बडे भाईको सफल भ्रमण !

फरक मत

सोमवार, बैशाख ३१, २०७५



- दीपेन्द्र पाण्डे

भारतीय बडेभाई दुई दिने नेपाल यात्रामा निस्किए । राजनैतिक भाषामा भन्दा नेपाली प्रधानमन्त्रीको निम्तो स्वीकार गर्दै उनी आए । सतहमा ल्याइएको कुरालाई बिना पुर्वाग्रह मान्ने हो भने बडेभाई धार्मिक , राजनैतिक एवम अध्यात्मिक इच्छा पूरा गर्न जनकपुर, मुक्तीनाथ र काठमाण्डौ आए ।

हिन्दूत्वको जगमा उदाएका भारतीय बडेभाई सुरुवाती दिनमा दक्षिण एसियाको राजनीतिमा नयाँपन दिन चाहान्थे । भारतका छिमेकी अत्यन्त साना भएका कारण उनीहरुले भारतलाई मन पराउँदैनन भन्ने पूर्व कुटनीतिज्ञ विक्रम सुदको धारणासंग असहमती देखाए । बिगतको सरकारले लिएको नीतिको कारण सुमधुर बन्न नसकेको भारतको छिमेकीसंगको सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्ने सन् २०१४ को मोदी घोषणा ‘छिमेकीलाई पहिलो प्राथमिकता त्यस अन्तर्गत आएको मानिन्थ्यो । आफ्ना साना छिमेकीलाई फकाउने नीति अनुरुप नेपाल भ्रमण गर्दै नेपालीको मन जित्न सफल भारतीय मोदी अन्तत विक्रम सुदको बाटो पछ्याउँदै नाकाबन्दी लगाउन पुगे । जसको कारण उनले नेपाली जनतासंग पाएको माया र सम्मान धुलोमा मिल्न पुग्यो । भारतीय राजनीतिमा अत्यन्त झुटो बोल्ने नेताको छवि बनाएका प्रधानमन्त्री मोदी अर्को झुटको माला लिएर  भाईसाबको स्वागत खान आइपुगेका छन् । हरेक मोदी झुटलाई हिरा सम्झने वारीपारीका झुण्डहरु झुटकै माला लाउन मरिहत्ते गरी रहेको दृश्य अत्यन्त रोचक र घिन लाग्दो मानिदैछ ।

के चाहान्छ दिल्ली ?

दक्षिण एसियाको सबै भन्दा पुरानो देशहरु मध्यमा पर्ने नेपाललाई दिल्ली सत्ताले सार्वभौम भएको मान्न हिच्किचाइ रह्यो । दक्षिण एसियाको तीन राजतन्त्र भुटान , सिक्किम र नेपाललाई आफ्नो मातहत राख्ने नेहरु , इन्दिरा नीतिलाई समर्थन नगर्दा सिक्किमलाई भारतको २२ औं प्रान्त बनायो भने भुटानको सार्वभौम सत्ता आफ्नै हातमा लिन सफल भयो । कहिल्यै पनि स्वतन्त्रता दिवस नमाउने नेपालको सार्बभौम सत्ता दिल्ली पुर्याउने पुरानो नीति मोदीलाई समेत प्रिय लागेको सबैभन्दा ठुलो प्रमाण  नाकाबन्दी नै काफी छ ।

विश्व राजनैतिक मञ्चमा आफ्नो उपस्थीती बढाउँदै लगेको भारत आफुले भनेको माने असल छिमेकी नमाने बडे भाईको ब्यबहार प्रस्तुत गर्ने दिल्ली सत्ता मोदी कार्यकालमा पनि बदलिन चाहेन । छिमेकी देशको आन्तरिक राजनीतिमा माइक्रो म्यानेजमेण्ट गर्न रुचाउने , आफ्ना स्वार्थलाई जबर्जस्ती लादने , सार्वभौमिक संबेदनशिलतामाथी हस्तक्षेप गर्ने , छिमेकी देशको प्राकृतिक श्रोत र साधन माथी आँखा गाड्ने र दक्षिण एसियाको बडेभाइ बनी रहने दिल्ली नीति हो ।

किन आए मोदी ?

माओवादी ध्वसंलाई ब्यवस्थित गर्ने वहानामा १२ बुँदे गर्दै नेपालको सार्बभौमसत्ता दिल्ली लान सफल भारतिय सत्ता अनमिनको उपस्थीतीलाई टाउको दुखाई मान्दथ्यो । माधव सरकारलाई प्रयोग गर्दै अनमिनलाई बिदा गर्न सफल भए पनि नेपाली राजनीतिमा पश्चिमाहरुको पकड र प्रभाब बढेको कारण दिल्ली सत्ता चिन्तित थियो । नेपालको संबिधान सभाले संबिधान जारी गर्दै गर्दा भारतको स्वार्थ भन्दा इसाई स्वार्थलाई बढी महत्व दिएको कारण अत्यन्त मर्माहत हुन पुग्यो ।

नेपालको सिंहदरबारलाई गलाउँदै राजनैतिक र प्राकृतिक श्रोतको दोहन गर्ने खेल अन्तर्गत लादिएको संघीयता आफ्नो लागि भन्दा पश्चिमा शक्तीको निम्ती फार्इदाजनक रहेको निचोड निकाल्न बाध्य भयो । तराई मधेशभित्र जरा गाड्दै गरेको अमेरिकी सिके राउत , युरोपियन युनियनको जातीवादी राजनीति , २ र ५ नम्बर प्रदेशमा बस्ने ठुलो संख्याको मुस्लिम समुदायमाथी पाकिस्तान र साउदी अरबको बढ्दो प्रभाब दिल्ली सत्ताको टाउको दुखाई बन्न पुग्यो । नेपालको संबिधानको बिरुद्ध राष्ट्रसंघ , युरोपियन युनियन र बेलायत सम्म बिषबमन गर्न पुग्दा नेपालमा पश्चिमा शक्ती झनै शक्तीशाली हुने र तराई मधेश मात्र हैन पहाडे समुदाय समेत आफ्नो मुट्ठी बाट फुत्किने विश्लेषण पश्चात धार्मिक आबरणमा नेपाल आउनुको प्रमुख तीन कारण तल उल्लेख गरिएको छ ।

नाकाबन्दीको दाग पखाल्न:

नेपाली संबिधानमा अनुपयुक्त अन्तरबस्तु समाबेश गर्दै संबिधान जारी गर्न जसले नेपालका राजनैतिक दलहरुलाई दवाब दियो तीनै शक्तीले मोदी जस्तो चतुर खेलाडी लाई फसाउन सफल भयो । एक तीरले तीन शिकार गर्न सफल इसाई खेलमा नेपालको तराई मधेश , भारत र सिंहदरबार फस्न पुग्दा सबैभन्दा घाटा भारत र नेपालकै तराईवासी नेपाली हुन पुगे ।

सिंहदरबार र भारतको बिच निर्माण गरिएको असमझदारीकोबीच पश्चिमा इसाई मात्र हैन चीनले समेत फाइदा लिएको पारबहन सन्धी  दिल्लीको निम्ती डिजास्टरु नै हुन पुग्यो । बिगतमा ठुलो मेहेनतले कमाएको जनस्तरको पूँजी समेत आफ्नो अनन्य मित्र ओलीले आफ्नै बिरुद्ध प्रयोग गरेको टुलुटुलु हेर्न बाध्य भयो । नाकाबन्दी पछी आफ्नै अन्य मित्र राष्ट्रबादी बन्ने तर सन १९५० देखी एक छ्त्र राज गरेको मुलुक आफ्नो पकड बाट फुत्किने खतरालाई रोक्न प्रम ओली संग सहकार्य गर्न राजी भयो ।

ओलीको कारण दिल्ली सत्ता सिंहदरबार र तराई मधेशमा कमजोर हुन पुग्नु र भारतको कारण आफ्नै देशको दुई नम्बर प्रदेश जान मुस्किल परेको ओली राजनीति बाध्यात्मक सहकार्य गर्दै नाकाबन्दीको दाग पखाल्न ओली मोदी एकसाथ जनकपुर पुग्ने कार्य रोचक , वाध्यात्मक र रणनीतिक रहेको मान्न सकिन्छ ।

ओली राष्ट्रबाद पखाल्न :

प्रधानमन्त्री ओली भारतका अन्य मित्र थिए । दिल्ली सत्तासंग सुमधुर सम्बन्ध स्थापित गर्न महाकाली सन्धीमा ठुलो गुन लगाए । तर दिल्लीले उनलाई प्रयोग मात्र गर्न चाह्यो । जती गर्दा पनि दिल्ली दाहिना नहुँदा मोदी दूत एस जय शंकरलाई मुख भरीको जवाफ फर्काए । आफ्ना अन्य मित्रहरु पश्चिमा तागतको बलमा उफ्रेको बदला लिन मोदी सत्ता हदैसम्म गिर्‍यो ।

देश सानो ठुलो हुन सक्छ । सार्वभाैम सत्ता सानो हुँदैन भन्दै मोदीलाई जवाफ दिने ओली कला नेपाली माझ अत्यन्त लोकप्रिय बन्न पुग्यो । ओली के हुँन ? भन्ने राम्रो संग बुझेको दिल्ली सत्ता उनको राष्ट्रबाद नेपालमा चम्केको देख्दा झनै मर्माहत बन्न पुग्यो । ओलीको तागत राष्ट्रबाद र कमजोरी सिंहदरबारको कुर्सी हो भन्ने मोदी सत्ताको निचोड पछी दिल्लीको टाउको दुखाई बनेको ओली राष्ट्रबाद पखाल्ने तारतम्य मिलाईयो । फलस्वरुप ओलीलाई चीन तिर ढल्कन रोक्ने उपाय अन्तर्गत अग्रीम बधाई दिन मोदी तयार भए ।

सत्ताको निम्ती जे सुकै गर्न तयार ओली मानसिकतालाई साथ दिंदै प्रधानमन्त्री बन्ना साथ भारत भ्रमणको निम्तो दिइयो । वान टु वान वार्ता मार्फत ओलीको मन जित्ने र नेपालको भ्रमण गर्दै ओलीलाई साइजमा राख्ने खेल अन्तर्गत मोदी नेपाल आउन चाहान्थे । प्रधानमन्त्री ओलीकै निमन्त्रणामा ओली राष्ट्रबादको जामा उतार्न जनकपुर , मुक्तीनाथ देखी काठमाण्डौं सम्म भारतिय सुरक्षा फौजको ताण्डब सर्बसाधारणलाई देखाउँदै ओली राष्ट्रबाद रक्षात्मक बनाईदिए । “ देश सानो ठुलो भए पनि सार्बभौम सत्ता र प्रोटोकल समान हुन्छ भन्दै बार्गेनिङ्ग पावर बढाएका समकक्षी ओलीलाई मेरे भाइसाब, भन्दै नेपाली जनता माझ पूड्को साबित गरी दिए” ।

प्राकृतिक श्रोत र साधनमा पकड राख्न :

वास्तबमा भारत नेपालको बिकास भएको देख्न चाहेको संकेत कही कतै देखीदैन । नेपालको हरेक विकाससंग जोडिन चाहाने भारतको बिगत हेर्दा उसको नियत सफा देखिदैन । सिंहदरबारलाई प्रयोग गर्दै नेपालको प्राकृतिक श्रोत र साधन माथी कब्जा जमाउने उसको पूरानो रणनीति आज सम्म परिवर्तन नभएको प्रमाण अंसख्य भेटिन्छन । कोशी , गण्डकी , महाकाली मात्र हैन नेपालको सबै नदीनाला आफ्नै मातहत राख्ने कार्य बुढिगण्डकी प्रोजेक्ट हात पार्ने खेलनै काफी छ । फास्ट ट्रयाक , निजगढ अन्तराष्ट्रीय बिमानस्थल मात्र हैन सबै उसकै पकडमा रहनु पर्ने मान्यता झनै डरलाग्दो देखिन्छ । चीनलाई काठमाण्डौं आउन रोक्ने उपाय अन्तर्गत फ्याक्ने झाँसामा पर्दै गरेको ओली सरकार रक्सौल काठमाण्डौ रेलमार्गको सर्बे कोरियन कम्पनीबाट खोस्दै भारतलाई दिन राजी भएको छ ।

पूरानो प्रोजेक्टहरु नबनाउने नयाँ प्रोजेक्ट हात पार्ने दिल्ली सत्ताको पुरानो नीति अनुरुप भर्खरै हात पारिएको अरुण ३ को निम्ती स्वीच थिच्दै नेपालको प्राकृतिक श्रोत र साधन माथीको एकाधिकार कायम राख्न सफल भएको छ ।

अन्तमा , इसाई जालबाट फुत्किएको मोदी सत्ता नाकाबन्दीको नाममा भएको डयामेज कन्ट्रोल गर्दै धार्मिक र साँस्कृतिक भ्रमण मार्फत ओलीको राष्ट्रबादी छबी र नाकाबन्दीको पाप एकसाथ मुक्तीनाथमा पखाल्न सफल भएको छ । नेपाली राजनैतिक दलको हैसियत अनुसार महत्व दिंदै काँग्रेस , राजपालाई सामुहिक भेट र प्रचण्ड , उपेन्द्र यादबलाई वान टु वान दर्शन दिंदै नयाँ राजनैतिक सन्देश छोडिएको छ । अत्यन्त छोटो समयमा सुनियोजित तबरले सत्ताको भोकाहरुको नाडी छाम्न सफल बडे भाइको सफल भ्रमणले नेपाली ुराष्ट्रबाद ु थला परेको छ ।

373 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank