बैंकहरु आफैले सिर्जना गरेको संकटमा

शुक्रबार, माघ २८, २०७३

loading...


गत आर्थिक बर्षको पहिलो पाँच महिनामा रु. १० अर्व ७० करोड मुल्यका सवारीका साधन तथा तिनका पार्ट पुर्जा आयात भएकोमा यो बर्षको सोही अबधिमा सो आयात १५३.५ प्रतिशतले बढेर रु. ३७ अर्व ८३ करोड पुगेको छ । गत बर्षको पाँच महिनामा रु. एक अर्व २ करोडका टायर ट्युव आयात भएकोमा यो बर्ष रु. दुई अर्व २९ करोडको आयात भएको छ । यिनै सवारीका साधनलाई चाहिने पेट्रोलियम पदार्थ गत बर्षको पाँच महिनामा रु. १७ अर्व ७३ करोडको आयात भएकोमा यो बर्ष १२२.६ प्रतिशतले बढेर रु. ३९ अर्व ४६ करोडको आयात भएको छ । यी सवै बस्तुमा समेत लाग्ने मुल्य अभिबृद्धि कर, भन्सार र अन्तःशुल्क राजस्व गत बर्षको पाँच महिनामा रु. ७३ अर्व ६९ करोड प्राप्त भएकोमा यो बर्ष ९८.७ प्रतिशतले बढेर रु. १४६ अर्व ४२ करोड प्राप्त भएको छ । यो बर्षको पाँच महिनामा सवारीका साधन तथा तिनका पार्ट पुर्जाको लागि रु. दुई अर्व ३१ करोड कर्जा प्रवाह भएको छ ।

यी सवै आँकडाहरु एक अर्कोसंग अन्तरसम्बन्धित छन् अर्थात एउटा भएपछि अरु बस्तु पनि संगसंगै नभई हुदैन । साथै एउटा हुनासाथ परिणामको रुपमा अर्को कुरा निस्कनु अनिवार्य हुन्छ । यी सबै आँकडाहरुले एउटै प्रबृत्ति देखाएका छन् । त्यो हो यो बर्ष सवारीका साधन र तीसंग सम्बन्धित सामानहरु अत्यधिक मात्रामा आयात भएका छन् । केही हप्ता अघिदेखि काठमाण्डौमा अकस्मात रुपमा देखा परेको ट्राफिक जामको समस्या मेलम्चीको पाईप ओछ्याउन सडक खनिएको कारणले मात्र नभई यसवीचमा ठुलो मात्रामा सवारीका साधनको आयात हुनु पनि एउटा कारण हो भन्नु पर्दछ ।

धेरै कुराको ख्याल गरेर निर्धारण गरिने केन्द्रिय बैंकका यस्ता निर्देशनहरुलाई बैंकहरुले जुन ढङ्गले अवज्ञा गर्न सुरु गरेका छन् यो राम्रो संकेत होईन । बैंकहरुको यस्तो हेपाहा प्रबृत्तिलाई सच्याउन नेपाल राष्ट्र बैंकले आँट देखाउनु पर्दछ ।

तर यी आँकडामा एउटा नमिल्दो कुरा के देखिन्छ भने यो पाँच महिनाको अबधिमा रु.३७ अर्व ८३ करोड मुल्यका सवारीका साधन तथा तिनका पार्ट्स पुर्जा आयात भएका छन् भने तिनको लागि कर्जा प्रवाह भने केवल रु. दुई अर्व ३१ करोड मात्र प्रवाह भएको छ । यो बर्षको आयात अघिल्लो बर्ष प्रवाह भएको कर्जावाट भएको हो भन्ने हो भने पनि अघिल्लो बर्षको मंसिर—असारको अबधिमा रु. ४ अर्व ६२ करोड मात्र यस प्रयोजनमा कर्जा प्रवाह भएको छ । यी सवै आँकडा नेपार राष्ट्र बैंकका भएकाले यिनमा देखिएको ईन्कन्सिस्टेन्सीको बारेमा बैंकले ध्यान दिनु पर्दछ । यति ठुलो रकमका सवारी साधन कुन श्रोतको रकमबाट आयात भए यो रहस्यको बिषय छ । केन्द्रीय बैंकले यसको अध्ययन गर्नु पर्दछ ।

रकमको अभाव भएकोले पनि बैंकहरुले थप कर्जा प्रवाह गर्न नसकेका होलान् । त्यो नभएको भए बैंकहरुले मुद्दति निक्षेपको व्याज यसरी पक्कै बढाउने थिएनन् होला । तर कतिपय बैंकले राष्ट्र बैंकले निर्धारण गरेको ८० प्रतिशतको सीसीडी रेसिओ नाघेको वा नाघ्ने भएकोले पनि थप कर्जा प्रवाह गर्न नसकेको देखिन्छ । जानाजानी त्यस किसिमले कर्जा प्रवाह गर्ने अनि सीसीडी रेसिओ बढाउनु पर्यो भनेर दवाव दिनु उचित होईन । यसरी राष्ट्र बैंकले निर्धारण गरेको नघाउन नहुने सीसीडी रेसिओ नघाएर बैंकहरुले केन्द्रीय बैंकको निर्देशनको ठाडै अवज्ञा गरेका छन् । देशको बित्तीय क्षेत्रको सन्तुलन र स्थायित्व बनाई राख्न निर्धारण गरिएको यो रेसिओको यो अवज्ञा आपत्तिजनक छ । यस्तो अबज्ञा बैंकहरुले अरु पक्षमा पनि गरेको देखिएको छ ।

बैंकहरुले औषत व्याज दर अन्तर (ईन्टेरेष्ट रेट स्प्रेड) ५ प्रतिशत भित्र राख्नु पर्ने राष्ट्र बैंकको अर्को निर्देशनको पनि कर्जामा एकै महिनामा २,३ पटकसम्म र एकै पटक पनि ६ प्रतिशतसम्मले व्याज दर बढाएर अवज्ञा गरेका छन् । सबै पुराना कर्जाको समेत व्याज दर बढाउँदा सम्पूर्ण कर्जाको औषत व्याज दर जति बढ्यो निक्षेपमा एक सिसिमको निक्षेपको मात्र व्याज दर बढाउँदा सम्पूर्ण निक्षेपको औषत व्याज दर त्यति नबढे पछि निर्देशित स्प्रेड दर फराकिलो हुनु स्वभाविक हुन्छ । धेरै कुराको ख्याल गरेर निर्धारण गरिने केन्द्रिय बैंकका यस्ता निर्देशनहरुलाई बैंकहरुले जुन ढङ्गले अवज्ञा गर्न सुरु गरेका छन् यो राम्रो संकेत होईन । बैंकहरुको यस्तो हेपाहा प्रबृत्तिलाई सच्याउन नेपाल राष्ट्र बैंकले आँट देखाउनु पर्दछ ।

त्यसैगरी बैंकहरुले अवज्ञा गरेको केन्द्रीय बैंकको अर्को निर्देशन व्याज दर परिबर्तनको सूचना सार्वजनिक गर्नु पर्दछ भन्ने हो । तर अहिले बैंंकहरुले खुरुखुरु व्याज दर बढाउँदै लागु गर्दै गएको देखिन्छ । यस सम्बन्धमा पनि केन्द्रीय बैंक गम्भिर हुनु जरुरी छ । यसरी बैंकहरुले यस्ता कुरामा धमाधम आफु खुशी गर्दै जान थाले भने देशको बैंकिङ्ग क्षेत्र नियन्त्रण बाहिर जान्छ र निक्षेपकर्ताहरुको पैसाको संरक्षण गर्न सकिदैन । अर्थतन्त्र पनि धरापमा पर्दछ । ग्लोवलाईजेशनको क्रममा बैंकहरुमा गरिने नियमनलाई खुकुलो पार्दा सन् २००८ मा अमेरिकामा देखा परेको वित्तीय संकटको कारणबाट विश्व अर्थतन्त्रले व्यहोर्नु परेको नोक्सानी हिसाव गरेरै साद्य नहुने परिमाणको छ । त्यसवाट स्वयम ग्लोवलाईजेशन नै प्रतिरक्षात्मक अवस्थामा पुगेर पछाडि फर्कनु परेको छ । त्यसैले केन्द्रीय बैंकले बैंकिङ्ग तथा वित्तीय क्षेत्रको संबेदनशिलता प्रति हर बखत गम्भिर रहनु पर्दछ ।

बैंकहरुले पछिल्ला महिनाहरुमा सवै क्षेत्रमा प्रवाह गरेको कर्जा निर्धारित सीमा भित्रै रहेको भए सीसीडी रेसिओ कसरी नाघ्न गयो र निक्षेप परिचालन नर्मलढङ्गले बढिरहेको अबस्थामा बैंकहरुसंग लगानी गर्नको लागि रकमको अभाव किन हुन गयो ?

थप रकम परिचालन गर्न बैंकहरुले नयाँ मुद्दति निक्षेपको व्याज दर बढाएर १३ प्रतिशतसम्म पुर्याएका छन् । तर १३ प्रतिशत व्याज दर लागु गरिएको भर्खरै भएकोले बैंकहरुको कुल निक्षेपमा अहिले १३ प्रतिशत व्याज दिएर परिचालन गरिएको मुद्दति निक्षेपको रकम सानो अंश मात्र हो । त्यसैले यो पछिल्लो फण्डको लागत मात्र बढेको हो, सबैको होईन । त्यसैले पहिले कम लागतको फण्डबाट सोही बमोजिम कम व्याज दरमा प्रवाह गरिएको सम्पूर्ण कर्जाको व्याज दर ६ प्रतिशतसम्मले बढाएर ग्राहकहरुको घाँटी अठ्याँउनु पनि सर्बथा अनुचित हो । जवकि निक्षेपमा नयाँ निक्षेपकर्तालाई मात्र बढाईएको व्याज दिने, पुरानालाई पुरानै कम व्याज कायम राख्ने तर कर्जामा परानाबाट पनि बढी व्याज असुल्नु अनुचित होे । कर्जा प्रवाह गर्ने रकमको अभाव भईरहेको अबस्थामा व्याज दर बढाउँदा पनि फाईदा तर्फ आँखा लगाउनु बैंकहरुको अधिक नाफा मोह हो । यस्तो अधिक नाफा मोहले कुनै पनि बेला संकट निम्त्याउन सक्दछ ।

साथै बचत निक्षेपको व्याज दर बढाउँदैमा सो निक्षेप बढी हाल्दैन भन्ने कुरा पनि सार्वजनिक भएको छ । यो गलत हो । बैंकहरुले निक्षेप परिचालन र कर्जा प्रवाह घटउनु÷बढाउनु पर्दा अपनाउने प्रमुख उपाय नै व्याज दर परिबर्तन हो । अर्थतन्त्रमा लगानी बढाउनु पर्दा केन्द्रीय बैंकले बैंक दर घटाउने र निक्षेप आकर्षित गर्नु पर्दा निक्षेपको व्याज दर बढाउने विश्वव्यापी प्रचलन हो र मौद्रिक अर्थशास्त्र तथा मौद्रिक नीतिको प्रमुख उपकरण हो । साथै अहिले नेपालका बैंकहरुले मुद्दति निक्षेप परिचालन बढाउन कै लागि यो निक्षेपको व्याजदर बढाएका हुन् ।

बचत निक्षेपको सम्बन्धमा पनि यहि कुरा लागु हुन्छ । साथै बैंकहरुले पछिल्ला महिनाहरुमा सवै क्षेत्रमा प्रवाह गरेको कर्जा निर्धारित सीमा भित्रै रहेको भए सीसीडी रेसिओ कसरी नाघ्न गयो र निक्षेप परिचालन नर्मलढङ्गले बढिरहेको अबस्थामा बैंकहरुसंग लगानी गर्नको लागि रकमको अभाव किन हुन गयो ? स्व—आवासको निमित्त घर निर्माण गर्दा त्यसले अर्थतन्त्रमा योगदान पुर्याउँछ र भारतको नयाँ बजेटले त्यस्ता घर निर्माणको लागि गएको कर्जामा पुनर्कर्जाको सुबिधा दिने घोषणा गरेको छ । तर जग्गा प्लटिङ्ग, अटो लोन, मार्जिन लेन्डिङ्ग जस्ता कर्जाहरु अनुत्पादक हुन् । अहिले बैंकहरुले यी क्षेत्रमा थप कर्जा प्रवाह नगर्ने जुन निर्णय गरेका छन् त्यो सकारत्मक छ । वित्तीय क्षेत्रबाट अर्थतन्त्रमा पुग्ने योगदान यो क्षेत्रको स्थिरता, सन्तुलन र स्थायित्वमा निर्भर हुने भएकोले जिम्मेवार पक्षहरु यसमा सदैव सजग हुनु पर्दछ, परिधि नाघ्ने प्रयाश कसैले गर्नु हुदैन ।

1023 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Samsung health right side Samsung health right side bottom