शुद्धीकरणको चर्चा र नेकपाको आचारसंहिता

बिहिबार, माघ ९, २०७६



- सीता ओझा

निर्वाचन र निर्वाचन क्षेत्र मुखी काम जोडिएको राजनीति प्रणाली हाबी भएको अवस्थामा नेकपाले पार्टीको आन्तरिक सङ्गठन सुदृढीकरण गर्ने उद्देश्यले होला- ११ बुँदे आचारसंहिता सार्वजनिक गरेको छ । यसरी बनाएको आचारसंहिता पालना गर्नु पर्ने नेता र कार्यकर्ताको सङ्गठित सदस्यहरूको सङ्ख्या हेर्दा आठ लाख देखिन्छ । कम्युनिष्ट पार्टी तुलनात्मक रूपमा अरू पार्टी भन्दा अनुशासित र सङ्गठनात्मक पद्धतिमा चल्ने पार्टी भएको कारण नै हिजोको अनुशासनको पालनाको कुरा फेरि जोड्न खोजिएको होला । हिजो अनुशासन पालना नगर्ने कम्युनिष्ट पार्टीको सदस्य पार्टीमा नरहने परिपाटीमा गुज्रिएको पाटी र पाटीका नेता कार्यकर्ताको अहिलेको जीवनचर्या देख्दा जो कोहीले भित्रभित्रै कुरा काट्छन् । हेर्दा राजनीति मात्रै गर्ने जस्तो देखिने नेता कार्यकर्ताको आर्थिक सामाजिक क्रियाकलाप हेर्दा असामान्य हो की जस्तो पनि देखिन्छ । स्वाभाविक रहेकाको पनि धान्न र थामी नसक्नु अवस्थातिर जाँदै गरेको हो कि ? यस्तो हुनुमा पार्टीका नेता, कार्यकर्ताको जीवनमा देखिएका अस्वाभाविक आर्थिक सामाजिक गतिविधिहरूमा संलग्नता छ भन्ने अनुमान गर्ने गर्छन् । त्यसैले होला अनुशासनको विषय अस्वाभाविक मानेको जस्तो देखिन्छ । अनुशासन मान्नु भन्दा पार्टीको सदस्यता नै छोडिदिने या नवीकरण नै नगर्ने जस्तो घुर्की या विचारहरू सामाजिक सञ्जाल र बजारमा प्रशस्तै सुन्न पाइन्छ ।

नेपालको कम्युनिष्ट पार्टीले वि.स. २००६ सालमा स्थापना भएर यो अवस्थामा आइपुग्दा निकै आरोह अवरोह पार गरेको इतिहास बोकेको छ । कम्युनिष्ट पार्टी स्थापनाकालदेखि अहिलेसम्म सयौँ विभिन्न नामका समूहमा विभाजित भएको छ । यसरी गठन र पुनर्गठन हुँदै आएका हरूको राजनीतिक भूमिका निकै क्रियाशील, सङ्गठन गर्नमा अघि र जनताको जनजीविकाका विषयमा नजिकबाट सम्बोधन गर्न सक्ने पाटीको रूपमा स्थापित रहेको पनि देखिन्छ । तर पनि पार्टीको अनुशासन, आन्तरिक सङ्गठनको नियमितता, सरल र साधारण जनजीवनको दिनचर्याको कुरा आउने बित्तिकै पार्टी भित्र निकै खैलाबैला उत्पन्न हुन्छ । अझै आचारसंहिता पालना गर्ने र नगर्ने विषयको दम्भको कारण सरकार सञ्चालन गर्ने जिम्मेवारी पाइसकेको अवस्थामा पनि विभाजन हुन पुगेको इतिहास पनि बोकेको छ नेकपाले । हिजो विभाजन हुँदा अन्तर्राष्ट्रिय सन्धि-सम्झौता, पार्टी भित्रको जिम्मेवारी, पद र आचारसंहिता जस्ता विषयहरू महाधिवेशनसम्म पुग्दा विचारसँग जोडिन पुग्ने र विभाजन हुने गरेको इतिहास नयाँ होइन । आफ्नो दलीय संरचना भित्रका आन्तरिक विषयलाई व्यवस्थापन र संयोजन गर्न नसकेको अवस्थामा अहिले आएको यो आचारसंहिता पनि निकै चुनौतीपूर्ण विषय बन्ने हो कि ? हल्ला र चर्चा सर्वत्र चलिरहेको देखिन्छ ।

पाटी जीवनलाई अनुशासित र मर्यादित बनाउने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टीले जारी गरेको आचारसंहिता हेर्दा साच्चिकै समाज रूपान्तरण र सामाजिकआर्थिक जीवनलाई रूपान्तरित र मर्यादित बनाउने देखिन्छ । तर यो आचारसंहिताको विषयले नेकपाका नेताहरूले नै पालना नगरेको भन्दै सामाजिक सञ्जालमा आलोचना बढेपछि अब यो कता बग्छ थाहा छैन । यसले पुनः पार्टी विभाजन पो हुने हो कि भन्ने आशङ्का पनि उब्जाएको छ । दम्भ र तिरस्कारतिर जाने कुराले कार्यान्वयन गराउने भन्दा आचारसंहिता जाने खतरापूर्ण अवस्था नआउला भन्न सकिँदैन । अहिलेसम्म खुला र स्वतन्त्र रूपमा आफ्ना अभिव्यक्ति र स्वतन्त्रपूर्वक सामाजिक, आर्थिक जीवन बिताएका नेपालका मार्क्सवादीहरूका लागि व्यवहार बदल्ने कुरा निर्णय गर्दाको आदर्श र ढुङ्गाको चिउरा नबनोस् भन्ने आशयका अभिव्यक्तिहरू पनि प्रशस्तै अभिव्यक्त भएका छन् ।

दलीय व्यवस्था भित्रको निर्वाचन प्रणालीमा देखिएका विभिन्न बेफाइदा र चुनौतीपूर्ण अवस्थाले वि.स. २०४६ सालपछिका निर्वाचित जनप्रतिनिधिहरूले देखाएको कामप्रतिको समर्पण भाव कै कारण पछिल्लो अवधिमा स्थानीय तहको निर्वाचन गर्न राजनीतिक सङ्कट देखापर्यो । राजनीति भित्रको अपराधीकरणको कारण सत्ताको दाउपेचले नेतृत्वलाई आर्थिक सामाजिक अनियमितता तिर डोर्‍यायो । दलभित्र अन्तरविरोध र गुटबन्दी मौलायो । नेतृत्वमा दम्भ बढ्यो । पद प्रतिष्ठाले सार्वजनिक जीवनलाई प्रभावित पार्‍यो । पार्टी कार्यलयीय भेटघाट भन्दा आफ्नै घरका भेटघाट मैत्रीपूर्ण बने । आफूलाई भेट्न आउने, उपहार ल्याइ दिने, जन्मदिनको केक काटिदिने, चाडपर्वमा बम्पर अफर गर्ने,हेलो हायमा रसादी आदिको भोजभतेरले आकर्षित गर्‍यो । विस्तारै जनताको सम्पर्क भन्दा व्यापारी, उद्योगपति, ठेकेदार र नजिकिँदै नेताको खर्च जुटाइदिन थाले । यहीँ सम्पर्क सम्बन्धले कम्युनिष्ट मर्यादा बाहिरकारहरूले पनि सदस्यता पाउन थाले । यस्तो क्रियाकलापले पाटीको माथिल्लो संरचना देखि तल्लो निकायसम्मै प्रभाव छोड्यो । यस्ता अस्थिरता बिचैमा निकै समय शक्ति र दलको वर्चस्व बढाउने होडमा द्वन्द्वको चपेटामा सबै नेता कार्यकर्ता आहत हुने र मृत्युवरण गर्ने ठाउँमा पुगे । दलको जस्तै मुलुकको राजसंस्था भित्रको अन्तरकलहले वीरेन्द्रको परिवार नासियो । ठुला र सत्तामा भएका दलहरू फुटे, एकअर्कालाई हिलो छ्यापे, हिजोसम्म सुख दुःखका साथी र क्रान्ति कालागि पारिवारिक जीवन नै त्याग गरेका व्यक्तिहरू नै विचारको दरिद्रता देखाउँदै एकअर्कालाई आक्रमण गर्न सम्म पुगे ।

पार्टीभित्रै एउटाले अर्कालाई सकेसम्म सक्ने, छेक्ने, खुल्याउने, अपमान गर्दै कमिटी विहीन र गुटभित्रै एक्ल्याउने बानी परेका नेता-कार्यकर्ता लक्षित आचारसंहिता बनाएर लागू गर्न लागिएको अहिलेको अवस्थामा कार्यकर्ताले आलोचना गर्दा नेताले अचम्म मान्नु नपर्ने अवस्था नेतृत्वकै कारण पुगेको हो । दलीय व्यवस्थाले भित्र्याएको अराजनीतिक गतिविधिको परिणाम दल र दलका नेताहरू अहिलेको अवस्थामा पुगेका हुन्न । अब अराजनीतिक संस्कार हटाउन आफै शुद्धीकरण हुँदै सिङ्गो नेतृत्व लाग्यो भने यो सम्भव छ र यसले पार्टीलाई मात्रै होइन सबै दल मात्रै होइन राजनीति नै सङ्लो र रूपान्तरणको नयाँ दिशामा जाने देखिन्छ ।

हाल नेकपाका आठ लाख पार्टी सदस्य छन्। यसै आचारसंहितासँग जोडेर पार्टी सदस्यता विस्तारको योजना अघि सारेको नेकपाले प्रति सदस्य थप चार जना बनाएर ३२ लाख पुर्‍याउने योजना अघि सारेको छ । तर सदस्य सङ्ख्या बढाउनु अघि पार्टीले तयार पारेको विशेष परिपत्रमा नेता, कार्यकर्ता तथा सदस्यहरूले पालना गर्नुपर्ने आचारसंहिता तय गर्दै उनीहरूलाई संविधान, पार्टी विधान र नियमावलीप्रति जवाफदेही बनाउने राम्रो प्रयास थालिएको जस्तो देखिन्छ । नेकपालाई इतिहासले जनपक्षीय कामबाट मुलुकको समृद्धि हासिल गर्ने र समाजवाद निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी प्रदान गरेको छ । नेकपाको सही नीति र प्रभावकारी सङ्गठनात्मक प्रबन्धका साथ अघि बढ्यो भने पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूलाई ११ बुँदे आचारसंहिताले समग्र मुलुकको कायापलट गर्न मद्दत गर्नेछ । तर कार्यान्वयन गर्ने नेतृत्वले जीवनको सादगी व्यवहार, जनताको जीवनस्तर प्रति घिन मान्न थाले भन्ने यो फलामको चिउरा साबित हुनेछ । अहिले नेतालाई बिगार्ने कार्यकर्ता र गुटबन्दी गर्ने नेता नै मुलुकको निकास र विकासका समस्या हुन्न । त्यससका लागि पार्टीका ‘छोटेराजन’हरूलाई काखी च्यापेर इमानदारीसाथ पाटी काम गर्नेलाई अपमान गर्ने प्रवृत्ति त्याग्न नेतृत्व तयार हुनुपर्दछ । साथै कार्यकर्ताहरू पनि बा आमा बनाउनेतिर हैन विचारको नेतृत्व गर्दै विचारको सम्बन्धको विकास गर्न तिर लाग्नुपर्छ । यसरी जनहितका लागि जारी गरिएको आचारसंहिताले अब सङ्गठनका संरचना भित्र सकारात्मक ढङ्गले प्रचारप्रसार गर्दै माथिदेखि तलैसम्मको जीवन र उपात्पादनमुखी, पारदर्शी र लोकतान्त्रिक बनाउन मद्दत गर्ने वातावरण बनाउन पाए नेकपालाई मात्रै होइन मुलुकमा नै राम्रो संस्कारको थालनी हुने थियो कि !

यो आचारसंहिता कार्यकर्ताका लागि हो ? या नेता कार्यकर्ता सबैका लागि ? यो सवाल अहिलेको महत्त्वपूर्ण चुनौतीको हो । हामी नेपाल भएको हेर्न चाहन्छौ । नेपाल र नेपाली र सुखी हुन हरेकको घर र परिवारमा मीठो बोलीचाली, पारिवारिक वातावरण र भावनात्मक एकता र सरसहयोग चाहिन्छ । अहिलेसम्म चलेका प्रचलनहरूमा परिवारभित्रै विभेद धेरै अन्तरविरोधहरू छन् । घरपरिवार भित्र कतिपय यस्ता सिकाइहरू हुन्छन्, जुन मानिसको जीवनभर आदत बनेर रहन्छन् र नयाँ पुस्ताहरूमा सर्दै जाने कारण घरपरिवारबाटै सिक्ने सिकाइमा शुद्धीकरण हुनुपर्ने हुन्छ । जस्तै श्रमको सम्मान र श्रम गर्ने बानी नानीहरूले गरेको देखे भने सिक्छन् र गर्छन् । कार्यविधि र कार्यविभाजनले हरेक मानिसको जीवन पद्धतिलाई नियमित बनाउँछ। आफ्नो काम आफै गर्ने बानीले अरूलाई हेर्ने, बुझ्ने र श्रमको महत्त्व बुझ्ने दृष्टिकोण बन्छ । परिवारभित्र तपाई भन्ने बानीले अरूलाई आदर गर्ने,माया गर्ने बानी विकास हुन्छ । विषेशगरि घरभित्र साना नानीहरूको अगाडि तँछाडमछाड, तँ तँ र म म, एकार जोड्ने र गाली गर्ने बानीले केटाकेटीको मानसिकतामा हेप्नुपर्छ, झगडा गर्नुपर्छ भन्ने लत बस्छ । श्रीमानश्रीमती समान नाता-सम्बन्ध भएकोले दुवैले सम्मानपूर्ण अभिव्यक्ति गर्दा परिवारमा हार्दिकता बढ्छ र महिला माथि हुने हिंसा न्यूनीकरण हुन्छ । चाडपर्व र अन्य कामका लागि खर्च गर्दा मितव्ययी भए खर्च घटाउँछ । छोराछोराको विवाह, जन्मदिन, व्रतबन्ध, पास्नीजस्ता परम्परागत संस्कारलाई घरपरिवार र नाता सम्बन्धभित्र मात्र सीमित गर्ने कुराले आफन्तबिच अपनत्व बढ्छ । खानपिन, बस–उठ गर्दा सबै मिलेर गर्ने कुराले परिवारमा भेदभाव घट्छ, बालश्रम बन्द हुन्छ ।

आफू अनुशासित भएको पार्टी सदस्यले समाजमा रहेका कुरीति, रुढीवादी संस्कार, भेदभाव, छुवाछूत र महिलामाथि हुने हिंसाका विरुद्ध बोल्छ,अभियान सञ्चालन गर्न सक्छ । विचार र संस्कृति भित्रका अन्धविश्वास र परम्परागत जडताको अन्त्य गर्दै समातामुलक समाज निर्माणमा भूमिका खेल्न सक्छ । घरपरिवार सबै सदस्य मैत्री हुने कुराले पाटी पनि सबैकोलागि प्रिय बन्छ । नेकपाका पाटी सदस्य अनुशासित र शिष्ट भएको देखेर अरू पार्टीले पनि त्यस्तै आचारणका नियम, कानुन पालना गर्ने अवस्था सृजना हुन्छ । घरपरिवार र समाजका सबै नानीहरू विद्यालय जाने वातावरणले सबै शिक्षित हुन्छन् । समाजको स्तर वृद्धि हुन्छ र समावेशी, समानुपातिक सहभागिता समान प्रतिस्पर्धात्मक अवस्थाति जान्छ । विचौलिया हट्ने र गुणस्तरीय समानको किनबेचले हाम्रै स्वास्थ्य राम्रो हुन्छ । बनेका नीति नियम र संविधानले व्यवस्थापन गर्ने खोजेको कुरा अनुसरण गर्न खोज्नु र गर्ने परिपाटी जसले गरे पनि काम हो । यस्तो राम्रो विषयलाई अर्ती उपदेश गरे जस्तो गरी खिसीटेयौरी गर्ने कुराले हामी पनि बन्दैनौ र देश पनि बनाउन सक्दैनौ ।

समाजमा भूमिका भएका पाटीका कार्यकर्ताको महँगो जीवनशैली, महँगै निर्वाचन पद्धति र सम्पत्तिको दम्भले समाजवादी संस्कृति त भित्र्याउन सकिन्न । पाटीभित्र सबै कार्यकर्तालाई न्याय गर्न नसक्ने नेता, घरलाई पाटी अफिस बनाउने, जन्मदिन इत्यादिमा कार्यकर्ताको लाइनमा रमाउने, शीर्ष नेतृत्व निश्चित स्वार्थ बोकेका व्यक्तिको घेराभित्र मात्रै बस्न खोज्ने र कार्यकर्तालाई छोराछोरी बनाएर विभेद गर्ने संस्कार हट्थ्यो कि जस्तो लाग्छ । हेर्दा नदेखिने भित्रभित्रै गलाएर खुत्रुक्कै पार्ने यो रोग अहिले पाटीहरूमा नवसामन्तवादको रूपमा मौलाएको छ । यस्ता रोगको निदान सामाजिक सञ्जालमा बोलेर हैन अन्तरपार्टी बहस र छलफलले समाधान गर्न सकिन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments