मानव जीवनमा माक्र्सवादको प्रभाव

सिद्धान्त बहस : भाग ३

बिहिबार, फाल्गुन २६, २०७३



- प्रदीप ज्ञवाली

दर्शन, अर्थशास्त्र र राजनीतिलाई माक्र्सवादका मुख्य सङ्घटक अङ्ग मानिँदै आएको भए पनि मानव जीवनमा माक्र्सका विचारहरुको प्रभाव निकै विस्तृत, वहुआयामिक र गहन छ ।

१. बीबीसीले सन् २००० मा गरेको विश्वव्यापी जनमत सर्वेक्षणमा कार्ल माक्र्सको नाम दोस्रो सहस्राव्दीमा विश्वलाई सर्वाधिक प्रभाव पार्ने दार्शनिकका रुपमा घोषित भयो । ‘सहस्राव्दी नायक’ को रुपमा माक्र्सको चयन एकदमै स्वाभाविक र अपेक्षित थियो, किनभने समकालीन विश्व र मानव जीवनमा माक्र्सका विचारहरुको जत्तिको गहिरो प्रभाव अरु कसैको छैन । माक्र्स एउटा यस्तो सीमास्तम्भ हुन्, जहाँबाट नयाँ युगको सुरुवात हुन्छ ।

२. माक्र्स अद्वितीय दार्शनिक, अनुपम अर्थशास्त्री र अविश्रान्त राजनीतिक सिद्धान्तकार थिए । प्रकृति, समाज र मानवीय चेतनाका चालक नियमहरुको अन्वेषण र संश्लेषण गरेर उनले प्रतिपादन गरेको द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद, पुँजीवादी शोषणको सूक्ष्म र मिहीन विश्लेषण गर्दै उनले आविष्कार गरेको अतिरिक्त मूल्यको सिद्धान्त तथा श्रमजीवी वर्गको सङ्घर्षको लक्ष्य एवं अनिवार्य भविष्यका रुपमा उनले रेखाङ्कित गरेको वैज्ञानिक समाजवादको सिद्धान्त यस युगका सर्वाधिक मूल्यवान वौद्धिक सम्पदाहरु हुन् । प्रयोगका कतिपय ढाँचामा भएका कमी र अनुयायीहरुका गल्तीहरु आफ्ना ठाउँमा होलान्, तर माक्र्सका विचारहरुको वैज्ञानिकता र सहीपना भने चुनौतीरहित छ ।

३. दर्शन, अर्थशास्त्र र राजनीतिलाई माक्र्सवादका मुख्य सङ्घटक अङ्ग मानिँदै आएको भए पनि मानव जीवनमा माक्र्सका विचारहरुको प्रभाव निकै विस्तृत, वहुआयामिक र गहन छ । माक्र्सवादबाट कुनै न कुनै रुपमा प्रभावित नभएको या त्यसबाट निरपेक्ष रहेको संभवतः जीवनको कुनै पाटो या कोण छैन भन्दा अतिरञ्जना ठहरिने छैन ।

४. माक्र्सको सबैभन्दा ठूलो योगदान हो– उनले संसारभरका श्रमजीवीहरुलाई बाँच्ने आशा जगाए र विभेदकारी समाजका ठाउँमा अर्को न्यायपूर्ण, समान र समृद्ध संसार निर्माण गर्नु संभव छ भन्ने विश्वास दिलाए । माक्र्सले देखाएको समाजवादी सपना पूर्ववर्ती सन्त–चिन्तकहरु, समाज–सुधारकहरु या विद्रोहीहरुले सोचेको आदर्श समाजभन्दा के मानेमा भिन्न थियो भने यो कुनै स्वैरकल्पना थिएन । यो समाज विज्ञानका वस्तुनिष्ठ नियमहरुको सघन अध्ययनमाथि आधारित वैज्ञानिक र व्यवहारिक निष्कर्ष थियो । वस्तुतः उनले न्यायका लागि सङ्घर्षरत करोडौं श्रमजीवीहरुलाई मुक्ति र समानताको वैचारिक अश्त्र प्रदान गरे । यो वैचारिक मार्गदर्शन प्राप्त नगरुञ्जेल श्रमजीवी वर्गको आन्दोलन मेसिन–भञ्जन या लामा–लामा ज्ञापनपत्र बुझाउने जस्ता दायरामा सीमित थियो ।

५. माक्र्स यताको अवधिमा श्रमजीवी वर्गले के पायो ? सङ्क्षिप्तमा उल्लेख गर्नु सहज छैन । ‘वर्ग स्वयं’ बाट ‘वर्ग आफ्ना निम्ति’ मा रुपान्तरण, अधिकार र समानताका लागि सचेत र बलिदानी सङ्घर्षहरुको संयोजन, श्रमजीवी वर्गका मुद्दाहरुको राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता, पुँजीवादमाथि सुधारका लागि दबाब र कतिपय मुलुकहरुमा समाजवादी सत्ताहरुको स्थापना यसबीचका उल्लेखनीय उपलब्धि हुन् ।

६. प्रतिकूलतासँग जुझ्दै अगाडि बढिरहेका समाजवादी मुलुकहरु अस्तित्वमा भए पनि कुनै बेला संसारको एक तिहाइभन्दा बढी भूभाग ओगटेजस्तो समाजवादी विश्व अहिले छैन । आज समाजवाद रक्षात्मक अवस्थामा छ । तर माक्र्सले अगाडि सारेका एजेण्डालाई अस्वीकार गर्न भने स्वयं पुँजीवादलाई पनि सहज छैन । माक्र्सका विचारहरुको हस्तक्षेपसँगै पुँजीवादले कृत्रिम रुपमा भए पनि मानवीय चेहरा भिर्न वाध्य भएको छ ।

७. पुँजीको अत्यधिक केन्द्रीकरण पुँजीवादको विशेषता र यसको असाध्य अन्तरविरोध पनि हो । सबैभन्दा धनी १ प्रतिशतका हातमा बाँकी सबै मान्छेको भन्दा बढी सम्पत्तिको केन्द्रीकरण, आर्थिक विषमताको गहिरिँदो खाडल, बेरोजगारी, गरिबी, अभाव र द्वन्द्व, आतङ्कवादको बढ्दो चुनौती र पर्यावरणीय विनाशका कारण आज विश्व वित्तीय पुँजीवादी सङ्कट झनै गहिरिँदो छ । पँुजीपति वर्गको सङ्कटको व्ययभार आम जनताको शिरमाथि थोपर्दै भइरहेका मितव्ययिता नामका सामाजिक सुरक्षा– कटौती र श्रमिकहरुमाथि हुन थालेका नयाँ शोषणहरुले समाजमा आक्रोश पैदा गर्न थालेका छन् । ९० को दशकमा चर्को स्वरमा हल्ला गरिएको नवउदारवादको अन्तिम विजय र समाजवादको मृत्युका घोषणाहरु खोक्रो साबित भएका छन् । समाजवादको खोजी व्यग्रतापूर्वक हुन थालेको छ ।

८. माक्र्सले द्वन्द्व र गतिका नियमहरुको अन्वेषण गर्दै संसारलाई हेर्ने र बुझ्ने नयाँ विश्व दृष्टिकोण निर्माण गरेका थिए । त्यसपछि नै आकस्मिकता र व्यक्तिको शौर्यमाथि आधारित जस्तो लाग्ने समाजका नियमहरु व्यवस्थित, शृङ्खलावद्ध र वस्तुवादी देखिन थालेका थिए । विगत डेढ सय बर्षमा भएका क्वान्टम भौतिकी, क्वार्क र हिग्स बोसनको खोजी, अन्तरिक्ष विज्ञान, जेनेटिक इञ्जिनीयरिङ र अन्य धेरै वैज्ञानिक अन्वेषणहरुले माक्र्सले भने जस्तै संसारको ज्ञेयता, पदार्थ र मानव चेतनाको द्वन्द्वात्मकता, सतत् गति र नित्य नयाँ सिर्जनाका मान्यताहरुलाई पुनःपुष्टि गर्दै लगेका छन् । रुढ, भाववादी र पराभौतिक चिन्तनहरु खण्डित हुँदै गएका छन् ।

९. माक्र्सले उद्घोष गरेको औपनिवेशिताको विरोधको अवधारणाले संसारका धेरै उत्पीडित राष्ट्रहरुलाई स्वाधीनता र राष्ट्रिय मुक्तिको आन्दोलनमा उत्रिन अभिप्रेरित ग¥यो । फलतः आज उपनिवेशवाद विधिवत् अन्त्य भएको छ । नवऔपनिवेशिक शोषणहरु निसन्देह छन् र साना राष्ट्रहरुको स्वाधीनता र स्वतन्त्रताको लडाइँ टुङ्गिएको छैन । तर अब शक्तिशाली राष्ट्रहरुले हिजो जस्तै एकलौटी गर्न सक्ने अवस्था विद्यमान छैन । संयुक्त राष्ट्र सङ्घ जस्ता मञ्चहरु खडा भएका छन्, जसले समस्त सीमाहरुका बाबजुद उत्पीडित राष्ट्रहरुलाई स्थान दिने र उनीहरुका पक्षमा प्रस्तावहरु पारित गर्ने गरिरहेका छन् । (उदाहरणका लागि क्युबाबाट नाकाबन्दी हटाउन पटक–पटक पारित प्रस्तावहरु र यसै साता प्यालेस्टाइनी भूभागमा अवैध रुपमा खडा गरिएका इजरायली बस्ती खाली गर्र्ने सम्बन्धी विशेष प्रस्ताव ।)

१०. माक्र्सका विचारहरुले अत्यधिक ठूलो प्रभाव पारेको क्षेत्र हो– साहित्य,कला र संस्कृतिको क्षेत्र । कुनै बेला शासक वर्गको सेवामा प्रयोग भइरहेको संस्कृति र सिर्जना आज धेरै ठाउँमा विद्रोहको औजार बनिरहेको छ । साहित्यमा श्रमजीवी वर्ग, महिला, दलित र सीमान्तकृतहरुको आवाजहरु मुखर बनिरहेका छन् । तिनीहरुमा मुक्ति र स्वतन्त्रताका, सुखद भविष्य र समृद्धिका सपनाहरु प्रतिविम्बित भइरहेका छन् । प्रतिधु्रवीय संस्कृति पनि उत्तिकै क्रियाशील छ र आज सांस्कृतिक साम्राज्यवादका रुपमा यसले उपभोक्तावाद, व्यक्तिवाद र नैतिक पतनका मूल्यहरुलाई आक्रामक ढङ्गले पस्किइ रहेको पनि छ । तर यसका विरुद्धको आवाज सशक्त प्रतिरोधसहित उपस्थित छ ।

११. माक्र्स नै ती अग्रणी चिन्तक हुन्, जसले महिलाहरुलाई चुलोचौकोबाट बाहिर निकालेर सामाजिक जीवनमा आवद्ध गर्नु पर्ने र महिलाहरुको सम्पत्तिमाथिको अधिकार सुनिश्चित गर्नु पर्ने दिशावोध गरे । त्यस यता विश्वव्यापी रुपमै महिलाहरुमा अभूतपूर्व जागरण र चेतना निर्माण भएको छ र महिला अधिकार स्थापित भएका छन् । निस्सन्देह, हजारौं बर्ष अगाडिदेखि सुरु पितृसत्ताका बहुआयामिक वर्चस्व अन्त्य गर्ने लडाइ सजिलै टुङ्गिने छैन । तर माक्र्सका विचारहरुबाट प्रेरित नारीवादको उभार र प्राप्त अधिकार भने चानेचुने छैन ।

१२. मानव अधिकारको बिषयलाई आज विश्वव्यापी रुपमा मान्यता प्राप्त छ । तर पुँजीवादलाई यस बिन्दुमा ल्याइपु¥याउने र विशेष गरी आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई मौलिक अधिकारका रुपमा स्वीकार्न वाध्य पार्ने पक्ष भनेको माक्र्सको विचारबाट अभिप्रेरित आन्दोलन नै हो । प्रयोगका कतिपय गल्तीले माक्र्सवादको स्वतन्त्रता र लोकतान्त्रिक मूल्यलाई ओझेलमा पार्ने काम भएको छ, तर व्यक्तिको स्वतन्त्रता नै समाजको स्वतन्त्रताको पूर्वशर्त हो भन्ने उनको उद्घोष र व्यक्तिको महत्ता र गरिमाप्रति उनको उच्च प्राथमिकता यसका प्रेरणा स्रोतका रुपमा रहेका छन् ।

माजवाद कुनै ‘सुन्दर बिहानी’ मा अचानक प्रकट हुने उपलब्धि होइन, यो त पाइला–पाइलामा निर्माण गर्दै, हुर्काउँदै अगाडि बढ्न् बिषय हो । माक्र्सका विचारलाई विज्ञानका रुपमा ग्रहण गरेर तथा तिनलाई समस्यालाई पर्गेल्ने पद्धतिका रुपमा स्थापित गरेर अगाडि बढ्ने हो भने समाजवाद अवश्यंभावी छ ।

१३. आज सामाजिक आन्दोलनहरु पुँजीवाद विरुद्धका अग्रणी मोर्चाका रुपमा स्थापित बनेका छन् । यिनीहरु मार्फत् समाजको उत्पीडित समुदायका आवाजहरु मुखर बनिरहेको छ । महिला अधिकार, युवा सरोकार, आदिवासी मुद्दा, किसान आन्दोलन, ट्र्ेड युनियन अभियान र अरु धेरै आन्दोलनको मुख्य प्रेरणा स्रोत पनि माक्र्सवाद नै हो । (यद्यपि कतिपय ठाउँमा यी आन्दोलनको आवरणमा समाजवादलाई कमजोर गर्ने प्रयाश पनि भएको छ ।)

१४. वातावरणीय विनाश आजको विश्वको गंभीर सरोकारको बिषय बन्न पुगेको छ । भोलिको पुस्तालाई हामी सुरक्षित पृथ्वी हस्तान्तरण गर्न सक्छौं कि सक्दैनौं भन्ने चिन्ता सर्वत्र व्याप्त छ । स्पष्ट छ, वातावरणीय विनाशको मुख्य कारक पुँजीवाद हो, जसका लागि मुनाफा नै सबथोक हो र यस प्रयोजनका लागि उसका निम्ति कुनै पनि काम अनैतिक, अपवित्र र अस्पृष्य छैन । माक्र्सले यसको सङ्केत डेढ सय बर्ष अगाडि नै गरिसकेका थिए । उनले उत्पादनका साधनहरु लगायत प्राकृतिक साधन स्रोतमा श्रमजीवी वर्गको अधिकार र उत्पादनमा न्यायोचित वितरणको आवश्यकतामाथि पटक–पटक जोड दिएका थिए । आजको वातावरण आन्दोलनमा उनका यी दृष्टिकोणहरुको प्रत्यक्ष–परोक्ष प्रभाव छ ।

१५. सारमा, मानव जीवनका प्रायः सबै आयाममा माक्र्सका विचारहरुको प्रभाव छ । तर प्रभावका तुलनामा परिणाम भने अपेक्षाकृत सशक्त हुन सकेका छैनन् । ( या कतिपय उपलब्धिहरु गुम्न पुगेका छन् ।) धेरै कारणहरु हुन सक्छन् यसका पछाडि । तर माक्र्सका विचारहरुलाई समाजलाई अध्ययन, विश्लेषण र रुपान्तरण गर्ने पद्धतिका रुपमा होइन सूत्रका रुपमा अनुसरण गरिनु, निश्चित मुलुकका विशिष्ट प्रयोगलाई सार्वभौम सत्य मानेर पछ्याइनु र बदलिंदो परिस्थिति अनुरुप यसलाई सिर्जनात्मक विकास गर्दै विज्ञानका रुपमा अवलम्बन गर्न नसकिनुलाई मुख्य कारणका रुपमा औंल्याउन सकिन्छ । माक्र्सको द्विशतबार्षिकी समारोह मनाउने सन्दर्भ यस्तो अवसर हुन सक्छ, जहाँ उनका समष्टिगत प्रभावहरु र त्यसका आलोकमा हामीले हिँडेको यात्राको पुनरावलोकन गर्न र आवश्यक शिक्षाहरु लिएर भविष्यका लागि अवधारणाहरु विकास गर्न सकिनेछ । नेपालका सन्दर्भमा यो बढी प्रासङ्गिक छ । किनभने नेपाल यस्तो मुलुक हो, जहाँ समाजमा माक्र्सवाद र वामपन्थी आन्दोलनको सर्वाधिक प्रभाव छ र जहाँ समाजवाद स्थापना गर्न सक्ने वस्तुगत र मनोगत आधारयुक्त संभावना विद्यमान छन् ।

१६. समाजवाद गन्तव्य र यात्राको द्वन्द्वात्मक समष्टि हो । यात्रारत रहँदा गन्तव्य बिर्सने र गन्तव्यका सपनाहरु देखिरहँदा आज गर्नु पर्ने कठिन यात्रालाई वेवास्ता गर्ने गल्ती क्षमायोग्य छैन । समाजवाद कुनै ‘सुन्दर बिहानी’ मा अचानक प्रकट हुने उपलब्धि होइन, यो त पाइला–पाइलामा निर्माण गर्दै, हुर्काउँदै अगाडि बढ्न् बिषय हो । माक्र्सका विचारलाई विज्ञानका रुपमा ग्रहण गरेर तथा तिनलाई समस्यालाई पर्गेल्ने पद्धतिका रुपमा स्थापित गरेर अगाडि बढ्ने हो भने समाजवाद अवश्यंभावी छ ।

अन्त्यमा

विख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको यो सटिक निष्कर्ष –‘म के कुरामा विश्वस्त छु भने यी (पुँजीपतिहरुको हातमा सम्पत्तिको अत्यधिक केन्द्रिकरण र त्यसले सिर्जना गरेको गरिबी, अभाव, बेरोजगारी र मूल्यविघटन लगायत) गम्भीर विकृतिहरुलाई उन्मूलन गर्ने एउटै बाटो भनेको समाजवादी अर्थतन्त्र र त्यससँग आवद्ध सामाजिक लक्ष्य–उन्मुख शैक्षिक प्रणालीको स्थापना गर्नु नै हो । यस्तो अर्थतन्त्रमा उत्पादनका साधनहरुको स्वामित्व समाज स्वयंसँग हुन्छ र योजनावद्ध ढाँचामा त्यसको सदुपयोग गरिएको हुन्छ ।’

3322 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank