नेपाली वीरताको निशानी- पौवा गढी

मङ्लबार, साउन २१, २०७६



- परिवेश मल्ल ठकुरी

कहिल्यै सूर्य नअस्ताउने मुलुक बेलायतले फ्रान्सलाई धूलो चटाउदा, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको रणनीतिमा वीर गोर्खालीहरुले सिन्धुलीको पौवा गढीमा बेलायती फौजको सातो उडाइ हारको स्वाद चखाईदिएका थिए । सिन्धुलीको पौवा गढीमा गोर्खालीसँग बेलायतीहरु घूँडा टेक्दै गर्दा संसार भरि कै शक्तिशाली देश आजको अमेरिका बेलायतसँग स्वतन्त्रताको लडाई लड्दै थियो । हाम्रा पुर्खाहरुले देशको माटो जोगाउन, विदेशीको पाईला टेक्न नदिन देखाएको अदम्य शाहस, बहादुरी, शुरता, वीरताले गर्दा नै विश्वभर नेपालीको पहिचान वीर बन्न पुगेको हो ।

शाहस र वीरताको गाथा बोकेको स्थानहरु जहाबाट नेपालीले युद्ध जितेका थिए, ती ऐतिहासिक ठाउँहरु  क्रमश हराईरहेका छन, लोप भइरहेका छन । आधुनिक हतियारले सुसज्जित आफू भन्दा बलिया अंग्रेज फौजलाई खुकुरी, खुँडा , भाला तथा थोरै बन्दुकको भरमा केवल आफ्नो शुर्याई, निडरताको बलले परास्त गरेको ठाउँ हो – सिन्धुली गढी क्षेत्र भित्र पर्ने “पौवा गढी” ।

प्राकृतिक सुन्दरता एवम् ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थान सिन्धुली गढी परिसरमा नै पर्ने पौवा गढी काठमाडौंबाट करबि ९५ किलोमिटर पूर्वमा अवस्थित रहेको छ । मल्लकालमा नै निर्माण गरिएको सिन्धुली गढीको दक्षिण पूर्व करिव ४०० मिटर तल आड भन्ज्याङ्मा रहेको छ । सिन्धुली गढीको आधार (आड) गढीको रुपमा तत्कालीन मकवानी राजा शुव सेनका छोरा माणिक्य सेनले वि.स.१७६२ तिर पौवा गढी निर्माण गरेका थिए । वि.स. १८१९ मा मकवानपुर माथि गोरखाले विजय प्राप्त गरे पछि यो गढीमाथि पृथ्वी नारायण शाहको अधिकार भएको थियो । सामरिक दृष्टिले अति महत्वपूर्ण पौवा गढी आक्रमण भन्दा पनि प्रतिरक्षा गर्ने उद्येश्यले निर्माण गरिएको थियो । स्थानीय ढुङ्गा प्रयोग गरि (जडान विना) बनाईएको चतुषकोण तथा त्रिभुजाकार पर्खालहरु नेपाली मौलिक वास्तु शैलीको अनुपम नमूना पनि हो ।

नेपाल–अंग्रेज युद्धको जीवित साक्षीको रुपमा रहेको सिन्धुली गढी क्षेत्रमा निर्माण गरिएको पौवा गढीमा नै अंग्रेजसँग युद्ध भएको थियो । जहाँ  शक्तिशाली अंग्रेजका १८ पल्टन (२४०० सैनिक फौज) लाई ५ पल्टन (८०० सैनिक फौज) गोर्खालीले नराम्रोसँग  हराएका थिए । वि.स. १८२० तिर हरिहरपुरगढी (मकवानपुर) मा गुर्गिन खानको फौज माथि विजय प्राप्त गरेपछि त्यहाँ धेरै हातहतियार (बन्दुक) पृथ्वी नारायण शाहलाई प्राप्त भएको थियो । प्राप्त हतियारबाट उनले श्री नाथ, पुरानो गोरख, बर्दबहादुर, कालीबक्स, सबुज ५ पल्टन (गण) गठन गरेका थिए ।

pauua

काठमाडौंका राजा जय प्रकाश मल्ललाई सहायता गर्ने निहुँमा अंग्रेजबाट कुनै पनि बेला आक्रमण हुन सक्ने भएकोले पृथ्वीनारायण शाहले अंग्रेजहरुको आक्रमणलाई निस्तेज गर्न तथा देशलाई शत्रुहरुको हमलाबाट बचाउन संभावित अंग्रेज सैनिक प्रवेश गर्ने मार्ग हरिहरपुर गढीमा राम कृष्ण कुँवर तथा सिन्धुली गढी तर्फ काजी वंशराज पांडे, श्री हर्ष पन्थ, सरदार सिकारी वंशी गुरुङ, खजान्ची वीरभद्र उपाध्यायको नेतृत्वमा सोेही ५ पल्टन (८०० सैनिक) गोरखाली सैनिकलाई सिन्धुली गढी, पौवा गढी, ढुङ्ग्रेबासमा पहिले नै तैनाथ गराएका थिए ।

वि.स. १८२४ कार्तिक २४ गते क्याप्टेन किनलकको नेतृत्वमा आएको १८ पल्टन ढुङ्ग्रेबासबाट अगाडी बढदा, ढुङ्ग्रेबासको मोर्चा सम्हाल्ने वंशी गुरुङले उनीहरुलाई सहजै अगाडी बढन दिए र आफू गोप्य रुपमा पछयाउदै पनि थिए । जब ढुङ्ग्रेबासबाट ग्वाड्ड खोला तरि नागवेली उकालो लाग्दै पौवा गढीमा अंग्रेज फौज पुग्यो । तब अचानक काजी वंशराज पाण्डेको नेतृत्वमा रहेका वीर गोर्खालीले शत्रु माथि जाई लागे । पूर्व योजना अनुसार नै ढुङ्ग्रेबास देखि नै पछि पछि आएको वंशी गुरुङको नेतृत्वमा रहेको सैनिकले अंग्रेज फौजलाई ढाडबाट (पछाडीबाट) हमला गर्दा त्यहा घमासान युद्ध भयो ।

अगाडी (पौवा गढी) बाट र पछाडी (ढुङ्ग्रेबास) बाट एकै पटक प्रहार हुँदा आधा भन्दा धेरै बढी अंग्रेज सैनिक हताहत भएपछि ८०० जति बचेका सैनिक लिई   क्याप्टेन किनलक फर्कन बाध्य भएका थिए । वीरभद्र र वंशी गुरुङले दपेट्न (लखेट्न) सम्भव  भएसम्म लखेटेपछि हात हतियार (बन्दुक) फालेर शत्रु सैनिक मुस्किलले जनकपुर पुग्दै ज्यान जोगाउन सफल भएका थिए ।

नेपालीको अदम्य साहास, उच्च रण कौशल, भौगोलिक बनोटको फाइदा तथा पौवा गढीको विशिष्टतम प्रयोगको कारणले गर्दा नै कहिले पनि नहारेका शक्तिशाली अंग्रेज सैनिक नेपालीको हातबाट पहिलो पटक हार्न पुगेको त्यो ऐतिहासिक ठाउँ  नै पौवा गढी हो । तर धेरै नेपालीले बिर्सीसकेको, थाहा नभएको तथा सरकारी निकायको बेवास्ताको कारणले ओझेलमा परेको यस पौवा गढी प्रचार-प्रसार, संरक्षण र संवर्द्धनको पट्ट्यारलाग्दो पर्खाइमा छ । सम्बन्धित निकायले प्राथमिकतामा राख्न नचाहेको पौवा गढीको नवजीवनको निम्ति सम्पूर्ण नेपालीहरुको पाईला वर्षौ देखि कुरीरहेको छ । साथै आफ्नै पुर्खाको वीरतालाई नमन गर्ने र विरासतलाई जोगाउने जिम्मा आन्तरिक पर्यटनमार्फत सर्वसाधारण जनताकै काँधमा पुगेको मान्न सकिन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata