नेकपा, प्रधानमन्त्री र मुलुकको स्वास्थ्य !

फरकमत

शुक्रबार, मंसिर १३, २०७६



- दीपेन्द्र पाण्डे

एमाले र माओवादी केन्द्र विघटन गर्दै नेकपा कोस्ट, नेकपा अन्डरलाइन हुँदै नेकपाको नाममा निर्वाचन आयोगमा दर्ता भएको नेपालको सबैभन्दा ठुलो कम्युनिष्ट पार्टी भीमकाय शरीर कै कारण दौडिन सकिरहेको छैन । व्यक्तिहत्या गर्दै उदाएको पूर्व एमाले र सामूहिक हत्या, हिंसा र लुटपाटबाट राजनीतिक मूलधारमा आएको पूर्व माओवादीलाई मिलाउँदै उदाएका हस्तीहरू अध्यक्ष ओली र प्रचण्डको उडानमा रहेको नेकपा केवल धुँवामात्र फाल्दै छ ।

कम्युनिष्ट पार्टीको विगत, ओलीको मुर्छित सपना र काँग्रेस पार्टीको कमजोरीबाट उदाएको एमाले र माओवादी केन्द्रको चुनावी सफलता जनताले चाहेको परिणाम पस्कन नसकेको अवस्थामा मुलुकको सबैभन्दा ठुलो कम्युनिष्ट पार्टी ‘गन्तव्य सिंहदरबार’मा रुमल्लिएको छ। स्थायी समिति ‘कोमा’मा पुर्‍याउन दुवै अध्यक्ष राजी छन् । स्थायी समितिमा तीन महिनामा पिउन पर्ने चिया एक वर्ष देखी ४३ भाइले पिउन पाएका छैनन् । पोलिटब्युरो जन्मन नसक्दा ट्युमरमा बदलिएको छ । कम्युनिष्ट पार्टीको सबैभन्दा ठुलो निकाय केन्द्रीय समिति महाधिवेशन प्रतिनिधिमा बदल्ने कोसिस भइरहेको छ ।पार्टीमा परिक्रमा र गुलामी वैधानिक बनाइएको छ । अत्यन्त छिटो छिटो बल्झिएको प्रधानमन्त्रीको पुरानो रोगको कारण गत मङ्सिर ४ ओलीको निम्ति एक अप्रिय बाध्यता बनिसकेको छ ।

पार्टीलाई अत्यन्त माया गर्ने कार्यकर्ता र ‘बा’का भक्तहरूलाई लाग्न सक्छ। अध्यक्ष ओलीले नेकपा र वाम आन्दोलनलाई बलियो बनाएका छन्। सामान्य मानिसले पनि अलिकति मिहिनेत पूर्वक अध्ययन गर्ने हो भने नेकपा राजनीति मुहान सुकिसकेको अवस्थामा बगिरहेको ‘खोला’ जस्तो भेटिन्छ । फगत कुर्सी प्राप्तिको निम्ति बाध्यात्मक एकता गर्दै प्रचण्डलाई दिएको कार्यकारी अध्यक्षको भूमिका समेत पचाउन नचाहेको बताउँदै एक हप्ता पनि नबित्दै प्रधानमन्त्री ओलीले टेलिभिजन कार्यक्रम ‘फायरसाइड’बाट फायर खोली सकेका छन् । आफू सिनियर अध्यक्ष भएको बताउँदै प्रचण्डलाई दोस्रो अध्यक्ष मात्र मान्ने ओली अभिव्यक्तिको सावधानीपूर्वक प्रतिक्रिया जाहेर गरेका प्रचण्डले नेकपाको जरा, हाँगा कहाँसम्म फैलिएको छ ? भन्ने राम्रै आँकलन गरेको पुष्टि हुन्छ । बनाउन भन्दा कब्जा गर्न माहिर दुई अध्यक्षको रणनीतिक दाउपेचमा फसेको नेकपा ‘पार्टी कम, भेडी गोठ ज्यादा’ बन्न हतारिएको वर्तमान अवस्था ओली- प्रचण्डको कारण थप क्षतिको पर्खाइमा देखिन्छ ।

प्रधानमन्त्री ओली आफै स्वीकार गर्छन् । उनी मृगौलाका बिरामी हुन । उनको बुझाई छ । उनी अहिले बिरामी भएको होइन । यो रोग उनले धेरै वर्ष देखी पाल्दै आएका छन् । पूर्व एमालेको अध्यक्ष चुनिए पछि पार्टी कार्यालय बल्खुमा उनी अत्यन्त भावुक शैलीमा प्रस्तुत हुँदै भने, मसँग सुविधाजनक समय छैन । अध्यक्ष ओलीको आत्मविश्वास देख्ने कार्यकर्ता उनीबाट मुलुकले ठुलो परिवर्तन देख्न हतारिए । सम्भव असम्भव सपनाको खेती गर्दै उनी मुलुकको कार्यकारी प्रमुख बन्न सफल भए । मुर्छित सपनाको जगमा अहोरात्र खटिरहे तर उनले चाहेको जस्तो कायाकल्प मुलुकले फेला पार्न नसकेको समयमा अस्पतालको अप्रिय अनुभव बटुल्न विवश भएका छन् । विज्ञानको चमत्कार र राज्यको सबैखाले सुविधा प्रयोग गर्दै रोगी शरीरलाई अझै १५- २० वर्ष मुलुक निर्माणमा खर्च गर्ने चाहना मनमा पालेका छन् ।

पछिल्ला केही महिनामा प्रधानमन्त्रीले नचाहेको स्वास्थ्य समस्या झेल्दै आएका छन्। आत्मविश्वास जस्तो बलियो उनको शरीर नभएको पुष्टि विगत केही महिना देखी नेपालका मिडिया हेरे थप बताइरहनु पर्दैन। उनी अहिले एकसाथ थप समस्या झेल्दै छन्। उनले नरुचाएको बाध्यता निकट भविष्यमा गर्नु पर्ने छ। मृगौला प्रत्यारोपण गर्न अनिवार्य भएको कारण प्रधानमन्त्री ओली मुलुकमा केही गर्न हतारिएका छन्। उनको हतारोसँगै स्वास्थ्य बिग्रन हतारिएको छ। उनी मुलुकमा समृद्धिको सुरुवात भएको हेर्न चाहन्छन्। जसको कारण उनले गत मङ्सिर ४ मा पार्टी प्रचण्डलाई जिम्मा लगाउँदै मन्त्रीपरिषद् पुनर्गठन गरेका छन्। उनको भित्री चाहना जतिसुकै रणनीतिक भए पनि उनले रोजेको र खोजेको पात्रबाट समृद्धिको सुरुवात हुने कल्पना देशवासीले गरेका छैनन्। यस्तो अवस्थामा उनले मुलुकको निम्ति गर्ने योगदान करिब कठिन बन्दै गएको छ। प्रधानमन्त्रीको मुर्छित सपना उनको स्वास्थ्य कै कारण नयाँ मोडमा पुगेको छ ।

२००७ सालको परिवर्तनसँगै मुलुकले समृद्धिको सपना देख्न शुरु गर्‍यो । प्रजातन्त्र, पञ्चायत, पुन :प्रजातन्त्र, लोकतन्त्र, लोकतान्त्रिक सङ्घीय गणतन्त्र सम्मका हरेक शासकको गायत्री मन्त्र शान्ति, स्थिरता र विकास पछिल्लो समय समृद्धिमा रूपान्तरण भएको छ । तर मुलुकवाशीले चाहेको परिवर्तन कतै महसुस गरिएको छैन। आन्तरिक र बाह्य राजनीतिको चपेटामा रणनीतिक ढङ्गले बोकाइएका एजेन्डा क्यान्सरमा परिणत भएका छन्। भ्रष्टाचार र ढिलासुस्तीले जनताको सपनामाथि खेलबाड गरेको गर्यै छ ।

सुशासन सरकारको देखाउने दाँतमा बदलिएको छ । राष्ट्रवाद नेताको निर्वाचन जित्ने नारा बनाइएको छ । सार्वभौम सत्ता किस्ताबन्दीमा बसाई सारिएको छ । भाषा, संस्कृति, परम्परा ‘कुर्सी र विदेशी पैसा’सँग साँटिएको छ । बेथिति र विकृतिलाई नेपालको पहिचान बनाउन रणनीतिक लगानी गैर सरकारी संस्था मार्फत भित्र्याइएको छ। असङ्ख्य आयातित रोगसँगै मुलुकको राजनीति विषाक्त पार्दै मुलुकलाई दिर्घरोगी बनाइएको छ। समृद्धिको ज्वरोमा परेको सरकारले समेत वास्ता नगरेर बहुमूल्य २१ महिना खेर फालेको छ ।

मुलुक बिरामी छ । हामी उपचार गर्छौं । मुलुकमा समस्या पहिचान गर्दै  समाधान गर्छौं । समृद्धि ल्याउँछौं । सुखी नेपाली, समृद्ध नेपाल  बनाउँछौं  भन्ने पार्टी र नेता सिंहदरबारमा विराजमान हुँदा पनि असंख्य रोगहरूको उपचार थालनी समेत भएको संकेत समेत देखा परेको छैन । मेलम्ची कसले डुबायो ? तोकिएको समयमा राष्ट्रिय गौरवको आयोजना सम्पन्न नगर्ने र महँगो बनाउँदै राष्ट्र लुट्ने काम किन रोकिएन ? समृद्धिको रफ्तारमा रहेको सरकारले विगत २१ महिनामा कति रोजगारी सिर्जना गर्‍यो ? साथै नयाँ कति उद्योग खुले ? कृषिप्रधान देशमा आधुनिक कृषीऔजार कारखाना र मलकारखाना खोल्न किन जाँगर चलाइएन? जेठ – आषाढ महिनामा गरिने विकासे कार्यक्रम कति घट्यो ? देशमा विकास बजेट खर्च गर्न सक्ने क्षमता कति बढ्यो ? राष्ट्रिय ढुकुटी विकासमा लगाउन नसक्ने मुलुकले तामझामसाथ गरेको लगानी सम्मेलनले कति पैसा मुलुक भित्रियो ? पोल पोलमा झुन्डिएको ‘नयाँ युगको सुरुवात’ कहाँ पुगेर समाप्त भयो ? वा अलपत्र पारियो ? बिजुली बस र विराटनगरको गोबर ग्यास प्लान्ट कुन अवस्थामा छ ? भ्रष्टाचार कति घट्यो ? राजनीतिक सेटिङको आधारमा मुलुकमा घटाइएको ठुला ठुला काण्ड र घोटालाको फाइल किन खुल्दैनन् ?

पञ्च, काँग्रेस र कम्युनिष्टको कार्यशैलीमा खासै फरक नदेखिएको अवस्थामा समृद्धिको महसुस कसरी हुन सक्छ ? महत्वकाँक्षी घोषणापत्र किन बनाइयो ? अनुगमन, नियन्त्रण र सञ्चालनमा किन जाँगर देखाइएन ? सहिमानेमा मुलुकवाशीले महसुस गर्न सक्ने कार्यक्रम किन बन्दैनन् ? सडक, खानेपानी, भूमिसुधार, अदालत, सिडिओ कार्यालय , प्रहरी चौकी, यातायात कार्यालय, सामुदायिक विद्यालय, सरकारी अस्पताल, सार्वजनिक सवारी साधन कुन क्षेत्रमा  जनताले परिवर्तनको महसुस गर्न पाए ? केवल गफ, कागजी वृद्धिदर र व्यक्ति परिवर्तन बाहेक मुलुकले के नयाँ पायो ? मुलुकलाई २००७ साल देखी लाग्न शुरु गरेको रोग २०७६ सम्म आइपुग्दा घट्नुको सट्टा किन बढ्दै छ ?

मुलुकको स्वास्थ्य कसरी ठिक गर्न सकिन्छ ? कहिलेबाट शुरु हुन्छ ? सरकार र पार्टी दुबैमा कुनै छलफल, अन्तरक्रिया किन गरिँदैन ? स्थानीय, ६ प्रदेश र केन्द्र सरकार समेत ओली राजनीतिको मुट्ठीमा हुँदा समेत २१ महिनामा समृद्धिको सङ्केत समेत नदेखिनुको दोष कसले लिने ? मुलुकभित्र रहेका प्राकृतिक साधन र स्रोत फलाम, तामा, जिङ्क, युरेनियम मात्र हैन सेतो सुनको सही प्रयोग गर्न भन्दा चीन र भारतको बजार बनिरहन कसले प्रेरित गर्दै छ ? काममा भन्दा प्रचारमा रमाउने, काम गर्न भन्दा सपना जगाउनमा बहुमूल्य समय खर्च गर्ने, साना कुरा भन्दा ठुला ठुला हवाई आयोजनामा रुचि राख्ने कुराको कसैले प्रतिक्रिया जनाउनासाथ सरकारको आलोचना गर्ने ? भन्नेहरूले सोच्नै पर्ने यी र यस्ता विषय किन प्राथमिकतामा पर्दैनन् । उल्लिखित गम्भीर सवालको जवाफ फेला नपारी खोजिने समृद्धि फगत एक मिठो कल्पना सिवाय के नै मान्न सकिन्छ र ?

अन्तमा ,

जन्मँदै नाति जर्नेल हुने राणाशासन, राजाको छोरा राजा हुने सामन्ती व्यवस्थाको घोर विरोध गर्दै मौलाएको नेपाली वामआन्दोलन अन्ततः लोग्ने मरे श्रीमती, श्रीमती मरे श्रीमानलाई स्थापित गर्दै कुर्सी नसामा झुम्दै छ । नमरेसम्म आफै हुनुपर्ने ‘वाम सामन्तवाद’को नवीन सिद्धान्त स्थापित गरिँदै छ । पार्टी र मुलुक बिरामी हुँदा उपचार गर्न नपर्ने तर नेता कुनै पनि हालतमा बाँच्नै पर्ने विडम्बनापूर्ण अवस्था सिर्जना गरिएको छ । झापा आन्दोलनका नेता राधाकृष्ण मैनालीको वचन सापटी लिने हो भने, जेलमा बस्दा पनि मिठो खान पर्ने  बिँडी पिउन मन नपराउने, एउटा चुरोटको खिल्लीलाई तीन टुक्रामा भाँचेर तीन पटक पुर्‍याउने ओली कमरेड संसदीय राजनीतिको तागतमा बालकोट निर्माण गर्न सफल भएका छन् ।

त्यसै गरी असारे काकाको किताबले भन्छ । पार्टी निर्णय अनुसार आठहजार रुपैयाँ बुझाउन नसक्दा पत्नी सीतालाई छाताको डाँठले हिर्काउने कमरेड प्रचण्डको खुमलटारको जीवन शैलीले नेपाली वाम आन्दोलन कति सफल भएको छ भन्न थप व्याख्याको जरुरत पर्दैन । कम्युनिष्ट पार्टीका कार्यकर्ता दास वा नातागोतामा बदलिएको अवस्थामा पुष्पलाल, मदन भण्डारीले सोचेको कम्युनिष्ट पार्टी फगत एक मिठो सपनामा बदलिएको छ । पहिलो घेराका नेताहरूले विगतको लगानीको व्याज खाँदै गरेको, दोस्रो घेराको नेताहरू समेत अनुपयुक्त र अतिरिक्त बाटो मार्फत आर्थिक जोहो गर्न हतारिएको, खुमलटार र बालकोटको निगाहमा थप राजनीतिक उचाइ प्राप्त गर्न लम्केको पछिल्लो अवस्था पछि नेकपा, प्रधानमन्त्री र मुलुकको स्वास्थ्य अवस्था अनिश्चित देखिन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata