जनताको अपेक्षा : ‘अर्गानिक ओली’ !

फरकमत

बिहिबार, फाल्गुन २२, २०७६



- दीपेन्द्र पाण्डे

करिब १२ वर्ष अघि मृगौला प्रत्यारोपण गरेका केपी शर्मा ओली जीवनमा दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न बाध्य भए । सफल मृगौला प्रत्यारोपण पछि नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री ओली टिचिङ अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका छन् । उपचारको निम्ति अस्पताल भर्ना हुनु अघि एक भिडियो सन्देश मार्फत जनताको मन जित्ने कोसिस गरेसँगै सर्वसाधारण मानिसहरू फेरि एकपटक अर्गानिक ओली देख्न हतारिएका छन् ।

सामान्य गरिब किसानको परिवारमा जन्मेर आफ्नै बलबुतामा कठिन सङ्घर्ष मार्फत राजनीतिमा उदाएका ओली पछिल्लो समय आफ्नै मुर्छित सपनाको फूलबारीमा बरालिएको आरोप खेप्दै छन् । पहिलो संविधान सभामा अनुपस्थितिको बाबजुद तत्कालीन नेकपा माओवादीको अराजकताको मुकाबिला गर्ने ओली पछिल्लो दुई वर्ष विचित्रसँग सुस्ताएका छन् । झापा आन्दोलनको जगमा अनेकौँ हण्डर र ठक्कर खाँदै अथाह त्याग र तपस्याबाट हुर्केको व्यवस्थित एमाले पार्टीलाई नेकपा बनाउँदै अस्तव्यस्त बनाएको आरोप ‘कमरेड के’ले बोकिरहेका छन् । निर्वाचनमा जनताले रुचाएको ‘अर्गानिक ओली’ प्रतिको अपार भरोसा दुरुपयोग भएको महसुस सर्वसाधारण जनताले गरेको प्रधानमन्त्री ओली अन्देखा गर्दैछन ।

पहिलो र दोस्रो संविधान सभामा मधेस केन्द्रित दल र माओवादी अराजकताको राजनीतिक ट्याकल गर्दा निर्माण भएको ‘एमाले ओली’को राजनीतिक हाइटमा उनको १४ वर्षे जेल जीवन जोडिन पुग्दा आम जनताको आकर्षण नै बन्न पुगे । दोस्रो संविधान सभाबाट जारी संविधानमा थुप्रै कमजोरीको बाबजुद भारतीय नाकाबन्दीको विरुद्ध प्रष्ट भाषामा लिएको अडान सामु अन्य नेता पुड्को साबित हुन पुगे ।जनताको भावनासँग साथसाथ चल्ने र चलाउने खुबीको कारण तमाम देशी विदेशी षडयन्त्र असफल बनाउने ‘एमाले ओली’ आफ्नै मुर्छित सपनाको सफल कार्यान्वयन गर्न चुकेको आम जनता महसुस गरिरहेका छन् ।

राजनीतिको गहिरो ज्ञान हुँदा हुँदै फगत कुर्सीको निम्ति गरिएका अराजनीतिक सहमति र सम्झौताको कारण उनले देखेका सपना बरालिन पुगे । असीमित शक्ति प्राप्तिसँगै बदलिएको उनको सङ्गत, घेरा र कार्यशैलीको कारण उनको दोस्रो कार्यकाल जनताले सोचे जस्तो हुन सकेन । लोकतन्त्रमा अपरिहार्य मानिएको नैतिकताको धरातल खस्किएको उनको शासनमा द्वैध चरित्र धमाधम खुल्दै छन्। भ्रष्टचारविरुद्ध ‘शून्य सहनशीलता’ मिठो जोक बन्न पुगेको छ । पार्टी गुटहरूको महासङ्घ बन्न पुगेको छ । आर्थिक अराजकता र दण्डहीनता झनै मौलाएका छन् । आफ्नै विगतले गिज्याउँने अवस्था जताततै जुर्मुराएको कारण राजनीति फोहोरी खेलमा रूपान्तरण हुँदै छ ।

केपी ओली कमजोरी नभएका मानिस होइनन् । उनी बिना नेकपा र मुलुक नचल्ने पनि होइन । उनको नेतृत्वमा मात्र मुलुक बन्ने पनि होइन तर वर्तमान समयमा उनको सकारात्मक सोच मुलुकले पाएको खण्डमा राजनीतिले नयाँ यात्राको सुरुवात गर्ने अपेक्षा मात्र राखिएको हो । थुप्रै कमजोरीका बाबजुद कमरेड ओलीले मुलुकलाई केही न केही गुन लगाउने छन् भन्नुको अभिप्राय उनको निजी जीवन र पटक पटक पाएको नाफाको जीवन हो भन्नेहरू काफी भेटिन्छन् ।

जग जाहेर नै छ । गत निर्वाचन एमाले ओलीको नेतृत्वमा लडिएको हो । आम जनताले अर्गानिक ओलीलाई सत्तामा देख्न चाहेका हुन । उनका सपना उनकै नेतृत्वमा पुरा हुन भन्ने जनताले चाहेका हुन। निर्वाचनमा जनताले दिएको जनादेशले सहमति र सहकार्य तर्फ सङ्केत गरेको पुष्टि एमाले र माओवादीको अङ्कगणित साक्षी छ। तर जनताको सदासयता, जनादेश र चाहनालाई कमरेड ओलीले कम ध्यान दिएको आरोप लाग्न पुग्यो । अर्गानिक एमाले ओली नेकपाका ओली बन्ने चाहनाले सिर्जित गरेको नवीन समस्याले पार्टी, पद्धति, विचार, विधि सबै अस्त व्यस्त बनाइयो । राजनीति र सङ्गठनको न्यूनतम मापदण्ड भत्काउँदा आफू शक्तिशाली हुने सोचको सजाय खुद आफै अलोकप्रीय भएर दिँदै छन्। पार्टी केही होइन । व्यक्ति सबै हो । अझ म नै हुँ भन्ने सोचले गर्दा लोभी पापी, स्वार्थी, व्यापारी, शक्तिका पुजारी, चाकडीवाजहरुको घेराबन्दीमा पर्दै कमरेड ओली चौतर्फी असफलता भोग्दै छन् ।

गहिरो मतभेदका बाबजुद असीमित शक्ति प्राप्तिको चाहना र फगत कुर्सीको निम्ति प्रचण्ड बोक्ने बाध्यताले अर्गानिक ओलीलाई प्रधानमन्त्री ओलीमा सीमित गरिदियो । एमाले ओलीबाट सत्तासीन ओलीमा उपान्तरित कमरेड ओली प्रचण्डलाई खुसी बनाएर आफ्नो साम्राज्य निर्माण गर्न लाग्दा जनता र आफ्नै सहयात्री कमरेडबाट कोसौँ टाढा पुगे । जसको कारण उनको वरीपरी पुग्न र रहन सफल व्यक्ति र तप्काले उनको ‘लोकप्रीयताको पुँजी’ घटाएको हेर्न समेत रुचाएनन् वा भ्याएनन् । हुँदा हुँदा उनको आफ्नै दाहिने हात गोकुल बाँस्कोटाले समेत उनको सदासयताको दुरुपयोग गरेको पत्तै पाएनन् । अझ विचित्र त्यति बेला भयो। जब उनी गोकुलको गल्ती देख्न नमान्दै बचाउमा लागे ।

जनताको, लोकतन्त्र र विधिको पक्षमा उभिने अर्गानिक ओली अङ्क गणितको खेल खेल्दै अथाह शक्तिको मैमत्त अभ्यासमा अग्रसर हुँदा पार्टी,संसदीय दलमात्र हैन आफ्नै सहयात्री नेता कमरेडसँग समेत छलफल आवश्यक ठानेनन् । लोकतन्त्र, मानव अधिकार, न्यायपुर्ण समाज स्थापनाको निम्ति विगतमा दृढताको साथ सडक र मिडियामा जनतासँगै उभिने उनको विगत उनकै कार्यकालमा घाइते भएको हेर्न, बुझ्न र देख्न चाहेनन् । सामान्य स्तरबाट समेत उनको आलोचना हुँदै गर्दा सामाजिक सञ्जाल, मिडिया र पत्रकारलाई समेत दुश्मन देख्न पुगे । राज्यकोषको चरम दुरुपयोग ,पार्टी र घोषणापत्रको अवहेलना मात्र हैन विधि, नियम र अनुशासन समेत बोझ ठान्ने अवस्थामा सत्तासीन कमरेड पुग्दा वर्तमान सरकारलाई कार्यकर्ताले समेत आफ्नो ठान्न पाएनन् ।

सूचना प्रविधि विधेयक, मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार ऐन संशोधन विधेयक, गुठी विधेयकमा ठुलो असावधानी अप्नाउन राजी प्रधानमन्त्री ओलीले विरोधको कारण बुझ्न समेत चाहेनन् । कानुनी प्रक्रिया पुगेको मात्र बखान गर्दै ‘एउटा व्यापारिक घराना’ को सेवा गर्न नीतिगत सुधार नै गरेको घटनाले उनको सुशासनको नारा फिक्का र खल्लो बन्न पुग्यो । ठुलो हल्ला गरिएको बिजुली बस, सुरक्षित मुद्रण छापाखाना, स्याटेलाईट जस्ता विकासका नवीन अवधारणा नजन्मिँदै कमिसनको चक्करमा पारियो । ताम झामका साथ पोल रङग्याउँदै सुरु गरिएको नयाँ युगको सुरुवात कसले गायब पार्‍यो वा कता हरायो ? खोज्ने फुर्सत कसैलाई छैन ।

एकातर्फ प्रधानमन्त्री ओली बिना लगामको सरकार चलाई रहे । अर्कोतर्फ पार्टी अस्तव्यस्त भएको ध्यान दिन रुचाएनन् । आफ्नै अन्तर निहित स्वार्थको भुँमरीमा आफ्नो लोकप्रीयता घटाउँदै लगे । उनले प्रचण्ड जस्तो रणनीतिक मानिसको भर पर्दै विधि, पारदर्शिता र सुशासनलाई वेवास्था गर्न पुगे । जसको कारण उनी प्रचण्ड कै घेराबन्दीको सामना गर्न बाध्य हुँदा चारैतिर अल्पमतमा परे । ‘पार्टीको चामल बेच्न छोडेर प्रचण्डको पिठो’ किनेको सजाय भोग्दै उपचारमा रहेका कमरेड ओलीले एक पटक आफ्नो कार्यकाल र शैलीको पुनरावलोकन गरेको खण्डमा आफ्नो तमाम कमजोरी फेला पार्ने छन् । तत्पश्चात् वामदेव , झलनाथ वा माधवलाई लिएर पार्टीमा षडयन्त्रको बिउ रोप्दै आफ्नो नीजी स्वार्थ पुरा गर्ने प्रचण्ड चाहना र दीर्घकालीन राजनीतिक अस्थिरता रोक्न सफल हुने छन् ।

मुलुकले समृद्धि र स्थायित्वको इट्टा राख्न पाएकै छैन । अस्थिरताको कारण र कारक प्रचण्डलाई सँगै लिएर शान्ति र समृद्धि ल्याउन करिब असम्भव छ भन्ने कमरेड ओलीले बुझ्न भ्याएकै हुनु पर्छ । अरुमा मात्र दोष देख्ने र अरूलाई एकोहोरो खेदो खन्ने गलत प्रवृत्ति उनले त्याग्नै पर्छ । उनले आफ्ना तमाम कमजोरीलाई तिलाञ्जली दिँदै मुलुक र नागरिकका अधिकारको संरक्षक हुनु पर्छ । लोकतान्त्रिक मूल्यमान्यतामा सम्झौता नगर्ने विगतको अर्गानिक ओलीलाई पुनर्जन्म दिनु पर्छ । कमरेड ओलीले जीवनमा प्राप्त गर्न केही बाँकी छैन । जीवनमा पटकपटक मृत्युसँग साक्षात्कार गरेका ओलीले प्राप्त गरेको अन्तिम अवसर त्यसै खेर फाल्दैनन् भन्ने आम जनताको अपेक्षा छ । समृद्ध नेपाल निर्माणको जग राखेर राजनीति र जीवनबाट बिदा लिने अवसरको सदुपयोग ‘एमाले ओली’ वा ‘अर्गानिक ओली’ ले गर्नेछन् भन्ने आम जनताको चाहना छ ।

उनको आगामी इनिङको सुरुवात व्यक्ति, गुट वा त्यस्तै अमुक विषय वस्तुको घेरामा सीमित वा केन्द्रित हुने छैन ।जनताले खोजेको अर्गानिक ओलीले अबका दिन अमुक व्यक्ति र गुटको आशीर्वाद खोज्दै भौंतिरिनु जरुरी छैन । जनताको अपेक्षा अनुरूप गोकुल काण्ड, वाइडबडी काण्ड , विष्णु काण्ड, क्यान्टोनमेण्ट काण्डको फाइल खोल्ने हिम्मत गर्दै सुशासन र विकासको युद्ध नै छेड्नु जरुरी देखिन्छ। पार्टी र सरकारमा योग्यता, क्षमता, कार्यकुशलता, लगनशिलतासाथ लाग्ने र काम गर्न सक्ने मानिसलाई उचित अवसर दिँदै विधि र पद्धतिको थालनी गर्ने छन् । अन्त्यमा, स्वास्थ्य लाभ गर्नासाथ ‘अर्गानिक ओली’ले विगतमा खेर फालेको बहुमूल्य समयको पहिचान गर्दै आगामी दिन अर्थपरक बनाउन र गुमेको छवि फर्काउन दिन रात एक गर्नेछन् भन्ने विश्वास तमाम देशवासीले गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments