नेपालको शिक्षा प्रणाली र अनलाइन शिक्षण सम्भावना

आइतवार, जेष्ठ ४, २०७७



- दीपेन्द्र मल्ल

विश्वमा फैलिरहेको काेभिड-१९ को महामारीले संसारको सबै क्षेत्रलाई उत्तिकै प्रभावित बनाएको सन्दर्भमा विश्वलाई नै नौलो अभ्यास गराइरहेको लकडाउन पद्धतिले शिक्षामा पारेको प्रत्यक्ष प्रभावको सन्दर्भमा आधुनिक परिवेशमा प्रविधिमा अब्बल राष्ट्रहरूले विद्यार्थीहरूलाई घरमै बसेर शिक्षण गरिरहेको सर्वविदितै छ । नेपालले पनि यसको सम्भावना खोज्नुलाई नकार्न मिल्दैन । त्रिभुवन विश्वविद्यालयले हालै विद्युतीय माध्यमबाट अनलाइन कक्षा सञ्चालन सम्बन्धी निर्देशिका, २०७७ पनि ल्याएको छ । सोही सन्दर्भमा रहेर नेपालमा अनलाइन शिक्षा पूर्वाधारको अवस्था, विकास र अवसरको सदुपयोग सन्दर्भमा..

शिक्षा प्रणाली र ऐतिहासिक पृष्ठभुमिः
प्राचिनकालदेखि धार्मिक मान्यतालाई जोड दिने परम्परागत घोकन्ते शिक्षा प्रणालीमा आधारित हाम्रो शिक्षा प्रणाली प्रधानमन्त्री श्री ३ जङ्ग बहादुर राणा बेलायत र युरोप भ्रमणमा रहँदा त्यहाँको अङ्ग्रेजी शिक्षाबाट प्रभावित भई वि.स. १९१० मा आफ्ना सन्तानहरूको लागि अङ्ग्रेजी शिक्षा दिने उद्देश्यले थापाथली स्थित दरबार स्कुलको स्थापना गरेर औपचारिक शिक्षाको प्रारम्भ गरेको पाइन्छ भने आधुनिक परिवेशमा नेपालको शैक्षिक इतिहासको रूपमा दरबार स्कुललाई लिने गरिन्छ । राणा कालमा सर्वसाधारण जनताले पढ्न लेख्न नपाए पनि इतिहासमा औपचारिक शिक्षाको जग भने बसालेको देखिन्छ । वि.स.१९४२ सालदेखि मात्र सर्वसाधारण जनताहरूको लागि दरबार स्कुल खुला गरिएको थियो भने प्रजातन्त्रको उदयसँगै वि.स. २००७ सालमा २ प्रतिशत जनसङ्ख्या मात्र साक्षर रहेको थियो ।

देशमा प्रजातन्त्रसँगै शिक्षालाई पहिलो प्राथमिकतामा राखेर वि.स. २०१० सालमा राष्ट्रिय शिक्षा योजना आयोगको गठन गरी सो आयोगले वि.स. २०११ सालमा “नेपालमा शिक्षा” नामक प्रतिवेदन पेस गरेको थियो भने यो नै नेपालको शैक्षिक इतिहासको पहिलो प्रकाशित शिक्षाको दस्ताबेज पनि थियो । यस प्रतिवेदनले गरेका विभिन्न सिफारिसहरूमा शिक्षा शास्त्र अध्ययन संस्थान, जनक शिक्षा सामाग्री केन्द्रको स्थापना, त्रिभुवन विश्वविद्यालय खोल्ने पृष्ठभूमिको तयार, शिक्षक प्रशिक्षण केन्द्र, विद्यालयहरू स्थापना गर्न प्रेरित, प्रौढ शिक्षा सञ्चालन जस्ता महत्त्वपूर्ण सिफारिस गरेको थियो । वि.स. २०१७ सालमा प्रजातन्त्रको अवसानसँगै पञ्चायती व्यवस्था अनुकूल शिक्षा प्रणालीको लागि सर्वाङ्गीण राष्ट्रिय शिक्षा समिति २०१८ गठन गरिएको थियो । प्राथमिक शिक्षा निःशुल्क एवं अनिवार्य गराउनु पर्ने जस्ता महत्त्वपूर्ण सिफारिस गरी राष्ट्रिय शिक्षा योजना आयोग २०११ को प्रतिवेदनलाई सामान्य सुधार गर्दै सिफारिस गरिएका कुराहरूको कार्यान्वयनको लागि समितिले शिक्षाको प्रस्तावित ऐनको मस्यौदा समेत पेस गरेको थियो ।  तत्कालीन पञ्चायती व्यवस्थाको सिफारिसमा सोही मस्यौदा वि.स. २०१९ सालमा शिक्षा ऐन बनेको थियो तर कार्यान्वयन भने भएन ।

प्रजातन्त्र र पञ्चायती व्यवस्थामा गठन गरिएका विभिन्न आयोग समिति र त्यसको प्रतिवेदनको सुझाव, योजनालाई समेटेर एउटा सङ्गठित योजनाको रूपमा देशभर राष्ट्रिय स्तरको पाठ्यक्रम, शिक्षाका राष्ट्रिय उद्देश्य, तहगत उद्देश्य, विषयगत उद्देश्य, शिक्षाको संरचना, कक्षा र विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी र तलवभत्ता जस्ता कुराहरू देशभर प्रभावकारी रूपमा सञ्चालन र कार्यान्वयन गर्न नयाँ शिक्षा योजना नामक राष्ट्रिय शिक्षा पद्धति योजना आयोग २०२८ को घोषणा गरी वि.स. २०३२ साल सम्ममा देशभरका सबै जिल्लाहरूमा कार्यान्वयन गरिएको पाइन्छ । समग्रमा देशको शैक्षिक गुणस्तर सुधार व्यवस्थापन र सञ्चालनको लागि शिक्षा ऐन, २०२८ पनि जारी गरिएको थियो ।

राजनीतिक प्रणाली अनुकूल शिक्षा दिने उद्देश्य सहित वि.स. २०४७ सालमा राष्ट्रिय शिक्षा आयोगको गठन गरी आयोगले शिक्षाको संरचना, शिक्षाका राष्ट्रिय उद्देश्य, शिक्षाको नीतिहरूको सम्बन्धमा विस्तृत रूपमा प्रतिवेदन सार्वजनिक गरेको थियो । जसको नाम राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९ रहेको थियो । वि.स. २०५५ सालमा पुनः आधुनिक अवधारणा सहित एक्काइसौँ शताब्दीसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति र समय सापेक्ष शिक्षाका नीति तयार गर्न उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको गठन गरी शिक्षाका उद्देश्य निर्धारणमा संविधानका मौलिक हक राज्यका निर्देशक सिद्धान्त र नीतिलाई ध्यानमा राखेर प्रतिवेदन पेस गरी शिक्षामा आधुनिकता ल्याउने प्रयत्न गरेता पनि समय सान्दर्भिक पाठ्यक्रमको वैज्ञानिक परिमार्जित हुन नसक्नु हाम्रो शिक्षा प्रणालीको मुख्य कमजोरी रहेको प्रस्ट देखिन्छ ।

सबैका लागि शिक्षा सन २००१-२०१५ जस्ता शिक्षा सम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रम, अद्यावधिक योजनाहरू विद्यालय क्षेत्र सुधार योजना वि.स. २०६६-२०७२ को पञ्चवर्षीय योजनामा विद्यालयमा सञ्चालन भइरहेका कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले यो कार्यक्रमको अवधारणा ल्याइएको थियो । हाल सञ्चालनमा रहेको विद्यालय क्षेत्र विकास योजना वि.स.२०७३-२०७९ सम्मको पञ्चवर्षीय अद्यावधिक योजनाले नेपालको संविधानले परिकल्पना गरेको सङ्घीय गणतान्त्रिक राज्य संरचना अनुरूप राष्ट्रको सामाजिक, आर्थिक, रूपान्तरणका लागि आवश्यक स्वावलम्बी, प्रतिस्पर्धी, प्रवर्द्धनात्मक र मूल्य उन्मुख नागरिकको विकासमा योगदान पु¥याउने दूर दृष्टि राखी विद्यालय क्षेत्र विकास योजना वि.स. २०७३-२०७९ को निर्माण गर्दै वि.स. २०७९ सम्म नेपाललाई अल्पविकसित राष्ट्रको स्तरबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्न र वि.स. २०८७ सालसम्म नेपाललाई मध्यम आय भएको मुलुकको स्तरमा रूपान्तरण गर्न र आवश्यक जनशक्ति उत्पादन गर्ने अभियान लिएको छ ।  यस कार्यक्रमले विद्युतीय सामाग्रीहरू जस्तै भिडियोजन्य सामाग्रीको विकास र वितरण जस्ता कार्यक्रम सञ्चालन गर्ने लक्ष्य यस कार्यक्रमको रहेको छ ।

अनलाइन शिक्षा सम्भावनाको आधारहरुः
देशको भौगोलिक विकटता र वार्षिक रूपमा शिक्षामा गरिएको लगानीलाई स्थानीय सरकारले प्रभावकारी र पारदर्शी रूपमा सञ्चालन गर्न र अद्यावधिक योजनाको लक्ष्य अनुरूपको लगानीलाई सदुपयोग गर्न सकियो भने यसको परिणाम पनि लक्ष्य अनुरूपको रहनेमा दुई मत देखिँदैन ।

वार्षिक रूपमा शिक्षामा विनियोजन गर्ने रकमलाई कम्तीमा पनि १८ देखि २० प्रतिशत सम्म शिक्षामा लगानी गरियो भने प्रविधिमैत्रि विद्यालय र शैक्षिक स्वरूपमा आमूल परिवर्तन ल्याई भौगोलिक विकटतालाई सुगमको निकट बनाउन सकिन्छ ।

आधुनिक परिपेक्षमा विभिन्न अवसरबाट वञ्चित समुदाय, महिला, कामदारहरूको शिक्षामा उनीहरूको अधिकार सुनिश्चित गर्न र औपचारिक शिक्षाको पहुँचमा पुर्‍याइ उनीहरूको व्यक्तित्व विकासमा अवसर प्रदान गर्न दूर शिक्षा प्रणालीबाट खुला शिक्षाको विकल्प सिर्जना गर्न खुला तथा दूर शिक्षा नीति २०६३ ल्याइएको छ । यद्यपि दूर शिक्षा नीतिले आम सञ्चार प्रयोग सम्बन्धी कार्य नीतिहरू पनि बनाएको पाइन्छ दूर शिक्षाको सामाग्रीको रूपमा सबै प्रकारमा आमसञ्चार तथा मुद्रित पत्रिकाहरूको सहजै प्रयोग इमेल, इन्टरनेट, टेलिफोन, भिडियो सम्मेलन, मल्टिमिडिया, अनलाइन, अफलाइन, जस्ता विद्युतीय माध्यमहरुको प्रयोगलाई अनिवार्यता गरेको सन्दर्भमा हालको टड्कारो र समय अनुकूल हुनुपर्ने अनलाइन शिक्षाको बीजारोपण भइसकेको हुँदा सो कार्यक्रमलाई देशको शैक्षिक कार्यक्रमको मेरुदण्डको रूपमा लिने सक्ने अवसर पनि हो । तत्काल उच्चस्तरीय विद्युतीय अनलाइन शिक्षा आयोगको गठन गरी दूर तथा खुला शिक्षा नीति २०६३ को प्रभावकारिता र त्यसले तयार गरेका आधार र समय अनुकूल आवश्यकताको पहिचान र सहज पहुँचको लागि आवश्यक प्रतिवेदन तयार गरी तत्कालीन समस्याहरूको उचित समाधान गर्ने वातावरण बनाउन सकियो भने अनलाइन शिक्षाको पहिलो पूर्वाधार विकासको लागि इन्टरनेटको पहुँच विहीन स्थानहरूमा इन्टरनेट सेवा प्रदायक कम्पनीसँगको सहकार्यमा ताररहित र तारसहित इन्टरनेटको विस्तार र दूरसञ्चार प्राधिकरणको सहकार्यमा इन्टरनेट सर्वेक्षण तथा विस्तार समिति गठन गरी तत्काल कामको थालनी गर्न सकिन्छ ।

अनलाइन शिक्षाको पूर्वाधारको रूपमा लिइने कुरा आधारभूत विकासका पूर्वाधारको रूपमा लिन सकिन्छ । नेपाल विद्युतीय प्राधिकरणका अनुसार देशको ७६ प्रतिशत भू–भागमा विद्युतीय सेवाको विस्तार भइसकेको र बाँकी क्षेत्रमा विस्तारको क्रममा रहेको छ भने यसको लागि अन्य विकल्प पनि रहेका छन् । त्यसै गरी सूचना आदानप्रदानको लागि भरपर्दो माध्यमका रूपमा इन्टरनेट सन १९५० को दशकदेखि विकास भएको पाइन्छ।  नेपालको सन्दर्भमा करिब २५ वर्ष पहिले सर्वप्रथम इन्टरनेट वि.स. २०५२ सालमा मर्कन्टाइल कम्युनिकेसन भित्राएको पाइन्छ । हाल नेपालमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरू सङ्ख्या करिब २ दर्जन भन्दा बढी छ र ती इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको मुख्य सेवा ग्राहीहरू सरकारी, गैरसरकारी कार्यालय विभिन्न कर्पोरेट क्षेत्र रहेका छन् । सेवा प्रदायक कम्पनीहरूले करिब २१ प्रतिशत जनसङ्ख्या आफ्नो इन्टरनेट सेवामा निर्भर रहेको तथ्याङ्क सार्वजनिक गरेको पाइन्छ । करिब २० वर्ष पहिले नेपाल टेलिकम वि.स. २०५६ सालमा परीक्षण गरी वि.स. २०६० सालदेखि सेवा प्रारम्भ गरेको GSM मोबाइल सेवा र Ncell वि.स. २०६१ सालमा स्थापना भई वि.स. २०६२ सालदेखि सेवा सुरुवात गरेको पाइन्छ क्रमशः ४९ प्रतिशत नेपाल टेलिकम र ४४ प्रतिशत Ncell दूरसञ्चार कम्पनीले आफ्नो हिस्सा ओगटेका छन् भने अन्य साना कम्पनीहरूले ७ प्रतिशत हिस्सा ओगटेको पाइन्छ, हाल सम्म ८० प्रतिशत जनसङ्ख्याले मोबाइल फोनको प्रयोग गरिरहेको दूरसञ्चार कम्पनीहरूको दाबी छ यो तथ्याङ्क अनलाइन शिक्षा सञ्चालनको लागि सुखद पक्षको रूपमा लिन सकिन्छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार इन्टरनेट 2G, 3G, 4G, FTTH, ADSL प्रयोगकर्ता ६३ प्रतिशत रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । नेपाल दुरसंञ्चार प्राधिकरण र ISPs इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको प्रयोगकर्ता गरी जम्मा ८४ प्रतिशत रहेको र यसले समग्र भौगोलिक क्षेत्रको प्रतिनिधित्व गर्दछ, र अनलाइन शिक्षा पूर्वाधार विकासमा यसलाई सन्तोषजनक गति मान्न सकिन्छ यो पनि सुखद पक्ष हो । त्यसै गरी अनलाइन शिक्षाको प्रमुख साधन कम्प्युटर र स्मार्ट मोबाइल फोनका प्रयोगकर्ता र यसको सहजै प्राप्तताले अनलाइन शिक्षा प्रभावकारितामा सहज भूमिका खेल्ने देखिन्छ ।

अनलाइन शिक्षाको आधार दूर शिक्षाको अवधारणा र भुमिकाः
दूर शिक्षाको अवधारणा अमेरिकाबाट आएको पाइन्छ । तर कुन समयदेखि आएको हो भन्ने सम्बन्धमा अझै पनि बहसको विषय रहेको छ । सन् १८ औँ शताब्दीमा भौगोलिक दुरीबाट घरमा बसेर पत्राचारको माध्यमबाट यो शिक्षाको सुरुवात सम्पूर्ण United Colonies मा विकसित हुँदै सन् १८०० मा ब्रिटिस र युरोपेली मुलुकहरूले ग्रहण गरेको पाइन्छ । दूर शिक्षालाई युरोपेली मुलुकहरूले विशेष विश्वविद्यालय तहका विद्यार्थीहरूलाई केन्द्रित गरी पत्राचारको माध्यमबाट शिक्षण सिकाइको व्यवस्था गरिएको पाइन्छ भने सन् १९०० तिर प्रविधिको विकास सँगसँगै विभिन्न प्रकारका सञ्चारका माध्यमहरू रेडियो, टेलिभिजनबाट व्यापक रूपमा दूर शिक्षाको प्रचलन बढेको पाइन्छ । त्यसै गरी भौगोलिक दुरीमा विद्यार्थीलाई पत्राचारको माध्यमबाट दूर शिक्षाको विकास गर्ने मुलुकहरूले सन् १९८० को दशकदेखि बदलिँदो आधुनिक प्रविधिहरू कम्प्युटर, इमेल, इन्टरनेटको विकाससँगै पत्राचारको माध्यमलाई परिमार्जित गरी प्रविधिको उचित प्रयोग गरेर अनलाइन शिक्षाको रूपमा विभिन्न विद्यालय र विश्व विद्यालयहरूले शिक्षण गरिरहेका छन् । सोही दशकमा नेपालले वि.स. २०३७ साल देखि रेडियो नेपालबाट शिक्षकलाई तालिम दिने व्यवस्था गरेको पाइन्छ र २०६३ सालमा दूर तथा खुला शिक्षा नीति बनाइ अभ्यास गरिरहेको छ । हालैको सर्वेक्षणअनुसार विश्वमा करिब २ करोड विद्यार्थीहरू अनलाइनको माध्यमबाट शिक्षा लिइरहेको तथ्याङ्क सार्वजनिक गरिएको पाइन्छ ।

परम्परा गुरुकुल, धार्मिक शिक्षा प्रणालीमा आधारित नेपाली शिक्षा प्रणाली २१ औँ शताब्दीमा प्रवेश गर्दा अपेक्षित परिवर्तन हुन नसक्नु प्रविधिको प्रयोगमा अध्ययन, ज्ञान, सिपमा कमी भएको नजर अन्दाज गर्न सकिन्छ । तर पनि प्रायः जसो विद्यालयहरू आधुनिक सूचना प्रविधिको प्रयोग गरी विद्यार्थी र अभिभावकलाई आकर्षित गर्न सफल विभिन्न सरकारी र निजी विद्यालय पनि दिनानु बढ्दै गइरहेको सन्दर्भमा आधुनिक सूचना प्रविधिको प्रयोग जस्तै कम्प्युटर, मल्टिमिडिया, प्रोजेक्टको माध्यमबाट शिक्षण गर्दा विद्यार्थीमा रुचि, दिगो शिक्षण र प्रविधि मैत्री विद्यालयको उदाहरण प्रस्तुत गर्न सफल भएका पनि पाइन्छन् ।

  • त्यसै गरी विद्यालयको शिक्षण सिकाइ देखि सम्पूर्ण प्रशासनिक गतिविधिहरूलाई आधुनिक प्रविधिमय बनाइनु आजको आवश्यकता देखिन्छ ।  समग्र नेपालको वर्तमान परिवेशमा सरकारी, गैह्र सरकारी, सार्वजनिक, निजी संघ संस्थाहरू आधुनिक प्रविधिसँग परिचित छ भन्दा फरक नपर्ला केही उदाहरणहरुः–
  • वि.स. २०७५ श्रावण १० गते देखि मन्त्रिपरिषद्को पेपरलेस बैठक,
  •  वि.स. २०७६ भाद्र १० गते भिडियो सम्मेलनको माध्यमबाट मन्त्रिपरिषद्को बैठक,
  • वि.स. २०७६ चैत्र १ गते काेभिड-१९ रोकथाम र सजकताको सम्बन्धमा सार्क अन्तर्राष्ट्रिय भिडियो सम्मेलन ।

जस्ता विषयमा आधुनिक सूचना तथा प्रविधिको प्रयोगका उदाहरण हुन भने बन्दा बन्दीको समयको सदुपयोग गर्दै विभिन्न सङ्घ संस्थाहरूले आयोजना गर्ने भिडियो सम्मेलन पनि यसका ज्वलन्त उदाहरण हुन् ।

लेखक- दीपेन्द्र मल्ल
नेपाल ल क्याम्पस
कानून/शिक्षा शास्त्र र राजनीति शास्त्रका विद्यार्थी हुन

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments