लाजले मुख छोपी रहेका प्रकृतिका बन्दी मानवजातीहरु

शुक्रबार, जेष्ठ २, २०७७



- अधिवक्ता- मनोज कुमार कँडेल

जब मानिस गर्न नहुने काम गर्छ, जुन काम उसको समाज, परिवारले पचाउँदैन अनि हामी भन्छौँ त्यसले सबैलाई मुख छोप्ने बनायो ।

हो, आज कोरोनाले विश्वका सबै मनुवाहरूलाई मुख छोप्ने बनाएको छ । सोचौँ त, कतै यो प्रकृतिले हामीलाई भनिरहेको त होइन तिमीहरू मुख देखाउन लायक छैनौँ भनेर ? हुन त, हामीले विकासका धेरै ठुला कुरा गरिहरेका छौँ । यहाँ सम्मकी, हामी चन्द्रमामा बस्ती बसाउने प्रतिस्पर्धा गरिरहेका छौँ । एकले अर्कोलाई धम्की दिई रहेका छौँ, भनिरहेका , म सँग हजारौँ माइल हान्न सक्ने क्षेप्यास्त्र छ । मैले चाहेमा तिमीहरूलाई तुरुन्तै ध्वस्त पार्न सक्छु ।

यीनै बहादुरीताका बीच कोरोनाले हाम्रा यी सबै घमन्डहरूलाई चकनाचुर पार्दै भनी रहेको छ, हे मनुवाहरू हो तिमीहरू मुख देखाउन लायक छैनौँ, मुख छोपेर हिँड । साँच्चै पनि हामी मुख छोपेर हिँडी रहेका छौँ । हामी मनुवाहरू आफूलाई स्वतन्त्रताको पर्यायवाची ठान्छौँ । ठुला ठुला दस्ताबेजहरू तयार गरेका छौँ, सिद्धान्तहरू बनाएका छौँ । मानव अधिकारका असङ्ख्य प्रस्तावनाहरू अघि सारेका छौँ ।

तर आज विश्वलाई नै प्रकृतिले जेल बनाएको छ । सबका सब मनुवाहरूलाई आफूले नै बनाएको भव्य महलहरूमा बन्दी बनाइदिएको छ र भनिरहेको छ, हे मनुवा तिमी सच्चिएनौँ भने तिम्रो अस्तित्व मै प्रश्न उठ्नेछ । के प्रकृतिले मानिसहरूसँग युद्ध छेडिरहेको त छैन ? मानिसहरूले आफ्नो सुख सुविधाको लागी रुख, पात, हरियाली सबै नास्दै गएका छन् । ठुला ठुला भवन देखी आधुनिक संरचनाहरूले पृथ्वीको छाती कुल्चिरहेका छन् । त्यसको बदलामा प्रकृतिले कतै मानवहरूलाई पृथ्वी छोड्नको लागी चेतावनी त दिँदै गरेको हैन ? कतै प्रकृतिले मनुवाहरूलाई पृथ्वीबाट नै हटाउन खोजको छ होइन ? मननीय छ ।

आज जति पनि संक्रामक रोगहरूसँग मनुवाहरूले लडिरहेका छन् । ७५ प्रतिशत यी रोगहरू पशुबाट मानिसमा फैलिएको प्रमाणित भएको छ । यो २० वर्षमा मात्र हामीले लडेका रोगहरूबारे सोचौँ त, २००२ मा देखिएको एसियन फ्लु र सार्स जसको कारण ८०० भन्दा माथिको ज्यान गएको थियो भने बिलियन रकम विश्वले गुमाएको थियो । त्यस्तै २०१२ को मेर्स जसको कारण पनि झन्डै ८५० भन्दा बढिले ज्यान गुमाएको थिए भने २०१४ मा देखिएको इबोला जसले ११ हजार भन्दा बढीको ज्यान लिएको थियो र यी सबै पशुबाट मानिसमा प्रवेश गरेका थियो ।

भनिन्छ प्रकृति निर्मम हुन्छ, हामीले प्रकृतिको निर्ममतालाई चिन्न सकिरहेका छैनौँ वा पटक पटक प्रकृतिले दिएको ती पूर्व सङ्केतहरूलाई बेवास्ता गरिरहेका छौँ । जति हामीले प्रकृतिको चेतावनीलाई बेवास्ता गर्दै छौँ त्यति नै निर्मम हुँदै प्रकृति आएको देखिन्छ । यो २० वर्षको दौरानमा देखिएको यो कोभिड –१९ ले पक्कै असोचनिय मानिसको ज्यान लिने सङ्केत देखिँदै छ भने आर्थिक रूपमा विश्वले ठुलो नोक्सानी व्यहोर्नु पर्ने निश्चित छ ।

मानिस मांसाहारी हो की शाकाहारी ? यो पनि सोचनीय छ । किनकि प्रकृतिले सबै प्राणीहरूलाई उनीहरूको बनावट, क्षमता र आचरण तोकी दिएको छ । के हामी मानवहरू प्रकृतिले दिएको अनुशासनमा रहेका छौँ ?

धेरै वैज्ञानिकहरू र अनुसन्धानकर्ताहरूको मान्यता छ की मानिसको दाँत मांसाहारीको लागी बनेको होइन । यस कारण मानिस वास्तवमा जन्मँदै शाकाहारी हुन । वेदमा पनि प्रस्ट भनिएको छ की जसरी बाघ, बिरालो आदिलाई मासु खाने अनुमति दिइएको छ त्यसै गरी मनुष्यलाई वनस्पति र फलफूल मात्र खाने अनुमति दिइएको छ । वनस्पति खादा हुने हत्याको पनि प्रायश्चितको लागी प्रत्येक तिन तिन महिनामा दान, रुद्री र लक्ष्मी नारायण पूजा गरी माफी माग्नु पर्ने विधानमा उल्लेख गरेको छ ।

यसरी प्रकृतिको विरुद्ध हामी प्रकृतिसँग लडिरहेका छौँ । यस्ता धेरै कामहरू हामीले गरी रहेका छौँ जसको कारण आज प्रकृतिले हामीलाई दण्ड दिएको छ । के हुन हामीले प्रकृति माथि गरेको हमला, जसको कारण प्रकृति सम्पूर्ण मानव जगतसँग रिसाएको छ ।

पहिलो, बन जङ्गलहरूको विनाश र बन क्षेत्रहरू माथि मानवको अतिक्रमण । मानिसहरूले उनीहरूको वासस्थानमा गरेको अतिक्रमणको कारण उनीहरू मानव वस्ति नजिक सर्दैन । जसबाट प्रत्यक्ष रूपमा उनीहरूसँग रहेको जीवाणु मानव शरीरमा सहजै प्रवेश गरिरहेका छन् ।

दोस्रो, गैर कानुनी र लापरबाही पूर्ण जङ्गली जनवारहरूको ओसार पसार । विशेष गरी जङ्गली जनवारहरूको गैर कानुनी ओसारपसार विश्वमा अत्यधिक बढेको पाइएको छ जसबाट ओसारपसार गर्नको लागी आवश्यक मापदण्डको पालन नहुने र यस प्रकारको ओसार पसारको नियमन नहुने भएकोले पशुहरूबाट मानिसमा जीवाणु सर्ने प्रक्रिया बढिरहेको छ ।

तेस्रो, खेती र पशुपक्षीहरूको उत्पादनमा भएको वैज्ञानिकीकरण । विज्ञानले खेती र पशुपक्षी पालनमा गरेको विकास जसलाई हामी हाइब्रिड भन्ने गरेको छौँ । यसरी प्रयोगशालाबाट तयार गरिएको बिउ, विजन तथा पंक्षिहरुबाट उत्पादन त धेरै बढेको छ तर उत्पादन सँगै आएको यसको प्रभावले मानिसमा ठुलो असर पारेको छ ।

साथ साथै जसरी हामीले किटनाशक औषधीको प्रयोग गरिरहेका छौँ यसबाट पृथ्वीको इकोसिस्टमको लागी आवश्यक जीव, किटहरू पनि नास गरिरहेका छौँ अनि मानिसको स्वास्थ्यमा प्रत्यक्ष हानि पनि पुर्‍याई रहेका छौँ जसबाट हामीले रोगसँग लड्ने क्षमता गुमाई रहेका छौँ ।

त्यस्तै अवस्था पशुपक्षीहरूको उत्पादनमा पनि रहेको छ । हामीले प्राकृतिक भन्दा कृतीम रूपमा गर्ने हाइब्रिडबाट हुने उत्पादनको कारण उनीहरूबाट जीवाणुहरू सहजै सरल रूपमा मानिसमा सर्ने अवस्था सिर्जना भएको ।

चौथो, मौसममा आएको परिवर्तन । मानवताजीले प्रकृतिको हरेक क्षेत्रमा दोहन गरेको छ । मानवको उत्पत्ति र बाच्नको लागी चाहिने जुन वातावरण पृथ्वीमा हुनु पर्ने हो त्यस माथि नै हामी मानवले नै अतिक्रमण गरिरहेका छौँ जसको कारण आज मौसममा डरलाग्दो परिवर्तन भएको छ ।

वैशाखको अन्तिम हुँदा सम्म आज काठमाडौँमा सिरक छोड्न सकेका छैनौँ । असार लाग्न महिनौँ बाँकी छ तर बर्खा सुरु भइसकेको छ । यो मौसममा भएको परिवर्तन हो जसको कारण ती जीवाणुहरूले आफ्नो ठाउँ छोड्दै छन् जसबाट पृथ्वीको इकोसिस्टम नै खलबलिएको अवस्था छ ।

पाँचौँ, मानिसहरूको सूक्ष्म जीवाणुसँग लड्ने क्षमतामा कमी आउनु । मानिसहरूले बिस्तारै उनीहरूको आचरण, आहार र विचारमा गरेका ह्रासको कारण जीवाणुहरूसँग लड्ने क्षमता गुमाउँदै गएको छ । हाम्रो शरीरले ती जीवाणुहरूसँग लड्न नसक्दा ती जीवाणुको अगाडि मानिसहरू निरीह हुनु पर्ने अवस्था आएको छ ।

जब मानिसहरू लकडाउन बिच मुकुन्डो लगाएर घरघर भित्र छिरे, वनस्पतिहरू, चराचुरुङ्गीहरू, किटपतंङहरु, थरी थरीका पुतलीहरू बाहिर निस्केर लामो सास फेरी रहेको समाचारहरू पनि मान्छेको मृत्युको समाचारसँगै आएका छन् । यसरी प्रकृति रमाएर बाहिर निस्केको छ। रमाएको, हासेको ।

हामीले सुनेका छौँ अमेरिकाको सेन्टिगायो सहरमा पुमा (अमेरिकन बिरालो), अमेरिकाकै क्यालिफोर्निया, ओकल्याडका सडकमा जङ्गली टर्कीहरू, थाइल्यान्ड बाँदरहरू अनि जापानमा मृग तथा हरिणहरू, नेपालको बर्दिया जङ्गलमा बाघहरू अनि भारतको डिल्लीमा कोइलीहरू निस्केका छन् । यसरी सहरहरू हरियो हुँदै छ, बनजंगलहरु बढ्दै छन् आकाश खुलेको छ ।

तर यो कतिन्जेल, आजको यक्ष प्रश्न हो । सायद चाडै हामीले कोरोनालाई जितेको घोषणा गर्ने छौँ र फेरी सुरु गर्नेछौँ प्रकृति माथिको दोहन । अब हामीले सच्याउन जरुरी छ । प्रकृतिसँगै हामीले मिलेर बाच्न सिक्नु पर्नेछ । नत्र अवश्य प्रकृति हामी प्रति अति निर्मम तरिकाले आइलाग्ने निश्चित छ ।

अन्तमा, हामीले विकास सम्बन्धी हाम्रो सोचलाई परिवर्तन गर्न जरुरी छ । विकास पृथ्वीको हुनु जरुरी छ, सारा जगतको, सारा प्राणीहरूको, सारा जल, थल उभयचरहरूको साझा बास स्थान यो पृथ्वीलाई बनाउनको लागी विकास हुन जरुरी छ न की हामी मानव मात्रको लागी ।

अवश्य मानव मात्रै पृथ्वीमा बाच्न सक्दैनन् । मानवको रक्षार्थ नै यी सबै जीव, जन्तु, वनस्पति, किटहरूको प्रकृतिले सिर्जना गरेको हो । हामी मानव जाती सुरक्षित हुन चाहान्छौं भने आवश्यक हामीले यी सबै प्राणी तथा वनस्पतिहरूको सुरक्षा गर्न जरुरी छ । साथ साथै हामीले हाम्रो विकासलाई सबैको साझा बनाउन पनि आवश्यक छ ।

लेखक-(अधिवक्ता- मनोज कुमार कँडेल, बाल अधिकार कर्मी)

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments