पाम आयल निर्यात रोकिदाको असर

शुक्रबार, पुस २५, २०७६



- डा. गोविन्दबहादुर थापा

भारतले गत बुधबारदेखि प्रशोधित पाम आयल आयातमा प्रतिबन्ध लगाएको छ । अब देखि केवल कच्चा पाम आयल मात्र आयात गर्ने निर्णय गरेको छ । भारतले यस्तो प्रशोधित पाम आयल मुख्य रुपमा मलेसियाबाट आयात गर्ने गर्दथ्यो । अब भारतले कच्चा पाम आयल मात्र आयात गर्दा ईण्डोनेशियालाई ठुलो फाईदा पुग्ने भएको छ । किनभने ईण्डोनेशिया विश्वको सबैभन्दा ठुलो कच्चा पाम आयल उत्पादन  गर्ने देश हो ।

भारतीय पत्रिका दी ईकोनोमिक टाईम्स’का अनुसार मलेसियालाई लक्षित गरी भारतले प्रशोधित पाम आयल आयातमा प्रतिवन्ध लगाएको हो । भारतले यसो किन गर्यो भने मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले भारतले भारत शासित कश्मीरलाई दिदै आएको विशेष दर्जा खारेज गरेको र  नागरिकता सम्बन्धि ऐन ल्याएकोमा भारतीय प्रधानमन्त्रीको आलोचना गरेका थिए । अर्थात आफ्ना कदमको विरोध गरेकोमा भारतीय प्रधानमन्त्रीले मलेसिया र अझ विशेषगरी मलेसियाली प्रधानमन्त्रीलाई सवक सिकाउन चाहे । यो प्रतिबन्धबाट मलेसियालाई निकै ठुलो नोक्सान पुग्ने देखिन्छ । किन भने मलेसियाले सन् २०१८ मा भारतमा १.६५ अर्ब अमेरिकी डलर बराबरको प्रशोधित पाम आयल निर्यात गरेको थियो ।

भारतको यो प्रतिबन्धपछि यो निर्यात पूर्णतः रोकिने छ । मलेसियाको कुल गार्हस्थ्य उत्पादनमा प्रशोधित पाम आयल उद्योगको २.८ प्रतिशत र कुल निर्यातमा ४.५ प्रतिशत योगदान रहेको छ । भारतले मुलुक लक्षित निर्णय लिएको भए त्यसको असर नेपाललाई सायद पर्ने थिएन । तर वस्तु लक्षित निर्णय लिएकोले भारतमा प्रशोधित पाम आयल निर्यात गर्ने सवै मुलुकहरु यो निर्णयबाट प्रभावित हुने भएका छन् । अप्रत्याशित रुपमा आएको भारतको यो निर्णयले मलेसियालाई मात्र होईन नेपाललाई पनि गम्भिर धक्का पुर्याउने छ ।  किनभने आफ्नो उत्पादन नभएता पनि प्रशोधित पाम आयललाई नेपालले प्रमुख निर्यात योग्य वस्तु बनाउन थालेको थियो ।

यो आर्थिक वर्षको पहिलो पाँच महिनामा मात्र भन्सार विभागको तथ्याङ्क अनुसार नेपालले रु. ११ अर्ब ५२ करोड मुल्य बराबरको प्रशोधित पाम आयल भारत निर्यात गरेको थियो । अप्रशोधित पाम आयल आयातबाट नेपाललाई रु. १ अर्ब ३८ करोड ७१ लाख राजस्व प्राप्त भएको थियो । अब यो निर्यात र राजस्व दुवै लगभग सुक्ने भएको छ । यो आयलकै कारणले नेपालको कुल निर्यात यो पाँच महिनाको अवधिमा अघिल्लो वर्षको तुलनामा २६.९७ प्रतिशतले र भारत तर्फको निर्यात अघिल्लो वर्षको तुलनामा ४८.५८ प्रतिशतले बढेको थियो ।  कुल निर्यातमा पाम आयलको अंश २४.२५ प्रतिशत पुगेको थियो । यस अवधिमा व्यापार घाटा ६.३ प्रतिशतले घट्नुमा आयात घट्नुको अतिरिक्त यो निर्यातको पनि योगदान रहेको थियो । भारतमा प्रशोधित पाम आयल आयातमा ४० प्रतिशत भन्सार लाग्ने र नेपालबाट आयात गर्दा भन्सारै नलाग्ने भएकोले भारतीय खाद्य तेल व्यापारीहरुले यो तेल नेपालबाट आयात गर्न शुुरु गरेका थिए ।

निर्यातको यो सम्भावना देखेर नेपाली उद्यमी व्यापारीहरुले यो तेल प्रशोधन गर्ने २२ वटा  उद्योग स्थापना गरिसकेका थिए । यसरी पाम आयल प्रशोधन गर्ने र भारत निर्यात गर्ने उद्योग व्यापार नेपालमा गत वर्षदेखि अप्रत्याशित रुपमा फस्टाउन थालेको थियो । भारतले एकाएक प्रशोधित पाम आयल आयातमा रोक लगाएपछि अब यसकोे आयात, निर्यात अर्थात कुल वैदेशिक व्यापार र यो प्रशोधन गर्न स्थापित उद्योगहरु पूर्णतःबन्द हुने छन् । भारतको यो निर्णयबाट भारतका तेल प्रशोधन उद्योगहरुलाई भने ठुलो फाईदा हुने भएको छ । हालसम्म ती उद्योगहरुलाई भारतले ४० प्रतिशत भन्सारको संरक्षण दिदै आएको भएतापनि भारतले प्रशोधित तेल पनि आयात गर्दै आएकोले ती उद्योगहरु खासै फस्टाउन सकिरहेका थिएनन् । तर नेपालबाट विना भन्सार आयात गरिदा भारतका प्रशोधन उद्योगहरुलाई मर्का परिरहेको थियो । त्यहि कारणले नेपालमा अप्रशोधित पाम आयलको आयात,प्रशोधन उद्योगहरु र निर्यात रातारात मौलाएका थिए । त्यसैले भारतले यो निर्णय गरेर एउटै तिरले दुई लक्ष भेदन गरेको छ ।

पहिलो, मलेशियालाई सवक सिकाउने र दोस्राे आफ्ना प्रशोधन उद्योगहरुलाई प्रोत्साहित गर्ने । तर त्यो निर्णयको चर्को मारमा नेपाल पर्न गएको छ । अर्थात ‘साँढेको जुधाई बाच्छाको मिचाई‘मा नेपाल परेको छ । भारत र नेपालको व्यापार नीति र बेला बेलामा देखा पर्ने भन्सार दरको अन्तरमा खेलेर रातारात अर्बपति बन्न पल्केका र त्यस्तै मौका ढुकेर बसेका कथित उद्यमी तथा व्यापारीहरु फेरि एकपटक पछारिन पुगेका छन् । भारतको छिटो निर्णयको कारणले पहिले बनस्पति घ्यू, सुपारी, मरिच आदिमा जस्तो यस पटक पाम आयलमा यी उद्यमी व्यापारीहरुले अकुत फाईदा उठाउन पाएनन् । तर मर्कामा भने नेपाली बैंकहरु पर्ने भएका छन् । हुन त जति ठुलो जोखिम उति ठुलो नाफा भनिन्छ, यस पटक चाहिँ जोखिम अनुसारको फाईदा लिन सकेनन् कि ?

यस सन्दर्भमा नेपालको सरकार र बैंकहरु पनि मौकामा चौका हान्ने नीतिमै चले । विना कुनै जोखिम राजस्व आउँछ, आर्थिक गतिविधि केहि विस्तार हुन्छ । केहि थप रोजगारी सिर्जना हुन्छ।  आय बढ्छ र आर्थिक वृद्धिदरमा सहयोग पुग्छ भनेर सरकार मौन बसिदिन्छ ।यस्तै मौकामा जोखिम नमोले नाफा कसरी आउँछ भनेर बैंकहरु हाम फाल्छन् । र, विगतमा यसै गरेर बैंकहरुले राम्रो कमाई गरेको अनुभवको आधारमा यस पटक पनि त्यसै गर्न बैंकहरु तम्सिदा परिस्थितिले साथ दिएन । यो जोखिम मोल्दा हुने स्वभाविक परिणाम हो । बैंकहरुलाई यो थप चुनौती भएको छ ।

यसले नेपालको अर्थतन्त्रलाई गम्भिर धक्का दिनेछ । किन भने आयात नहुँदा राजस्व घट्नेछ र निर्यात नहुँदा उत्पादन गर्ने उद्योगहरु पनि बन्द हुने र रोजगारी समेत गुम्ने छ । फलस्वरुप आयातकर्ता, उद्यमी, निर्यातकर्ता र मजदुरहरुको आय घट्ने छ । साथै यी सबै कारोबारमा लगानी गर्ने बैंकहरुको अर्बौको कर्जा धरापमा पर्ने छ । अर्थात यो कारोबारमा नेपालले सिर्जना गरेको मुल्य अभिवृद्धि (भ्यालु एड) गुम्ने छ । अन्तत्वगत्वा यसले आर्थिक वृद्धिदरमा पनि प्रतिकुल प्रभाव पार्नेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments