राजनीतिक अन्तरविरोध- प्रतिशोध वा अपराध ?

आइतवार, पुस २९, २०७५



- सीता ओझा- अध्यक्ष महिला अध्ययन केन्द्र

अहिले भर्खरै विवेकशील साझा पार्टी राजनीतिक अन्तरविरोधको व्यवस्थापन गर्न नसकेर विभाजनको अन्तिम विन्दुमा पुगेको छ । हरेक राजनीतिक दलहरू जन सेवाका लागि हुनु पर्ने हाे । विडम्वना हाम्रो जस्तो विकासोन्मुख देशमा राजनीति अवसरको रूपमा प्रयोग गर्ने परिपाटी दिन प्रतिदिन झाँगिदै‌ छ । दलिय राजनीति मार्फत संसदीय राजनीतिमा प्राप्त हुने  राजनीतिक पद र अन्य लाभका  अवसर प्राप्त गर्न ठुलै प्रयत्न गर्नु पर्ने राजनीतिक संस्कारको विकास भएको छ ।  राजनीतिक दलकाे स‌रचना यसरी निर्माण गरिएकाे छ कि  नेतृत्व  प्राप्तार्थ र दर्शनार्थ  विना कुनै पद प्राप्त गर्न करिव असम्भव बनाइएकाे छ ।  राजनीतिक नेतृत्वले नयाँ मुल्य र मान्यताकाे राजनीतिलाई स्थापित गर्नुकाे साँटाे यस्तै परिपाटीलाई बढावा दिइरहेका छन्  । पद र पैसासँग जोडिएका आम जनसमुदायमा आर्थिक अनियमितता गरेर  आर्थिक कारोबार मै भ्रष्ट कतिपय व्यक्तिहरूको राजनीतिक नियुक्ति र  सत्तापक्षीय पार्टीहरू भित्र जन्मिएका र देखिएका अन्तरविरोधहरू राजनीतिक दलले व्यवस्थापन गर्न नसकेर बाहिर छताछुल्ल पोखिएका समाचारहरू  सामान्य झै बनिसकेकाे छन् ।

हामी जस्ता भर्खरै प्रजातान्त्रिक प्रकृयामा प्रवेश गरेको राज्य , राजनीतिक संस्कार र  भुमिगत रूपमा संगठन बनाएर खुला भएका राजनीतिक दल र पार्टी स्वतन्त्रता पछि राजनीतिक उदेश्य र मुलुकको परिवर्तनको विषयलाई सम्बोधन गर्न गठन भएका हुन या हिजोको राजनीतिक कार्यलाई पुनः  दलिय स्वरूपको संरचनामा छिरेका  अथवा क्षेत्रीय र जातिय मुद्दा सम्बोधन गराउनका लागि गठन गरिएका दल या गठन भएका दल होस् ।  सबैमा देखिएको सबैभन्दा महत्वपूर्ण समस्या दलभित्रका योग्यतम व्यक्तिहरूको राजनीतिक पदमा अवसर दिने  निर्णय प्रकृयामा देखिने  विषयबाट सृजना हुने अन्तर विरोध , राष्ट्रिय श्रोत साधनको प्रयोगको बारेमा , ठुला आयोजना र ठूलो लगानी सँग जोडिएको खरिद तथा पुराना सामग्रीहरूको व्यवस्थापन या बेच विखन गर्ने कुरा सगँ नै विशेष रूपमा अन्तरविरोध सृजना भएको देखिन्छ ।

हिजोको नेकपा एमाले भित्र महाकाली नदिको पानी  र पञ्चेश्वर परियोजनाको विषय लिएर सयौं पटक पार्टीको स्थायी समितिको बैठक बस्यो । बहुमत र अल्पमत गर्दै सयौं प्रयत्नका बाबजुद झण्डै छ महिना लगाएर  महाकाली सन्धी र पञ्चेश्वर परियोजना नेपालको हितमा छ र यसले नेपालको पक्षमा खरवौको आर्थिक लाभ गर्ने कुराहरू पनि प्रचार गराइयो । यसै विषयलाई महाकाली र पञ्चेश्वर योजनाबाट नेपालको हित विपरीत छ र भारतले कहिल्यै बनाउदैन । नेपालका  ठुला नदि र जलाशयहरूको भारतले दोहन मात्रै गर्छ भन्ने दुई मत देखिएर नौ महिना अल्पमतको सरकार चलाएको दल पनि विभाजित हुन पुग्यो ।

यसरी दल टुक्रिनुमा मुलुकको अहित त भयो नै तर दल भित्र हिजो सत्ता या सरकार टिकाउन सरसल्लाह गरेरै गरेका कतिपय अराजनीतिक संस्कार र आन्तरिक गोप्य कार्यहरू पनि आम सञ्चार माध्यमबाट खुला गर्ने क्रम दुबै पक्षबाट निकै प्रतिस्पर्धामा नै चले । सरकार टिकाउन गरिएका प्रयत्न भित्रका सुरा सुन्दरी र सुराकी सम्मका कुरा र करोडौंको खर्च गरेर माननीयहरूको खरिदबिक्री गरिएका पुष्ट अपुष्ट समाचार सहित कतिपय बेलामा माउ पाटी बाट अलग पाटी बनाएका नेताहरूलाई भ्रष्टाचारीको संज्ञा दिएर आम सभा नै गरेको पनि देखियो र सुनियो पनि ।

यस्तो विभाजन पूर्व नेकपा एमाले मात्रै होइन , नेपाली कांग्रेस , मधेसवादी दल,राष्ट्रिय प्रजातन्त्र पार्टी, पूर्व नेकपा माओवादी लगायतका थुप्रै दलहरू विभाजनकाे बाटाेबाट गुज्रदैं व्यक्तिगत आरोप प्रत्यारोप सम्म पुगे ।  यी सबैको विभाजनका विषयलाई हेर्दा र पढ्दा राजनीति विषय भन्दा बढि आर्थिक  , सामाजिक र लाभसँग जोडिएको देखिन्छ । पद र पैसाको सञ्चितिकरणसँग पार्टीका महाधिवेशन र राष्ट्रिय निर्वाचनमा शिर्ष मध्येको पनि शिर्ष बन्न र कार्यकारी पदमा आफू र आफ्ना समुहमा भएकाहरूको संरक्षणका लागि प्रयोग  भएको मात्रै  देखिन्छ ।

राजनीतिक दलमा मात्रै होइन । यी र यस्ता विषयहरू घरपरिवार र समाजमा पनि हुने गरेको देखिन्छ । कहिलेकाहीँ घरपरिवारमा अन्तरविरोध हुने गर्छ । परिवारमा कोहि कसैले आफुलाई अन्याय परेको या पाखा / विभेद गरेको कुरा गरेर विस्तारित या संयुक्त परिवारबाट अलग हुन खोजिरहेको हुन्छ तर परिवारका अन्य सदस्यले त्यसको व्यवस्थापन गर्नुको सट्टा खिसि ट्युडि र कुराकाटेर हियाउने र एक्लो पार्ने प्रसस्तै उदाहरणहरू छन । राजनीतिक काम होस या सामाजिक आर्थिक काममा नै पनि लाभको पद या फाइदा र काइदाका काममा धेरैले चासो दिने तर मसिनो ( आर्थिक फाइदा नदेखिने )काम अरू कसैलाई लगाउने र विवादबाट टाढा बस्ने परिपाटी पनि हामी सबैले भोगेको,देखेको र गर्ने गरेर नै आएका छौ । तर यसको समाधानको विषयमा बोल्न सकेका छैनौ । समय क्रम सकिदै गए पछि समस्यामा परेको व्यक्ति विस्तारै अन्तर घुलन हुने तर मनमा कुन्ठा रहिरहने कारण भावनात्मक सम्बन्धहरू  कतिपय बेला खासै बन्न सक्दैनन् । त्यस्तै  परिवार होस कि कार्यलयिय संरचना पनि अन्तर विरोधहरू कै कारण यस्ता समस्यामा परेकाको हो कि भन्ने देखिन्छन । यस्ता कुरा हेर्दा त सामान्य लाग्न सक्छ तर कार्यलयको काममा या घरपरिवारमा यस्ता विषयले भुषको डडेलोले जस्तै गरि भित्र भित्रै सिद्याई रहेको हुन्छ भन्ने ज्ञान चाहिँ हामीले बिर्सन्छौ । । त्यसैले यस्ता कुराहरू पनि संस्थाहरूको अन्तरविरोध व्यवस्थापन सगँ सम्बन्ध राख्ने विषय हुन भनेर भन्न नसक्दा छुटिने,टुक्रिने या फुट्ने मात्रै होइन अक्षम्य अपराधका घटना घट्ने सम्मका अन्तरविरोधहरू देखिएका छन ।

यस्ता कुराहरूको व्यवस्थापन विषेश गरेर परिवारका शिर्ष सदस्यले अथवा संस्थाका प्रमुखहरूले सामाजिक न्याय अथवा समानताको सिद्धान्तको आधारमा समाधान गर्न पहल  गर्नु पर्ने हो  । तर यस्तो  गर्ने गरेको त देखिएको छैन । समाधानका लागि आधारभुत तहको सुनुवाइ , समस्याको अध्ययन,प्रभाव र हानीको अवस्थाको हेक्का नै नराखी बोलिदिदा या अरोपहरू लगाइदिदा एकछिनको समाधान त निस्किएला तर त्यसले दिर्घकाल सम्म काम र सम्बन्धमा असन्तुलन ल्याउछ  भन्ने कुराको ज्ञान हामी घरपरिवार र समाजमा नेतृत्व गर्ने कसैले हेक्का राख्ने गरेका छैनौ जस्तो देखिन्छ । त्यस्तै  मुलुकको नेतृत्व गरिरहेका आफुलाई प्रजातान्त्रिक भनेर परिभाषित गर्ने दलहरूमा पनि खासै देखिन् ।

राजनीतिक दलहरू पनि हाम्रै घरपरिवार र समाजबाटै विकास भएका संरचनाहरू हुन । हामीले बनाएका सबै दलहरू भित्र रहेका प्रत्येक व्यक्तिका सोचहरू पनि हामीले परिवार र समाज भित्र बाट बनाएका छौ । संस्कारलाई र सम्बन्धहरूको समायोजन सामाजिक न्यायसगँ जोडेर व्यवहार गर्न नजानेका हामीहरूले दल या यस्ता सघं संस्थाहरू या कार्यलयिय भएकाहरूका हामीहरूका  आनीबानीहरू लाई कति कार्यलयीय बनाउन सकेका छौ ? यता पनि हामीले सोच्नु पर्छ कि ! हाम्रा घरायसी विचार प्रवाह गर्ने शैलीका  कारण कतिपय कार्यलयिय काममा  अन्तरविरोध सृजना  भएको त होइन  ? यो पनि निकै गम्भीरतापूर्वक सोच्नु पर्ने विषयमा पर्छ कि !

दलहरूमा होस या राज्य सञ्चालन गर्ने सन्दर्भमा,काम गर्ने र काम गराउनेहरू विच अधिकारको विषय सगै कर्तव्य बोधसँग सम्बन्ध बनाएर हुने र गरिने विविध गाली गलौज र भाषण बाजीहरू पनि तत् तत् ठाँउका अन्तरविरोधहरू नै हुन तर किन मसिनोसँग अध्ययन र विश्लेषण गरिन्न । कि यस्ता विषयहरू अन्तरविरोधमा पर्दैनन् भनेर छोडिएका हुन् बुझ्न कठिन छ । तर यस्तै विषयले कार्यलयिय काम र व्यक्तिको जीवनमा हानी, यथास्थितिवादी र द्वन्द्वात्मक अवस्थाहरू सृजना भएको पनि देखिन्छ ।

अहिले विवेकशील साझा पार्टी भित्र त्यस्तै प्रकृतिको  अन्तरविरोधहरूको व्यवस्थापन गर्न नसकेको कारण राजनीति दलको रूपमा रहेको एउटा संस्था टुक्रिरहेको छ ।पार्टी निर्माणका सन्दर्भमा अनेकौ विषयको लालसा दिएर संगठन  निर्माणमा  सहभागी गराएका / गरिएको अवस्थाका व्यक्तिहरू अरू दलहरूमा जस्तै विवेकशील साझा पार्टीमा पनि अवश्य  आए नै होला  । त्यसरी अवसरहरूका बारेमा व्यक्तिलाई प्रभावित पार्ने प्रचलनले ल्याएका मानिसहरूको स्वार्थ पनि उनीहरूको निजी स्वार्थ सँग केन्द्रीकृत नै हुन्छ । त्यो स्वभाविक पनि हो । यी र यस्ता प्रचलनहरू हाम्रै पारिवारिक र सामाजिक आर्थिक संस्कारले नै निर्माण गरेका विचारहरूको पुरानो सोचान्तरणको धरातल हो तर त्यहि कुरा  हामीले आफुलाई पर्दा बिर्सने गरेका छौ । यस्ता कुरा, कुरा गर्दा न सम्झि गर्छौ काम गर्दा  सम न्यायको वितरणमा  विभेद हामी आफैले गर्ने गर्छौ । यस्तो सोचान्तरण रूपान्तरणको बाधक बन्छ र  हामीले व्यवस्थापन भित्र व्यक्ति पिच्छेका अवसरहरू सम्बोधन गर्न सक्दैनौ । आफू हिताय शैली अपनाउदा स्वाभिमानी मानिसका लागि  राजनीतिक तथा कामकाजीय अन्तरविरोधहरू  अन्तरविरोधको प्रतिशोधको रूपमा बाधक बनेर आउछन भने कहिलेकाहीँ  त यस्ता अन्तरविरोधहरू अपराधमा पनि परिणत हुन्छन / भएका पनि छन ।

अहिले विवेकशील साझापार्टीमा  अन्तरविरोध चुलिएको अवस्थामा पुगेको छ । विवेकशील साझाका नेता कार्यकर्ताहरू एकअर्काको चरित्र हत्याको उत्कृष्टतामा पुगेको छन । त्यसैका ससाना झिल्काहरू मध्येका आफुलाई अनुकुल समाचार बनाउन पत्रकारहरू पनि तल्लिन नै भएको देखिन्छ । पत्रकारहरूको धर्म भन्दा एकदुइ कदम तलमाथि पर्दा आफ्नो समाचार सबैले पढ्छन भन्ने जोड कोण मिलाउने पत्रकारहरूलाई पनि यस्ता मसलाले फाइदै गर्छ ।  तर अपराधको छिनोफानो गर्ने न्यायलय चाहिँ पत्रकारिता होइन भन्ने हेक्का नराख्दा पारिवारिक समस्या उत्पन्न भएर व्यक्तिको जीवन नै तहस नहस हुन्छ भन्ने धर्म चाहिँ समाचार बनाइरहदा पत्रकारले सोच्दैनन् । यस्ता भावनात्मक पक्षमा पनि हामी राजनीति गर्ने र समाज बनाउनेहरूले सोच्नु पर्दन र ?

एउटा सचेत व्यक्तिले आफू माथि अपराध हुँदाहुदै प्रतिकार गर्नै पर्छ । यदि गरिएन र मौन बसियो या अपराध सहियो भने पनि अपराध गरेको नै ठहर्छ तर तात्कालिक समयमा रमाइलो मान्ने र आफ्नु अनुकुलतामा प्रतिवाद गर्नु अथवा अपराधी बनाउने प्रयत्न गर्नु पुर्वाग्रह होइन र ? यस्ता प्रवृत्तिहरू राजनीतिमा प्रसस्तै छन । अपराधीक प्रवृतीका मानिस पनि हुन्छन र छन भन्ने हेक्का नराख्नु र जानी जानी रमाइलोको नाममा यौनिक आनन्द लिन अग्रसर हुने व्यक्ति पनि अपराधी नै होइन र ? यस्ता अपराधलाई तत्काल नबोल्नु  अपराधीलाई अपराध गर्न छुट दिनु  पनि हो नि त !

अझै पनि अपराधको प्रयत्न भएको हो भने अदालत जाउँ । अपराधसँग सम्बन्धि प्रमाणहरू जुटाउ नत्र मिल्दा रमाएका विषयहरूलाई आम जनसमुदायमा छरेर राजनीति प्रति विकर्षण  हुने निराशजनक समाचारहरू सम्प्रेषण नगरौं । प्रजातान्त्रिक मुलुकमा राजनीतिक सामाजिक सबै कामहरू मुल्यमान्यताको हेक्का राखेर गर्ने गर्यौं भने मात्रै  संस्कार र पद्धति बस्छ नत्र हामीले  थितिको  विकास गर्नै नसक्ने अवसथा आउँछ कि ?

हाम्रो रिस खोप्ठाउने र न्याय दिलाउने प्रवृत्ति पत्रिका बनाउदा हामीले न्याय पाउन पनि कठिन होला साथै अपराधीलाई कार्वाही गर्न पनि नसक्ने प्रवृत्ति हावी हुने होकी ? रविन्द्र मिश्र र रन्जु दर्शना दुबैलाई म खासै जान्दिन र चिन्दिन पनि तर पनि यो विषय राजनीतिक वृतको र समाजमा दुष्प्रभाव  पर्ने विषय भएकोले चर्चा गर्न खोजेकी छु ।

यस्ता विषयहरू कोहि व्यक्तिको राजनीति या सामाजिक काम या जिम्मेवारीबाट सिद्दयाउन साथै कोहि कसैलाई  राजनीतिमा माथी उठाउने विषय बनाउन गरिएको हो भने यो र यस्ता काम कार्वाही गर्नै पर्ने अपराध नै हुन । त्यसैले यी र यस्ता विषयलाई मलजल गर्नु राम्रो होइन  जस्तो लाग्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank