मनि, मसिन, मिलेट्री, मेडिसिन उन्मुख बहस

डा. केसी वा अन्य समुहले कुनै जमिनी मुद्दा उठाउनु भयो ? उठाएको भए हुन्थ्यो

बुधबार, असार २७, २०७५



- नरबहादुर कार्की

डा. केसी को अनसनको सोलोडोलो समर्थक म पनि हुँ । सबै महान चिज घटनाक्रमसँग महान बन्दै जाने हुन । अहिलेलाई डा. केसीको सादगी, ब्यक्तिगत स्वार्थरहित परोपकारमा जीवन लगाएको अवस्थामा योगदानलाई उच्च कदर गर्दछु । यसका बाबजुद पनि मेरो केही ब्यक्तिगत धारणा छ ।

अक्सर सुनिन्छ “तिन करोड नेपालीको स्वास्थ्यको भबिष्य र डा. केसी एकातिर अनि  सत्ता एकातिर ।
म दुइटै तिर छैन । किनकी मलाई स्वास्थ्यको परिभाषा थाहा छ । डाक्टर र बिरामी मात्र स्वास्थ्यका सबै भन्दा ठुला अनि एक मात्र सरोकारका बिषय होइनन । जती मान्छे संसारभरिका डाक्टरले बचाएका छैनन त्यती मान्छे सिर्फ ‘खोपको कारण मर्नबाट जोगिएका छन’ । विश्व स्वास्थ्य संगठनका अनुसार गत बिस बर्षमा खोपले मात्र २0 करोड मान्छे अस्पातल जानु नपर्ने बनाएको र प्रतिवर्ष २० देखि तिस लाख मृत्‍यु टरिरहेको छ ।

गर्ववती महिलाले पाउने सेवा, पोषणको सेवा, परिवार नियोजनका साधन, आदि जे जस्ता सेवा अस्पातल होइन गाउँघरमा दिइन्छन तिनीहरुले कती सम्भावित मृत्‍यु टारेका छन कसैलाई मतलब छैन । मेडिकल शिक्षा र अस्पातल स्वास्थ्यमा भएको यो नेपाली श्रींखलाको  सुधारमा मान्छे हरुको मस्तिस्कमा ‘मेडिकलाइज्ड डिस्कोर्स’ अनि  ‘हस्पिटलाइज्ड हेल्थ’ बारे कम्तिमा मैले बोल्नैपर्छ भन्ठाने ।

स्वास्थ्य बहुआयामिक परीबेश हो । बिगत पाँच बर्ष यता नेपाल सरकार र डा. केसी लगायतको दोहोरीमा  हामीले ‘सबै नेपाली बिरामी र स्वास्थ्य भनेको अस्पातल ‘ जस्तो बनाउन पुगेका छौ । ५० हजार महिला स्वयमसेवी र हजारौ अग्रभागका स्वास्थ्यकर्मी स्वास्थ्यको हिस्सा होइनन त ? हुन भने बर्तमान स्वास्थ्य सुधारका सर्तहरुमा डा. केसी वा अन्य समुहले कुनै जमिनी मुद्दा उठाउनु भयो ? उठाएको भए हुन्थ्यो ।

हरेक बर्ष छ लाख बच्चा जन्मिन्छन- डाक्टरले कती जनालाई प्रसुती सेवा दिन्छन? हरेक बर्ष ६० लाख पटक खोप पाउने बच्चालाई कती जना डाक्टरले छुन्छन? आइरन ट्याब्लेट र निमोनियाको उपचार पाउने बच्चा मध्य कतिलाई डाक्टरले छुन्छन ? मलाई लाग्छ स्वास्थ्य प्रबर्धन त एउटा किसानले पनि गरेको छ । किन सिर्फ दश वटा अस्पातल वरीपरी स्वास्थ्यको बहस कुन्ठित गरिन्छ? पैसाको ठुलो खेल र बहसको रङीन आकर्षण छ भनेर?

मेरो ध्यये यो होइनकी- चिकित्सा शिक्षा र उपचारमा बैज्ञानिकता र सुधार हुनुहुँदैन । बरु मेरो भनाइ यो हो कि, यो देशमा स्वास्थ्यको एउटै सरोकार अस्पातल मात्र होइन जती ध्यान यसले पाएको छ । ४७ वटा जिल्ला पूर्णखोप घोषणा भएका छन तर संरचना परिवर्तन सँग ति उपलब्धी, दिगोपना र लगानी सुनिश्चित होलान ! भएन भने हामी दादुरा, क्षयरोग, पाठेघरको क्यान्सर, निमोनिया, टिटानस लगायतका रोगी कती हजारको लागि कती अस्पातल खोल्छौ ?

डाक्टरसाब तपाईंहरु भन्नु हुन्छ “रोग निको पार्नु भन्दा रोग लाग्न नदिनु राम्रो” ।
लालन बाइले चार दशक अगाडि विश्व स्वास्थ्य भेलामा भनेकी रहिछिन ‘ डा. साबहरु तपाईंहरु बिजुलिको बल्ब जस्तो हुनुहुन्छ, बटन दबायो बल्छ । बटन पैसा हो । हामी गाउँमा स्वास्थ्यको बारेमा साना काम गर्छौ माटोका दियो जस्ता । सानो प्रकाश । तर तपाईंहरु र हाम्रा बिच फरक यो छ कि ‘बल्ब बाट बल्ब सल्काउन मिल्दैन, माटोको दियो बाट अर्को माटोको दियो सल्काउन मिल्छ ‘ हामी बिरामी नहोस् भन्ने कामना र काम गर्छौ । मस्तिस्कमा सिर्फ निरोगिता रहन्छ ।

हुन पनि अहिलेको हाम्रो बहस हेर्यो भने- बिरामी र डाक्टर बाहेक अरु कुरा ओझेलमा छन । सबै प्रदेश अनि निकायमा अस्पातलका कुरा छन, मानिलिउ कि सारा नेपाली बिरामी हुन । यसो भनिरहदा- अस्पातलको आवश्यकता यिनै स्वास्थ्य प्रबर्दनका पहलहरुले टारी हाल्दैनन तर पनि हाम्रो ध्यान त बिरामी हुन नदिने हैन र ? डा. साबको सुचिमा वा सरकारसँगको संघर्षमा ‘ बिरामी हुन नदिने सेवIको वकालत पनि परेको भए- नेपालको स्वास्थ्य बहस एकिक्रित हुन्थ्योकी भन्ने सुझाब दिन चाहेँ।

पैसाको मात्राले बहसको केन्द्र प्रभावित पार्दोरहेछ । मेडिकलमा पैसा धेरै छ, सत्ता र संघर्षको ध्यान त्यसैले तानेको भान हुन्छ । मनी डिफाइन्स एभरिथिङ भाको जस्तो । बाटो खन्ने मसिनमा पुरै स्थानिय सरकार निर्भर छ । अहिले त गोजीबाट उपभोक्ता समितिको सुची निकालेर जन प्रतिनिधिले दिन मिल्ने चलन आएको छ रे । स्वास्थ्य भन्दा बढी ‘औषधिको’ चर्चा छ । औषधि हाम्रो गन्तब्य भएको छ जबकी रोग धेरै जसो टार्न मिल्ने छन ।

5506 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank