कर्णाली प्रदेशः समृद्धिको बाटो

कर्णाली प्रदेशका पर्याप्त सम्भावनालाई उपयोग गर्दै जनतालाई खुशी र सुखी राख्नुपर्छ

बुधबार, चैत्र १४, २०७४



- निरज आचार्य

सवैभन्दा पछि जन्म भएको प्रदेश नं. ६ ले सवैभन्दा पहिला प्रदेशको स्थायी नाम (कर्णाली) र केन्द्र (सुर्खेतको बीरेन्द्रनगर) तोकेको छ । यो प्रदेश नक्साको हिसावले चीनसँग सिमाना जोडिएको भएपनि ब्यबहारमा भुपरिवेष्ठित छ । ठुलो क्षेत्रफलमा भुगोल, सवैभन्दा धेरै गरिवी, अशिक्षा, अभाव र भौगोलिक रुपमा दुर्गम भएको यस प्रदेशका नागरिकको औसत आयु ६० वर्ष मात्रै छ । के यो प्रदेश चल्ला, यो प्रदेशको समृद्धि सम्भव छ भन्ने जस्ता प्रश्न उठिरहेको छ ।
कर्णाली प्रदेशभित्र २५ वटा नगर सरकार, ५४ वटा गाउँ सरकार, प्रदेश सरकार र संघीय सरकार गरी ८१ वटा सरकार क्रियाशिल छन् । जनतासँग अपेक्षाका चाङ छन् । यो प्रदेशलाई धनी र समृद्ध बनाउन यहाँका जनतालाई खुसी र सुखी बनाउन पर्याप्त सम्भावना छन् । प्रदेश संसद बसिरहेको छ । प्रदेश सरकारले नीति कार्यक्रम र बजेटको तयारी पनि गरिरहेको छ । यसै सन्दर्भमा कर्णालीको विकास र समृद्धिका लागी केहि सम्भावना र अवसरका वारेमा चर्चा गरिएको छ ।

वर्तमान अवस्थाः
यस प्रदेशको कुल क्षेत्रफल ३१८७३ वर्ग किलोमिटर छ । यो नेपालको कुल क्षेत्रफलको ३१.६६ प्रतिशत हो । वि.सं.२०६८को राष्ट्रिय जनगणना अनुसार यस प्रदेशको कुल जनसंख्या १६,२३,६०२ छ । जुन नेपालको जनसंख्याको ६.१२ प्रतिशत हो । यस प्रदेशको मानव विकास सुचकांक ०.४०९ छ भने करिव ६५ प्रतिशत नागरिक साक्षर छन । तेह्रौ योजनाको प्रतिवेदन अनुसार देशको साक्षरताको आँकडामा ८८.६० प्रतिशत साक्षर छन । यस प्रदेशको औसत आयु करिव ६० बर्ष छ । जवकि समग्र देशका नागरिकको औसत आयु ७१ बर्ष छ । यहाँका नागरिकको प्रतिब्यक्ति आय करिव ८० हजार रुपैयाँ देखिन्छ । देशको सन्दर्भमा प्रतिब्यक्ति वार्षिक आय १ लाख ५० हजार रुपैयाँ छ । कुपोषण, बालमृत्यु दर र मातृमृत्यु दर पनि अरु प्रदेशको तुलनामा बढी नै छ । यी केहि महत्वपूर्ण सूचकहरूको आधारमा हेर्दा यो प्रदेशको अवस्था कमजोर रहेको प्रष्टै छ । भौगोलिक हिसावले योे प्रदेश सव भन्दा ठुलो छ भने प्रतिब्यक्ति आयका हिसावले प्रदेश नं. ७ भन्दा मात्र अगाडि छ । अरु सवै सूचकको हिसावले यो प्रदेश पछाडि छ ।

समृद्धिको ढोका खोल्ने दुई नाका
कर्णाली प्रदेशको कर्णाली करिडोरबाट तिब्बतसँग दुई नाका जोड्न सकिन्छ । भारत उत्तरप्रदेशको कर्तनियाबाट नेपालको बर्दिया दौलतपुर छोटीभन्सार, कर्णाली करिडोरको राकमकर्णाली हुँदै हुम्लाबाट हिल्सा जोड्न सकिन्छ । तिब्बतको सिमा बजार हिल्सा धार्मिक पर्यटकीय क्षेत्र मानसरोवरको महत्वपूर्ण नाका पनि हो । हिल्सामा भन्सार कार्यालय राख्न सकिन्छ । यस्तै अर्काे महत्वपूर्ण पूर्वी नाका भेरी करिडोर हो । भारत यूपीको जमुनाहा (रुपडिया) नाकाबाट सुर्खेत छिन्चु हुँदै जाने भेरी करिडोरले सल्यान, जाजरकोट, रुकुम र डोल्पाका विभिन्न भूभाग छिचोल्दै तिब्बतको मरिङलामा जोडिन्छ । मरिङला तिब्बतको सिमा बजार हो । डोल्पा–दुनै–लाउन–धोव–निन्जे हुँदै मरिङला पुगिन्छ । भेरी कोरिडोर भारतको उत्तरप्रदेश र चीनको तिब्बत जोड्न ऐतिहासिक र छोटो दूरीको रोड हुनेछ । मरिङलामा भन्सार कार्यालय राख्न सकिने छ । भेरी र कर्णाली नदी करिडोरका सडकले यो प्रदेशको जीवनमा अकल्पनीय उथलपुथल ल्याउनेछन् । भारत चीनको कनेक्टिभिटी, व्यापार र पारवहनका लागि कोसेढुङगा हुने छ । कर्णाली प्रदेश सरकार अन्य काममा नअल्झि प्राथमिकता साथ यसै आर्थिक वर्षदेखि कर्णाली, भेरी सडक करिडोर ४ लेनको बनाउने योजनाका साथ अघि बढ्नुपर्छ ।

हाइड्रोमा धनी प्रदेश
कर्णाली प्रदेश जलविद्युत उत्पादनका हिसावले निकै धनी प्रदेश बन्ने छ । नलगाड १ सय १० मेघावाटको जलासय युक्त आयोजना, अपर कर्णाली, सानो भेरी, तिला र भेरी डाइभर्सन जस्ता ठुला आयोजनाहरू यस प्रदेशमा पर्छन् । प्रदेश सरकारले पाँच वर्षीय कार्यतालिका अनुसार उक्त आयोजनाहरू मिसन पूर्वक अगाडि बढाउनुपर्ने छ । यस प्रदेशको समृद्धिका आयोजनाहरू सम्पन्न गर्न स्थानीय बिबादमा अल्झने, ठेकेदार कम्पनीका विबादमा फस्ने वा लगानीको अभावमा आयोजना ढिला सुस्ती गर्ने सुविधा यो सरकारलाई हुनु हुदैन ।

धार्मिक र सांस्कृतिक विशेषताको पर्यटन
कर्णाली प्रदेश पर्यटकीय हिसावले उत्तिकै महत्वपूर्ण छ । नेपालको इतिहास नेपाली भाषाको उत्पति र सांस्कृतिलाई बुझ्न यो क्षेत्रको पर्यटन बिशेष महत्वको छ । सुर्खेतको काक्रेविहार, नेपालको सवैभन्दा ठुलो र हिमालको काखमा रहेको मुगुको राराताल, दैलेखको शिरस्थान, ज्वालाजी, खसहरूको इतिहास बोकेको सिंजा उपत्यका र जुम्लाको सिद्धबाबा, हुम्लाबाट हिल्सा हुँदै मानसरोबर तथा रुकुमको स्यार्पू ताललगायत ५२ ताल ५३ पोखरी त्यत्तिकै महत्वपूर्ण छ । उत्तरगंगा अर्काे महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । नेपालका सवै नदीहरू दक्षिणतर्फ बग्ने गर्दछन् तर यो नदी उत्तरतर्फ बग्ने भएकाले उत्तरगंगा भनिएको हो । पाण्डवहरू स्वर्ग जाँदा उत्तर गंगाकै बाटो भएर गएको धार्मिक किमदन्ती रहेको छ । यो दोस्रो पर्यटकीय गन्तव्य हो । भेरी नदी किनारा हुँदै नेपालको सवभन्दा गहिरो ताल डोल्पा सेफोक्सुण्डो ताल अर्काे महत्वपूर्ण गन्तव्य हो । चौथो, जाजरकोट हुँदै कुसेमुसे र चाखुरेको बुकिझुल्ने पाटन र करैचुली, सिस्ने हिमाल, काञ्जिरवा हिमाल, पातरासी हिमाल, कागमारा हिमाल, सैपाल हिमाल, पुथा हिमाल, तथा डोल्पाको सेफोक्सुण्डो राष्ट्रिय निकुञ्च र मुगुको रारा राष्ट्रिय निकुञ्ज महत्वपूर्ण पर्यटकीय गन्तव्य हुन् । प्रदेश सरकारले उपरोक्त स्थलहरूको पर्यटकीय पथमार्ग बनाएर अघि बढ्न सक्नुपर्छ ।

पशुपालनः उन र मासु निर्यात
कर्णाली प्रदेश पशुपालनका लागि उर्वर भूमी हो । बिशेषगरी हिमाल वेल्टमा भेडा च्याङ्ग्रा फर्म अत्यन्त महत्वपूर्ण हो । महेन्द्रकालिन समयमा विज्ञहरूद्वारा गरिएको सर्वेक्षण अनुसार मुगु, जुम्ला, जाजरकोट र डोल्पाको सिमानामा पर्ने गोठी चौरमा भेडा च्याङ्ग्राफर्महरु बनाइएको थियो । हाल सरकारले उचित व्यवस्था गर्न नसकेका कारण ती फर्महरू सञ्चालनमा छैनन् । उन उत्पादन र मासु उत्पादनका लागि उन्नत जातका भेडा, च्याङ्ग्राहरूको व्यावसायिक पालन गर्नु वातावरणीय हिसावले उपयुक्त मानिन्छ । यसबाट प्रदेश सरकाररको योजनामा व्यावसायिक पशुपालनको योजना बनाउन सकेको खण्डमा निकै ठुलो परिणाममा उन र मासु निर्यात गर्न सकिने क्षमताको प्रदेश बन्ने अवसर छ ।

व्यापार
मोरिङला र हिल्साको नाका खोलेर भेरी र कर्णाली कारीडोर हुँदै चीनको तिब्बत र भारतको उत्तर प्रदेश जोड्ने काम थालनी गर्न वित्तिकै यो प्रदेशको ब्यापार पारवहनका बारेमा थप चिन्ता लिइरहनुपर्दैन । कर्णाली प्रदेश आफैँमा जडिबुटीको राजधानी हो । यहाँ बहुमुल्य यार्सागुम्बादेखि गुच्ची च्याउ, पाँचऔंले, बोझो, सुनाखरी, चिराइतो, भुत्ले, टिमुरलगायत सयौं प्रकारका जडिबुटी पाईन्छन् र यसको ठुलो व्यापार भइरहन्छ । अर्काेतर्फ बहुमूल्य पत्थरहरू टुर्मालिन, काइनाइट, फेन्टा लगायतका रत्नहरु पाइन्छ र अब्यवस्थित रुपमा यसको व्यापार भइरहेको छ । यहाँ पाईने उक्त जडिबुटीहरू र अखनिजहरूको प्रदेशस्तरमा संकलन र प्रशोधन केन्दहरू स्थापना गरेर प्रशोधित सामानहरू मात्र निर्यात गर्ने व्यवस्था गरिएको खण्डमा कर्णाली प्रदेश जडीबुटी र पत्थरको निकै ठुलो सप्लायर बन्ने निश्चित छ । यहाँ रेसान भएको माल्नेटाको अदुवा लगायतका उत्पादनको बजारीकरण गरी व्यबस्थित व्यापार गर्न सकेको खण्डमा यो प्रदेशलाई धनी हुनबाट कसैले रोक्न सक्ने छैन ।

घरघरमा एनजिओ : स्वास्थ चेतना समस्यै समस्या
हामीले माथि चर्चा गरिएझैं प्रदेशका नागरिकहरूको औषत आयु ६० बर्ष मात्रै हो । साक्षरतादर अरु वाँकी प्रदेशको तुलनामा निकै कम छ । घरघरमा एनजिओहरू छन् । परिणाम वालुवामा पानी हालेसरह छ । अखबारहरूका अनुसार कर्णाली प्रदेश सरकारले एनजिओलाई काम गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको समाचार छ । एनजिओ/आइएनजिओलाई प्रतिबन्ध भन्दा निश्चित सर्तमा कर्णाली प्रदेशमा काम गर्ने व्यवस्था मिलाउन उपयुक्त होला ।

क. कर्णाली प्रदेशका जनाताको फूड ह्याविट बदल्ने
खाना भनेको चामलको भात, दाल र आलुको तरकारी मात्र हो भन्ने भावना बदल्ने, त्यहीँ उत्पादन हुने मकै, कोदो, फापर उवा, जौ, गहुँ, माटे सिस्नु, आलु लगायतका अर्गानिक अन्नहरूको स्वादिलो र पौष्टिक खाना बनाउन सिकाउने । भारतबाट आयात हुने सोयाविन र चाउचाउलाई तरकारीका रुपमा खाने बानीलाई निरुत्साहित गर्ने, गाउँमा अर्गानिक तरकारी खेती लगाउन सिकाउने र अर्गानिक उत्पादन खाने र व्यापारका लागि अन्य मुलुकमा निर्यात गर्न उत्पेरित गर्ने ।
ख .जनताको स्वास्थ्य चेतना वृद्धि गर्ने, कुपोषण र बाल मृत्यूदर घटाउने, बच्चा जन्माउने आमाहरूको मृत्युदरमा शुन्यमा झार्ने, घरघरमा चर्पी बनाउने काममा मात्रै एनजिओलाई जिम्मा दिने । उपरोक्त प्रकृतिका काम तोकिएको अवधिभित्र गर्ने जिम्मा दिने । प्रदेश र स्थानीय सरकारले प्रभावकारी अनुगमन गर्ने । जसले परिणाम दिँदैन, त्यसलाई कालोसूचीमा राखेर फिर्ता गर्दा प्रगतिशिल कदम हुन्छ कि ?

1167 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank