गिरीको समाजवाद, ओलीको समृद्धि र सी’को उपदेश !

फरकमत

आइतवार, कार्तिक ३, २०७६



- दीपेन्द्र पाण्डे

विश्व राजनीतिले मात्र हैन नेपाली राजनीतिले समेत अत्यन्त रुचाएको शब्द हो, समाजवाद। संविधानसभाद्वारा निर्मित संविधान समेत त्यसबाट अछुतो हुन नसक्दा मुलुकको संविधान नै समाजवाद उन्मुख हुन पुगेको सर्वविदितै छ। वर्तमान नेपालको संविधानलाई स्वीकार गर्ने देखी मार्न चाहने सम्मले रुचाउने ‘समाजवाद’ शब्द पुँजीवादका प्रवक्ता डाक्टर रामशरण महत देखी राजावादी कमल थापासम्म प्रिय हुनुले यसको महत्त्व र महिमा कम आँक्न सकिँदैन। शान्ति, स्थिरता, विकास, समृद्धि मार्फत ‘समाजवाद’मा पुग्न हतारिएको नेपाली राजनीतिमा काँग्रेसका प्रदीप गिरी र समृद्धिका पेटेण्ट राइट दाबी गर्ने ओली सम्मलाई चिमोट्ने सी’को उपदेश अकस्मात मुलुक प्रवेश गरेको छ ।

प्रजातन्त्रको लडाई मात्र हैन समाजवाद स्थापना गर्न विचारको लडाई छेड्ने नेपाली काँग्रेसका नेता प्रदीप गिरी निरन्तर समाजवादको वकालत नेपाली पारामा गर्दै आइरहेका छन्। उनी वर्तमान समयमा प्रस्टसँग भन्छन्, ‘हामी जता गएपनि समाजवादतर्फ गइरहेका छैनौँ। समाजवाद भनेको अर्कै कुरा हो ।’ उनी सरकार माथि नैतिक र गम्भीर सवाल खडा गर्दै भन्छन्, ‘सरकारी तलब भत्ता खाने शिक्षक, कर्मचारी निजीमा जानबाट रोक्न नसक्ने, स्वास्थ्यकर्मीलाई हाजिर गराउन नसक्ने, कृषिको सहुलियत विचौलियाले खाने देशमा वृद्धभत्ता बढाउँदैमा समाजवाद आउँदैन।’ नेता गिरीले ओली सरकारको बजेट माथि खरो टिप्पणी गर्दै भनेका थिए,  ‘या त सहरका ठाउँमा गाउँ लेख्नुस् । हैन भने समाजवाद उन्मुख लेख्ने पाखण्ड नगर्नुस्।’ गाउँलाई सुविधायुक्त बनाउन सकिँदैन ? गाउँलाई सुविधायुक्त बनाउनु आजको चुनौती हो कि होइन ? उनको प्रश्न थियो। प्रत्येक दिन एक कदम त चाल्नैपर्छ, तर कदम कता चालिँदैछ, पूर्वतिर उन्मुख कि पश्चिमतिर ? समाजवाद उन्मुख कि दलालवाद उन्मुख? सांसद गिरीको गम्भीर सवालले न सरकारलाई पोल्छ, न उनकै पार्टी काँग्रेसलाई। कथित वृद्धि दर र समाजवादसँगै जान सक्दैन । बीपीको नजरमा मानिस साध्य हुन । साधन हैनन् । नेपालको सवालमा समाजवादको यात्रामा पहिलो पाइलो गाउँको परिवर्तनबाट गरिनु पर्छ । समाजवाद ल्याउन सबै खाले बेरोजगारी समाप्त गर्नु अत्यावश्यक छ भन्ने बीपीको विचार पुष्पलाल बिर्सेका ओलीले सुन्ने कुरै भएन ।

समाजवादको जन्मदाता सोभियत रुस ढलेको र माओवादको चीन पुँजीवादमा फसेको समयमा बीपी र पुष्पलालको समाजवाद अनिवार्य हुन पुगेको गिरीले संसद्मा समेत बोलिसकेका छन्। समृद्धिको ज्वरोले थलिएको सरकारलाई गिरीले रिमिट्यान्सले चामल, तरकारी, दूध किनेर खाने र ठुला ठुला विकासका कुराले मुलुक कहीँ नपुग्ने बताउँदै तत्काल सच्चिन आग्रह गरेका छन्। मुलुकभित्रका पिएचडी, डाक्टर, बुद्धिजीवी, विद्धान, प्रधानमन्त्री, राष्ट्रवादी र राष्ट्रपतिलाई नेपालको विकास मोडेलको विषयमा मनन गर्न अनुरोध गर्ने गिरी बीपीलाई सम्झँदै विकासको पश्चिमी संस्कृतिको नक्कल गरेर नेपाल समृद्ध बन्न नसक्ने निचोडमा पुगेका छन् ।

उत्पादनका साधनको स्वामित्व बदल्ने जुन समाजवादको अवधारणा हो । त्यसको बारेमा मुलुकका समाजवादीहरू गहन बहस गरेर निचोडमा पुग्न नचाहेकोमा गिरी दुखी छन् । समाजवाद भन्ने शब्द र यो अवधारणाको उच्चारण गर्नासाथ उत्पीडित, वञ्चित र दलित वर्गका निम्ति एउटा आसाको विचारधारा वा दृष्टिकोण हो भन्ने मान्यतामा गिरी प्रस्ट छन् । समाजवाद मिठो सपना त अवश्य हो । तर आफ्नो राजनीतिक जीवनमा समाजवाद तर्फ सरकार र काँग्रेसलाई सम्झाउँदा सम्झाउँदै थकित बनेका छन् ।

सङ्क्षेपमा भन्नु पर्दा ‘समृद्धि’ शब्दले व्यक्तिको सम्पन्नतालाई जनाउँछ । आफूले चाहेका कुराहरू आर्थिक कारणले रोकिनु नपर्ने अवस्था नै सम्पन्नता हो। समृद्धि शब्द विशेष गरी आर्थिक क्षेत्रसँग बढी सम्बन्धित रहेको मानिन्छ। अर्को अर्थमा भन्दा समृद्धि भनेकै पैसा खर्च गर्ने क्षमता आर्जन गर्नु हो। अनेकखाले राजनीतिक समस्याको कारणले मुलुकवासीको जीवनमा सम्पन्नता आउन नसक्दा निराशा छाएको मान्ने व्यक्ति वर्तमान समय सिंहदरबारमा विराजमान छन्। उनी मुलुकवासीको मुर्छित सपना जगाउन दिन रात एक गर्दै छन् । पछिल्लो समय मुलुकलाई समृद्ध बनाउन मात्र हैन थकित र गलित प्रदीप गिरीहरु जस्तालाई समेत सपना देखाउन कुनै कसर बाँकी नराखेका प्रधानमन्त्री ओली दौडेका छन् तर हिड्न शुरु गरेका छैनन् । धरातलीय यथार्थलाई मनन गर्दै समृद्धिको यात्रामा निस्कने जाँगर ओलीमा कहिल्यै पलाएन । फगत अङ्कगणित र मनोगत भावनाको लहडमा सीमित ज्ञान र सीप सहितका ज्ञातासँग सहकार्य गर्दै समृद्ध नेपाल निर्माण गर्न हतारिएका प्रधानमन्त्री ओलीले बहुमूल्य समय खेर फालेका छन्।

विधि, पद्धति, विचार, नीति, नियम, पार्टी, विधान, सङ्गठन केही होइन । केवल ‘म र मेरो भिजन’ नै सबै हो भन्ने मान्यताका धनी कमरेड ओली एक्सनमा उत्रने कुरा गर्न मै व्यस्त छन्। विश्व राजनीतिको पछिल्लो कालखण्ड एकल बलबुतामा भन्दा सामुहिकतामा सफल भएको आँखा चिम्लँदै उनले खोजेको समृद्धि मुलुकले पाउन सपना नै देख्नु पर्ने अवस्था सिर्जना भएको छ। राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमा सम्पन्न गर्न विलम्ब गर्ने, मुलुकको आवश्यकता र हैसियत भन्दा धेरै टाढाको पानीजहाज र रेलबाट समृद्धि ल्याउन हतारिने ओली काइदा समयको माग बुझ्न बेवास्ता गर्दै छ। आर्थिक अनुशासन, पारदर्शिता र सुशासनलाई बेवास्ता गर्दै खोजिएको समृद्धि मुलुकको नयाँ रोग बनेर निस्किएको छ  ।

वेथिति, विकृति, विसङ्गति र ढिलासुस्तीको जगमा ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा गर्भमै शहीद बन्न हतारिँदै छ । समाजवादको प्रमुख दुष्मन बनेर उदाएको भूमण्डलीकरण र दलाल पुँजीवादको चक्रव्यूहबाट निस्कने कोसिस समेत नगरेको ओली सरकार फेरी पनि समृद्धिको उडान भर्न व्यस्त छ । धुमधामसँग इट्टाहरू राखिएका छन्, रिबन काटिएका छन्, बिजुली बस, गोबरग्यास प्लान्ट जन्मने बित्तिकै मारिएका छन् । धुमधामसँग सुरुवात गरिएको नयाँ युगको सुरुवात कता पुग्यो ? समृद्धिका नायकले भुलिसकेका छन्। ‘अहिले मोज नगरे कहिले गर्ने?’ भन्ने मुलमन्त्र स्थापित गर्दै सुशासन र मितव्ययितालाई थप्पड हान्दै शीतलनिवास देखी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म राष्ट्रपतिको सवारी चलाएसँगै मुलुकले समृद्धि हासिल गरिसकेको घोषणा गर्न मात्र बाँकी छ ।

मुलुकमा समाजवादी र समृद्धिवादीको बाढी नै आएको छ । तर मुलुकले न समाजवादको पाइलो चाल्न सकेको छ, न समृद्धिको । आम जनताको चाहना र मुलुकको राजनीतिक बाध्यता समृद्धि तर्फ जसरी भए पनि मोडिन बाध्य भएको मान्ने सङ्केत करिब २३ वर्षपछि विश्वकै शक्तिशाली चिनियाँ राष्ट्रपति सी नेपाल आउनुले दिएको छ । भूगोलका विद्यार्थीले भूपरिवेष्टित मुलुक नेपाल भनेर पढ्दै गर्दा राजनीतिक शास्त्रका विद्यार्थीले भारतवेष्टित मुलुक बुझ्न बाध्य भएको अवस्थामा भूजडित नेपाल देख्न चाहने चीनको पछिल्लो रणनीतिले मुलुकको भूअवस्थिति झनै सम्वेदनशील बन्दै गएको मान्न सकिन्छ । समृद्धिको भोको नेकपा नेतृत्वलाई जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी’ले अत्यन्त छोटो भ्रमणमा दीर्घकालीन र लामो कुरा सुनाउँदै उपदेश दिन सफल भएका छन् ।

चिनियाँ राष्ट्रपति सी’ले आफ्नो उदाहरण भन्दै गर्दा आफूलाई चाहिँ आलोचना गरेको जस्तो महसुस भएको बताउने प्रचण्डको बाध्यताले वर्तमानमा नेकपाको साङ्गठनिक दुर्बलता र कुरूप अवस्था उजागर गर्नुका साथै नेपाली वामहरूको धोती खुस्किएको छ । ‘मैले त्यहाँ केही भनिनँ, भन्ने कुरा पनि भएन । तर हाम्रो त ८-९ लाख पार्टी सदस्यलाई नियन्त्रण गर्न नसकेर जसलाई जे मन लाग्यो त्यही गर्ने, जसलाई जे मन लाग्यो त्यही भन्ने भइराखेको छ भन्नुले प्रचण्ड र ओलीको नेतृत्व क्षमता उजागर भएकै छ । आफू जसरी पनि खुसी हुनु पर्ने राजनीति गरेका प्रचण्ड र ओलीले राष्ट्रपति सी’को उपदेशसँगै खाएको राजनीतिक दनकले वर्तमान नेपालको राजनीतिक अवस्था, कम्युनिस्ट पार्टीको बहुलट्ठीपन, अनुशासन हीनता, एजेन्डा र कार्यक्रम विहीन नेतृत्वको सूक्ष्म अध्ययन पछि ओकलेको कटु यथार्थता नै ‘हामीलाई तिमीहरू अराजक छौँ भनेको हो कि जस्तो लाग्यो’ भन्ने प्रचण्ड बुझाई आफैमा सटिक र सही मान्न सकिन्छ ।

गफबाटै समृद्धि ल्याउन मरिहत्ते गरेको वाम सरकारलाई चिनियाँ राष्ट्रपतिले चीनमा आफूहरूले कसरी काम गरेको छौँ भन्ने सुनाउनुले तिमीहरू कति पानीमा छौ भन्ने जानकारी दिएका छन् । नेकपाका नेता कार्यकर्तालाई तिमीहरू स्वार्थी छौ, अराजक छौ, तिमीहरू आफ्नो गुटको अनुशासन मान्छौ, पार्टी अनुशासन मान्दैनौँ । पार्टीले निर्णय एउटा गर्छ, व्यवहार अर्कै गर्छौँ। चीनको कुरा गर्दै नेकपाको धोती खोल्ने राष्ट्रपति सी’को रणनीतिक कला देखेर हैरान भएका कमरेड प्रचण्डले सी’को उपदेश विचित्र पाराले कार्यकर्ता र आफ्नै सहयोद्धा सामु पस्किएका छन् ।

सुविधा भोगी र सम्पत्तिका लोभीहरू कम्युनिस्ट हुन सक्दैनन् भन्ने राष्ट्रपति सी नेकपाका नेताहरूलाई लाइन लगाएर उनीहरूको औकात, हैसियत र नियत आफूले राम्रोसँग बुझेको भन्न भ्याएका छन् । युद्ध रोक्न नसक्ने, युद्ध लड्न नचाहने महाभारतको विदुरको अवस्थाबाट गुज्रेका गिरीले राष्ट्रपति सी’को उपदेश सुन्न नपाए पनि ओलीलाई सल्लाह दिन कञ्जुस्याँई गर्दैनन् । उनी भन्छन्, ‘समाजवाद र समृद्धि अलग कुरा हुन । विकासे समृद्धिको नाममा आफ्नोपन नगुमाऊ । सातु खाएर समाजवादको अध्ययन गर्ने पुष्पलालको बाटोमा फर्क ।’ अङ्कगणित र कुर्सीको उन्मादमा हौसिएका प्रधानमन्त्री ओलीले राष्ट्रपति सी’को उपदेश मान्छन् कि समाजवादी नेता गिरीको अर्ती ! केवल समयलाई छोडिदिनु उचित हुनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata