रणनीतिक रुपमा असफल काँग्रेस नेतृत्व !

मङ्लबार, मंसिर १७, २०७६



- यमराज उपाध्याय

राजनीतिमा हार व्यहोर्नु नै भविष्यमा जित्नु या सफल हुनु ठानिन्छ तर यो उपनिर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका लागि सुहाउँदो कुरा मान्न सकिँदैन । ५२ वटा क्षेत्रमा भएको चुनावमा नेकपाका लागि प्रतिकूल र काङ्ग्रेसका लागि अनुकूल परिस्थितिमा जम्मा १३ सिट मात्रै जित्नुले भविष्य पनि त्यति फलदायी नहुने देखिन्छ । किनभने दुइतिहाईको स्थायी सरकार भएका बेला झन्डै दुई वर्षको अवधिसम्म जनताले जुन आशा अपेक्षा गरेका थिए ती कार्य हुनपर्ने जति पनि हुन सकेका छैनन् ।

अझ प्रधानमन्त्री, मन्त्रीहरूले नै तामझामका साथ घोषणा र उद्घाटन गरेका योजना नै अलपत्र छन् भने कतिपय गुमनाम भइसकेका छन् । नाकाबन्दीको बेला देखाएको दृढ विश्वासले ओली नेतृत्वको सरकारप्रति जनताको अलि बढी नै अपेक्षा थियो तर जनताले सोचे भन्दा फरक तवरका घटनाहरू घट्न पुगे । ‘जुन जोगी आएपनि कानै चिरेका’ भन्ने उखान चरितार्थ हुन पुग्यो । वर्तमान सरकारले कामै नगरेको होइन तर काम भन्दा बढी कुरा र जघन्य अपराध ( हत्या, हिंसा ,बलात्कार, भ्रष्टाचार, सुन तस्करी, मेडिकल माफिया, भूमाफिया, शैक्षिक माफिया ) विवादास्पद गुठी विधेयक जस्ता अनेकौँ घटना घट्न पुगे । त्यसैमा भारतले दुई सय वर्ष देखि हडपी रहेको नेपाली भूभाग दुई तिहाइ नेकपाको सरकार भएकै बेला आफ्नो राजनैतिक नक्सामा समेट्न पुग्यो । सरकारले करिब तिन हप्ता पछि मात्रै झिनो स्वरमा औपचारिक पत्र पठायो । तमाम गल्तीका बिचमा पनि नेकपा विचलित नभई नेताकार्यकर्ताको एउटै स्वर भयो ।

वास्तवमा काङ्ग्रेसले यी यावत कुराहरूका बारेमा पार्टी भित्र व्यापक छलफल गर्‍यो न त खरो रूपमा संसद्मा खबरदारी गर्न सक्यो न जनताहरूलाई गुह्य कुरा बुझाउन सक्यो । साधारण प्रेस विज्ञप्तिले मात्रै उल्झिने र बुझिने कुरा थिएनन् । जे गर्‍यो ती कुराबाट काङ्ग्रेस चुक्यो ठुलो गल्ती गर्‍यो । काङ्ग्रेस सभापतिले प्रधानमन्त्रीको सल्लाहमा भारतले नक्सा बनाएको हो भन्ने अभिव्यक्ति दिएपछि पार्टीकै शीर्ष नेताहरूबाट आलोचना भयो । जुन नेकपामा अध्यक्ष र नेताले दिएका जस्तोसुकै अभिव्यक्ति भए पनि पार्टीबाट आलोचित हुँदैन बरु थप मलजल हुन पुग्छन् । भए पनि बिरलै बाहिर प्रचार नहुने गरी हुन्छन् । निर्मला हत्या प्रकरणका विषयमा प्रधानमन्त्रीले हत्यारा पत्ता लगाउन बाह्र वर्ष पनि लाग्न सक्छ भन्नु र यस्ता घटना घटिरहन्छन्, पहिले पनि घटेका थिए, पछि पनि घटिरहन्छन् भन्ने गृहमन्त्रीको अभिव्यक्ति उदाहरणका रूपमा बुझ्न सकिन्छ ।

देउवाको अभिव्यक्ति ठिक हो भन्न खोजिएको होइन । कुरा के भने पार्टी भित्र नै आ-आफुमा एक अर्कामा छेडछाड हुनु र अर्कालाई मात्रै दोष देखाउने कार्यले विपक्षीलाई राहतको महसुस हुन्छ, खेल्न सजिलो हुन्छ । भने जनताले पार्टीप्रति विश्वास गुमाउँछन् । अनि कार्यकर्तामा निराशा छाउँछ । जिम्मेवार व्यक्तिले सही र गल्ती के हो मनपरी भन्ने कुरा पनि होइन त्यसले स्वयम् आफू र पार्टीलाई कति नोक्सान हुन्छ भन्ने कुराको ख्याल गर्नुपर्छ । वर्तमान सरकारका अनेकौँ गल्ती हुँदाहुँदै पनि उपनिर्वाचनमा अधिकांश पहाडी र दुर्गम क्षेत्रमा नेकपाले नै बढी सिट प्राप्त गर्नुले के देखिन्छ भने नेकपाका जिल्लामा कार्यरत कार्यकर्ता, गाउँमा कार्यरत कार्यकर्ता दिलो ज्यान दिएर खटिनु र आफ्नो सरकारले गरेका राम्रा कामको भरपुर प्रचारप्रसार गर्नु र नराम्रा कामको आभासै नदिई बचाउ गरेर जनतालाई विश्वास दिलाउनु नै रहेको देखिन्छ । उपत्यका, शहरी क्षेत्र, सञ्चार माध्यमको राम्रो पहुँच भएका अझ बढी संवेदनशील र शिक्षित वर्गको बसोबास अनि नेताका क्रियाकलाप, धारणाका बारेमा आफ्नै दृष्टिकोणले हेर्ने र बुझ्ने क्षेत्रका मतदाताको मनसाय पोखरा र दाङको फरक तवरको घटना बाहेक नेकपालाई मन पराएको देखिएन ।

पोखरामा काङ्ग्रेसको हार हुने निश्चित थियो दुई पटक तत्कालीन एमाले नेता स्वर्गीय रवीन्द्र अधिकारीले जितेका क्षेत्र र नेकपाको राम्रै पकड भएको क्षेत्र पनि हो । तत्काल अकल्पनीय घटना घटेकोले पत्नी विद्या भट्टराई पराजित हुने कुरा पनि थिएन । सो कुरा दाङमा पनि लागू भयो । अझ जस्तोसुकै भए पनि नेपाली समाजमा मानवीय संवेदना बढी देखिन्छ शोकलाई शक्तिमा बदलिदिने नेपाली समाजको एक राम्रो विशेषता पनि हो, छ । काङ्ग्रेस भित्र युवाहरूलाई अगाडी सार्नुपर्छ भनी चर्को आवाज उठिरहेको बेला वृद्ध बा लाई टिकट दिनु पनि काङ्ग्रेसको थप कमजोरी रहन गयो ।

अझ बढी त सरकारका कमी कमजोरीलाई प्रतिपक्षले केलाउन सकेन वार्षिक आर्थिक वृद्धिदर ६ प्रतिशत नकट्ने यथार्थ मन्त्रालयका अधिकारीले गरे पनि सरकारले ८ प्रतिशत वृद्धिदरको लक्ष्य राखेको थियो । अनुमान लगाउन सकिन्छ जुन सरकारको लोकप्रियता जगाउने प्रयोजनका लागि मात्रै थियो । ८ प्रतिशत आर्थिक वृद्धि गर्ने प्रस्ताव नै नाटक थियो भन्ने कुरा काङ्ग्रेसका अर्थविद् भन्नेहरूले नै बुझेनन् कि या आम जनतालाई बुझाउन चाहेनन् । विश्व बैकले कृषि उपज राम्रो भएमा मात्रै नेपालको आर्थिक वृद्धिदर ७.१ हुने बताइरहेको थियो भने एसियाली विकास बैकले सन् २०१९ र २०२० मा क्रमशः ६.२ र ६.३ प्रतिशत मात्रै हुने उल्लेख गरेको थियो । यसैबिच निर्यात २४ प्रतिशतले बढेको र आयात ७ प्रतिशतले घटेको समाचार आएका छन् । आर्थिक वर्षको तुलनामा ९ प्रतिशतले कम भएको तथ्याङ्क छन् । मुलुक भित्र आयातलाई प्रतिस्थापन गर्ने कृषि र औद्योगिक वस्तुहरूको उत्पादन घटिरहेको छ । राजस्वले कुल लक्ष्य भेटाउन मुस्किल भइरहेको छ । सरकारले विनियोजन गरेको ४ खर्व रुपैयाँ मध्य पहिलो चौमासमा मुस्किलले २५ अर्व मात्रै सङ्कलन गरेको छ । कुनै पनि देशको विकासका लागि अनिवार्य तत्त्व मानिने वैदेशिक लगानी नेपालको इतिहासमै अहिले कम भित्रिएको मानिन्छ । सरकारका सही डाटा र तथ्याङ्कहरू तोडफोड गरेर भए पनि मुलुक आर्थिक रूपमा सहिबाटोमा छ भनी ढुक्कसँग प्रचार भइरहेकै छ । व्यापार घाटा खस्किँदो छ, अर्थतन्त्र नाजुक अवस्थामा छ, विदेश पलायन बढ्दो छ, सूचना एवम् सञ्चार जगतबाट टाढा रहेका ग्रामीण भेगका मतदातालाई थाहा हुने कुरा भएन काङ्ग्रेसका सहर केन्द्रित कार्यकर्ताले यस्ता कुरामा खासै ध्यान दिन चाहेनन् होला ।

भक्तपुर र धरानमा काङ्ग्रेसले बाजी मार्‍यो भनी काङ्ग्रेसले खुसी मनाउनुको कुनै तुक छैन । काङ्ग्रेसले राम्रो काम गरेको छ भनी जनताले मत दिएका होइनन् । शिक्षित र सरकारका रवैया राम्ररी बुझेका सचेत मतदाताले अन्य विकल्प नदेखेर काङ्ग्रेसलाई मत दिएका हुन् । नेपालको राजनीतिलाई हेर्दा काङ्ग्रेसको विकल्प नेकपा र नेकपाको विकल्प काङ्ग्रेस नै हुन् भन्ने कुरा बेलाबेखतका निर्वाचनले पुष्टि गरेका छन् । उप निर्वाचनमा एकदुई वटा राम्रो क्षेत्र जितेकै भरमा अब आउने चुनाव हामीले नै जित्छौँ ठान्ने हो र नेताहरू यस्तै अवस्थामा गुज्रिने हुन् भने नेपाली काङ्ग्रेस बेलायतको लेबर पार्टी जस्तै नहोला भन्न सकिँदैन । बरु यस्तो रणनीति राम्ररी बुझेको नेकपाले बाहिर थाहा नहुने गरी भित्रभित्रै तयारी गर्ला तर काङ्ग्रेस गुट उपगुट हुँदै पतनको बाटोमा पुगेका थाहै पाउने छैन । वर्तमान चालढालले यस्तै पुष्टि गर्छ । तसर्थ काङ्ग्रेसका शीर्ष नेतृत्वले हेक्का राख्नै पर्छ सच्चिने समय अझै बाँकी छ ।

संविधान घोषणा पछिको तीनै तहका चुनाव कठिन र चुनौतीपूर्ण हुँदाहुँदै पनि काङ्ग्रेस सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारले शान्तिपूर्ण रूपमा सम्पन्न गर्‍यो । जुन तत्कालीन एमाले अध्यक्ष प्रधानमन्त्री के पी ओली नेतृत्वको सरकारले गर्न सकेको थिएन । काङ्ग्रेस नेतृत्वलाई जस लिने ठाउँ पनि रह्यो तर पार्टीले नराम्ररी हार व्यहोरेको जिम्मेवारी नेतृत्वले नलिए पछि अब आउने पार्टीका अन्य गतिविधि पनि सम्हाल्न हम्मेहम्मे पर्ने आकलन उतिबेला नै गरिएकै थियो । त्यसपछि नेपाली काङ्ग्रेसले पार्टी भित्र त्यस्तो कुनै नयाँ चमत्कार गर्न सकेको थिएन/छैन । अनि जनताको मन जितेर चुनावी नतिजा आफ्नो पोल्टामा पार्न कसरी सफल हुन सक्थ्यो ? न पार्टीको नीति नियम फेरियो न नेतृत्वको कार्यशैली नै । भक्तहरूकै गुणगान सुनेर आआफू आआफ्नै कोटरीमा रम्न रमाउन थाले । न त पार्टीले कुनै पनि विभागलाई पूर्णता दिन सक्यो न त भएका अङ्गहरूलाई चलायमान गर्न सक्यो । न त जनतालाई राहत मिल्न सक्ने संसद् र सदनमा आवाज उठाउन सक्यो । जनताका माझमा प्रस्ट आफ्ना विचार राख्न पनि पछि पर्‍यो । कसरी के आधारमा जनताले काँग्रेसलाई भोट दिने भए त्यो कुरा देखिने गरी भएन । सत्ताको दुरुपयोग भयो चुनावमा धाँधली भयो भनेर नेतृत्व पन्छिन मिल्दैन आफूले गरेका कामको पनि समीक्षा आत्मसमिक्षा गर्नुपर्छ । यस्तै चालामाला हो भने अहिलेकै नेतृत्व र नीतिमा काँग्रेसले तिन वर्ष पछि हुने निर्वाचन पनि जित्न सक्दैन भन्ने ठोकुवा गर्न सकिन्छ । अस्पष्ट नीति र कमजोर नेतृत्वका कारण काँग्रेस उपनिर्वाचनमा पनि हार्न पुग्यो । शीर्ष नेतृत्वले अझै पनि आत्मसमिक्षा गर्छन् कि गर्दैनन् त्यो हेर्न बाँकी नै छ । पार्टीको पछिल्लो अवस्थालाई नियाल्दा खासमा काँग्रेसले आफ्नै असली कार्यकर्ता पनि चिन्दैन् भन्दा फरक नपर्ला । पार्टीको कार्यकर्तामा मुल्याकंन प्रणालीको व्यवस्था छैन ।

शीर्ष नेताकै वरिपरि घुमिरहने, चाकरी गर्ने, जनताका आधारभूत पूर्वाधारका आवश्यकताबाट टाढा रहेका अनि राजधानी र सीमित क्षेत्रमा केन्द्रित व्यक्तिको नै पार्टी भित्रको रवैयाले ग्रामीण क्षेत्रका जनता काङ्ग्रेसदेखि टाढिँदै गइरहेका देखिन्छन् । यसले गर्दा काङ्ग्रेस सम्बद्ध पढेलेखेका, बौद्धिक र आफ्नो गाउँ ठाउँमा मतदाताले केही आस गरेका युवा विद्यार्थीहरू पनि निष्क्रिय हुँदै गइरहेका छन् । काँग्रेसलाई बचाउने नै हो भने तत्काल चौधौँ महाधिवेशन गरी नयाँ नीति र नेतृत्व सहित जनतामा पुगेर काङ्ग्रेसको सरकारका पालामा भएका कार्यको यथार्थ जानकारी दिनुपर्छ र भए गरेका गल्तीका लागि माफी समेत माग्नुपर्छ । जनताको मन जित्न सक्नुपर्छ । पार्टीका सबै विभागलाई पूर्णता दिई भातृ सङ्घ संघठनलाई सही परिचालन गर्नुपर्छ । चुस्त दुरुस्त भरपर्दो विश्वासिलो जनसमर्थन जुटाउन नेतृत्व निर्माण गर्नुपर्छ । जनतालाई कन्भिस गर्न सक्ने व्यक्तिलाई उचित किसिमको जिम्मेवारी दिइनु पर्छ । आम नेता कार्यकर्ताको मनमा पार्टी साझा चौतारी हो भन्ने विश्वासिलो वातावरण बन्नुपर्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata