अनलाइन मार्फत शैक्षिक कार्यक्रम कत्तिकाे प्रभावकारी हाेला ?

सोमवार, जेष्ठ ५, २०७७



- ई. द्वारिका अधिकारी

नेपालमा शिक्षा आदानप्रदान तीन तहको १८ वर्षे शैक्षिक प्रणाली अन्तर्गत हुने गर्दछ । जसलाई १२ कक्षासम्म माध्यमिक, ४ वर्ष स्नातक अनि २ बर्से स्नातकोत्तर भनेर बुझिन्छ । प्राथमिक तहदेखि विश्व विद्यालय तहसम्मै सरकार र निजी क्षेत्र प्रतिस्पर्धीजस्तै भएर अगाडी बढिरहेको नेपाली शिक्षाको गुणस्तर भने आकाश र जमिनको जस्तै फरक छ । अपर्याप्त पूर्वाधार, शिक्षकको कमी वा प्रतिस्पर्धामा उत्रिन नसक्ने तर राजनैतिक कार्यकर्ताहरू व्यवस्थापनको लागि सृजित कोटाका शिक्षकहरू, उचित शिक्षण सामग्रीको अभाव र विद्यार्थीको घरमा आर्थिक दुरावस्थाको कारण बच्चाहरूलाई प्रारम्भिक कक्षामा भर्ना गरे पनि माध्यमिक शिक्षा नसकी बिचमा नै विद्यालय छोड्ने विद्यार्थीको सङ्ख्या ठुलो रहेको छ । निजी क्षेत्रमा पनि घोकाउने र परीक्षामा उच्चतम अङ्क ल्याएर विद्यालयमा विद्यार्थी बढाउने भन्दा बाहेक अन्य लक्ष्य देखिँदैन । देशको सबैभन्दा जेठो, भिडभाडयुक्त एवम् प्राय: विद्यार्थी पढ्ने त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान, चिकित्साशास्त्र अध्ययन संस्थान र केन्द्रीय क्याम्पसको केन्द्रीय भौतिकशास्त्र र रसायनशास्त्र विभाग भन्दा बाहेकका विभाग र आंगिक क्याम्पसमा पढाइ भन्दा क्याम्पस प्रशासन र विद्यार्थी सङ्गठनको क्रियाकलाप हुन्छन् र धेरै क्याम्पस यसको सिकार पनि बन्छन् । प्रति वर्ष लाख दक्ष, अर्धदक्ष र अदक्ष जनशक्ति श्रम बजारमा आउने नेपालमा ज्ञान र रोजगारीको लागि नेपाली शिक्षा भन्दा पनि विदेशमा शिक्षा लिएका व्यक्तिहरू बढी सफल भइरहेका छन् । यसले गर्दा नेपाली शिक्षा प्रणालीबाट नेपालमा हजुरबा र बुवाहरूले पढेको भन्दा बाहेक नयाँ पुस्ताले नयाँ केही सिक्न नसकेको कुरा छर्लङ्ग हुन आउँछ र शिक्षा एउटा औपचारिक उपाधि लिनको लागि मात्र गरिएको मिहेनत झैँ भएको छ । यद्यपि नेपालको पाठ्यक्रम पूर्णतया अव्यवहारिक भने छैन तर यसमा अध्ययनको लागि व्यावहारिक दृष्टिकोणको अभाव छ,जसले विद्यार्थीहरूलाई अनुसन्धान गर्न, सिर्जना गर्न र आफ्नै अनुभवबाट सिक्नको लागि प्रेरित गर्दैन । सीमित शैक्षिक सामाग्रीमा भर पर्ने र अनुसन्धान नगरी अरूको सामग्री चोरी गर्ने जस्ता क्रियाकलापको बिगबिगी रहेको अवस्थामा राजनैतिक हस्तक्षेप र कर्मचारीतन्त्रको दुष्कृतिको चंगुलले शिक्षा क्षेत्र धारासाही हुने स्थितिमा नै पुगिसकेको छ ।

विश्वमा कोरोना भाइरसको महामारीले मान्छेका दैनिक क्रियाकलापहरूलाई ठप्प पारिदिएको अवस्थामा शिक्षा क्षेत्र पनि यो कहरबाट प्रभावित भएको छ । आधुनिक, माटो सुहाउँदो, रोजगारी दिलाउन र सृजना गराउन सक्ने, नैतिकताको खडेरीमा प्रभावित भइरहेका सामाजिक, राजनीतिक, ब्यबसायिक क्षेत्रहरूलाई सुधार गर्न सक्ने शिक्षा आजको आवश्यकता भइरहेको अवस्थामा शिक्षाको गुणस्तर सुधार गर्नु पर्ने टड्कारो आवश्यकता त छँदै थियो, अझ यो विपत्तिले शिक्षा प्रवाहको तरिकामा समेत परिवर्तन गर्नुपर्छ कि भन्ने आवाजलाई बुलन्द हुने ऊर्जा दिएको छ । नेपालमा प्राय: सबै कन्ट्याक्ट क्लास हुने भएतापनि ‘नेपाल खुल्ला विश्वविद्यालय’ र त्यसभन्दा पहिला ‘इन्दिरा गान्धी राष्ट्रिय खुल्ला विश्वविद्यालय’ (IGNOU) ले नेपालमा दूर शिक्षाको अवधारणा ल्याइसकेका थिए भने इच्छुक बिध्यार्थीहरुले विभिन्न माध्यमबाट अनलाइन क्लास र दूर शिक्षा लिइरहेका थिए । नेपालभित्रै हेर्ने हो भने पनि नेपाल खुल्ला विश्वविद्यालय ई स २०१६ देखि विज्ञान प्रविधि, व्यवस्थापन र कानुन तथा सामाजिक विज्ञानको अध्ययन अध्यापन गराउँदै आएको छ । Alison को तथ्याङ्क अनुसार नेपालमै बसी नेपाल बाहिर सञ्चालन भएका अनलाइन क्लासहरूबाट ई स २०१६ को अप्रिल सम्म २९,८४१ जना नेपाली बिध्यार्थीहरुले ७५० वटा अनलाइन कोर्समा भर्ना गरेर अध्ययन गरेको देखाएको छ जसको लागि २९६,०३१ वटा सेसन भएका थिए ।

दूर शिक्षा, इलेक्ट्रोनिक शिक्षा, अनलाइन शिक्षा, इन्टरनेट लर्निंग वा अन्य जे नामले जानिए पनि e-Learning भनेको परम्परागत कक्षाकोठाभन्दा बाहिर रहेर शिक्षक र विद्यार्थी दुवैले इलेक्ट्रोनिक टेक्नोलोजीको उपयोग गर्दै शैक्षिक पाठ्यक्रममा पहुँच राखेर हुने सिकाइ प्रणाली हो । यहाँ पाठ्यक्रमहरू विशेष रूपमा इन्टरनेट मार्फत पठाइन्छ र अनलाइनमार्फत प्राध्यापकले सिकाइरहेका हुन्छन्। यो कुनै डिभिडी, भिडियो टेप वा टेलिभिजन च्यानल मार्फत वितरीत हुने कोर्स होइन किनकि यो एकतर्फी डेलिभरी नभईकन अन्तरक्रियात्मक हुन्छ र विद्यार्थीले आफ्ना शिक्षक, प्राध्यापक वा सहपाठी विद्यार्थी साथीहरूसँग पनि कुराकानी र छलफल गर्न सक्छन् । प्राय यो प्रत्यक्ष प्रसारित हुन्छ जहाँ विद्यार्थीले “इलेक्ट्रोनिक” रूपमा आफ्नो हात उठाएर वास्तविक समयमा नै प्रश्न सोध्न वा अन्तर्क्रिया गर्न सक्छन् भने कहिलेकाहीँ यो रेकर्ड गरेर व्याख्यानको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

विकसित देशहरूमा शिक्षा प्रणालीलाई देशको मेरुदण्डको रूपमा मानिन्छ र शैक्षिक क्षेत्रमा हुने सफलता वा असफलतालाई देशकै सफलतासँग जोडेर हेरिन्छ । देशमा दीर्घकालीन रूपमा चाहिने श्रमशक्तिको हिसाब गरेर सोही अनुरूप शिक्षामा नीति तर्जुमा गरेर लगानी गरिन्छ । वयस्क भएदेखि श्रम बजारमा व्यस्त हुने कारण ब्यबसायिक अनुभवबाट खारिँदै अध्ययन गर्ने पुरानो परिपाटी रहेको उनीहरूले प्रविधिको प्रयोग गर्दै अनलाइन शिक्षा लिने गरेका छन् । संसारकै अग्रणी विश्वविद्यालय हार्बर्ड, अक्सफोर्ड, एम.आइ.टी. हरुले आफ्नो आधा भन्दा बढी अध्ययन अध्यापन अनलाइनको माध्यम बाट गर्ने गर्दछन् । २१ औ शताब्दीको सुरुवातसँगै तिब्रतर रूपमा विकसित भएको इन्टरनेटको कारण edX, Courser, Alison, LinkedIn Learning Skill share, Learn smart र Academic Earth जस्ता अनलाइन शिक्षा प्रदान गर्न सहजीकरण गर्ने सफ्टवेयरको प्रयोगबाट अहिले संसारभरि अध्ययन अध्यापन भइरहेको छ । संसारकै उत्कृष्ट शिक्षा प्रणाली भएको फिनल्यान्ड, नर्वे, संयुक्त राज्य अमेरिका र बेलायत जस्ता देशमा विद्यार्थी भर्ना, दर्ता, क्लास सञ्चालन, एसाइन्मेन्ट र परिक्षाफल सबै अनलाइन नै हुन्छ । Forbes का अनुसार संसारमा e-learning को विश्व बजार ३२५ बिलियन डलर बराबर छ भने अमेरिकामा मात्र २०१७ सम्म ७७% क्लासहरू अनलाइन बाट हुन्थे भने २०२० को अन्त्य सम्ममा ९८% भन्दा बढी क्लासहरू अनलाइनबाट गरिने प्रक्षेपण छ । अझ रोचक कुरा अनलाइन क्लास गर्दा संस्थाहरूमा ४२% सम्म प्रशासनिक खर्चमा कमी आएको पनि देखिएको छ ।

कुनै पनि बस्तु वा सेवाको विश्लेषण गर्दा त्यसको गुण र दोष, फाइदा वा बेफाइदालाई आधार मानेर गर्नु पर्दछ । अनलाइन क्लास वा e-learning का पनि आफ्नै फाइदा र बेफाइदाहरू छन् । यो कम्प्युटर, मोबाइल वा अन्य विद्युतीय उपकरण, बिजुली र सफ्टवेरमात्र भए पनि सिकाइ विधि गर्न सकिने कारण शिक्षाका महंगा पूर्वाधारमा लगानी नगरी पनि पढ्ने पढाउने कार्य गर्न सकिन्छ । फुर्सदको समयमा आफूलाई पायक पर्ने ठाउँमा बसेर पढ्न सकिने यो प्रणालीले शिक्षक र विद्यार्थी पढ्न र पढाउनकै लागि आवतजावत गर्न पर्ने बाध्यता हटाइदिन्छ जसको कारण समय र पैसाको बचत त हुन्छ नै, त्यसमाथि त्यसको लागि हुने मानसिक तनावबाट पनि मुक्त हुन सकिन्छ । अध्यापन गराउने शिक्षकले एक पटक अध्यापन सामाग्री तयार गरेपछि दोहोराएर बनाउन पर्दैन र त्यही कुरा फरक फरक समूहलाई पढाउँदै पनि हिँड्नु पर्दैन । अहिलेको युग विज्ञान प्रविधिको हो जसको मेरुदण्ड भनेको सूचना प्रविधिको विकास हो । सूचना प्रविधिको विकासले सृजना गरेको अनुपम उपहार इन्टरनेट हो, जसमा संसारकै सबैभन्दा सबै क्षेत्र, विधा,तह र तप्काका ज्ञान र सूचनाहरू निहित छ र सबैको लागि खुल्ला पनि छ । यसलाई प्रयोग गर्दै अनलाइन सिकाइ प्रविधिको प्रयोग गर्नु सहज हुन आउँछ, तर अनलाइन क्लास लिँदा बिद्यार्थीहरुमा सामाजिकीकरणको भावनामा कमी आउन सक्छ जसले गर्दा सामाजिक र नैतिक रूपमा मान्छे कमजोर हुन सक्छ । अर्को तर्फ, प्राविधिक विषयहरू जस्तै इन्जिनियरिङ, नर्शिंग जहाँ सिकाइमा व्यक्तिगत उपस्थिति महत्त्वपूर्ण र अनिवार्य हुन्छ त्यहाँ अनलाइन सिकाइ प्रभावकारी नहुन सक्छ । अनि प्रविधि प्रयोग को नाममा रणनीतिक, राजनैतिक, कूटनैतिक र सुरक्षा अङ्ग र गुप्तचर संस्थासँग सम्बन्धित अध्ययन अध्यापन अनलाइनबाट गराउनु भनेको मुर्ख्याइँ हुन जानेछ । तर विभिन्न समयमा हुने प्राकृतिक र मानवीय विपत्तिमा भने यो सङ्कट व्यवस्थापन गर्न उचित औजार हुनेमा भने दुइमत छैन ।

कन्ट्याक्ट क्लासमा कार्यस्थलभन्दा पर कक्षामा पढ्ने पढाउने कार्य हुने र प्रविधिमा आधारित शिक्षण पद्धतिमा नपाइने मानवीय अन्तरक्रिया हुने समूहगत सिकाइको कारण सामाजिक सम्बन्धको बिस्तार हुन जान्छ । तर पढ्नको लागि शिक्षण संस्था धाउन पर्ने भएको कारण उत्पादक समयमा आउने कमी साथै शिफ्टमा काम गर्ने बिद्यार्थीलाइ शिफ्ट अनुसार पढाउने गर्न गाह्रो हुने हुँदा धेरै जना पढ्ने अवसरबाट वञ्चित हुन पर्ने बाध्यता रहन्छ । त्यसमाथि शिक्षकले दिएका अध्ययन सामग्रीमा मात्र आश्रित हुन पर्नेहुदा शिक्षकले भनेको कुरा/बुँदा छुटेमा पुनः दोहोर्‍याएर बुझ्न सक्ने सम्भावना कम रहन्छ । नेपालको शैक्षिक क्षेत्र जुन विद्यार्थी सङ्गठन र शिक्षक सङ्गठनको स्वार्थमा परेर पठनपाठन अवरुद्ध भई घाइते भएको छ, त्यहाँ भने यो अनलाइन प्रणाली मल्हमको रूपमा प्रमाणित हुनेछ । यसरी अनलाइन शिक्षण विधिले गहन अध्ययनको परिपाटीलाई आत्मसाथ गर्छ भने कन्ट्याक्ट क्लासले सामाजिक अध्ययन विधिको वकालत गर्छ ।

विश्वविद्यालयहरूमा लामो समयदेखि पठनपाठन हुन नसकेको र लकडाउनको समय अझै थपिने सङ्केत पाएपछि विश्वविद्यालयले विद्यार्थीहरूको शैक्षिक क्यालेन्डर नबिग्रियोस् भनेर अनलाइन कक्षा सञ्चालनसम्बन्धी निर्देशिका २०७७ जारी गरेको छ । तर नेपालमा शैक्षिक संस्थाहरूको भौतिक पूर्वाधार, शिक्षकलाई तालिम, बिध्यार्थीहरुको प्रविधिमा पहुँच, देशमा उपलब्ध प्रविधि र इन्टरनेटको मूल्य, सुलभता र विश्वसनीयता, विद्यार्थीको सहभागिता आदि जस्ता कुराहरूमा यो शिक्षण विधिको सफलता निर्धारण हुन्छ । नेपालका शैक्षिक संस्थाहरू आज पनि जर्जर पूर्वाधारमा उभिरहेका छन्, यसर्थ अनलाइन शिक्षाको नाममा आधुनिकीकरण तत्कालको लागि असम्भव नै छ । यहाँ धेरै शिक्षकलाई कम्प्युटर स्टार्ट गर्न आउँदैन, मोबाइलमा फेसबुकभन्दा बाहेक अरू कुराहरू हुन्छ भन्ने पनि थाहा छैन । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार ६३% नेपाली इन्टरनेटको पहुँचमा छन्, तर सेवा गुणस्तरहीन छ । देशका प्राय ठाउँमा अहिलेपनि ३ जी सेवा नै छ । ४ जी भनेर प्रचार गरिएको सेवा काठमाडौँ र अन्य सहरका निश्चित क्षेत्रमा मात्र उपलब्ध छन् । अनलाइन शिक्षण पद्धतिमा अडियो, भिडियो, ग्राफिक्स र इफेक्टहरुको प्रयोग हुन्छ जसको लागि निश्चित ब्यान्डविथ आवश्यक पर्छ र अहिलेको सेवाप्रदायक हरुले आफूले कबोल गरेको ब्यान्डविथ मात्र समेत पनि नदिएको अवस्था छ । सेवाको गुणस्तर राम्रो नभए पनि नेपालको इन्टरनेट संसारभरिमै महँगो सेवा हो । विद्यार्थी सुगम ठाउँमा मात्र रहदैनन, देशका दुर सुदूर सम्म छरिएर रहेका बिद्यार्थीहरुको आर्थिक स्तर समेत समान पनि हुँदैन । अझ महत्त्वपूर्ण कुरा भन्नु पर्दा अध्ययन अध्यापन गराउन प्रयोग हुने सफ्टवेयरमा विद्यार्थी र शिक्षकले आदानप्रदान गरेका सूचनाहरू बस्ने र भण्डारण हुन सक्ने हुँदा कम्पनीहरूले त्यसको प्रयोग वा दुरुपयोग हुन सक्ने सम्भावना रहन्छ । उदाहरणको लागि अहिले अत्यधिक प्रयोग मा देखिएको zoom सफ्टवेरलाइ जर्मन सरकारले सूचना अपचलनको आरोपमा जर्मनिभरी निषेध गरेको छ ।

सबै विद्यार्थी अनलाइन शिक्षाको दायरामा आउन सम्भव पनि नहुने हुँदा शिक्षा आदानप्रदान गर्ने प्रणालीलाई विविधीकरण गर्नु वाञ्छनीय हुन जान्छ । कन्ट्याक्ट क्लासको विकल्पमा अनलाइन क्लास, पोडकास्ट, सामाजिक सञ्जाल, टेलिफोन, प्रिन्ट मटेरियल सबैलाई एकसाथ र परिपूरकको रूपमा लैजानु पर्छ । अनलाइन शिक्षाले कहिलेपनि कन्ट्याक्ट क्लासलाई विस्थापन गर्न सक्दैन र हुँदैन पनि किनकि सामाजिक र नैतिक शिक्षाको लागि कन्ट्याक्ट क्लास आवश्यक हो । शिक्षण संस्थाहरूको भौतिक पूर्वाधारको विकास गरिसकेपछि इन्टरनेट सेवा प्रदायकहरूलाई शिक्षाको लागि मात्र कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत डेडीकेटेड ब्यान्डविथ र यो विधिमा प्रयोग हुने याप्समा सम्भव भएसम्म निःशुल्क वा न्यून सेवा दिन पहल गर्नु पर्दछ । जसको लागि नेपाल सरकारले शिक्षा र सञ्चार नीतिमा परिवर्तन गर्नु पर्छ । नभए सरकारी र निजी विद्यालयले विद्यार्थी बिच धनी र गरिब भनेर वर्ग विभाजन गरेझैँ प्रविधिमा पहुँच भएका र पहुँच नभएका बिद्यार्थीहरु बिच पनि वर्ग विभेद ल्याउने र धारासायी भइरहेको शैक्षिक प्रणालीलाई झन् धारासायी बनाउने निश्चित छ । यसर्थ, देशमा अनलाइन शिक्षाको विकासतर्फ लम्किने समय आइसकेको छ तर पूर्णरुपमा कन्ट्याक्ट क्लास विस्थापन गरेर बिना पूर्वाधार र तयारी अनलाइन क्लासमा मात्र जान खोज्नु शैक्षिक क्षेत्रको हत्या प्रयास हुनेछ ।

यस लेख “नेपाल विद्यार्थी युवा मञ्च” द्वारा आयोजित ‘नेपालमा अनलाइन मार्फत कक्षा सञ्चालन हुनु पर्छ ?’ भन्ने विषयमा University level online opinion contest प्रतियोगितामा प्रथम स्थान जित्न सफल भएको थियो।

ई. द्वारिका अधिकारी

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments