तपाइहरूले घाँस काट्दा काट्दै, भाडा माझ्दा माझ्दै सभासद् भएको देख्नु भएको छ । के थाहा शायद तपाईँहरूको भाग्यमा पनि त्यो कुरा आउन सक्छ । तपाइहरूले अनेमसंघलाई पाँच दश रुपैयाँ तिरेर सदस्यता लिन वा नवीकरण गर्न किन आनाकानी गर्नु हुन्छ ?”

अन्तर्राष्ट्रिय राजनीतिमा सरकारको पदमा व्यक्ति फेर्ने बित्तिकै सरकारको कर प्रणाली, वातावरण, स्वास्थ्य, शिक्षा, आर्थिक नीति आदिमा परिवर्तन र त्यसको प्रभाव विश्व राजनीतिमा तुरुन्तै देखा पर्दछ । नेपालमा पनि हुन्छ, तर कम विकसित मुलुक र सानो आकारको बजेट हुनाले यसको प्रभाव विश्वमा खासै नपर्न सक्छ । तर पनि नेपालको भूगोल र जनसङ्ख्याको हिसाबले सानो मुलुक भने पक्कै होइन । मुलुक ठुलो होस या सानो नेपालको सत्ता चलाउने मामलामा खेलाँची गर्नु हुँदैन भन्ने मेरो मान्यता हो ।

हरेक राजनीतिक परिस्थितिमा महिलाहरूले पनि अहम् भूमिका निभाउँदै आएका छन् । चाहे पञ्चायत कालमा होस या गणतन्त्रको लागि गरिएको आन्दोलनहरूमा । चाहे उनीहरूको विवाह अघि होस या पछि । महिलाहरूले सङ्गठन गर्ने मामलामा, नीति निर्माणमा, राजनीतिक प्रशिक्षकको रूपमा वा दबाबमूलक आन्दोलनको नेतृत्व गर्ने जिम्मेवारी कुशलतापूर्वक निभाएका सयौँ उदाहरणहरू छन् । तर पार्टी खुला भए पछि भने राजनीतिमा महिलाहरूको स्थानमा अविवाहित, श्रीमानसँग पारपाचुके गरेका वा श्रीमान् बितेका एकल महिलाहरूको बाहुल्यता रहन गयो । श्रीमान् भएका महिलाहरू ओझेलमा परे । यसो हुनुमा विभिन्न बहानाहरू देखिएका छन् । श्रीमान् र श्रीमती दुवै पदमा हुँदा श्रीमानको राजनीतिमा दखल पर्न सक्छ, श्रीमतीको जिम्मेवारी घर परिवार, बालबच्चा, समाजमा बढी छ वा श्रीमान् भएका महिलाहरूले राजनीतिमा भनेको समयमा आफ्नो उपस्थिति जनाउन सक्दैनन् । श्रीमान् बितिसकेपछि भने त्यही श्रीमतीहरूलाई राजनीतिमा तान्ने, सांसद या मन्त्री बनाउने गरेको छ । श्रीमान् र श्रीमती दुई वटै हुँदा, दुवै जना मिलेर परिवार र समाजको जिम्मेवारी निभाउने वातावरण हुँदा श्रीमतीले सांसद वा सरकारको जिम्मा लिन अयोग्य हुने र श्रीमान् बिती सकेपछि त्यही महिला सक्षम महिला हुन सक्ने, माथिका सबै चुनौतीहरू पार गर्न सक्ने । यो नै आज राजनीतिमा महिलालाई हेर्ने दृष्टिकोण बनेको छ ।

मलाई के लाग्छ भने यो स्थिति हुनुमा राजनीतिक पार्टी र नेताहरूको राज्य सञ्चालनमा स्वार्थी प्रवृत्ति हो । श्रीमान् भएका महिलाहरूको लागि माथि उल्लिखित विभिन्न बहानाहरू सबै महिलाहरूमा लागू भइरहेको छैन । विभिन्न राजनीतिक शक्ति केन्द्रहरूमा धाउने, गुटको राजनीतिमा साथ दिने, गोजीको तास जस्तै आवश्यकता अनुसार प्रयोग हुन सक्ने, गुटका राजनीतिलाई बढुवा दिन सक्ने श्रीमान् र श्रीमती दुवै जना पदको लागि योग्य ठानिएका पनि छन् । यसलाई महिलाहरू माथि उपयोगको राजनीति हो भनेर बुझ्दा फरक पर्दैन भन्ने मेरो मान्यता हो । नेताहरूमा राज्य सुशानको लागि भन्दा पनि राज्यलाई अंश वा निजी सम्पत्ति जस्तै बाँड्ने कुरा हो भन्ने बुझाइको कारणले यस्तो भएको हुनु पर्दछ । फलानोको श्रीमान् दुर्घटनामा पर्‍यो, फलानोको श्रीमानलाई फलानो दुर्घटनाले मार्‍यो, श्रीमान् बिते पछि फलानोको श्रीमतीले दुःख पाइन्, कठै उनको श्रीमान् प्रभावशाली थिए, उनको श्रीमान् पार्टीको कार्यकर्ता या नेता थिए, उनको श्रीमान् पार्टीलाई चुनाव जिताउनको लागि खटेका थिए । अहो श्रीमती ? लौन श्रीमान् प्रतिको जनताको सहानुभूति तान्नलाई उनलार्ई टिकट दिनु उचित हुन्छ । लौन उसकी श्रीमतीले घर चलाउन सजिलो हुन्छ । लौन आफ्नो भोटको राजनीति सुरक्षित गर्नु पर्‍यो भन्ने आधारमा महिलालाई सांसद या मन्त्री बनाइन्छ भने त्यो महिलाको लागि सम्मान हो या अपमान ? महिलाहरूको काम, योग्यता, क्षमतालाई कदर गरेर उच्च सम्मान दिनु भन्दा पनि ‘कठैबरा’ को अलङ्कारले सजाएर महिलाहरूलाई राजनीतिमा तान्नु भनेको महिलाहरू पुरुष प्रधान समाजको लागि चेसको गोटी मात्र बन्न पुगेका छन् । यसको लागि स्वयं महिलाहरू सचेत हुनु जरुरी छ ।

राजनीतिक नेतृत्व र राज्य भनेको खेलाँची होइन । सक्षम व्यक्ति मात्र त्यो ठाउँमा पुग्नु पर्दछ । राज्य दुःख पाएकाहरूलाई बाँड्ने सम्पत्ति पनि होइन । कुनै पनि महिला राजनीतिक नेतृत्व र राज्य सञ्चालनको काममा अयोग्य छ भने र उनले र उनको परिवारले गरेको योगदानलाई कदर गर्नको लागि राज्यले थुप्रै किसिमले सहायता गर्न सक्छ । तर कुनै पनि महिला नेतृत्व गर्न सक्षम छिन् भने उनलाई जिम्मेवारी दिनको लागि श्रीमानको मृत्यु कुर्ने राजनीतिक कुसंस्कार र कुपरम्परालाई हटाउनै पर्दछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata