जनता नै परिवर्तनका बाहक हुन्

शुक्रबार, फाल्गुन १६, २०७६



- पूर्ण शोभा चित्रकार

करिब साढे दुई फिट चौडा परम्परागत काठको डुङ्गामा खुट्टा टेकेको बेला पश्चिमको सूर्य ढल्कनै लागेको थियो । माघ महिनाको मौसम तराईमा पनि चिसो थियो । जमिन र पानी माथि पातलो हुस्सुले छोपेको भएता पनि बुढी राप्ती खोलाको दायाँ बायाँका जङ्गलमा गोही, मृग, सर्प, बाँदर, सारस, चखेवा चखेवीहरुको बथान हेर्नमा कुनै समस्या थिएन । प्रकृतिको त्यो रमणीय वातावरणले मलाई मात्र होइन, सबै यात्रुहरूलाई मनमोहक बनाइरहेको थियो । डुङ्गामा बसेका बाह्र पन्ध्र जना यात्रुहरू मध्य सक्ने जतिले आ–आफ्नो मोबाइलले मनमोहक प्राकृतिक दृश्यलाई कैद गरे । सहरको फोहरको थुप्रो र कोलाहलबाट टाढा र शान्त त्यो ठाउँमा मलाई पनि अलौकिक शान्ति प्राप्त भएको भान भयो । मान्छे, प्रकृति र जनावरबीचको सामीप्यबाट यो संसार अझ रमणीय लाग्ने रहेछ ।

a

करिब आधा घण्टाको डुङ्गा यात्रापछि मैले काठको भर्खर बनेको जस्तो लाग्ने एउटा मचानलाई सजिलै देखेँ । थाहा भयो त्यो जङ्गली जनावरहरू हेर्ने मचान मात्र नभई ‘मचान गेस्टहाउस’ थियो । विशेष गरी पर्यटकहरूको लागि बनेको थियो । त्यो दिन त्यही मचानको उद्घाटन कार्यक्रम थियो । साँझ पर्न लागेको र जङ्गली जनावरहरूको कोरिडोर भएकोले उद्घोषिकाले छिटो छिटो कार्यक्रम सञ्चालन गरिन् । अतिथिहरूले पनि त्यही रफ्तारमा भाषण सकाए । मैले भने त्यो माहौल भित्र कार्यक्रममा जम्मा भएका आयोजकहरूसँग भलाकुसारी गर्ने मौका खोजेँ ।

b

“यस्तो गेस्टहाउस बनाउने योजना हामीले मृग कुञ्ज मध्यवर्ती सामुदायिक बनबाट सिकेका हौँ,।” चित्रसेन मध्यवर्ती सामुदायिक बनका अध्यक्ष पुष्पराज श्रेष्ठले भने । “मृग कुञ्ज भन्दा यो क्षेत्र नजिक भएकोले पर्यटकहरूलाई बढी सजिलो हुन्छ भनेर हामीले यहाँ गेस्टहाउस बनाउने पहल गरेका हौँ । हामीले धेरै चुनौतीहरू पनि भोग्यौँ । सबैभन्दा ठुलो चुनौती त स्वीकृति लिनुमा नै रह्यो । जनावरहरू ओहो दोहर हुने कोरिडोरमा होहल्ला हुन्छ । जनावरहरूलाई बाधा हुन्छ भनेर अनुमति दिइएन । एक मानेमा त्यो कुरा ठिक पनि हो । तर हामीले होहल्ला नगर्ने, पर्यटकहरूलाई पनि बाहिरै तालिम दिने, खानेकुरा, प्लास्टिकहरू भित्र ल्याउन नदिने जस्ता कुराहरूको ग्यारेन्टी गरे पछि हामीले स्वीकृति पायौँ ।”

c

ती कुराहरू गरिरहँदा पुष्पराजको आँखामा एक खालको खुसी र सन्तोष देख्न सकिन्थ्यो । उनको भनाइमा मध्यवर्ती क्षेत्रमा बहत्तर वटा सामुदायिक बनहरू छन् । त्यस छाता सङ्गठनको एक सदस्यको रूपमा चित्रसेन मध्यवर्ती सामुदायिक बन रहेको छ । समुदायमा तेह्र सय सदस्यहरू रहेका छन् र सात वटा टोलहरूमा टोल स्तरीय समितिहरू रहेका छन् । हरेक एघार जनाको टोल समितिमा चार जना महिलाहरू अनिवार्य सदस्य हुने व्यवस्था गरिएको छ । वन संरक्षणको लागि महिलाहरूलाई पनि हर तरहले अघि बढाउने योजनाका साथ काम गरिरहेको छ । चित्रसेन बनमा प्राय–पर्यटन व्यवसाय सञ्चालनमा छ अर्थात् बनमा कुनै पनि गाडी चलाउन पाइँदैन । मानिसहरू डुङ्गा, हात्ती र पैदलद्वारा जङ्गल सफारी गर्दछन् । ट्रकहरू चलाउन नमिल्ने भएकोले गेस्ट हाउसको लागि चाहिने ठुला काठका मुढाहरू धेरै टाढाबाट घिसार्दै ल्याउनु परेको थियो ।

चित्रसेन वनको प्राय–पर्यटन व्यवसायबाट वर्षमा दुई करोड आम्दानी हुने गर्दछ । उक्त आम्दानीको पचास प्रतिशत रकम चित्रसेनवासीहरूको हितको लागि खर्च हुने गरेको छ । दुःखलाई झेल्दै बनाएको चित्रसेन मचान गेस्टहाउसबाट समुदायमा भएको फायदाको कुराले चित्र सेनवासीहरूलाई खुसी पारेको देखिन्छ । उनीहरूले मचान गेस्टहाउस बनेबाट आम्दानीमा फड्को ल्याउन सक्ने विश्वास गरेका छन् ।

e

चित्रसेन सामुदायिक बनका लेखा समितिको संयोजक पुष्पराज मरहट्ठाले पनि चित्रसेनको सफलताको बारेमा कुरा गर्न उत्सुकता देखाए । उनले भने, “चितवन राष्ट्रिय निकुञ्जको पेरिफेरिमा तीन वटा प्रदेश, बाह्र वटा नगरपालिका र बहत्तर वटा सामुदायिक बनहरू छन् । यस चित्रसेन बनमा बाघ, बँदेल, गैँडा, चित्र र थुप्रै किसिमका चराचुरुङ्गी देख्न सकिन्छ । प्रकृतिलाई नजिकबाट हेर्न चाहने मानिसहरू पैदल यात्राद्वारा जङ्गलको विहार गर्न मन पराउँछन् ।”

चित्रसेनको प्राय–पर्यटन व्यवसायबाट आम्दानी हुने आधा रकमबाट समुदायले सदस्यहरूको निम्ति स्वास्थ्य, शिक्षा, सोलार प्यानलको लागि अनुदान दिने गर्दछ । सुत्केरी हुँदा सुत्केरी खर्च र परिवारको सदस्यको मृत्यु भएमा क्रिया खर्च पनि दिने गरेको छ । चित्रसेनवासीहरूलाई जङ्गलमाथिको आश्रय घटाउन र जङ्गललाई संरक्षण गर्नको लागि वैकल्पिक ऊर्जामा प्रोत्साहन गर्दै आएको छ भने जङ्गलमा फोहर हुन नदिन हरेक घरधुरीलाई दुई दुई वटा फोहोर फाल्ने बाल्टी वितरण गरेको छ ।

चित्रसेनमा विगत सत्र वर्षदेखि काम गर्दै आएका कार्यालयका सचिव कृष्ण आचार्यले पनि सत्र वर्षपछि आएका परिवर्तन बारे केही सुनाए । उनले भने, “पहिले बनहरू जिल्ला बन कार्यालय अन्तर्गत थियो । विसं २०५३ सालमा मध्यवर्ती वन ऐन लागू भए पछि मानिसहरूले दाउरा बेचेर आफू र परिवार पाल्नु पर्ने अवस्थाको अन्त भयो । सुरुमा समुदाय बनाउँदा त्यसको महत्त्व बुझाउन सजिलो थिएन । त्यो बेलामा पनि हरेक घरधुरीबाट सय सय रुपैयाँ उठाएर समुदाय बनायौँ । अहिले सबै मानिसहरू समुदायमा बसेर काम गर्न चाहन्छन् । काम सफल हुँदै गएकोमा म खुसी छु ।”

f

समुदायका सदस्यहरूले वार्षिक पच्चिसदेखि तीस हजार बराबरको सहयोग पाउँदै आएका छन् । घरमा मान्छे मर्‍यो भने दश हजार क्रिया खर्च पाउँछन् । यसले आपत् परेको बेला ठुलो राहत मिलेको छ । त्यसै गरी सोलार प्यानलको लागि चार हजार, स्वच्छ खानेपानीको लागि दुई देखि पाँच हजार पाउँछन् । यी बाहेक मुढा बनाउने, उद्घोषण गर्ने, गाडी चलाउने जस्ता सिप वृद्धिका तालिमहरू लगायत विभिन्न किसिमका महिला सशक्तीकरण कार्यक्रमहरू सञ्चालन हुँदै आइरहेको छ ।

मैले समुदायका विभिन्न व्यक्तिहरूसँग कुरा गरिरहेको बेला हाम्रो पछाडि ठिङ्ग उभिएको मचान गेस्टहाउसले पनि कुराको होमा हो थपिरहेको जस्तो लाग्यो । मलाई लाग्यो देशमा राजनीतिक जटिलता रहे पनि वा केन्द्रीय तहका नेताहरू खाली भाषण र रवाफमा मात्र सीमित रहे पनि गाउँका जनताहरू चुप लागेर बसेका छैनन् । उनीहरूले आफ्नो गच्छे अनुसारको श्रोत साधन जुटाएर, आफ्नो पहुँच भएका राजनीतिक नेताहरू, विकास प्रेमीहरूसँग समन्वय र सहकार्य गरेर आफूले सक्दो रूपमा गाउँ टोलको लागि जीवन खर्चिरहेका छन् । वास्तवमा जनता नै परिवर्तनका बाहक हुँदो रहेछ । मैले धन्यवाद दिएँ सबैलाई, जसले गाउँमा विकास गरी मानिसहरूको जीवनस्तर सुधार्न र प्रकृति जोगाउन प्रयासरत छन् । चित्रसेनवासीहरूको ती प्रयासहरूले त्यस स्थानको विकासमा टेवा पुर्‍याएको मात्र नभएर, विकास र परिवर्तन ‘कुराले भन्दा कामले हुन्छ’ भन्ने सिकाएको छ । ती प्रयासहरू अरूको लागि पनि प्रेरणा बनुन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments